राजनीतिक संस्कार र विकास दुबैमा अब्बल
जसले मेयरका रूपमा उम्मेदवारी दिँदै गर्दा गरेका प्रतिवद्धता सार्वजनिक गरेको घोषणापत्र सतप्रतिशत पूरा गरे । ललितपुरलाई बस्नयोग्य एक सुन्दर सहरका रूपमा चिनाए । ललितपुरलाई पुनः सांस्कृतिक धरोहरका रूपमा मात्रै स्थापित गरेनन्, सेवाग्राहीले पाउने सेवालाई पनि पूर्ण डिजटलाइजेसन गरे, ती पात्र हुन्– ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन । विसं २०१४ साल मंसिरमा जन्मिएका चिरीबाबु उमेरले ६८ वर्ष नाघे । दाह्री–कपाल सेतै भइसके । नेपालीको औसत आयु ७१ वर्ष हो । तर, नेपाली समाजमा ४० वर्ष कट्दाबित्तिकै उमेर भयो भनेर बुढ्यौलीको गफ लगाउने अभ्यास व्याप्त छ । तर, मेयर चिरीबाबु महर्जनमा थप जिम्मेवारी बोध हुँदैछ । थप काम गर्ने जाँगर पलाउँदैछ । उनले बुढ्यौलीको होइन, विकासको बहस फैलाउँदैछन् । समाजमा श्रमदानको संस्कार बसाल्दैछन्, ध्वस्त भएका सम्पदाहरू उठाउँदैछन् र ललितपुरलाई एउटा बस्नयोग्य सुन्दर सहर बनाउँदैछन् । र त अहिले ललितपुर महानगरको वाहवाही नगर्नेहरू कमै भेटिन्छन् । महानगरभित्र चिरीबाबुलाई नचिन्नेहरू नगन्य छन् । ललितपुर पुल्चोकको एउटा सामान्य किसान परिवारमा जन्मिएका चिरीबाबुले म महानगरको मेयर बन्छु भन्ने कल्पना पनि गरेका थिएनन् । तर, काम गर्ने कर्मवीरहरूलाई भगवानले पनि चिन्दा रहेछन् । समाजले पत्याउँदो रहेछ । राम्रो काम गर्नेको वाहवाही पनि हुँदो रहेछ । अहिले त्यही वाहवाहीका पात्र बनिरहेका छन् चिरीबाबु । सानैदेखि मिहिनेत र संघर्ष गर्न रुचाउने चिरीबाबुले चार वर्षको उमेरमै बुवा गुमाउनु पर्यो । त्यसपछि उनको परिवारमा बादल मडारियो । तीन दाजुभाइ र तीन दिदीबहिनीलाई पालनपोषण गर्ने जिम्मेवारी उनको आमामा थपियो । खानलाई समस्या नभए पनि उनको घरमा नगदको अभाव भने सधैं भइरहन्थ्यो । दिदी र दाजुहरू भने अनपढ थिए । चिरीबाबुमा भने जसरी पनि पढ्नुपर्छ भन्ने बुझाइ थियो । काम गरेर जनताको मन जित्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको छ । हामी थाक्नु हुँदैन । नसक्ने काम सक्छु भन्नु हुँदैन । तर, सक्ने काम छ भने तुरुन्तै गर्नुपर्छ, सेवाग्राही अर्को पटक नआउने गरी मैले काम गरिरहेको हुन्छु । हामीले भोलि आऊ पर्सि आऊ भनेर अल्झाउँदैनौं । ‘आमाले साह्रै दुःख गरेर हामीलाई हुर्काउनु भयो, ६ कक्षा पढ्दासम्म खुट्टामा जुत्ता/चप्पल परेन,’ ती पीडादायी र संघर्षशील दिनहरू स्मरण गर्दै चिरीबाबुले भने, ‘सानैदेखि पढाइमा अब्बल भएकै कारण आफ्नो खर्च आफै उठाउन सक्ने बनें ।’ ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन । तस्बिर : नरेश बोहोरा/विकासन्युज कक्षा ६ मा पढ्दा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगितामा चिरीबाबु दोस्रो भए । एक सय रुपैयाँ पुरस्कार पाए । त्यतिबेलाको एक सय रुपैयाँ अहिलेको एक लाख रुपैयाँ बराबर हो । त्यही पैसाले उनले जुत्ता किने । दुई जोर ड्रेस किने । त्यसपछि उनले थप मिहिनेत गर्दै गए । आफूसँगै भाइलाई पनि पढाउनुपर्छ भन्ने हिम्मत दिए । अहिले उनको भाइले विद्यावारिधि गरेका छन् । चिरीबाबु कक्षामा जहिल्यै प्रथम भए । उनले कक्षा १ देखि १० कक्षासम्म ललितपुरको त्रिपद्म माविमा पढे । स्नातकोत्तरसम्म उनले राम्रै अंकका साथ पास गरे । पढ्ने बेलादेखिको मिहिनेत गर्ने बानीले उनलाई जिन्दगीमै सफल बनायो । वडाध्यक्षमा ह्याट्रिक, दुई पटक मेयर चिरीबाबु महर्जन पढाइमात्रै होइन, समाज सेवामा पनि सानैदेखि सक्रिय थिए । शनिबार आउनेबित्तिकै टोल छिमेकका साथीभाइ बटुलेर कहिल्यै पाटीपौवा त कहिले बाटाघाटाहरू सरसफाइमा व्यस्त हुन्थे उनी । सरल र अनुशासित स्वभावका उनलाई समाजमा धरैले रुचाउँथे, प्रशंसा गर्थे । उनले पढाइ, काम र समाजसेवा सँगै अगाडि बढाए । विसं ३०३६ सालको जनमत संग्रहले चिरीबाबुमा ठूलो सामाजिक छाप परिसकेको थियो । २०३८ सालमा चुनाव भयो । उनले ललितपुरको वडा नम्बर ३ बाट वडाअध्यक्षमा जित हासिल गरे । त्यतिबेला देशभर पञ्चायतले जितेको थियो । बहुदल पराजयी भएको थियो । त्यो अवस्थामा उनले सहज जित निकालेका थिए । ‘पुल्चोक पुस्तकालय स्थापना गरें, जुन अहिले पनि सञ्चालनमा छ । टोलटोलमा फ्री क्लिनिक स्थापना गरेँ, यसले मलाई सहजै जित्न सहज भयो,’ उनले विगत स्मरण गर्दै भने । उनी वडाअध्यक्ष हुँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा परियोजनामा काम गर्थे । उनले कामसँगै वडाअध्यक्षको जिम्मेवारी पनि लिए । दुइटै काम अगाडि बढाए । म प्राविधिक रूपमा अल्पमतमा भए पनि सबैको मन जितें, पारदर्शी भएर काम गरें । फरक पार्टीका सदस्यहरूले पनि मलाई सहयोग गर्नुभयो, नियत सही राखेर काम गरियो भने र आर्थिक रूपमा पारदर्शी बनियो भने सबैले विश्वास गर्ने रहेछन् । आफू आर्थिक रूपमा पारदर्शी भएको चिरीबाबु दाबी गर्छन् । कुनै पनि कामको हिसाबकिताब चुस्तदुरुस्त बनाएर पारदर्शी ढंगले काम गर्ने भएकोले पनि सबैले आफूलाई रुचाउने गरेको उनको बुझाइ छ । उनी २०४३ र २०४९ मा पनि वडा नम्बर ३ बाटै अध्यक्षमा विजयी भएर जनप्रतिनिधिका रूपमा जितको ह्याट्रिक गरे । २०४६ सालमा बहुदललाई समर्थन गर्न उनले वडाध्यक्षबाट राजीनामा दिएका थिए । २०५४ को चुनावमा पनि उम्मेदवार बन्ने चिरीबाबुको चाहना थियो । तर, उनी त्यतिबेला पढ्नका लागि क्यानडामा थिए । तीन महिनाको असाइनमेन्ट उनले ७२ दिनमा सकाएर नेपाल फर्किएका थिए । तर, त्यतिबेलासम्म कांग्रेसले अर्कै उम्मेदवार उठाइसकेको थियो । उनले कांग्रेसको उम्मेदवार जिताउन भरपुर सहयोग गरे । तर, कांग्रेसको उम्मेदवार ललितपुरमा पराजित भए । चिरीबाबु ज्यापू समुदायको अध्यक्ष बने । तीन वर्षको अवधिमा ज्यापू समुदायको नेतृत्व गर्दै उनले सामाजिक काममा आफूलाई सक्रिय बनाउँदै गए । २०७४ को स्थानीय तहको चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बने । त्यतिबेला राष्ट्रिय राजनीतिमा उनको नाम सुन्ने कमै थिए । तर, ज्यापू समुदायमा उनी परिचित पात्र थिए । २०७४ मा ललितपुर महानगरपालिकाको मेयरमा ३२६ मतान्तरले उनी विजयी भए । उनी विजयी भएपनि कार्यपालिकामा नेपाली कांग्रेसका १२ जना र विपक्षीका २७ जना सदस्य थिए । ‘म प्राविधिक रूपमा अल्पमतमा भए पनि सबैको मन जितें, पारदर्शी भएर काम गरें । फरक पार्टीका सदस्यहरूले पनि मलाई सहयोग गर्नुभयो, नियत सही राखेर काम गरियो भने र आर्थिक रुपमा पारदर्शी बनियो भने सबैले विश्वास गर्ने रहेछन्,’ मेयर महर्जनले आफ्नो अनुभव सुनाउँदै भने । उनको बुझाइमा चुनावमा जित्नु ठूलो कुरा होइन, जितेको कुरा सस्टेन गर्न सक्नुपर्छ । ‘मैले कुनै पनि काम गर्दा श्वेतपत्र जारी गर्छु । योजना सम्पन्न भएपछि त्यसको स्टेटमेन्ट सार्वजनिक गर्छु, त्यसले विश्वासको वातावरण सिर्जना गर्छ । विपक्षी टिमका साथीहरू पनि खुसी हुनेगरी काम गरेको छु,’ उनले भने । उनी २०७९ मा पनि मेयरकै उम्मेदवार बने । दोस्रो पटक उनले विपक्षीलाई १८ हजार मतले हराए । ‘काम गरेपछि जितिँदो रहेछ भन्ने यो उदाहरण हो,’ उनले भने, ‘मेरो कामले ललितपुरवासीले दोस्रो पटक ठूलो मतान्तरले जिताएका हुन् ।’ सम्पदाका संरक्षक, शैक्षिक हबका अभियन्ता ललितपुर महानगरपालिका सांस्कृतिक सहरका रूपमा पनि परिचित छ । २०७२ को भूकम्पले भने ललितपुरका अधिकांश सांस्कृतिक सम्पदाहरू ध्वस्त भए । यी संरचनाहरू पुनःनिर्माण हुन नसक्ने र भइहाले पनि पुरानो कलाशैलीमा बन्न नसक्ने चिन्तामा स्थानीयहरू थिए । तर, २०७४ मा मेयर बनेपछि चिरीबाबुले आफ्नो पहिलो प्राथमिकतामा सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणलाई राखे । भूकम्पले तहसनहस भएका ललितपुरका सम्पदाहरू अहिले पुरानै शैलीमा ठडिएका छन् । ती सम्पदाहरू थप आकर्षक बनेका छन् । भूकम्पले भत्किएका ललितपुरका मठमन्दिर, बिहार, बहाल, सत्तल, पाटी, पोखरी निर्माण सम्पन्न भइसकेका छन् । मेयर महर्जनले निर्माण भएका सबै सम्पदा पुरातात्विक शैलीमै पुनःनिर्माण गरिएको बताए । मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् । स्मार्ट सिटीका आधारभूत विषयहरूलाई मध्यनजर गर्दै उनले काम गरिरहेका छन् । कुनै बेला फोहोर र खाल्डाखुल्डीले दिक्क बनाउने ललितपुरका सडकहरूले आजभोलि जो कोहीलाई पनि मोहित बनाउँछ । ललितपुरलाई स्मार्ट सिटी बनाउने योजनाका साथ महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेको छ । बालकुमारी मन्दिर, पाटनको