मोबाइलमा आपत्तिजनक एसएमएस पठाउनेलाई कारबाही गरिने : टेलिकम
काठमाडौं । नेपाल टेलिकमले भ्यालु एडेड सर्भिस (भिएएस) सेवा अन्तर्गत केही सेवा प्रदायकमार्फत आपत्तिजनक प्रकृतिका एसएमएसहरू मोबाइल प्रयोगकर्ताको नम्बरमा पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टेलिकमका अनुसार भिएएस सेवा अन्तर्गत विभिन्न सूचना तथा सन्देश एसएमएसमार्फत पठाइने व्यवस्था भए पनि हाल केही सेवा प्रदायकले स्वीकृत व्यवसायको सीमाभन्दा बाहिर गएर जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक तथा राजनीतिक सद्भावमा खलल पुर्याउने खालका सन्देश प्रवाह गरेको गुनासो प्राप्त भएको छ । नेपाल टेलिकमले यस्ता सन्देश प्रवाह नगर्न सम्बन्धित भिएएस सेवा प्रदायकलाई सचेत गराइसकेको र आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कडा निगरानी तथा नियन्त्रण गरिने स्पष्ट पारेको छ । साथै, सबै भिएएस सेवा प्रदायकलाई यस्ता सन्देश सर्वसाधारणको मोबाइल नम्बरमा नपठाउन निर्देशन दिइएको छ । यदि यस्ता गतिविधि पुनः दोहोरिए सम्झौताअनुसार सम्बन्धित सेवा प्रदायकसँगको सम्झौता खारेज गर्नेसम्मको कारबाही गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले कुनै पनि सेवा प्रदायकलाई ग्राहकको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण उपलब्ध नगराएको स्पष्ट गर्दै, ग्राहकको गोपनीयताप्रति आफू सधैं संवेदनशील र प्रतिबद्ध रहेको पनि दोहोर्‍याएको छ ।
महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी माघ महोत्सव' सञ्चालन गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सुविधा अभिवृद्धिका लागि 'महालक्ष्मी माघ महोत्सव' सञ्चालन गर्ने भएको छ । बैंकले प्रत्येक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिना घोषणा गरेको छ । हाल बैंकको दैनिक कुल कारोबारमा डिजिटल कारोबारको हिस्सेदारी औसतमा ८० प्रतिशत रहेको छ । यसलाई अझ बढावा दिन बैंकले 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एपमार्फत विभिन्न आकर्षक सुविधा थप गरेको छ। ग्राहकहरूले एपमार्फत मुद्धती खाता खोल्दा व्यक्तिगत मुद्धतीमा प्रदान हुने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याज पाउने छन् । साथै, भर्चुअल र साधारण क्रेडिट कार्डको वार्षिक शुल्कमा १०० प्रतिशत छुट, डेबिट कार्ड जारी र मोबाइल बैंकिङ दर्ता गर्दा १०० प्रतिशत छुट प्राप्त हुनेछ । ग्राहकहरूले मोबाइल एपबाट फार्मेसी बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा २०० रूपैयाँसम्म क्यासब्याक पाउनेछन् । अडियो मार्फत भुक्तानी पुष्टि गर्ने 'कोइली' सेवा दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाका लागि मात्र लागू हुनेछ । बैंकले यस अभियानमार्फत डिजिटल बैंकिङ पहुँच विस्तार, नगद रहित कारोबार बढाउने र प्रत्यक्ष बैंक उपस्थितिको आवश्यकता न्यून गर्ने उद्देश्य राखेको छ । 'सबल बैंक, सफल सहकार्य'को नारासहित बैंकले देशभर १०३ शाखा कार्यालय र करिब ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यस अघि बैंकले भारतीय भुक्तानी सेवा प्रदायक जस्तै फोनपे, भिमपे, यु.पि.आई र गुगलपे मार्फत क्युआर कोड भुक्तानी सुविधा पनि उपलब्ध गराइसकेको छ ।
टेलिकमको साधारण सभा सम्पन्न, सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८औं वार्षिक साधारण सभा बुधबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । सभामा करिब ९१.५६ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको उपस्थिति रहेको थियो । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ । सो अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १८औं वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले तीव्र प्रतिस्पर्धी वातावरणका बाबजुद मुनाफाभन्दा सेवाभावलाई प्राथमिकतामा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार, डिजिटल नेपाल बनाउने सरकारी अवधारणामा सहयोग, विद्युतीय सुशासन प्रवर्द्धन तथा अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माणमा कम्पनी केन्द्रित रहेको बताए । अध्यक्ष अर्यालले भावी दिनमा मेगा परियोजना सञ्चालनका लागि थप पुँजी आवश्यक परेमा बोनस सेयरसमेत प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार समीक्षा अवधिमा कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । यस अवधिमा कर तथा शुल्कबापत १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्वका रूपमा बुझाइएको छ । उनले जोखिम न्यूनीकरणका लागि आय सुनिश्चितता, कार्यसम्पादन तथा प्राविधिक परीक्षणलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिँदै वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा र खेलकुदलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग निरन्तर रहेको बताए । नेपाल टेलिकमले निकट भविष्यमा राजधानीसहित ठूला सहरहरूबाट ५जी सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । साथै, देशभर फोरजी र फाइबर सेवाको पहुँच विस्तार गर्दै २०८२ असोज मसान्तसम्म सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवा विस्तार भइसकेको कम्पनीले जनाएको छ ।