साइबरसुरक्षा, प्रविधि सार्वभौमिकता र भूराजनीति : ईयूको नयाँ नीतिले किन हुवावे चिढियो ?
काठमाडौं । ब्रसेल्सले मंगलबार सार्वजनिक गरेको मस्यौदा प्रस्तावअनुसार युरोपेली संघ (ईयू) ले महत्त्वपूर्ण क्षेत्रहरूमा उच्च जोखिमयुक्त आपूर्तिकर्ताबाट आउने कम्पोनेन्ट र उपकरणहरू चरणबद्ध रूपमा हटाउने योजना बनाएको छ । यस कदमको चीनको हुवावेले आलोचना गरेको छ, जसअन्तर्गत प्रभावित हुने कम्पनीहरूमध्ये हुवावे पनि पर्न सक्ने देखिएको छ । युरोपेली संघले ईयूको साइबरसुरक्षा ऐनमा प्रस्तावित संशोधनमार्फत यी उपायहरू अघि सारेको हो । पछिल्ला दिनमा साइबर आक्रमण र र्यान्समवेयर (कम्प्युटर, मोबाइल वा सर्भरमा आक्रमण गर्ने खतरनाक किसिमको हानिकारक सफ्टवेयर) आक्रमण बढ्नु, विदेशी हस्तक्षेप र जासुसीप्रति चिन्ता बढ्नु, तथा गैर–ईयू प्रविधि आपूर्तिकर्तामाथि युरोपको निर्भरता बढ्दै जानु यी कदमका प्रमुख कारण हुन् । २७ सदस्य राष्ट्रहरूको कार्यकारी निकाय युरोपेली संघले भने कुनै पनि कम्पनी वा देशको नाम स्पष्ट रूपमा उल्लेख गरेको छैन । तर युरोपले चिनियाँ प्रविधिप्रति निगरानी कडा बनाउँदै आएको छ । जर्मनीले हालै बेइजिङतर्फको व्यापार नीतिको पुनरावलोकन गर्न विज्ञ आयोग गठन गरेको छ र भविष्यका सीक्स जी दूरसञ्चार सञ्जालमा चिनियाँ कम्पोनेन्ट प्रयोगमा प्रतिबन्ध लगाएको छ । संयुक्त राज्य अमेरिकाले सन् २०२२ मा हुवावे र यसको चिनियाँ प्रतिस्पर्धी जेटटीईबाट नयाँ दूरसञ्चार उपकरणको स्वीकृति रोक लगाएको थियो र युरोपेली सहयोगीहरूलाई पनि त्यही कदम चाल्न आग्रह गरेको छ । नयाँ उपायले सुरक्षा र प्रविधि सार्वभौमिकता बढाउँछ : ईयू ‘नयाँ साइबरसुरक्षा प्याकेजमार्फत हामी हाम्रो महत्त्वपूर्ण (सूचना तथा सञ्चार प्रविधि) आपूर्ति शृंखला अझ राम्रोसँग सुरक्षित गर्न र साइबर आक्रमणविरुद्ध निर्णायक रूपमा लड्न सक्षम हुनेछौं,’ ईयूकी प्रविधि प्रमुख हेन्ना भिर्कुनेनले विज्ञप्तिमा भनिन् । हुवावेले यसअघि चीनको परराष्ट्र मन्त्रालयबाट आएको आलोचनालाई दोहोर्याएको छ । ‘तथ्यगत प्रमाण र प्राविधिक मापदण्डभन्दा देशको उत्पत्तिका आधारमा गैर–ईयू आपूर्तिकर्तालाई सीमित गर्ने वा बहिष्कार गर्ने विधेयक प्रस्तावले ईयूका आधारभूत कानुनी सिद्धान्त—न्याय, भेदभावरहितता र समानुपातिकता—सहित विश्व व्यापार संगठन (डब्ल्यूटीओ) प्रतिका दायित्वहरू उल्लङ्घन गर्छ,’ हुवावेका एक प्रवक्ताले भने । ‘हामी विधायी प्रक्रियाको आगामी विकासलाई नजिकबाट अनुगमन गर्नेछौं र हाम्रो वैध हित जोगाउन सबै अधिकार सुरक्षित राख्नेछौं,’ विज्ञप्तिमा भनिएको छ । नयाँ उपायहरू आयोगले पहिचान गरेका १८ प्रमुख क्षेत्रहरूमा लागू हुनेछन् । यसमा डिटेक्सन उपकरण, जडित तथा स्वचालित सवारीसाधन, विद्युत आपूर्ति र भण्डारण प्रणाली, पानी आपूर्ति प्रणाली, ड्रोन तथा काउन्टर–ड्रोन प्रणाली समावेश छन् । क्लाउड सेवा, चिकित्सकीय उपकरण, निगरानी उपकरण, अन्तरिक्ष सेवा र सेमिकन्डक्टरहरूलाई पनि महत्त्वपूर्ण श्रेणीमा राखिएको छ । ईयूले सन् २०२० मा फाइभ जी सुरक्षा ‘टुलबक्स’ अपनाएको थियो, जसअन्तर्गत हुवावे जस्ता कथित उच्च जोखिमयुक्त आपूर्तिकर्ताको प्रयोगमा तोडफोड वा जासुसीको आशंकाका कारण नियन्त्रण लगाइएको थियो । उच्च प्रतिस्थापन लागतका कारण केही देशहरूले अझै पनि त्यस्ता उपकरण हटाएका छैनन् । मंगलबार प्रस्तुत प्रस्तावअनुसार उच्च जोखिमयुक्त आपूर्तिकर्ताको