नेपाल क्लियरिङ्ग हाउसको ३० प्रतिशत लाभांश घोषणा, पारित गर्न डाक्यो साधारणसभा
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको २८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १७ गते होटल र्याडिसन काठमाडौंमा दिउँसो साढे १२ बजे १२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । साथै, कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने प्रस्ताव गरेको छ । यस्तै, कुनै कम्पनी गाभ्ने वा मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको जनाएको छ । एनसेलले बिहीबार आफ्नो प्रतिबद्धता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हो । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री कृष्ण बहादुर बिसीलाई हस्तान्तरण गरेका थिए । ‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत, पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ’ मन्त्री बिसीले भने । कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्नो तर्फबाट एनसेलले कसरी सहयोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग छलफल जारी राखेको जनाइएको छ । ‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी कामगर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले भने । यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै १ करोड पुगेको छ । विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति एनसेल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुको साथ रहेको कम्पनीले जनाएको छ ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट पारित
काठमाडौं । सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ ।