ब्रोकर लाइसेन्सका लागि अबको प्रक्रिया के ? एनआईसी र सानिमा नेप्सेमा, अरु तयारीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकमा ब्रोकर कारोबार सञ्चालनका लागि भन्दै १० कम्पनीले स्वीकृति पाएसँगै अब ती बैंकहरुले कहिले ब्रोकर सेवा दिन थाल्छन् भन्ने चासो सुरु भएको छ । नेपाल राष्ट्र बैंकमा निवेदन दिएका १९ ओटा वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईशी एशिया बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक र सानिमा बैंकलाई ब्रोकर सेवाका लागि सहायक कम्पनी खोल्ने सम्बन्धमा राष्ट्र बैंकले स्वीकृति दिएको हो । सिभिल बैंककाे स्वीकृति प्रक्रियामा रहेकाे र नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक र सनराइज बैंकले पनि सहायक कम्पनी स्थापनाका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकलाई सहायक कम्पनीमार्फत् ब्रोकर कारोबार सञ्चालन गर्न पाउने व्यवस्थाअनुरुप सहायक कम्पनी खोल्न स्वीकृति दिइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । लाइसेन्स पाएकामध्ये एनआईशी एशिया बैंक र सानिमा बैंक सहायक कम्पनी स्थापना गरि ब्रोकर लाइसेन्सका लागि नेपाल स्टक एक्सचेञ्ज पुगिसकेका छन् । ती बैंकहरुले लाइसेन्सका लागि दिएको निवेदन नेप्सेमा दर्ता भएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले दिए । बाँकी ८ कम्पनीहरु भने नेप्से पुगिसकेका छैनन् । कहिले पाउँछन् बैंकले लाइसेन्स ? प्रवक्ता पराजुलीका अनुसार बैंकका सहायक कम्पनीहरुले नेप्सेमा निवेदन दिएसँगै आवश्यक प्रक्रिया पूरा गरी नेप्से बोर्डले कति संख्यामा र कुन प्रक्रियाबाट लाइसेन्स दिने र ती कम्पनीहरुको पूर्वाधार तथा सेवा शर्तहरुको बारेमा समेत बोर्डले निर्णय गर्ने बताए । नेप्से बोर्डले अध्ययन गरेपछि ब्रोकर लाइसेन्सका लागि उपयुक्त रहेका बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन धितोपत्र बोर्डलाई सिफारिस गर्नेछ । यद्यपि त्यसका लागि नेप्सेले बजारमा ब्रोकरहरुको आवश्यकता, सम्भाव्यता, क्षमता लगायतका विभिन्न पक्षमा अध्ययन गर्नुपर्ने भएकोले यसका लागि समय लाग्सक्ने जानकारी दिए । ‘बैंकलाई ब्रोकर लाइसेन्स दिने भन्ने विषय हाम्रो लागि नौलो हो, त्यसका लागि नयाँ कार्यविधि बनाउनुपर्ने पनि हुनसक्छ, यसका लागि यति नै समय लाग्छ भन्न सकिन्न तर समय लाग्नसक्छ’ उनले विकासन्यूजसँग भने । याे पनि हेर्नुहाेस् १० बैंकलाई ब्रोकरको काम गर्न राष्ट्र बैंकको अनुमति
चिनौं यी अनलाइनमैत्री ब्रोकरहरु, चर्चित ब्रोकरका ग्राहक नै अनलाइन प्रयोगमा उदासिन
काठमाडौं । शेयर बजारमा बढी कारोबार गर्ने र त्यतिकै चलखेल समेत गर्ने आरोप लाग्दै आएका ब्रोकरहरु नै अनलाइन कारोबारमा उत्साहित नरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्क अनुसार जेठ ३१ सम्म अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिएका ८ हजार ९ सय ४४ जना ग्राहकहरु आवद्ध रहेका ५० ब्रोकर कम्पनीहरुमा बढी कारोबार गर्ने कम्पनीहरु तुलनात्मक रुपमा पछाडि देखिएका छन् । बजारमा चर्चित नासा सेक्युरिटिज (ब्रोकर नं ५८), श्रीहरि सेक्युरिटिज (ब्रोकर नं ५६), श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नं २८), एशियन सेक्युरिटिज (ब्रोकर नं २८) जस्ता ब्रोकरहरुका ग्राहकहरु अनलाइन कारोबारप्रति उत्साहित नदेखिएका हुन् । यद्यपि अर्काे चर्चित आर्यतारा सेक्युरिटिजले भने १०.