सूची सार्वजनिक भएपछि मोबाइल अपरेटरहरूलाई प्रमुख कम्पोनेन्ट हटाउन ३६ महिनाको समय दिइनेछ । फाइबर-अप्टिक र पनडुब्बी केबलसहित स्थिर सञ्जाल तथा उपग्रह सञ्जालका लागि चरणबद्ध हटाउने अवधि पछि घोषणा गरिनेछ । ‘यो हाम्रो युरोपेली प्रविधि सार्वभौमिकता सुरक्षित गर्न र सबैका लागि थप सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण कदम हो,’ भिर्कुनेनले भनिन् । साइबरसुरक्षा जोखिम निम्त्याउने ठानिएका देशका आपूर्तिकर्तामाथि प्रतिबन्ध औपचारिक जोखिम मूल्यांकनपछि मात्र लागू हुनेछ, जुन आयोग वा कम्तीमा तीन ईयू देशले सुरु गर्नुपर्नेछ । कुनै पनि उपाय बजार विश्लेषण र प्रभाव मूल्यांकनका आधारमा तय गरिनेछ । दूरसञ्चार क्षेत्रको लबी समूह ‘कनेक्ट युरोप’ ले यी प्रस्तावले उद्योगमाथि थप बोझ बढाउने चेतावनी दिएको छ, जसका कारण नियामक लागत अर्बौं युरोमा पुग्न सक्ने बताइएको छ । संशोधित साइबरसुरक्षा ऐन कानुन बन्नुअघि आगामी महिनामा ईयू सरकारहरू र युरोपेली संसदसँग वार्ता हुन बाँकी छ ।
नेपाल बैंकको ‘लिङ्क, लोड तथा विदड्र’ अभियान, १५ हजार जित्ने अवसर
काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको उक्त अभियान बैंकको ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई लक्षित गरिएको बैंकले जनाएको छ । माघ महिनाभर सञ्चालन हुने यस अभियानमा नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरू सहभागी हुन सक्नेछन् । अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटसँग लिङ्क गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीहरूमध्ये हरेक हप्ता एक जना भाग्यशालीलाई चलचित्र टिकट वा खल्ती प्रो सदस्यता पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, अभियान अवधिभर भएको कुल कारोबारको आधारमा एक जना सहभागीलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको घोषणा अभियान समाप्त भएपछि गरिनेछ । अभियानमा सहभागी हुन इच्छुक व्यक्तिले खल्ती वालेटमा दर्ता भई आफ्नो परिचय विवरण अद्यावधिक गरेको हुनुपर्नेछ। साथै, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरी उक्त खातामार्फत कारोबार गरेको हुनुपर्ने सर्त तोकिएको छ। यस सम्बन्धमा थप जानकारी लिन नजिकैको नेपाल बैंकको शाखा कार्यालय वा बैंकको कल केन्द्रको फोन नम्बर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । उक्त अभियानले ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ स्वचालित टेलर मेशिन (एटिएम) तथा ६१ विस्तार काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
शाओमीले सार्वजनिक गर्यो रेड्मी नोट १५ सिरिज, ४ मोडेलसहित फ्ल्यागशिप फिचर
काठमाडौं । शाओमीले नेपालमा नयाँ स्मार्टफोन श्रृंखला रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी गरी चार मोडेल बजारमा ल्याइएका छन्, जसले विभिन्न आवश्यकताका प्रयोगकर्तालाई लक्षित गर्ने कम्पनीले जनाएको छ । यस सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जी मा ६,५०० एमएएच सिलीकोन–कार्बन ब्याट्री प्रयोग गरिएको छ, जसमा १० प्रतिशत एसआईसी सामग्री रहेको छ । १०० वाट हाइपरचार्ज प्रविधिका कारण यो फोन करिब ४० मिनेटमै पूर्ण चार्ज हुने बताइएको छ भने २२.