नेपालमा दिगो विकासका लागि यूएनडीपी र एनसेलको साझेदारी

काठमाडौं । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् । यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले जेठ २१ गते समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेका छन् । साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यमलगायतबाट प्रवद्र्धन गरिनेछ । शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो । शहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय हो । ‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक—सामाजिक जिम्मेवारी (सीएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक शहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन् । अभियानले स्वस्थ शहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ । मानिसहरूलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिनेछ, जसले साइकलयात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्ने जस्ता वातावरणमैत्री व्यवसायलाई समेत पक्षपोषण गर्दछ । यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । यससँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागि समेत मानिसहरूलाई साइकल जीवनशैली सुरु गर्न वा निरन्तर गर्न उत्प्रेरित गर्दछ । “यस समझदारी पत्रमार्फत, यूएनडीपी र एनसेलले काँधमा काँधदेखि पाउमा पाउ मिलाउँदै एउटै चालमा लय मिलाउनेछन् । सरल भाषामा भन्नुपर्दा, जीवनलाई स्वच्छ (फिट) र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ,” यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागांगोडा लेबले भने, “यूएनडीपी शहरी दिगो प्रतिफल हासिल गर्न र वायु प्रदूषण, सवारी चाप तथा सडक सुरक्षा एवं लाखौं शहरी बासिन्दाको गुणस्तरीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सवालमा सार्वजनिक-निजी साझेदारीको प्रभावकारितामा विश्वास गर्दछ ।” एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले यो अभियान दिगो समाजप्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको बताए । “साइकल यात्रालाई शहरी आउजाउ, व्यावहारिक रूपमा छोटो–तथा मध्यम दूरीको यातायातको दिगो साधनका रूपमा प्रवद्र्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकोमा एनसेल आभारी छ,” उनले भन्नुभयो, “साइकल यात्राका अनेकन् फाइदासँगै हामी यो विश्वास गर्दछौं कि शहरमा यात्रा गर्ने हाम्रो शैलीमा परिवर्तनको सम्भावना छ ।” यूएनडीपी र एनसेलबीच हस्ताक्षर भएको समझदारी पत्रले नेपालमा दिगो विकास लक्ष्यको प्रगतिका लागि संयुक्त रूपमा पहलकदमी लिन र अन्वेषण गर्न प्रतिबद्धता व्यक्त गर्दछ । नेपाल सरकारको ‘विद्युतीय आवागमनका लागि राष्ट्रिय योजना (एनपीईएम)’ले सन् २०५० सम्ममा अन्य विविध उपायसँगै यातायात क्षेत्रमा धाउजन्य इन्धन प्रयोग ५०५ ले घटाई वायु प्रदूषणमा सुधार ल्याउने लक्ष्य राखेको छ । त्यससँगै पुराना र मर्मत नगरिएका सवारीसाधन, उद्योगको फोहरबाट हुने प्रदूषण दर घटाउने लक्ष्य पनि एनपीईएमको छ । शहरमा साइकल यात्रा अभियानले यो लक्ष्यमा योगदान गर्ने अपेक्षा गरिएको छ । “यो सबैका लागि पहुँचयोग्य र सबैलाई फाइदा पुर्याउने एउटा खेल हो । कुनै पनि व्यक्तिले स्मार्टफोनबिनै वा यसको साथमा यसमा सहभागी हुन र सुविधा भोग गर्न पाउँछन्, जसले गर्दा उनीहरू आफैंको र शहरको समेत भलो हुन्छ,” साइकल सिटी नेटवर्क नेपाल (सीसीएनएन)का अध्यक्ष शैलेन्द्र डंगोलले भने, “असंख्य अभ्यास र परीक्षणपछि अन्ततः हामीले साइकल गेम एप, ग्रिनवे सुरु गर्न सकेका छौं । म यो अभियानमा भाग लिन र यसबाट लाभ लिन सबैमा आह्वान गर्दछु ।”

घरजग्गा सम्बन्धी सम्पुर्ण सहयाेगकाे लागि ‘जेनियुन हाेम सर्भिस गाइड’

काठमाडौ । घर जग्गा सम्बन्धी सम्पुर्ण सहयोगको लागि निर्माण साथीले जेनियुन होम सर्भिस गाइड सेवा सुरु गरेको छ । निर्माण तथा मर्मत सम्बन्धीको इ कमर्श कम्पनी निर्माण साथीले घरजग्गामा हुने मानिसको ठुलो लगानीलाई उच्चतम प्रतिफल दिने उदेश्यको साथ नयाँ वेबसाइट संचालनमा ल्याएको हो । यस मार्फत ग्राहकहरुलाई कम्पनीले जग्गा किन्ने बेलादेखि नै सल्लाह सुझाव र परामर्श दिई सेवाग्राहीलाई मार्गनिर्देशन दिनेछ । यस्तै कम्पनीले घर बनाउने योजनादेखि घरको नक्सा निर्माण कर्मीको छनोट निर्माण सुपरिवेक्षक सजावट हुँदै निर्माण सम्पन्न हुने समयसम्म आउने सम्पुर्ण चरणहरुमा आवश्यक जानकारीहरु सहजै प्रदान गर्नेछ । साथसाथै कम्पनीले घरजग्गा खरिद बिक्रिलाई सुरक्षित बनाउन भरपर्दो प्ल्याटफर्म लिएर आएको छ । यसमा ग्राहकहरुले आफ्नो घरजग्गाको वितरणहरु उल्लेख गरी नि शुल्क सुचिकृत गर्नसक्नेछन् । निर्माण साथी करीब दुई बर्षदेखि निर्माण तथा मर्मत सम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

अब आइफोनमा पनि भोल्टी चल्ने, यसरी गर्नुस एक्टिभ

काठमाडौं । आईफोनमा नेपाल टेलिकमको भीओएलटीई सेवा उपलब्ध भएको छ । यसअघि अन्य ब्राण्डका फोन सेटहरुमा भीओएलटीई सेवा सुचारु भएपनि आईफोनमा सुचारु भएको थिएन । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मंगलबार सामाजिक सञ्जाल मार्फत आईफोनमा उक्त सेवा सुचारू भएको जनाएका छन् । टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सार्वजनिक गर्दासमेत आईफोनमा यस्तै समस्या देखिएको थियो । यसरी गर्नुहोस एक्टिभ टेलिकमको भीओएलटीई सेवा एक्टिभ गर्न आफ्नो मोबाइलमा *444# डायल गरी अंक २ थिचेर यो सेवा एक्टिभ गराउन सक्छन् । त्यसपछि आफ्नो मोबाइलको सेटिङमा गएर भीओएलटीई अन गरेर *111# डायल गरी १०० मिनेट भीओएलटीई कल निःशुल्क पाउन सकिन्छ । यस्तै आईफोनका ग्राहकले भने १४४४ डायल गरी प्राप्त निर्देशनका आधारमा उक्त सेवा एक्टिभ गर्न सक्नेछन् ।