देगु तलेजु, भीमकाय भीमसेन मन्दिर, बुङ्गमतीको रातो मच्छिन्द्रनाथको शिखर शैलीको मन्दिर, पिम्वाल जगमदु पोखरी, पाटी पुनःनिर्माण, सौगल महादेव मन्दिर, यशोधरा महाविहार करुणामय मन्दिर, पुल्चोक ढुङ्गेधारा मर्मत, जगनाथ मन्दिर, सिकुचा फल्चा, अशोक चैत्य, पशुपति मन्दिर, सैथु गणेश मन्दिर, हरिशङ्कर मन्दिर, तापाहिटी पाटी, चोछे लाछि पाटी, छ्याबहाल पाटी लगायतको पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भइसकेको उनले बताए । ललितपुर महानगरपालिकाले महानगरको काम व्यवस्थित र मर्यादित गर्ने उद्देश्यले ‘एक्सन टिम’ बनाएर काम गरेको थियो । ‘सम्पदाको क्षेत्रमा मभन्दा पछि आउने मेयरलाई काम छैन, सबै काम सम्पन्न भइसकेको छ । ३०औं वर्षदेखि रोकिएको मछिन्द्रनाथपछिको चर्चित जात्रा पाया जात्रा सुरु गरेका छौं । धेरै जात्राका लागि अक्षय कोष सुरु गरेका छौं,’ उनले भने । विकास नायकबाट सम्मानित भएपछि तस्बिर खिचाउँदै चिरीबाबु महर्जन । सम्पदाको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ललितपुर महानगरपालिका सम्मानित पनि भएको चिरीबाबुले सुनाए । अहिले ललितपुरले महानगरले एक विद्यालय–एक सम्पदा कार्यक्रम सुरु गरेको छ । महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम सुरु गरेको उनको भनाइ छ । उनले टिकाभैरवबाट सप्तपाताल पोखरीसम्म राजकुलो ल्याउने ऐतिहासिक प्रयास पनि गरेका छन् । जसको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सम्पदाको संरक्षण तथा पुनःनिर्माणसँगै मेयर महर्जनले ललितपुरलाई शैक्षिक हबका रूपमा पनि चिनाएका छन् । अहिले देशभरका शैक्षिक संस्थाहरूमध्ये ललितपुर महानगरपालिकाका बोर्डिङ तथा सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याइरहेका छन् । गत वर्षको एसईईमा ललितपुर महानगरका विद्यालयले ८७.६ प्रतिशत नतिजा ल्याए । ४८६ विद्यार्थीले एसईईमा ४ जीपीए ल्याए । ७५३ पालिकामध्ये शिक्षामा उत्कृष्ट नगरका रूपमा ललितपुर सम्मानित पनि भएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई शिक्षामा राम्रो काम गरेको भन्दै सम्मान पनि गरिसकेको छ । स्मार्ट सिटीका परिकल्पनाकार, आईटीमा अब्बलता मेयर चिरीबाबुले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् । स्मार्ट सिटीका आधारभूत विषयहरूलाई मध्यनजर गर्दै काम भइरहेको छ । कुनै बेला फोहोर र खाल्डाखुल्डीले दिक्क बनाउने ललितपुरका सडकहरूले आजभोलि जो कोहीलाई पनि मोहित बनाउँछ । ललितपुरलाई स्मार्ट सिटी बनाउने योजनाका साथ महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेको छ । कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले सवारीको चाप हेरेर बाटो बन्द गर्ने र खुलाउने काम स्वचालित रूपमा गर्न थालेपछि ट्राफिक प्रहरीलाई सडकमा उभिएर हात हल्लाउने, सिठी फुक्नुपर्ने बाध्यता हटेको छ । इन्टेलिजेन्ट ट्राफिक लाइटको सिस्टम नेपालमा पहिलोपटक नभएको प्रविधि हो । ‘ललितपुर महानगरलाई बस्नयोग्य स्मार्ट सिटीका रूपमा विकास गर्नेगरी काम गरिरहेको छु । स्मार्ट सिटीका राम्रा अवयवहरू पालना गरिरहेका छौं । अहिले सुन्दर, सफा र हराभरा महानगर देखेर सबैले प्रशंसा गर्नुहुन्छ, खुसी लाग्छ,’ मुस्कुराउँदै चिरीबाबुले भने । ललितपुरले मुलुकमै सबैभन्दा पहिलो एलएमसी एपबाट सेवा दिइरहेको छ । त्यसबाट निःशुल्क रूपमा २३ वटा काम हुन्छन् । कल गरेको ४ मिनेटमा पुगेर सेवा दिने गरेको उनको दाबी छ । ‘त्यो एपबाट प्रभावकारी काम भइरहेको छ, स्थानीयले फोन गरेको ४ मिनेटभित्रै पुगेर सेवा दिने गरेका छौं । कतै आगलागी भयो भने सानो दमकलबाट गल्लीगल्लीमा छिरेर आगो निभाउने काम गर्छौं, त्यसका लागि दमकलमा फर्मको व्यवस्था गरेका छौं । त्यसले जस्तोसुकै आगो पनि निभाउँछ,’ उनले भने । बाँयाबाट क्रमश : नेपाल राष्ट्र बैंकका डुपेटी गभर्नर बमबहादुर मिश्र, विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, एनआईसी एसियाका सीईओ सुजित शाक्य र नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्दराज पाण्डे । महानगरभित्र आगलागी भएमा आपतकालीन सूचना प्रणालीको विकास पनि महानगरले गरेको छ । कुनै ठाउँमा आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने बित्तिकै स्विच सक्रिय भई साइरन बज्छ र मोबाइलमा सन्देश पठाउँछ । अहिले पाटन दरबार क्षेत्र र पाटन अस्पतालमा यो सेवा छ । प्रभावकारी भएमा ललितपुरको चोकचोकमा राख्ने योजना मेयर चिरीबाबुको छ । उनले सरकारले अपाङ्गताको क्षेत्रमा सबै नगरपालिकाभन्दा राम्रो काम गरेको भन्दै ललितपुरलाई पुरस्कृत गरेको जानकारी दिए । निःशुल्क स्वास्थ्य सेवा, महानगरमा ‘वान डोर पोलिसी’ ललितपुर महानगरपालिकाले स्वास्थ्यमा ठूलो लगानी गरेको छ । लगानी अनुसारको नतिजा पनि आइरहेको मेयर चिरीबाबुको दाबी छ । ‘हामीले जेष्ठ नागरिकलाई वर्षैपिच्छे निःशुल्क निमोनिया खोप दिँदै आएका छौं । घर–घरमा गएर महानगरको स्वास्थ्यकर्मीसहितको टिमले चेकजाँच गरिरहेका हुन्छन्, निरन्तर फलोअप पनि हुन्छ, महिलाहरूको स्तन र पाठेघरको क्यान्सर सेवा घर–घरमै पुगेर दिन्छौं,’ उनले भने । यस्तै, ललितपुर महानगरले स्वास्थ्य बीमाको सुरुवातसँगै पाटन अस्पतालमा एलो स्वास्थ्य केन्द्र स्थापना गरेर प्रत्येक दिन २६० जनालाई सेवा दिइरहेको छ । त्यसको क्षमता बढाउने र एक्स्टेन्सन खोल्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । ‘स्वास्थ्य बीमाको पहिलो कन्ट्याक्ट पोइन्टको रूपमा पाटन अस्पतालसँग सहकार्य गरेर ‘एलो स्वास्थ्य केन्द्र’ खोलेका छौं । त्यहाँबाट हामीले इमरजेन्सीदेखि सबै सेवा प्रवाह गर्छौं । हामीलाई सामाजिक सेवामा राम्रो काम गरेको भनेर नगरपालिका संघले पुरस्कृतसमेत गरेको छ,’ उनले भने। यस्तै, मेयर चिरीबाबुको अर्को ठूलो सफलता सुशासन र नागरिक सेवा प्रवाहमा देखिएको छ । सेवाग्राहीले महानगरपालिकाभित्रका कामहरूका लागि शाखा–शाखा धाउनु नपरोस् भनेर उनले ‘वान डोर पोलिसी’ लागू गरेका छन् । यसमा सेवाग्राहीले एउटै शाखामा गएर काम गर्न सक्छन् र कामको प्रगति कहाँ पुग्यो भन्ने जानकारी उनीहरूको मोबाइलमा मेसेजमार्फत पठाइन्छ । नगर प्रहरी पनि देशभरका पालिकाहरूले सिक्ने गरी उत्कृष्ट बनेको छ । उनले नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिनका लागि ब्लक बी भवन निर्माण गरेका छन् । जहाँबाट महानगरका सबै शाखाबाट हुने सेवाहरू प्रवाह हुनेछन् । ‘हामी थाक्नु हुँदैन । नसक्ने काम सक्छु भन्नु हुँदैन । तर, सक्ने काम छ भने तुरुन्तै गर्नुपर्छ, सेवाग्राही अर्को पटक नआउने गरी मैले काम गरिरहेको हुन्छु । हामीले भोलि आऊ पर्सि आऊ भनेर अल्झाउँदैनौं,’ उनले भने, ‘त्यसैले पनि नगरवासीको मन जितिएको छ ।’ प्रतिवद्धता सतप्रतिशत पूरा मेयर चिरीबाबु महर्जनले आफूलाई राजनीतिकर्मीभन्दा पनि जनताको सेवकका रूपमा चिनाउन रुचाउँछन् । दुई कार्यकालमा आफूले प्रतिवद्धता गरेका अधिकांश काम सम्पन्न गरेको उनको दाबी छ । ‘मैले घोषणापत्रमा राखेका अधिकांश काम पूरा गरेको छु, कतिपय काम सम्पन्न हुने चरणमा छन्,’ उनले भने । चिरीबाबुले प्रतिवद्धता गरेको १.४ किलोमिटरको फ्लाईओभर निर्माण गर्न नसकेकोमा भने उनी बेखुसी छन् । प्राविधिक अध्ययन प्रतिवदेनले फ्लाईओभर निर्माण गर्न सकिने सम्भावना कम देखाएपछि उनी केही हच्किएका छन् यद्यपि पछि हटेका छैनन् । उनले पहिलो कार्यकालमा उम्मेदवार बन्दा थापाथलीदेखि पुल्चोकसम्म १.४ किलोमिटर लामो फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका थिए । यस्तै, ललितपुरमा ६७ वटा ढुङ्गेधारा छन् । तीमध्ये ६५ प्रतिशत ढुङ्गेधारा अहिले सुकेका छन् । ढुङ्गेधारालाई पुरानै अवस्थामा फर्काउन उनले ठूलो प्रयास गरे पनि त्यो सम्भव नभएको उनले सुनाए । ‘घोषणा गरेको भन्दा धेरै काम गरेको छु, घोषणामा नराखेको इन्टेलिजेन्ट ट्राफिक लाइट सुरु गरेका छौं । ब्लक बीको निर्माण पनि गरेका छौं, सेवाग्राहीका लागि वान डोर पोलिसी अपनाएका छौं । यी काम घोषणापत्रमा थिएनन् । तर, समय सापेक्ष सेवाअनुसार सुरु गर्यौं,’ उनले भने, ‘अहिले सबैले प्रशंसा गर्नुहुन्छ, काम गरियो भने साथ र विश्वास आर्जन गरिने रहेछ, खुसी लागेको छ ।’ विकास मिडियाले विकास नायकका रूपमा सम्मान गर्ने विषय आफ्नो जीवनको एउटा नयाँ अध्याय भएको चिरीबाबुको बुझाइ छ । ‘मैले गरेको कामलाई सूक्ष्म तरिकाले अध्ययन गरेर सम्मानित गरेकोमा खुसी छु । यसले थप जिम्मेवारी बोध भएको छ । यो सम्मानले मलाई थप जिम्मेवार र बढी काम गर्न प्रेरणा र ऊर्जा थप्नेछ ।’ चिरीबाबुकै शब्दहरू : काम गरेर जनताको मन जित्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको छ । म पहिलो पटक वडाध्यक्ष हुँदा नगर पञ्चायतमा बजेट नै थिएन । तर, विभिन्न निकायसँग समन्वय गरेर बजेटको व्यवस्थापन गरें र काम गरेर देखाएँ । मेरो बुझाइमा चुनाव जित्नु मात्रै ठूलो कुरा होइन, जितेको विश्वासलाई दीर्घकालसम्म जोगाएर राख्न सक्नु नै वास्तविक जित हो । नियत सफा राखेर र पारदर्शी रूपमा काम गरियो भने जनताको विश्वास स्वतः जित्न सकिन्छ । यही सोंचका साथ मैले कुनै पनि योजना अघि बढाउँदा एक प्रकारको श्वेतपत्र सार्वजनिक गर्ने गर्छु । योजना सम्पन्न भएपछि त्यसको विस्तृत स्टेटमेन्ट सार्वजनिक गर्छु । यसले जनतामा विश्वासको वातावरण सिर्जना गर्छ । मेयर भएपछि मैले गरेको कामको मूल्यांकन जनताले मतमार्फत गरेका छन् । पहिलो पटक म केवल ३२६ मतको अन्तरले विजयी भएको थिएँ । त्यतिबेला ३९ सदस्यीय कार्यपालिकामा कांग्रेसका मात्र १२ जना सदस्य थिए । तर मेरो नियत सफा भएकाले सबैको सहयोग पाएँ । विपक्षी दलका जनप्रतिनिधिहरू समेत मप्रति सन्तुष्ट र सहयोगी बने । पहिलो कार्यकालमा धेरैले मेरो काम मन पराए । त्यसकै परिणामस्वरूप दोस्रो पटक मैले विपक्षीलाई १८ हजार मतको फराकिलो अन्तरले पराजित गरें । काम गरेपछि जितिँदो रहेछ भन्ने यसको स्पष्ट उदाहरण हो । ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सम्पदा, वातावरण र सूचना प्रविधिमा उल्लेखनीय काम गरेका छौं । निःशुल्क स्वास्थ्य जाँच गरेर घरघरमा सेवा दिइरहेका छौं । विभिन्न रोगको निःशुल्क उपचार गराइरहेका छौं । यसले नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । वृद्धवृद्धालाई निःशुल्क निमोनिया खोप उपलब्ध गराइरहेका छौं । सफलताको मूल आधार भनेको थाक्नु नहुने र नसकिने काम सक्छु भनेर भ्रम नछर्नु हो । तर सकिने काम छ भने ढिलाइ नगरी तुरुन्तै गर्नुपर्छ । म सेवाग्राहीलाई भोलि आऊ, पर्सि आऊ भनेर अल्झाउने काम गर्दिनँ । नसकिने काम भए स्पष्ट कारणसहित जानकारी दिन्छु । आर्थिक रूपमा पारदर्शी भइयो र नियत ठीक राखियो भने सबैको विश्वास जित्न सकिन्छ भन्ने मेरो दृढ विश्वास हो । म आफूलाई राजनीतिज्ञभन्दा जनताको सेवक मान्छु । जनप्रतिनिधिको प्रमुख दायित्व भनेकै सेवाग्राहीको हरेक काममा सहजीकरण गर्नु हो । घोषणापत्रमा उल्लेख गरेका अधिकांश प्रतिवद्धता पूरा भइसकेका छन् । तर ४.१ किलोमिटरको फ्लाइओभर निर्माण भने हुन सकेको छैन । त्यसको प्राविधिक प्रतिवेदन सन्तोषजनक नभएको, लागत महँगो रहेको र ६ वटा घर प्रभावित हुने देखिएकाले कार्यान्वयन हुन सकेन । यद्यपि, यो योजना अझै पनि मेरो प्राथमिकतामै छ । विपद् न्यूनीकरणमा पनि हामी प्रभावकारी रूपमा अघि बढिरहेका छौं । ‘वान डोर पोलिसी’ लागू गरेर सेवाग्राहीलाई एउटै शाखाबाट सम्पूर्ण सेवा दिने व्यवस्था गरिएको छ । सेवाग्राहीको काम कुन चरणमा पुगेको छ भन्ने जानकारी मोबाइलमै सन्देशमार्फत उपलब्ध गराइन्छ । अब शाखा–शाखा धाउनु पर्ने झन्झट अन्त्य भएको छ । मेरो जीवनमा विकास मिडियाको विकास नायकको रूपमा सम्मान एउटा नयाँ अध्यायजस्तै हो । मैले गरेको कामलाई सूक्ष्म रूपमा अध्ययन गरेर मूल्यांकन गर्दै सम्मानित गरिएकोमा खुसी छु । मेरो नेतृत्वमा महानगरले गरेका कामहरूको कदर हुनु भनेको थप जिम्मेवारी बोध हुनु हो । यो सम्मानले मलाई अझ जिम्मेवार बन्न, अझ धेरै काम गर्न र जनताको सेवामा थप ऊर्जा र प्रेरणा दिएको छ ।
कर्म र फलको बेजोड नजिर
‘देश बनेन, केही विकास भएन भन्नेहरूलाई म धुलिखेल अस्पतालमा निम्तो गर्छु’ अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ माकजु भन्छन् । उनको भनाइ र गराई ठ्याक्कै मिल्छ पनि । स्वास्थ्य उपचार गर्न पैसा नहुनेलाई निःशुल्क उपचार । उपचार गर्न अस्पतालसम्म आउन नसक्नेलाई घर नजिकै सेवा । अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुर लगायत सुविधा सम्पन्न देशमा हुने उपचार धुलिखेल अस्पतालमै । धुलिखेल अस्पताल आज नेपालको स्वास्थ्य क्षेत्र विकासको सर्वोत्कृष्ट उदाहरणको रूपमा परिचित छ । भू–बनोट र प्राप्तिका आधारमा बनेको फरक–फरक भवनका बीच फैलिएको विशाल धुलिखेल अस्पताल जहाँ आज अत्याधुनिक सर्जरी, गम्भीर रोगहरूको उपचार, अनुसन्धान र उत्कृष्ट मेडिकल शिक्षाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो त्यही ठाउँ हो जहाँ तीन दशकअघि लासहरू गाडिन्थ्यो । धुलिखेलवासीको फोहोर फाल्ने ठाउँ थियो । त्यही फोहोर फाल्ने र लासहरू गाड्ने ठाउँलाई डा. श्रेष्ठले मान्छेलाई नयाँ जीवन दिने स्थलका रूपमा रूपान्तरण गरे । अस्पतालको संरचना र वातावरण रिसोर्टको जस्तै छ । एउटै बिरामी अर्को अस्पतालमा ७ दिनमा निको हुन्छ भने यस अस्पतालमा ५ दिनमै निको होला जस्तो प्रकृति र वातावरण । र, आज देश–विदेशमा धुलिखेल अस्पतालको सर्वसुलभ र गुणस्तरीय सेवाले चर्चा पाएको छ । गरिबलाई आधारभूत मात्र होइन, उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने उदाहरण यहीँबाट संसारलाई देखाएका छौं । धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धानका केन्द्रको रूपमा उभ्याएका छौं । अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुरजस्ता सुविधासम्पन्न देशमा पाइने उपचार धुलिखेलमै सम्भव बनाउने पात्र तिनै डा. श्रेष्ठ हुन् । उनी अहिले गर्वका साथ भन्छन्, ‘मेरो सोचले काम ग¥यो, टिमको कडा मिहिनेतले साथ दियो, स्थानीयवासी, सरकार र दातृ निकायहरूको सहयोगले धुलिखेल अस्पताल एउटा सुविधा सम्पन्न, नमुना र सबैको पहुँचयोग्य स्वास्थ्य संस्थाको रूपमा विकास भयो ।’ आज धुलिखेल अस्पताल एउटा अस्पताल मात्रै होइन, यो स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको त्रिवेणीका रूपमा स्थापित छ । दैनिक १७००–२००० बिरामी ओपीडीको सेवा लिन्छन् । ४७५ बेड क्षमताको यस अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामी पनि लगभग भरिभराउ नै हुने गर्दछन् । दैनिक दर्जनौं अत्याधुनिक सर्जरीहरू हुन्छन् । नेपालमै पहिलोपटक नर्सिङ फेलोसिपदेखि विभिन्न मेडिकल फेलोसिप कार्यक्रम सञ्चालन भइरहेका छन् । जहाँ २० भन्दा बढी फेलोजले नेपाली भूमिमा नै विशेषज्ञता हासिल गरिसकेका छन् । सयौं नयाँ चिकित्सक जन्मिएका छन् । विदेशमा मात्र सम्भव हुने उच्चस्तरीय उपचार र अध्ययन अहिले धुलिखेलमै सम्भव छ र यसले देशभर चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ । धुलिखेल अस्पतालभित्र पैसा नभएका बिरामीले उपचार पाउँदैनन् भन्ने कुरा कल्पना नगरे पनि हुन्छ । ८०० रुपैयाँ शुल्कमा बिरामीले चिकित्सकको परामर्श, खाना, ब्रेकफास्ट र नर्सिङ सेवा पाउँछन् । डा. श्रेष्ठ भन्छन्, ‘गरिबीकै कारण उपचार रोकिनु हुँदैन । यो अस्पताल गरिबका लागि हो, स्वास्थ्य उपचार धनी र गरिबका लागि फरक हुनु हुँदैन, सबैका लागि समान सुविधाको उपचार हुनुपर्छ, त्यसको थालनी हामीले गर्यौं ।’ कुराभन्दा कामलाई प्राथमिकता डा. श्रेष्ठ धेरै कुरा गर्न रुचाउँदैनन्, आफूलाई फ्रन्टलाइनमा देखाउन चाहँदैनन् । तर, काममा विश्वास गर्छन् । उनको त्यही मिहिनेतले आज धुलिखेल अस्पताल एक अस्पतालमामात्रै सीमित छैन, एक सामूहिक ज्ञानको थलो बनेको छ । उनलाई भेट्न आउने अधिकांशको सुरुवाती प्रश्न हुन्छ, ‘कार्यकक्षमा कार्पेट किन नराखेको ?’ त्यो प्रश्नको जवाफमा उनी भन्छन्, ‘मेरो कोठामा कार्पेट राखेपछि बिरामी यता आइहाल्छन् नि, मैले मभन्दा बढी प्राथमिकता मेरो बिरामीलाई राख्छु ।’ उनी प्रतिप्रश्न गर्छन्, ‘हाम्रो प्राथमिकता बिरामीको उपचार हो कि आफ्नो सेवा सुविधा ?’ डा.श्रेष्ठ सम्पन्न भनेको सोंचमा हुनुपर्ने धारणा राख्छन् । यही मनस्थिति लिएर उनी धुलिखेलका लागि मात्र होइन, देशकै लागि एउटा नमुना अस्पताल बनाउनुपर्छ भन्ने धारणा बोकेर अगाडि बढे । तीन दशकअघि यहाँ न चिकित्सक थिए, न कुनै स्वास्थ्य संरचना र पूर्वाधार । उनले आफू जन्मेकै ठाउँमा देखेको स्वास्थ्य समस्यालाई मनन गरे र एउटा गतिलो स्वास्थ्य संस्था खोल्नुपर्छ भनेर विसं २०५३ सालमा यो अस्पतालको सुरुवात गरे । सम्मानपत्र ग्रहण गर्दै डा. रामकण्ठ मकाजु श्रेष्ठ । धुलिखेलवासीले उनलाई विश्वास गरे, अस्पताल खोल्न स्थान दिए, साथ दिए । सकेसम्मको सहयोग गरे । र, धुलिखेल अस्पतालको सेवा प्रारम्भ भयो । उनी अस्पताल स्थापनाका दिन स्मरण गर्दै भन्छन्, ‘समुदायले नै इच्छाएको ठाउँमा अस्पताल बनाइएको हो । समुदायको सदासयताले धुलिखेल अस्पताल यो चरणसम्म आइपुग्यो, नेपाल बाहिरको मान्छेले पनि यसको उद्देश्य देखेर सहयोग गरे । पछि सरकारले पनि साथ दियो । आज गौरव गर्नलायक गैरनाफामूलक सामुदायिक अस्पतालका रूपमा चिनाउन सफल भएका छौं ।’ समुदायले गरेको भरोसा, सरकारले दिएको विश्वास र सहयोगी हातहरुको ऊर्जाले यो संस्थालाई निरन्तर उकास्दै लग्यो । आज धुलिखेल अस्पतालसँग १५ सयभन्दा बढी जनशक्ति छन् । ३०० भन्दा बढी चिकित्सक छन् । १८ वटा आउटरिच सेन्टर छन् । गरिबले सहज र गुणस्तरीय स्वास्थ्य सवा पाएका छन् । दर्जनौं देशहरूबाट विद्यार्थी पढ्न आउँछन् । डा. श्रेष्ठको नेतृत्वमा एउटा मौलिक सोच विस्तारै संस्थागत रूपमा परिणत हुँदै गयो । ‘धेरै साथीहरू जोडिए, सुरुवाती चरणदेखि जोडिएका साथीहरू अहिलेसम्म कार्यरत छन् । म एक्लैले यति विशाल अस्पताल सम्भव थिएन । सोच मेरो हो, मिहिनेत मेरो टिमको हो, यो सफलताको श्रेय मेरो टिम, समुदाय, सरकार र विदेशी दातृ निकायलाई जान्छ,’ उनले भने । उनी आफ्नो टिमले यो संस्थाबाट के पाउँछु भन्दा पनि मैले यो संस्थाका लागि के दिन सक्छु भनेर काम गरेकै कारण आज एक सफल स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको सुनाउँछन् । धुलिखेल अस्पताल डाक्टर, नर्ससहित १५ सयभन्दा बढी कर्मचारी, विभिन्न देशबाट विद्यार्थी र दर्जनौं विज्ञहरूको साझा थलो बनेको छ । लाखौं मानिस धुलिखेल अस्पतालको सेवाबाट लाभान्वित भएका छन् । धुलिखेल अस्पतालले काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेर मेडिकल शिक्षा पनि दिइरहेका छ । जहाँ अमेरिका, जापान, नर्वे, अष्ट्रेलिया, अष्ट्रिया र कोरिया लगायत विभिन्न देशबाट मेडिकल शिक्षा पढ्न आउने विद्यार्थीको संख्या बढ्दो छ । अहिले विभिन्न देशबाट आएका २०० जना विद्यार्थी मेडिकल शिक्षा अध्ययन गरिरहेका छन् । अहिले धुलिखेल अस्पताल हजारौं बिरामीको जीवन बचाउने केन्द्रमात्र होइन, सयौं स्वास्थ्यकर्मी उत्पादन गर्ने शैक्षिक थलो पनि बनेको छ । जहाँबाट सयाैं विद्यार्थी डाक्टर बनिसकेका छन् ‘सुरुमा कति जनालाई उपचार गरियो भनेर गणना गरिन्थ्यो, अहिले त गणना गर्न पनि छोडियो,’ डा. श्रेष्ठ खुसीका साथ भन्छन्, ‘लाखौं मानिस यस संस्थाबाट लाभान्वित भएका छन्, काठमाडौंका महँगा अस्पतालबाट पनि बिरामी रिफर भएर आउँछन्, स्वास्थ्यकर्मीको पनि रोजाइको संस्था धुलिखेल बनेको छ ।’ घरमै सेवा, १८ ठाउँमा आउटरिच सेन्टर धुलिखेल अस्पतालले सस्तो, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवामात्रै दिइरहेको छैन, अस्पतालसम्म आउन नसक्ने बिरामीहरूको नजिकै पुगर पनि सेवा दिइरहेको छ । अहिले अस्पतालले देशका विभिन्न १८ वटा ठाउँमा आउटरिच सेन्टर (हेल्थ सेन्टर) स्थापना गरेको छ । अहिले काभ्रेको बलुवा, दाप्चे, बोडे, कात्तिके देउराली, सलम्बु, धुनेखर्क, धादिङको छत्रेदेउराली, सिन्धुपाल्चोकको मानेखर्क, हिन्दी, दोप्रु, बाहुनीपाटी, दोलखाको किर्नेटार, गौरी शंकर, डुम्जा हेल्थ सेन्टर, सोलुखुम्बुको खारीखोला, पर्वतको फलेवास, नुवाकोटको थाङसिङ, सर्लाहीको बलेरा हेल्थ सेन्टर र पत्तर हेल्थ सेन्टर सञ्चालनमा छन् । दोलखाको जिरीमा अस्पताल नै सञ्चालनमा छ । ‘अस्पतालमा आउन नसक्ने बिरामीकहाँ हामी नै पुग्नुपर्छ भन्ने मान्यताका साथ हामीले विभिन्न ठाउँमा आउटरिच सेन्टर स्थापना गरेका छौं । त्यहाँ नर्स, चिकित्सकहरू पनि कार्यरत छन्, आउटरिच सेन्टरहरूले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा राम्रो प्रभाव पारेका छन्,’ डा. श्रेष्ठले भने । उनका अनुसार आउटरिच सेन्टरमार्फत गाउँगाउँमा २४ घण्टा सेवा दिने काम भइरहेको छ । ‘पहिले दुई दिन हिँडेर मात्र पुगिने ठाउँमा हामीले आउटरिच सेन्टर स्थापना गरेर सहज स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं, यसले सकारात्मक प्रभाव परेको छ,’ उनले खुसीका साथ भने, ‘३०० बढी चिकित्सक छन्, १५ सय बढीले रोजगारी पाएका छन् ।’ म त्यहाँ उभिन्छु, जहाँ धेरैले मेरो उभ्याईको अनुभूति गरून् । म मेरै देशमा उभिन चाहन्थें । विदेशमा वर्षौं बिताएपछि म जन्मिएकै ठाउँमा फर्किएँ, अहिले जति खुसी छु, म विदेशमा जति सेवा सुविधा र पैसा भएको भए पनि यति खुसी हुन्थिनँ । डा. श्रेष्ठले धुलिखेल अस्पतालमा काम गर्ने नर्सको तलब न्यूनतम ४० हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म रहेको जानकारी दिए । उनी भन्छन्, ‘यहाँ भुइँ पुछ्ने मान्छेहरूको छोराछोरी अहिले यहीँ चिकित्सक बनेका छन् । म त्यसमा खुसी छु, तपाईंले समाजमा छोडेको र दिएको कुरा महत्वपूर्ण हो ।’ जहाँ आफू उभिइन्छ, त्यहाँ आफू उभिएको महसुस अरूले गर्नेगरी काम गर्नुपर्ने धारणा डा. श्रेष्ठको छ । ‘मान्छेको उद्देश्य पवित्र भयो भने सहयोगी हातहरू आफै आउँछन् । मलाई धुलिखेलवासीले सहयोग गरे, विदेशमा पढ्दाका साथी र शिक्षकहरूले सहयोग गरे र सरकारले पनि सहयोग गर्यो, मैले सबैको विश्वास कायम राख्दै काम गरें,’ उनी भन्छन्, ‘इमानदारिता, निष्पक्षता र पारदर्शी भयो भने सफल भइन्छ ।’ धुलिखेल अस्पताल सबै कर्मचारीको स्वास्थ्य बीमा गर्ने पहिलो स्वास्थ्य संस्थासमेत हो । जुन अस्पतालको भान्सामा विगत ३० वर्षदेखि बिरामी, गाडी चालक र अन्य स्वास्थ्यकर्मीदेखि अस्पतालका लिडर डा. श्रेष्ठ सँगै खाना खान्छन् । सबैको एउटै भान्सा छ । उनका अनुसार धुलिखेल अस्पतालले आफ्ना कर्मचारीका छोराछोरीको लागि भनेर विद्यालय पनि खोलेको छ। अहिले धुलिखेल अस्पतालमा नहुने कुनै उपचार छैन । अस्पतालमा ओपीडी, इमर्जेन्सी सेवासँगै प्रसूति तथा मातृ–शिशु स्वास्थ्य, कार्डियोलोजी, मष्तिस्कघात, सर्जरी, हड्डी रोग, क्यान्सर स्क्रिनिङ, स्पाइन सर्जरी, हेयर सर्जरी, डायलाइसिस, रेडियोलोजी, डेन्टल, आँखासम्बन्धी उपचारलगायत लगभग सबै प्रमुख सेवा प्रदान गरिँदै आएको छ । अहिले अस्पतालले १०० शैया क्षमताको ट्रमा सेन्टर निर्माण गरिरहेको छ । जहाँ काभ्रे, सिन्धुपाल्चोक, दोलखासहित राजधानीदेखि पूर्वी क्षेत्रमा हुने सडक दुर्घटना, आकस्मिक चोटपटकका समस्याहरूको समयमै उपचार हुने विश्वास छ । अहिले पनि अस्पतालमा विभिन्न ठाउँबाट रिफर भएर भएर आउने एम्बुलेन्स ट्र्याकिङ गर्ने प्रणाली अस्पतालले विकास गरेको छ । यसले दुर्घट्नास्थलमा छिटोभन्दा छिटो एम्बुलेन्स सेवा पु¥याउन मद्दत गर्दछ । डा. श्रेष्ठका अनुसार अस्पताल अहिले पूर्वी क्षेत्रका लागि ‘मिनी रिफरल हब’का रूपमा विकास भइरहेको छ । ‘आगामी दिनमा थप उत्कृष्ट सेवा दिँदै जाने हो, धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा अगाडि बढाउन चाहन्छौं,’ उनले भने । सानो कोठाबाट सुरु भएको धुलिखेल अस्पताल अहिले वार्षिक ४ अर्ब बजेटको पुगिसकेको छ । चार सय रोपनी क्षेत्रफलमा फैलिएको छ । डा. श्रेष्ठले सुरुवातमा ६ किसिमको सर्जरी आफैले गर्थे । तर अहिले उनको टिम निकै क्षमतावान बनिसकेको छ । आफ्नो अनुपस्थितिमा पनि धुलिखेल अस्पताल अब्बल र थप परिस्कृत बन्दै अगाडि बढ्न सक्नेमा ढुक्क छन् डा. श्रेष्ठ । धुलिखेल अस्पतालमा विगत २२ वर्षदेखि काम गर्दै आएकी वरिष्ठ परामर्शदार्ता तथा प्रसूति तथा स्त्री रोग विभागमा कार्यरत प्रा.