ओपन एआईद्वारा च्याट जीपीटी-४ टर्वो लन्च, अब तत्कालको जानकारी पनि पाउन सकिने

काठमाडौं । ओपन एआईले च्याट जीपीटी-४ टर्वो लन्च गरेको छ । जसले अब वास्तविक समयमा खोजेको विषयमा समेत जानकारी प्रदान गर्नेछ । जसका बारेमा कम्पनीले यो च्याटजीपीटीको सबैभन्दा उन्नत संस्करण भएको र यसले वास्तविक समयमा सही जानकारी उपलब्ध गराउने बताएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले आफ्नो पहिलो डेभलपर सम्मेलनमा यो घोषणा गरेका थिए। च्याटजीपीटी गत वर्ष नोभेम्बरमा लन्च गरिएको थियो र अहिले सम्म यसमा सेप्टेम्बर २०२१ सम्मको मात्र जानकारी प्राप्त गर्न सकिन्थ्यो अब भने २०२३ अप्रिल सम्मको जानकारी प्राप्त गर्न सकिने सीइओ साम अल्टम्यानले बताएका छन् । च्याट जीपीटी-४ ले कुनै तस्बिरलाई विश्लेषण गर्ने क्षमता राख्छ । यसका साथै यसले अब तीन सय पृष्ठ सम्म प्रश्नको जवाफ दिने गर्छ । यद्यपी हाल यो डेभलपर्सहरुको लागि मात्रै उपलब्ध भएको र केही समयमा नै आम प्रयोगकर्ताहरुमाझ ल्याउने सिइओ साम अल्टम्यानले बताएका छन् । च्याटजीपीटी-४ प्लस प्रयोगकर्ताहरुको लागि मात्रै हुने र शुल्क तिरेर मात्रै प्रयोग गर्न पाइने छ ।

नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्य

काठमाडौं । नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणाको भएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) बीच सहकार्यको घोषणा भएको हो । एक समारोहबीच क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दार र यूएसएडको ट्रेड एण्ड कम्पिटिटिभनेसकी प्रमुख एग्नेस लुजले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको आईसीटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा आर्थिक वृद्धिलाई बढावा दिन यो सहकार्यबाट महत्त्वपूर्ण सहयोग पुग्‍ने बताइएको छ । त्यस्तै सीमान्तकृत समुदाय लगायतका सरोकारवाला पक्षहरूका लागि आईसीटी क्षेत्रमा अवसर सिर्जना गर्ने र आईटी तथा डिजिटल सेवाको प्रतिस्पर्धा बढाउने उद्देश्यले विभिन्न कार्यक्रम संयुक्त रूपमा सञ्चालन हुने विज्ञप्तीमा भनिएको छ । यस साझेदारीपछि नेपालमा आईसीटी प्रतिभाका लागि उपयुक्त तालिमको व्यवस्था तथा इकोसिस्टम निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले बताए । त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालको आईसीटी क्षेत्रलाई प्रवर्द्धन र सुदृढ गर्न यो सहकार्य महत्त्वपूर्ण हुने प्रतिक्रिया दिए ।

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जनाले पाए स्कुटर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरु मध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तानतरण गरिएको हो । विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन् । त्यस्तै मंगलबारनै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् । त्यसैगरी एनसेल सेन्टर हेटौडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन् । यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचलान गरिएका पहलहरू मध्ये एक हो । भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेको कम्पनीले जनाएको छ । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरु प्राप्त गरेको थियो । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए । यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । बाँकी रहेका ४ जना विजयेताहरुले बम्पर प्राइज कार्तिक २२ र २३ गते प्राप्त गर्ने कम्पनीले जनाएको छ । एनसेलले मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो । यस कार्यक्रममा अभिनेत्री केकी अधिकारीेले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै मंगलबार १०० रुपैयाँ भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेकी थिइन् ।