५ वाट रिभर्स चार्जिङ सुविधासमेत उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलो पटक प्रयोग गरिएको यस प्रविधिले सानो आकारमै बढी ऊर्जा क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ । शाओमीका अनुसार प्रो मोडेलहरूमा प्रयोग गरिएको ब्याट्री शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम छ, जुन करिब ६ वर्षको सामान्य प्रयोग बराबर हो । यी मोडेलहरूले आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के प्रमाणीकरण प्राप्त गरेका छन् भने २.५ मिटर ड्रप प्रतिरोध क्षमताका लागि एसजीएस प्रमाणनसमेत हासिल गरेका छन् । रेड्मी नोट १५ प्रो+ ५जी स्न्यापड्रागन ७ एस जेन ४ प्रोसेसरमा आधारित छ र यसमा शाओमी हाइपरएआई, अफलाइन कम्युनिकेसन सुविधा तथा शाओमी सर्ज टी१एस ट्युनर समावेश गरिएको छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल प्राइमरी क्यामेरा, ओआईएस र २x तथा ४x अप्टिकल–लेभल इन–सेन्सर जुम सुविधा दिइएको छ । यसमा विश्वमै पहिलो पटक २०० मेगापिक्सेल एचपीई इमेज सेन्सर प्रयोग गरिएको कम्पनीको दाबी छ । यस फोनमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले दिइएको छ, जसले ३,२०० निट्स पिक ब्राइटनेस प्रदान गर्छ भने डुअल स्पिकरले ४०० प्रतिशतसम्म भोल्युम बुस्टसहित इमर्सिभ मल्टिमिडिया अनुभव दिने बताइएको छ । साथै, शाओमी आइसलुप कूलिङ सिस्टम प्रयोग गरिएको छ, जसले तातो नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीको भनाइ छ । रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २०० मेगापिक्सेल क्यामेरा, समान डिस्प्ले र आईपी रेटिङ दिइएको छ तर यसमा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन–कार्बन ब्याट्री, ४५ वाट चार्जिङ तथा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन र एआई रिफ्लेक्सन रिमुभ जस्ता एआई टुलहरू यसमा उपलब्ध छन् । त्यस्तै रेड्मी नोट १५ ५जी रेड्मी नोट सिरिजकै सबैभन्दा पातलो मोडेल हो, जसको मोटाइ ७.३५ मिलिमिटर छ । यसमा ५,५२० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, आईपी६६ वाटर रेसिस्टेन्स, स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर र ४५ वाट चार्जिङ सुविधा दिइएको छ । रेड्मी नोट १५ ४जी मोडेलमा भने ६,००० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले, आईपी६४ सुरक्षा र ३३ वाट चार्जिङ सुविधा समावेश गरिएको छ । शाओमीले रेड्मी नोट १५ सिरिजको लन्च अवसरमा २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा शाओमी बड्समा छुटसहितको बन्डल अफर तथा सबै मोडेलमा ९ महिना ० प्रतिशत ईएमआई सुविधा उपलब्ध गराइने जनाएको छ । रेड्मी नोट १५ सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेड्मी नोट १५ प्रो+ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी भेरियन्टका लागि ६६ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी का लागि ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। रेड्मी नोट १५ प्रो ५जी को १२ जीबी + ५१२ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य क्रमशः ५६ हजार ९९९ र ४९ हजार ९९९ रुपैयाँ छ। त्यसैगरी रेड्मी नोट १५ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी का लागि ४६,९९९ र ८ जीबी + २५६ जीबीका लागि ३९ हजार ९९९ रुपैयाँ तथा रेड्मी नोट १५ ४जीको मूल्य ८ जीबी + २५६ जीबीका लागि ३५ हजार ९९९ र ६ जीबी + १२८ जीबी का लागि २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।