डा. आभा श्रेष्ठले डा. रामकण्ठ मकाजु श्रेष्ठको नेतृत्वदायी भूमिका र सोचकै कारण आज धुलिखेल अस्पताल एक गौरव गर्न लायक स्वास्थ्य संस्था बनेको बताइन् । उनका अनुसार आज धुलिखेल अस्पताल नेपालमा स्वास्थ्य, शिक्षा, अनुसन्धान र समुदाय विकासको आदर्श मोडल भनेर चिनिएको छ । ‘उहाँले सानैदेखि अस्पताल चाहिन्छ भन्ने सोचका साथ पढेपछि नेपालमै फर्किएर अस्पताल खोल्न नेतृत्वदायी भूमिका खेल्नुभयो, त्यसमा धेरैले साथ दिनुभयो । सुरुवाती दिनमा जोडिएका साथीहरू अहिले पनि सँगै छौं, सबैको यो संस्थालाई बनाउनुपर्छ भन्ने भावना छ । त्यही भावनाका साथ मिहिनेत गर्दा आज पैसा नहुनेले पनि सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य सेवा पाएका छन्,’ डा. श्रेष्ठले भनिन् । धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठ पनि धुलिखेल अस्पताल र अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठको खुलेर प्रशंसा गर्छन् । उनकै योगदानकै कारण आज धुलिखेल नगरपालिका एसियामै दोस्रो र नेपालमै पहिलो ‘हेल्दी सिटी’को रूपमा चिनिएको उनको भनाइ छ । धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दक्षिण पूर्वी एसियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरेको उनले बताए। ‘धुलिखेल अस्पतालको निर्माण र यसको विकासले धुलिखेलको सामाजिक–आर्थिक विकासमा ठूलो योगदान मिलेको छ । धुलिखेलमात्रै होइन, अन्य जिल्लाका नागरिकले पनि सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाएका छन्, नगरपालिकाले पनि सकेसम्मको सहयोग गरिरहेको छ, यसको सबै श्रेय डा. माकजुलाई जान्छ,’ मेयर श्रेष्ठले भने। भीसी बनेर उत्कृष्ट काम डा. रामकण्ठ माकजु सर्जन हुन् । एउटा अब्बल चिकित्सक र व्यवस्थापकको भूमिका निर्वाह गरिरहेका उनलाई २०६९ सालमा काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न अफर आयो । उनी त्यो अफरलाई आफूले बाध्यताबस स्वीकार गरेको बताउँछन् । ‘म त्यतिखेर उपकुलपति बन्नु बाध्यता थियो, देशमा राजनीतिक अस्थिरता थियो, अप्ठ्यारो अवस्थामा नियुक्त भएको हुँ । मलाई पत्याएर अफर गरेपछि किन नबन्ने भनेर उपकुलपति बनेको हुँ, पछि काम पनि राम्रै गरें, भीसी बन्दाका दिनहरू स्मरण गर्दै डा. श्रेष्ठले भने । आफ्नो कार्यकालमा काठमाडौं विश्वविद्यालयको पूर्वाधार निर्माण र अनुसन्धानको कामले ठूलो प्रगति हासिल गरेको उनको भनाइ छ । ‘साउथ एसियामा नमुना विश्वविद्यालय भनेर चिनाउनका लागि धेरै काम गरें, मैले दुई वर्ष थप काम गरेको भए त्यो लक्ष्य पनि पूरा हुन्थ्यो,’ उनी भन्छन्, ‘कुनै पनि प्रोफेसरले कुनै पनि गुनासो गर्ने वातावरण सिर्जना गरिनँ ।’ डा. श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न विधा र विद्यार्थी पनि बढेको सुनाए । प्राज्ञिक व्यक्तित्वहरू पनि काठमाडौं विश्वविद्यालयमा आकर्षित भएको उनको भनाइ छ । उनले आफ्नो दुई कार्यकालमा काठमाडौं विश्वविद्यालयमा रहेर देखिने काम गरेको सुनाए । उनी काठमाडौं विश्वविद्यालयमा (केयू) ‘कक्षा कोठाबाट समुदायतर्फ’ भन्ने मूल नारा लिएर अघि बढे । उनले दोस्रो कार्यकालमा विश्वविद्यालय २५ वर्ष पूरा भएको अवसरमा अघि सारेका शैक्षिक गुणस्तर तथा नवप्रवर्तनका कार्यक्रमले अहिले पनि कार्यान्वयनमा छन् । उनकै नेतृत्वमा केयूलाई विदेशी शैक्षिक संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने कार्यलाई पनि तीव्रता दिएको थियो । धुलिखेलमै जन्म, विदेशबाट उच्च शिक्षा धुलिखेलमा जन्मिएका डा. श्रेष्ठले एसएलसीसम्मको पढाइ धुलिखेलमै पूरा गरे भने काठमाडौंको अस्कल कलेजबाट आईएस्सी पूरा गरे । त्यसपछि उनी चिकित्साशास्त्र अध्ययनका लागि अष्ट्रिया पुगे । उनले अष्ट्रियाको युनिभर्सिटी अफ भियनाबाट एमडीको अध्ययन पूरा गरे भने भोरालबर्ग अस्ट्रेलियाबाट शल्यचिकित्सामा विशेषज्ञता हासिल गरे । अध्ययन पूरा गरेपछि उनी स्वदेश फर्किएर धुलिखेल अस्पताल स्थापनामा महत्वपूर्ण योगदान दिए । डा. श्रेष्ठकी छोरी पनि अहिले धुलिखेल अस्पतालमा साइकोलोजिष्टको रूपमा कार्यरत छिन् । डा. माकजु भन्छन्, ‘म त्यहाँ उभिन्छु, जहाँ धेरैले मेरो उभ्याइको अनुभूति गरून् । म मेरै देशमा उभिन चाहन्थें । विदेशमा वर्षौं बिताएपछि म जन्मिएकै ठाउँमा फर्किएँ, अहिले जति खुसी छु, म विदेशमा जति सेवा सुविधा र पैसा भएको भए पनि खुसी हुन्थेनँ ।’ म सुविधासम्पन्न देशमा पढेर पनि स्वदेशमै फर्किएँ । म सानैदेखि आफ्नै ठाउँ र देशमा सुविधा सम्पन्न स्वास्थ्य संस्था होस् भन्ने चाहन्थें । त्यही सोंचका साथ पढाइ सकेर नेपाल फर्किएपछि धुलिखेल अस्पतालको स्थापनामा लागेँ । यसमा धुलिखेलवासी, मेरा साथीहरू, शिक्षकहरू र सरकारले पनि साथ दियो । समुदायले गरेको भरोसा, सरकारले दिएको विश्वास र बाहिरबाट अघि बढ्ने हजारौं सहयोगी हातहरूको ऊर्जाले यो संस्थालाई निरन्तर उकास्दै लग्यो । आज धुलिखेल अस्पतालसँग १५ सयभन्दा बढी जनशक्ति छन् । र, विभिन्न देशबाट नियमित रूपमा विद्यार्थी, चिकित्सक तथा विज्ञहरू ज्ञान आदान–प्रदानका लागि यहाँ आउने गर्छन् । अमेरिका, जर्मनी, इटाली, नर्वे, कोरिया, जापानलगायत मुलुकबाट २०० भन्दा बढी विद्यार्थीहरूले धुलिखेलमा मेडिकल शिक्षा लिइरहेका छन् । नेतृत्व भनेको आफूमा भएका मूल्य मान्यताहरूलाई जोगाउँदै नपुग र कमजोरी पहिचान गर्दै अघि बढ्ने निरन्तर यात्रा हो । कमजोरी देखिनु स्वयं खराब होइन, कमजोरी देखेर पनि वास्ता नगरिनु नै संस्थाको पतनको संकेत हो । त्यसैले नेतृत्वमा इमानदारिता, निष्पक्षता, पारदर्शिता आवश्यक पर्छ । आज मेरो टिमका चिकित्सकहरू मभन्दा पोख्त र धेरै दक्ष छन् । संस्था मेरो अनुपस्थितिमा पनि सहजै गतिशील रूपमा अघि बढ्छ भन्ने विश्वास छ । अब मसँग अझै एउटा ठूलो सपना बाँकी छ, नेपालका तीन करोड नागरिकलाई जहाँ भए पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको समान पहुँच दिलाउने । धुलिखेल अस्पताल व्यापार होइन, ‘भ्वाइसलेसको भ्वाइस’ बन्ने चाहनाबाट जन्मिएको संस्था हो । गरिबहरूका लागि स्थापना भएको संस्था हो । आज लाखौं बिरामी यो संस्थाबाट लाभान्वित भएका छन् । हजारौंले पुर्नजन्म पाएका छन् । ४ सय रोपनीभन्दा बढी क्षेत्रफलमा पूर्वाधार विस्तार भएको छ । करिब ४ अर्बको वार्षिक बजेटबाट सेवा सञ्चालन भइरहेको छ । यो सम्पूर्ण उपलब्धि दान, विश्वास, श्रम र सामूहिक भावना मिलेर बनेको एउटा ठूलो धरोहर हो । गरिबलाई आधारभूत मात्र होइन, उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने उदाहरण यहीँबाट संसारलाई देखाएका छौं । धुलिखेललाई उत्कृष्ट स्वास्थ्य सेवा, उत्कृष्ट स्वास्थ्य शिक्षा र उत्कृष्ट अनुसन्धानका केन्द्रको रूपमा उभ्याउने कार्यमा निरन्तर लागिरहेका छौं । म धेरै बोल्दिनँ, काम गरेर देखाउँछु । म कस्तो छु र के काम गरेको छु भनेर सोध्नुभन्दा यहाँका कर्मचारी, चिकित्सक र सेवाग्राहीले दिएको जवाफ नै मेरो कार्यको वास्तविक मूल्याङ्कन हो । देश विकास भएन भन्नेलाई म धुलिखेल आउन निम्तो दिन्छु । ‘विकास नायक’को रूपमा पाएको सम्मान म आफ्नै सफलता ठान्दिनँ । यो मेरो टिम, समुदाय, देश–विदेशमा बसेर सहयोग गर्ने सबै शुभेच्छुकहरूको श्रम र विश्वासको प्रतीक हो । यो धुलिखेल अस्पतालले दिएको फलप्रति गरिएको सम्मान हो ।
सवारी दुर्घटना बीमा भुक्तानीमा सास्ती : नीतिगत कमजोरी कि सचेतना अभाव ?
काठमाडौ । सवारीसाधन दुर्घटनापछि क्षतिपूर्ति दिने बीमा कम्पनीहरू पीडितका लागि अर्को संकट बन्दै गएका छन् । कम्पनीहरूले बीमितहरूलाई दाबीका नाममा वर्षौं झुलाउँदा बीमा प्रणाली ‘ठगी धन्दा’जस्तै बनेको गुनासो बढ्दै गएको हो । धनुषाका रामकुमार चौधरी (३०) २०७८ सालमा धनुषाको ढल्केबरमा आफैले चलाएको गाडी अनियन्त्रित भई दुर्घटनामा परे । दुर्घटनामा गाडी क्षतिग्रस्त भएपछि चौधरीले बीमा गराएको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्तिका लागि निवेदन दिए । कम्पनीले मागेअनुसार आवश्यक कागजात पेस गरे । तर उनले दाबीबापतको भुक्तानी पाएनन् । भुक्तानीका लागि पटकपटक कम्पनी धाउँदा निकै अल्मल्याएको गुनासो चौधरीको छ । ‘सम्पूर्ण कागजात पुर्याउँदा पनि कहिले के पुगेन भनेर फिर्ता पठाउने अनि कहिले के भनेर झुलाएर मेरो भुक्तानी लामो समय रोकिदिए,’ उनले दुःखेसो सुनाए। चौधरीले दुर्घटनामा गाडी पूर्ण रूपमा क्षति भएकाले पूर्ण क्षतिअन्तर्गतको भुक्तानीका लागि निवेदन दिएका थिए । दुर्घटना पुष्टिका लागि प्रहरी मुचुल्का र सर्भेयरबाट क्षतिको मूल्यांकनसहितका कागजात पुर्याउँदा पनि कम्पनीले भुक्तानी नदिएपछि नेपाल बीमा प्राधिकरणमा उजुरी दिन बाध्य भएको उनी बताउँछन् । प्राधिकरण बीमा कम्पनीहरूको नियामक निकाय हो । दुवै पक्षको कागजात हेरेपछि प्राधिकरणले मेलमिलापमार्फत सहमति गराइदियो । सहमतिमा कम्पनीले भुक्तानी दिनुपर्ने उल्लेख थियो । यद्यपि उनले अजोड इन्स्योरेन्सबाट भुक्तानी पाएनन् । अनि फेरि प्राधिकरणको ढोका घच्घच्याउन पुगे । चौधरीको दोस्रो निवेदनपछि प्राधिकरणले आवश्यक भुक्तानी दिनू भनेर कम्पनीलाई निर्देशन दियो । निकै झन्झटिलो प्रक्रिया पूरा गरेर चौधरीले भुक्तानी त पाए तर बीमाप्रति उनको विश्वास गुम्यो । बीमाबाट पाएको सास्तीकै कारण अब आफू बीमा नवीकरण नगर्ने निचोडमा पुगेको उनी बताउँछन् । पोखराको लामेआहालमा बैशाख अन्तिममा दुर्घटनामा परेको ईभी । तस्बिर स्राेत : रासस फाइल काठमाडौंका सन्तोषकुमार कार्की (४०) लाई बीमा ठगी