६६ प्रतिशत हिस्सा लिँदै सर्वाधिक प्रयाेगकर्ता भएकाे ब्राेकर कम्पनी बन्न सकेकाे छ । अनलाइन कारोबारका लागि सबैभन्दा धेरै युजरनेम र पासवर्ड उपलब्ध गराउने ब्रोकर कम्पनी आर्यतारा इन्भेष्टमेन्ट (ब्रोकर नं ५७) रहेको छ । उसको ९५४ जना अनलाइन ग्राहक छन् जुन कुल संख्याको १० प्रतिशत भन्दा बढी हो । त्यस्तै अनलाइन सेक्युरिटिज (ब्रोकर नं ४९) को ७४३ जना, भिजन सेक्युरिटिज (ब्रोकर नं ३४) को ७२८ जना, दिपशिखा सेक्युरिटिज (ब्रोकर नं ३८) को ६७१ जना र सुन्धारा सेक्युरिटिज (ब्रोकर नं ५२) को ५२९ जना अनलाइन ग्राहक छन् । बाँकी ब्रोकरहरुको भने त्यो संख्या ३५० जनाभन्दा कम छ । २५ ओटा ब्रोकरहरुको अनलाइन ग्राहक संख्या १०० जनाभन्दा पनि कम छ । श्रीकृष्ण सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज जस्ता चर्चित ब्रोकरहरु यही वर्गमा परेका छन् । बाँकी कम्पनीहरुको भने १०४ जनादेखि ३२८ जनासम्म अनलाइन ग्राहक रहेको नेप्सेको तथ्याङ्क छ । अनलाइन कारोबारको विश्वसनीयताप्रति बजारमा चलेको हल्लाका कारण ठूला कारोबारीहरु अझैपनि अनलाइन प्रयोगप्रति आकर्षित छैनन् । त्यस्तै अनलाइन लिएपछि ‘म्यानुअल’ विधिबाट कारोबार नै गर्न नसकिने हो कि भन्ने भ्रमका कारण पनि अनलाइनको युजरनेम र पासवर्ड दिनेको संख्या बढ्न नसकेको विश्लेषण कतिपयको छ । हाल सूचीकृत कम्पनीको शेयरमा लगानी गरी शेयर अभौतिकीकरण गर्नेको संख्या करिब १५ लाख रहेको बताइए पनि दोस्रो बजारमा कारोबारका लागि ब्रोकर कम्पनीहरुमा खाता खोलेका ग्राहहरुको संख्या भने करिब ३ लाख मात्रै रहेको नेप्सेले जनाएको छ, त्यसमध्ये पनि कतिपयले केवाईसी अपडेट नगरेका कारण खाता निष्क्रिय छ ।
नयाँ सीईओ नियुक्तीसँगै सनराइज बैंकमा खटपट, निरज श्रेष्ठलाई पहिलाे गाँसमै ढुंगा
काठमाडौं । सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तीको विषयलाई लिएर सञ्चालक समितिमा खटपट भएको छ । नयाँ सीईओको पक्ष र विपक्षमा सञ्चालक समितिका सदस्यहरू दुई भागमा विभाजित भएका छन् । सीईओ नियुक्त गर्न गत बुधबार बसेकाे सञ्चालक समितिको बैठकमा मत विभाजित भएपछि सञ्चालक शैलेन्द्र गुरागाई बैठकको बीचमै उठेर निष्केका थिए । उनले प्रस्तावित सीईओको कार्यसम्पादन क्षमता र अस्थिरताबारे प्रश्न उठाएका थिए । सीईओ छनौट समितिमा आफूलाई वाइपास गरेर नाम बोर्डमा ल्याएकोमा पनि उनले असहमति प्रकट गरेका छन् । सीईओ छनौट समितिमा मालचन्द दुगड, बच्चराज तातेल, शैलेन्द्र गुरागाई, ओमकृष्ण जोशी थिए । मालचन्द र गुरागाईको अनुपस्थितिमा छनौट समितिले नाम सिफारिस गरेको थियो । उक्त नाम मालचन्द दुगड अनुपस्थित भएको सञ्चालक समितिमा पेस गरिएको थियो । ‘निरजको नाममा छनौट समितिमा पनि बहुमतको आधारमा निर्णय भयो, सञ्चालक समितिमा पनि बहुमतका आधारमा निर्णय भयो’ सञ्चालक शैलेन्द्र गुरागाईले भने । ‘बैठकमा म उपस्थिति थिईन । नयाँ सीईओ नियुक्ती गर्ने निर्णय प्रक्रियामा मेरो सहभागिता नै छैन’ मालचन्द दुगडले विकासन्युजसँग भने । तर बैंक सञ्चालक समितिको अध्यक्ष मोतिलाल दुगडले नयाँ सिईओ नियुक्तीमा सबैको सहमति भएको बताए । सनराईज बैंकको सञ्चालक समितिमा यसअघि भएको विवाद राष्ट्र बैंकसम्म पुगेको थियो । नयाँ सीईओ नियुक्तीको क्रममा फेरी विवाद देखिएको छ । नियुक्ती कै क्रममा विवाद भएपछि निरज श्रेष्ठलाई बैक चलाउन कठिन हुने अनुभवि बैंकर्सहरु बताउँछन् । ‘सञ्चालक समितिको सर्बसहमतिमा निर्णय गराएर नियुक्ती लिनुपर्ने हो । अहिले नै विवाद भयो भने पछि बोर्डलाई मिलाएर जान गाह्रो हुन्छ’ एक जना अनुभवी बैंकर्सले भने । श्रेष्ठकाे कार्यकाल ४ वर्ष तोकिएको छ । उनले असार २ गतेदेखि जिम्मेवारी समाल्ने छन् ।