धन्दाजस्तो लाग्न थालेको छ । घटना हो २०८० सालको । उनी स्कारपिओ जीप हाँकेर भक्तपुरबाट सिनामंगलतर्फ जाँदै थिए । तीनकुनेमा विपरीत दिशामा गुडिरहेको अर्को गाडीले ठक्कर दिँदा गाडीमा क्षति भयो । त्यसमा सवार केही मानिस घाइते भए । घाइतेको उपचार र गाडी मर्मत गर्दा कार्कीको १२ लाख ४ हजार २७३ रुपैयाँ खर्च भयो । उक्त रकम दाबी गर्दै उनले तत्कालीन सिद्धार्थ इन्स्योरेन्समा निवेदन दिए । कम्पनीले उनलाई दाबी रकमभन्दा ७५ प्रतिशत कम अर्थात् ३ लाख ६५ हजार १७५ सय रुपैयाँ मात्रै भुक्तानी गर्यो । क्षतिभन्दा निकै न्यून रकम पाएपछि कार्कीलाई चित्त बुझेन । ‘क्षतिअनुसारको रकम माग्दा पाइएन । ममाथि बीमा कम्पनीबाट अन्याय भयो । त्यसपछि मलाई बीमा भन्ने कुरा ठगी धन्दा जस्तै लाग्न थालेको छ,’ उनले आक्रोश पोखे । यी दुई घटना उदाहरण मात्र हुन् । दुर्घटनामा सवारीसाधन क्षति भएपछि बीमाबाट दाबी भुक्तानी पाइएन, दाबीभन्दा कम रकम पाइयो, भुक्तानी पाउनकै लागि लामो सास्ती सहनुपर्यो भनेर गुनासो पोख्ने बीमित धेरै छन् । बीमाबाट भुक्तानी नपाउनेमध्ये थोरै पीडितमात्र न्यायका लागि प्राधिकरणमा पुग्ने गरेको सम्बद्ध अधिकारीहरू बताउँछन् । प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले प्राधिकरणमा आउने धेरैजसो उजुरी निर्जीवन (जीवनबाहेक अन्य भौतिक सम्पत्ति) बीमा कम्पनीसँग सम्बन्धित रहेको बताए । उनका अनुसार धेरैजसो दाबी बीमा कम्पनीहरूबाटै भुक्तानी हुने गरेको छ । कम्पनीले भुक्तानी नगरेमा मात्र प्राधिकरणमा उजुरी आउँछ । प्राधिकरणको तथ्यांकअनुसार वार्षिक दुई सयदेखि तीन सयको हाराहारीमा नयाँ उजुरी दर्ता हुने गरेका छन् । यसमा मोटर बीमासँग सम्बन्धित २५ प्रतिशतभन्दा बढी पर्छन् । पछिल्लो तीन आर्थिक वर्षमा मोटर बीमाको १०३ वटा उजुरी प्राधिकरणमा दर्ता भएको लामिछानेले बताए । सडक दुर्घटनाको डरलाग्दो तथ्यांक नेपालमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहेको प्रहरीको तथ्यांकले देखाउँछ । देशमा दैनिक कुनै न कुनै सवारी दुर्घटना भइरहेकै हुन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच आर्थिक वर्षमा १ लाख ८८ हजार ४७६ सवारीसाधन दुर्घटनामा परेका छन् । पाँच वर्षमा १२ हजार ६७७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा मृत्यु र घाइते हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ । यो तथ्यांक प्रहरीमा दर्ता भएका घटनाको मात्रै हो । प्रहरीमा नपुगेका घटना पनि जोड्ने हो भने संख्या अझै थपिने प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार साना दुर्घटनासम्बन्धी विवादको समाधान सडकमै हुने भएकाले प्रहरीमा दर्ता हुँदैनन् । ‘दुर्घटना भयो, तर सवारीसाधनमा ठूलो क्षति पुगेको छैन, मानवीय क्षति पनि छैन भने त्यस्ता घटना हामीकहाँ आइपुग्दैन । यस्ता सानातिना घटना हामीले सडकबाटै मिलाएर पठाएका हुन्छौं, कतिपय घटनामा त चालक–चालकबीच सहमति हुन्छ,’ उनले भने । बीमा कम्पनीमा दाबी भुक्तानीको अवस्था सरकारले मोटर बीमाअन्तर्गत तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ । व्यापक बीमा भने अनिवार्य गरिएको छैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२ मा तेस्रो पक्ष बीमासम्बन्धी प्रावधान छ । उक्त दफामा सवारीको दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा स्वयंको सम्पत्ति नोक्सान भएमा क्षतिपूर्ति दिने प्रयोजनका लागि सवारी धनी वा व्यवस्थापकले तोकिएको रकमको तेस्रो पक्षको बीमा गराउनुपर्छ भनिएको छ । बैंकबाट ऋणमा सवारीसाधन लिएको अवस्थामा बैंकले भने अनिवार्य गरेको हुन सक्छ । यसर्थ स्वेच्छिक बीमा गर्नेको संख्या कम छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरूले वार्षिक ५० हजारको हाराहारी दाबीको भुक्तानी फर्स्यौट गरेको देखिन्छ । यो दाबी संख्या सडकमा हुने दुर्घटना मात्रै नभएर अन्य विभिन्न कारणले हुने सवारी दुर्घटनाको पनि हो । तथ्यांकअनुसार आव ०७९/८० मा बीमा कम्पनीहरूले १७ लाख ४५ हजार वटा पोलिसी जारी गरेका छन् । तीमध्ये ५२ हजार ९५७ वटा दाबीको भुक्तानी फर्स्यौट भएकोे छ । आव ०८०/८१ मा बीमा कम्पनीहरूमा १६ लाख ४७ हजार बीमालेख जारी भएको छ भने ४८ हजार ९९९ वटा दाबीको भुक्तानी भएको छ । आव ८१/८२ मा ५६ हजार ५९७ वटा दाबीको भुक्तानी भएको छ । प्रहरी र बीमाको तथ्यांक किन भिन्न ? प्रहरीको तथ्यांक र बीमाबाट भुक्तानी हुने दाबी संख्यामा भने समानता पाइँदैन । अर्थात् दुर्घटनाको तथ्यांक र बीमामा क्षतिपूर्ति दाबी गर्ने तथ्यांकबीच मेल खाँदैन । प्राधिकरणका सहायक निर्देशक सुदीप गिरी तथ्यांकमा भिन्नता देखिनु स्वाभाविक रहेको बताउँछन् । गिरी यसमा दुई कारण औंल्याउँछन् । उनले भने, ‘पहिलो कारण ५० हजार रुपैयाँभन्दा कम रकम दाबी छ भने दुर्घटनाको पुलिस रिपोर्ट आवश्यक पर्दैन । त्यसैले घटना भए पनि बीमितले सिधै बीमा कम्पनीसँग समन्वय गरेर भुक्तानी लिन सक्छन् ।’ बीमा कम्पनीमा यस्ता साना दाबी धेरै हुने भएकाले दाबी संख्या प्रहरीको तथ्यांकभन्दा धेरै देखिएको गिरीले बताए । सहायक निर्देशक गिरीका अनुसार बीमा कम्पनीहरूबाट अघिल्लो वर्ष भुक्तानी नभएर थपिँदै जाने हुँदा संख्या बढी देखिन आउँछ । भुक्तानी ढिलाइको कारक ‘कागजपत्र’ सरोकारवालाहरू भुक्तानी ढिलाइ हुनुमा बीमा कम्पनीहरूको झन्झटिलो प्रक्रिया प्रमुख कारक रहेको बताउँछन् । बीमा कम्पनीका अधिकारीहरू भने यसलाई मान्न तयार छैनन् । उनीहरूका अनुसार दाबी भुक्तानी ढिला हुनुको मुख्य कारण कागजपत्र हो । ‘बीमितहरूले आफैसँग उपलब्ध हुने कागजपत्र ढिला गरी बुझाइरहेका हुन्छन्,’ युनाइटेड अजोड इन्स्योरेन्सका दाबी विभाग प्रमुख सञ्जय शमशेर जबराले भने, ‘कतिपय केसमा लाइसेन्स र बिल बुक उपलब्ध गराउन ढिलाइ गरेर पनि भुक्तानी दिन अड्किरहेका हुन्छौं ।’ प्राधिकरणले बीमकलाई यति दिनभित्र दाबी फर्स्यौट गर्न तोकिदिने गरेको छ । तर बीमितलाई भने यस्तो कुनै निर्देशन नहुँदा यस्तो समस्या उत्पन्न भएको कम्पनीहरूको स्पष्टोक्ति छ । दाबी विभाग प्रमुख राणा भन्छन्, ‘बीमितलाई दुर्घटना भएको यति दिनभित्र कागजात बुझाउनुपर्छ भनेर नियमले नै बाँधिदिने हो भने हामीले समयमै कागजात पाउँछौं । जति चाँडो कागजात प्राप्त हुन्छ त्यति नै चाँडो फर्स्यौट गर्न सक्छौं ।’ बीमितलाई कागजात बुझाउने समय अनिश्चित हुँदा दाबी प्रक्रिया लम्बिने गरेको राणा सुनाउँछन् । बीमितलाई मागेको कागजात एकैपटक नबुझाउँदा पटक–पटक मागिराख्नुपर्ने हुन्छ, यसलाई उनीहरूले झन्झटका रूपमा लिने गरेको उनको तर्क छ । दि ओरियन्टल इन्स्यारेन्सका दाबी विभाग प्रमुख प्रविनकुमार झा बीमितले एउटा मात्रै कागजपत्र समयमै बुझाएन भने भुक्तानी दिन ढिलाइ हुने र यसको दोष कम्पनीले भोग्नुपर्ने बताउँछन् । ‘भुक्तानीसँग सम्बन्धित एउटा मात्रै कागजात पुगेन भने दाबी फर्स्यौट गर्न गाह्रो हुन्छ, बीमितले ढिला भयो भनेर गुनासो गर्नुहुन्छ तर कारण के हो बुझ्नुहुन्न,’ झा भन्छन् । बीमितले आफ्नो गल्ती महसुस नगर्ने उल्टै भुक्तानी पाइएन भनेर कम्पनीलाई दोष दिनुभन्दा विधि पुर्याए यो समस्या समाधान हुने उनी बताउँछन् । बीमा सर्भेयर गोविन्द लामिछाने पनि दाबी भुक्तानीमा कागजी प्रक्रिया पूरा गर्न समस्या भएको कुरामा सहमत छन् । प्राधिकरणले बीमा सर्भेयरलाई कागजपत्र प्राप्त भएको १५ दिनभित्र मूल्यांकनको प्रतिवेदन बुझाउन समयसीमा तोकेको हुन्छ । बीमितलाई कागजपत्र बुझाउने समय नतोकिदा ढिलाइ हुने गरेको लामिछाने बताउँछन् । ‘बीमितले सवारीसाधन मर्मत गरेको भए मर्मत बिल, पूर्ण क्षतिको हकमा क्षतिको यति दिनभित्र कागजपत्र बुझाउनुपर्ने भन्ने कुरा उल्लेख छैन, कमजोरी यहीँ छ,’ उनले भने । लामिछानेका अनुसार लामो समयसम्म दाबी भुक्तानीका लागि सम्पर्कमा नआउने बीमितको फाइल थाती रहन्छ । कतिपय अवस्थामा भुुक्तानीका लागि कम्पनीले सूचना जारी गरेको हुन्छ । सूचना जारी गर्दा पनि नआएको अवस्थामा ‘नो क्लेम’ भनेर बन्द गरेको हुन्छ । पछि बीमितले विभिन्न कारण देखाएर सम्पर्कमा आउँदा फाइल खोल्नुपर्ने अवस्था रहेको उनले बताए । ‘लामो समयसम्म बीमित सम्पर्कमा नआएका घटना पनि धेरै छन् । पछि विभिन्न कारण देखाउँदै आउँछन्,’ लामिछाने भन्छन्, ‘यस्तो अवस्थामा कम्पनीले हामीलाई पुन: मूल्यांकन गर्न पठाउँछ, हामीले त्यस्ता ‘केस’ लाई फेरि मूल्यांकन गरेर पठाउने गरेका छौं ।’ बीमित–बीमक–नियामक तीनै पक्ष जिम्मेवार बीमितले भुक्तानीमा ढिलाइ र झन्झट बढेको गुनासो गर्दा बीमकले बीमितलाई र नियामक निकायलाई दोष दिन्छन् । विज्ञहरू चाहिं भुक्तानी दाबीमा हुने समस्यामा बीमित, बीमक र नियामक तीनै पक्षको कमजोरी देखिएको बताउँछन् । बीमाविज्ञ भोजराज शर्माका अनुसार धेरैजसो बीमितले दुर्घटनामा सवारीसाधनको मात्रै क्षति पुगेको अवस्थामा प्रहरीमा निवेदन दिँदैनन् । बीमा कम्पनीहरू प्रहरी रिपोर्ट नभईकन भुक्तानी दिन मान्दैनन् । यस्तो अवस्थामा बीमकले अवस्था हेरेर न्यूनतम कागजपत्रका आधारमा पनि भुक्तानी दिनुपर्ने शर्मा बताउँछन् । ‘कहिलेकाहीँ कम्पनीले अवस्था हेरेर भुक्तानी दिनुपर्छ, नियममा यही छ भनेर ढिपी गर्नु हुँदैन । पुलिस रिपोर्ट नहुँदा पनि अन्य कागजपत्रले दुर्घटना प्रमाणित छ भने दिन सक्नुपर्छ,’ शर्माले भने । जानकारहरूका अनुसार भुक्तानी ढिलाइ हुनुमा बीमकहरूका कमजोरी पनि प्रशस्तै छन् । भुक्तानी समयमै नपाउने अथवा भुक्तानी नपाउने अवस्था बीमितकै कारणले पनि हुने गरेको छ । ‘कतिपय बीमितले जानी–जानी गाडी दुर्घटना गराएर क्षतिपूर्ति माग्न जाने, कसैले दुर्घटना भएपछि सवारीसाधन मर्मत गर्दा फेर्न नपर्ने पार्टपूर्जा फेर्ने, मर्मतभन्दा बढी बिल लगेर बुझाउने गरेको पाइएको छ’, सर्भेयर लामिछानेले भने । सर्भेयरले अनुसन्धानको क्रममा यी कुराहरू पत्ता लगाएपछि ‘नो क्लेम’ वा कम भुक्तानी फर्स्यौट गरिदिन्छन् । बीमितले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना भएको पुष्टि भएमा पनि कम्पनीले भुक्तानी दिँदैन । मोटर बीमा निर्देशिकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएर दुर्घटना परेमा त्यसको बीमा दाबी गर्न नमिल्ने उल्लेख छ । बीमितले क्षतिभन्दा बढी दाबी मागेको छ वा वास्तविकताभन्दा फरक रिपोर्टिङ गरेको छ भन्ने विवरण सर्भेयरले मात्रै पत्ता लगाउँछन् । घटना २०७८ को हो । दिउँसो २ बजेतिर चितवन, भरतपुर महानगरपालिकाको बसन्त चोकमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार मेघराज खत्रीको घटनास्थलमै मृत्यु भयो । गाडीमा पूर्ण रूपमा क्षति पुग्यो । मृतकका परिवारले क्षतिपूर्तिका लागि तत्कालीन अजोड इन्स्योरेन्समा निवेदन दिए । कम्पनीले सर्भेयर खटाएर आवश्यक छानविन गर्दा मृतक खत्री यात्रु नभएर चालक भएको पत्ता लाग्यो । साथसाथै चालक पम्पु थारुले मादक पदार्थ सेवन गरी सवारीचालक अनुमति नभएका व्यक्ति मेघराज खत्रीलाई समेत मादक पदार्थ खुवाई ट्रक चलाउन दिएको अवस्थामा दुर्घटना भएको पत्ता लाग्यो । चितवन जिल्ला अदालतको फैसलाले पनि सोही कुराको निष्कर्ष निकाली थारुलाई २५ दिनको कैद सजाय सुनाएको थियो । मोटर बीमा निर्देशिकाअनुसार चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको अवस्थामा दुर्घटना भएको छ भने कम्पनीले भुक्तानी दिँदैन । सोहीको आधारमा कम्पनीले भुक्तानी दिन नमिल्ने भनिएपछि उनले क्षतिपूर्ति पाएनन् । के छ सर्भेयरको अनुभव ? एउटै मोडलको दुइटा गाडी एकै प्रकारको दुर्घटनामा परेका रहेछन् । दुईजना सर्भेयरले मूल्यांकन गरेका थिए । दुवै सर्भेयरले गरेको मूल्यांकन आकाश–जमिनको फरक थियो । त्यही भिन्नता देखेर कम्पनीले मलाई सर्भेयरमा नियुक्त गर्यो । बीमित बुटवलका थिए तर उनले गाडी मर्मत गरेर विराटनगर बेचिसकेका रहेछन् । विराटनगर पुगेर मैले बीमितलाई गाडीसँग सम्बन्धित विभिन्न प्रश्नहरू सोधें । बीमितले केही जवाफ सही दिए भने केहीमा उनी चुके । सर्भेको मूल्यांकनमा गाडीमा टर्वोको पनि चार्ज लगाएको थियो । बीमितले टर्वो फेरिएको जवाफ दिएका थिए, वास्तविकतामा त्यो गाडी स्टेरिङ बेस थियो । यो कुरा मैले थाहा पाइसकेको थिएँ । बीमितले गाडीमा चेसिस र इन्जिन ब्लक एसेम्बलिङ फेरिएको भनिएको थियो । त्यो फेर्नका लागि यातायात व्यवस्था विभागको अनुमति लिनुपर्छ । त्यसैले फेरिएको कुरा सही थिएन । यी दुई कुराबाट बीमितले ढाँटेर क्षतिको दाबी गरेको निष्कर्ष निस्कियो । मैले कम्पनीलाई त्यहीअनुसार प्रतिवेदन बुझाएँ । पछि त्यसमा पहिलाको भन्दा ५/६ लाख घटेर बीमितले रकम पाए । (सर्भेयर ललित केसीसँग विकासन्युजको बीएन पोडकास्टमा गरेको कुराकानीमा आधारित) सर्भेयर ललित केसी प्राधिकरणको जवाफ : हदम्याद तोक्दा झन् पीडित हुने डर नियामक निकाय प्राधिकरण बीमितलाई कागजपत्र बुझाउने हदम्याद तोक्न नहुने पक्षमा छ । दाबी कहिलेसम्म गर्ने, कागजपत्र कहिलेसम्म पुर्याउने भनेर समयसीमा तोकिदिँदा बीमित पीडित हुने देखिएकोले यस्तो निर्णय लिन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए । सुवेदीले भने, ‘हामीले अवधि तोकौंला, यसमा पनि समस्या हुँदैन भन्न सकिन्न । बुझ्ने मान्छेले समयमै बुझाउला, नबुझ्ने झन् पीडित हुन्छ । अवधि तोक्दा झन् उल्टै हामीलाई हानि हुन्छ कि भन्ने लागेर तोकिरहेका छैनौं ।’ यसबारे समयसमयमा प्राधिकरणले अध्ययन गरेको भए पनि पर्याप्त हुन नसकेको उनले सुनाए । ‘पर्याप्त गृहकार्य नगरीकन निर्णय लिँदा पछि बाउन्स ब्याक हुन्छ, यसले हामीलाई नै गार्हो हुन्छ । उदाहरणका लागि ६ महिना तोकौंला, विदेश जाने बीमित रहेछ भने त्यो अवधिभित्र बुझाउन सकिएन नि । हाम्रो नीतिले उसले भुक्तानी लिनबाट वञ्चित हुनुपर्ने हुन्छ,’ उनले भने । मोटर बीमा निर्देशिका संशोधन गर्ने कि भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी । ‘प्राधिकरणको कमजोरी’ भुक्तानीकै समस्याका कारण उपभोक्तामा बीमाप्रति विश्वास घट्न थालेको बुझाइ विज्ञहरूको छ । प्राधिकरणले बिमा कम्पनीहरुमा निगरानी बढाएको पाइँदैन । यसैगरी बेथिति अध्ययन गरे कमजोरी सुधारका लागि प्रयास गरिएको पनि पाइँदैन । बीमाविज्ञ रवीन्द्र घिमिरे दाबी भुक्तानीको हकमा पनि बीमितले कागजपत्र बुझाइसकेपछि सयममै भुक्तानी भएको छ कि छैन, छैन भनेर प्राधिकरणले एक्सन लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘बीमितलाई समयमा भुक्तानी भएको छ कि छैन, छैन भने कारण के हो स्पष्टीकरण सोध्नुपर्छ ।’ उनका अनुसार बीमितलाई दुर्घटना भएपछि भुक्तानी पाइन्छ भन्ने जानकारी भए पनि भुक्तानी प्रक्रियाबारे थाहा पाएका हुँदैनन् । बीमा कम्पनीहरूले बीमितलाई पोलिसीबारे राम्रोसँग नबुझाइदिँदा पनि समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ । ‘ग्राहकमा सचेतनाको कमी छ, सचेतता बढाउनु आवश्यक छ,’ घिमिरे भन्छन्, ‘बीमा गरेपछि बीमकले पनि पोलिसी राम्रोसँग पढ्नुपर्यो, निमय र सर्त (टर्म्स एन्ड कन्डिसन) बुझ्नुपर्यो । बीमा कम्पनीले पनि स्पष्ट बुझाइदिनुपर्यो।’ बीमितको मानसिकता दुर्घटना परेपछि जसरी पनि टारौंला, झगडा नै गरेर लिउँला भन्ने देखिएको घिमिरेको भनाइ छ । ‘केही बीमित बीमा झन्झटिलो भनेर दाबी गर्न नगई सडकमै मिलाउन खोज्छन्, तर दुवैतिरबाट एकअर्काको कुरालाई रामोसँग बुझ्ने र बुझाउन सक्ने हो भने बीमा दाबीमा समस्या हुँदैन’, घिमिरेले भने । बीमा अभिकर्ताहरूका अनुसार ग्राहकलाई बीमाबारे विश्वस्त पार्न र जिम्मेवार बनाउन सजिलो छैन । अभिकर्ता बुद्धि गौतम धेरै मानिस बीमाप्रति सकारात्मक छैनन् । ‘धेरै मानिसले बीमा गर्नुपर्छ भन्छन्, तर व्यवहारमा उनीहरू पछि हट्छन्, यो सही जानकारी र कार्यान्वयनबीचको खाडल हो,’ उनी भन्छन् । अभिकर्ताले ग्राहकलाई पोलिसी लिनुअघि पोलिसीका सबै सर्तहरू, प्रिमियम तिर्ने समय र प्राप्त हुने सुविधाहरू स्पष्ट रूपमा बुझाएर मात्र बीमा गराउने गरेको गौतमको तर्क छ । उनका अनुसार ९० प्रतिशत अभिकर्ताले बुझाएर ग्राहकलाई पोलिसी बेच्ने गरेका छन् । बाँकी १० प्रतिशतले नबुझाइकन बिक्री गरेको हुन सक्ने उनी सुनाउँछन् । पोलिसी कागजात हातमा दिए पनि ‘दिएको छैन’ भन्नेदेखि लोभ देखाएर बीमा गराइदिने भनेर अर्कालाई दोष लगाउने प्रवृत्तिले गर्दा राम्रो काम गर्ने अभिकर्ताहरूलाई समेत बजारमा चुनौती आएको उनले बताए । के– के छन् दाबी भुक्तानीसम्बन्धी कानुनी व्यवस्था ? बीमा ऐन, २०७९ को परिच्छेद १६ बीमा दाबी फर्स्यौट र परिच्छेद १७ मा भुक्तानी नपाएको अवस्थामा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्था मोटर बीमाको भुक्तानीको हकमा मात्रै नभएर सबै खालको पोलिसीको लागि हो । बिमा दाबी भुक्तानी मार्गनिर्देशन, २०८१ को परिच्छेद ४ को दफा ७ मा दाबीसम्बन्धी कागजातको व्यवस्था गरिएको छ । उक्त परिच्छेद ४ को उपदफा ७ मा सर्भेयरले १५ दिनभित्र बीमालेखको सर्त तथा सुविधाको अधीनमा रही बीमितले पाउनुपर्ने रकम उल्लेख गरी बीमकको दायित्व निर्धारण गरी प्रतिवेदन पेश गर्नुपर्छ । सोही परिच्छेदको दफा १३ अनुसार बीमकले सर्भेयरले प्रतिवेदन पेश गरेको साधारणतया २१ दिनभित्र दायित्व ठहर गरी निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने उल्लेख छ । दफा ८ मा २ लाखसम्मको सानो दाबी १५ दिनभित्र फर्स्यौट गर्नुपर्ने भनिएको छ । त्यस्तै, प्राधिकरणले जारी गरेको बीमासम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो पक्ष चालक, कर्मचारीको मृत्यु वा घाइते भएमा मृत्यु एवं औषधी उपचारमा दिइने क्षतिपूर्ति रकमलगायत अन्य विभिन्न निर्देशनसम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार सवारी दुर्घटनामा घाइतेको उपचारका लागि ३ लाख र मृत्यु भएमा ५ लाख रुपैयाँ क्षतिपूर्ति बीमकले भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । मोटर बीमासम्बन्धी निर्देशिकाको परिच्छेद २ को २.१३ मा ‘नक फर नक’ सम्बन्धी व्यवस्था रहेको छ । यो व्यवस्थाअनुसार सवारीसाधन दुर्घटना भएको अवस्थामा क्षतिपूर्ति बेहोर्ने, औषधि उपचार कसले बेहोर्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको छ । अर्थशास्त्री भन्छन् : नीति कार्यान्वयन भएन अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी दाबी भुक्तानीमा हुने समस्या विगतको तुलनामा केही हदसम्म सुध्रिएको भए पनि समस्या अझै रहेको औंल्याउँछन् । उनका अनुसार दाबी भुक्तानीमा विभेद हुने गरेको छ । ‘शक्तिको आडमा बसेका पावरफुल मान्छेको बीमा दाबी समयमै फर्स्यौट भए पनि साधारण बीमितका लागि अहिले पनि दाबी भुक्तानी झन्झटिलो छ,’ अधिकारी भन्छन्, ‘सामान्य बीमितलाई कर्मचारीले समेत सहजीकरण नगरिदिने पाइएको छ, यसले गर्दा आजको दिनमा बीमाले जुन बजार लिइसक्नुपर्ने हो त्यो छैन ।’ मोटर बीमा होस् या अन्य कुनै बीमाको भुक्तानीसम्बन्धी नीति, निर्देशिका बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनको तर्क छ । ‘हामीसँग नीति अभाव छैन, कार्यान्वयनमा समस्या छ । नीतिको प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्यो, बीमामा धोक्काधढी हुनाले कम्पनीले दक्ष प्रविधियुक्त सर्भेयर खटाउनुपर्यो, रिसर्च गर्नुपर्यो,’ उनले भने । यातायात व्यवसायी के भन्छन् ? नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर उपचार खर्च जुटाउनेदेखि क्षतिपूर्ति दिनेसम्मको जिम्मेवारीमा व्यवसायीलाई अगाडि सार्दा समस्या भइरहेको छ । दुर्घटनामा मृत्यु भएमा ५ लाख रुपैयाँ र घाइते उपचारका लागि ३ लाख रुपैयाँसम्म बीमा दाबी उपलब्ध हुन्छ । गम्भीर घाइतेको उपचारमा ५०–६० लाख रुपैयाँसम्म खर्च लाग्ने अवस्था रहेकाले यो नीतिमै सुधार आवश्यक रहेको उनको भनाइ छ । तीन लाख रुपैयाँभन्दा बढी उपचार लागेको अवस्थामा यातायातका विभिन्न समितिहरूले आन्तरिक कोष बनाएर नागरिकको उपचार र व्यवसायीको संरक्षण गर्दै आएको स्वाँरले सुनाए । यातायात व्यवसायी महासंघ, मजदुर संघ र सामाजिक सुरक्षा कोष सम्मिलित उपसमितिले जिल्ला–जिल्लामा गएर समस्या समाधानका लागि छलफल गर्ने तयारी गरेको छ । बीमा प्राधिकरणले पनि छुट्टै समिति गठन गरिसकेको र प्रारम्भिक बैठकसमेत बसेको स्वाँरले जानकारी दिए । क्षतिपूर्ति, उपचार खर्च र मृत्युदाबी भुक्तानी बीमा कम्पनीको संस्थागत दायित्व बन्नुपर्ने व्यवसायीलाई जोड्न नहुने उनको तर्क छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँ उपभोक्ताले सेवा लिने बेलामा झन्झटिलो अथवा ढिलासुस्ती उपभोक्ता हितविपरीत रहेको बताउँछन् । भुक्तानीमा ढिलासुस्ती भएमा उपभोक्ता अदालत जान सकिने उनको सुझाव छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० अनुसार उजुरी गर्न सक्ने व्यवस्था छ । दाबी भुक्तानी नपाएको उजुरी लिएर बीमितहरू उपभोक्ता अदालतमा भने पुगेका छैनन् । बीमाको मुद्दा प्राधिकरणले मात्रै हेर्नुपर्छ भन्ने बुझाइले पनि यस्तो भएको उनको तर्क छ । ‘समयमै सेवा पाउनु उपभोक्ताको अधिकारभित्र पर्छ । दाबी भुक्तानीमा ढिलासुस्ती भयो वा क्षतिपूर्ति पाइएन भने उपभोक्ता अदालत जान सकिन्छ,’ बानियाँ भन्छन् । प्रक्रिया पूरा भए प्रहरी सिफारिसमा समस्या हुँदैन : प्रहरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार बीमाको भुक्तानीका लागि दैनिक २५ वटासम्म सिफारिस प्रहरीकहाँ आउने गरेका छन् । बीमितले आवश्यक प्रक्रिया पुर्याएमा सिफारिस दिन समस्या नभएको महाशाखाका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदी बताउँछन् । प्रक्रिया पूरा गरेर सिफारिस लिन आएको बीमितलाई दुई घण्टाभित्र सिफारिस बनाइदिने गरेको उनको भनाइ छ । ‘घटना भइसकेपछि देशभरका जुनसुकै प्रहरी कार्यालयमा अनिवार्य रिपोर्ट गर्नुपर्ने हुन्छ, दर्ता गरेको अवस्थामा सिफारिस बनाउन हामीलाई सजिलो हुन्छ । साथसाथै लाइसेन्स, बिलबुक, सवारीसाधनको नम्बर प्लेट देखिने फोटो पेस गरिसकेपछि उहाँहरूलाई सिफारिस दिन्छौं ।’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदी । सूचना अधिकारी सुवेदी घटनाबारे शंका लागेमा, अभिलेख नभएका घटना आएमा केही समय लाग्न सक्ने बताउँछन् । ‘कति जनाले घटना आफै घटाएर वा नघटेको घटनाको पनि सिफारिस बनाइदिनुपर्यो भनेर आउनुभएको हुन्छ, यस्तो अवस्थामा रुजु नगरी हामी सिफारिस दिदैनौं,’ उनले भने । दुर्घटनापछि प्रहरीमा उजुरी नगर्नु, सिफारिस लिन नआउनुमा दुईटा कारण औंल्याउँछन् सूचना अधिकारी सुवेदी । पहिलो जानकारी नहुनु, अर्को कारण आवश्यकता महसुस नगर्नु । बीमितलाई यससम्बन्धमा सचेतना बढाउनका लागि बीमा कम्पनी र प्राधिकरणसँग मिलेर समयसमयमा सचेतना कार्यक्रमहरू गर्दै आएको उनको भनाइ छ । ‘सामुदायिक प्रहरीमार्फत सचेतना कार्यक्रम प्रचार–प्रचार गर्छौं । घटना सानो होस् या ठूला दर्ता गराउनुपर्छ भनेर सबै चालकसम्म पुर्याउने प्रयास गर्छौं, बीमा कम्पनी, प्राधिकरणसँग पनि हाम्रो समन्वय भइरहेको हुन्छ,’ उनी भन्छन् । प्रविधिमैत्री सेवा भएमा सहज बीमा दाबी र भुक्तानी अनलाइबाटै गर्न सकिन्छ । ‘दुर्घटना भइसकेपछि तुरुन्तै फोनबाटै जानकारी गराउने, आवश्यक कागजात कम्पनीलाई उपलब्ध गराउने हो भने भुक्तानी छिटोछरितो हुन सक्छ’, प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले भने । प्राधिकरणका अनुसार बीमा कम्पनीले बीमितलाई सुरुमै आवश्यक कागजातबारे स्पष्ट बुझाउनुपर्छ । कागज नपुगेको अवस्थामा एसएमएस, इमेल वा फोनमार्फत सम्पर्क गरेर सम्झाइरहनुपर्छ, यसलाई कम्पनीले बोझको रूपमा भन्दा पनि जिम्मेवारीका रूपमा लिनुपर्ने सुवेदी सुनाउँछन् । बीमाविज्ञ डा. खोम खरेल प्राधिकरणको यस्तो कार्यशैली बीमितमैत्री देखिए पनि यसले दाबी प्रक्रिया अनिश्चित र लम्बिँदै जाने बताउँछन् । बीमा कम्पनीले कागज अपूरो भएको बहानामा झन् दाबी लम्ब्याउन सक्ने र बीमितले पनि कहिलेसम्म कागज बुझाउने भन्ने स्पष्ट दिशानिर्देश नपाउने खरेलको बुझाइ छ । ‘बीमा बजार भनेको माग र आपूर्ति प्रणालीजस्तै हो, दुवै पक्षलाई एउटै प्रणालीबाट सञ्चालन गर्नुपर्छ, दुवै पाटोका दायित्व र समयसीमा तोकियो भने सेवा प्रवाह प्रभावकारी हुन्छ,’ उनी भन्छन् । विकसित मलुकको तुलनामा नेपालको बीमा बजार निकै पछाडि छ । अझै पनि धेरैले बीमालाई आवश्यकताभन्दा पनि बाध्यताको रूपमा बुझ्ने गरेका छन् । बीमाविज्ञ खरेलका अनुसार धेरै मानिसमा अझै पनि बीमा किन गर्ने भन्ने विषयमा अन्योल छ । उनले भने, ‘धेरै उपभोक्तामा बीमाबारे अन्यौल छ । यसको कारण भनेकै हामीले बीमा शिक्षा विस्तार गर्न सकेका छैनौं । बीमा किन आवश्यक छ र यसले कस्तो फाइदा दिन्छ भन्ने कुरा पर्याप्त रूपमा बुझाउन नसकेसम्म समस्या आइरहन्छन् ।’ खरेलले ग्राहकलाई विश्वसनीय र पारदर्शी सेवा दिन सकेमा बीमा क्षेत्र विस्तार हुँदै जाने सम्भावना पर्याप्त रहको बताए । ‘७५३ वटै पालिकामा बैंक पुगेजस्तै बीमाका शाखा पनि ग्रामीण तहसम्म पुग्नुपर्छ, त्यसका लागि दक्ष जनशक्ति आवश्यक छ । यो संरचना बलियो बनाउन सकियो भने मानिसहरू क्रमशः सचेत हुँदै जान्छन्, बीमा बजार विस्तार हुँदै जान्छ । भुक्तानी प्रक्रियामा रहेको झन्झट अन्त्य हुन्छ र बीमाबारे सकारात्मक भावनाको विकास हुन्छ ।’ प्राधिकरणका कार्यकारी निर्देशक सुवेदी बीमा शिक्षाका कार्यक्रम सञ्चालन भइरहेको बताउँछन् । उनी भन्छन्, ‘बीमा शिक्षालाई थप विस्तार गर्दै जाने योजना छ ।’