पहुँचले बनाउँछ उद्यमी, जन्मदै शक्तिशाली थिए बीरेन्द्र

बाई द बुक पढ्दै गर्दा त्यसभित्रको रोचक पक्षहरु साथीहरुलाई सुनाइरहेको हुन्थेँ, विभिन्न सन्दर्भ प्रसंगमा । त्यही क्रममा मित्र अजयकुमार कँडेलले भने, ‘बीरेन्द्र बहादुर बस्नेत यस्ता उद्यमी हुन् जसको फोटो सबै नेपालीले घरमा झुण्ड्याउन उपयुक्त हुन्छ ।’ बस्नेत बुद्ध एयरका अध्यक्ष हुन् । उनी कम्पनीको संस्थापक प्रबन्ध निर्देशक हुन् । सन् १९९७ अक्टोबर ५ मा बुद्ध एयरको पहिलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । २०८२ वैशाखमा प्रकाशित बाई द बुकमा बस्नेतले बुद्ध एयरको २७ वर्षको इतिहास लेखेका छन् । कम्पनीले भोगेका संघर्ष र कम्पनीले चुमेको सफलता उतारेका छन् । साथै, उनले बस्नेत परिवारको विरासत र बुद्ध एयरभित्रको पारिवारिक कलहलाई पनि समेटेका छन् । पुस्तकमा बस्नेतको व्यक्तिगत जीवनी पनि पढ्न पाइन्छ ।  नेपालको हवाइ सेवा क्षेत्रमा बुद्ध एयर एक सफल हवाइ सेवा प्रदायक कम्पनी हो । जोसँग १८ वटा जहाज छन् । करिब १५०० कर्मचारी छन् । कम्पनीले दैनिक ९ हजार यात्रुहरु उडाउँछ । बीरेन्द्र बस्नेतका अनुसार बुद्ध एयरले ४० भन्दा बढी हवाइ मार्गमा जहाज उडाउँछ । दैनिक ९ हजार यात्रुलाई सेवा दिन्छ । हवाइ सेवा दशैंको टिकाको दिन पनि खुला हुन्छ । नयाँ वर्षको पहिलो दिन पनि व्यस्त हुन्छ । दैनिक ९ हजारको दरले ३६५ दिन सेवा दिँदा वार्षिक ३२ लाख ८५ हजार यात्रुलाई बोक्छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२२ मा ४९ लाख १३ हजार यात्रुले नेपालभित्र हवाइ यात्रा लिए । सन् २०२३ मा ४३ लाख २५ हजारले हवाइ यात्रा गरे । दुई वर्षमा औषतमा वार्षिक ४६ लाख यात्रुले हवाइ सेवा लिँदा रहेछन् । यस हिसाबमा आन्तरिक हवाइ सेवा बजारको करिब ७१ प्रतिशत हिस्सा बुद्ध एयरले लिएको छ ।  पुस्तकमा बुद्ध एयरको वित्तीय अवस्थाबारे जानकारी छैन । तर, कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारलाई एक खर्ब ७१ करोड रुपैयाँ नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर (भ्याट) बुझाएको उल्लेख छ । त्यस आधारमा कम्पनीले उक्त आर्थिक वर्षमा भ्याटबाहेक ७ खर्ब ७४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेवा बिक्री गरेको भन्ने हुन्छ । जुन विवरण सही हुन सक्दैन । इक्रा नेपालको अनुसार सन् २०२४ मा बुद्धको कुल व्यापार १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार छ ।  पारिवारिक विरासत  ‘म जमिन्दारको सन्तानको रुपमा जन्मिएँ । हाम्रो परिवार शिक्षित थियो । राजनीतिक रुपमा सचेत थियो’ बीरेन्द्रले पृष्ठभूमिमा नै लेखेका छन्, ‘विराटनगरमा सयौं विगाहा जमिन, राजधानीमा घर–घडेरी, गाडी, घोडा समेत भएकाले उनको परिवारलाई चिन्नेहरूले सम्भ्रान्त पनि भन्दथे ।’  १९११-१२ मा भएको नेपाल–तिबत युद्धमा मारिएका सिंहबीर आफ्नो कुप्राबा भएको, उनको निधनपछि श्री ३ जंगबहादुरले भोजपुरको दिङ्ला राम्रो खेत विर्ता दिएको, त्यसपछि नै उनको परिवार सम्भ्रान्त बनेको, हजुरबा नरबम बस्नेतले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको बुढीफुपू शिवकुमारीसँग विवाह गरेको, विवाहसँगै माइतीले शिवकुमारीलाई धनुकुटाबाट बिदा गर्दा प्रशस्त दाइजो, सुनचाँदी, गहना दिएको, शिवकुमारीले माइतीको पेवा लगानी गरेर परिवारलाई व्यापारमा लगाएको, सोही बेलादेखि बस्नेत परिवार व्यवसायमा लागेको उनले किताबमा उल्लेख गरेका छन् । सुरुमा भोजपुरको खुकुरी धरान, धनुकटा ल्याएर बेच्ने, धराने टोपी भोजपुर लगेर बेच्ने काम थालेको, व्यापारकै क्रममा शिवकुमारीको आठै भाई छोरा मुग्लान पसेको, सोही क्रममा, जनकपुरमा पुगेर माधव शमशेर जबराको फिर्ता सम्हालेको, विराटनगरमा पनि घर जग्गा जोडेको, कान्छो छोरो सुरेन्द्र बहादुर र सातौं छोरो योगेन्द्र बहादुर बस्नेतलाई पढाएको, नेपालबाट एसएलसी गरेपछि सुरेन्द्रले बनारसबाट एमए र एलएलबीसम्म पास गरेको, भूपाल समशेरकी छोरी तर्फकी एक्ली नातिनी आशारानीसँग सुरेन्द्र बहादुरले विवाह गरेको बर्णन बाई द बुकमा छ । ‘यसरी मेरो मावली मुढोल राजबंशसँग जोडिन पुग्यो’ बीरेन्द्रले खुलाएका छन् ।   जन्मदै शक्तिशाली पुर्ख्यौली थलो भोजपुर भए पनि बीरेन्द्रको जन्म सन् १९६४ मा भारतको बनारसमा भएको थियो । उनको मामाघर पनि भारतको महाराष्ट्र, मुढोलमा हो । उनको आमाले विवाहअघि भारतबाट मनोविज्ञान विषयमा एमए पास गरेकी थिइन् । बुबाले पनि भारतबाट एमए र एलएलबी पार गरेका थिए । बीरेन्द्रको जन्म आर्थिक रुपमा सम्भ्रान्त, शैक्षिक रुपमा उच्चस्तरको र पहुँचको हिसाबले शक्तिशाली परिवारमा भएको देखिन्छ । बीरेन्द्र तीन वर्षको हुँदा उनको परिवार नेपाल फर्कियो । राजा महेन्द्रको सरकारले बीरेन्द्रका बा सुरेन्द्रबहादुर बस्नेतलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेपछि उनको परिवार राजधानी आएको हो । ‘बुबा राजा महेन्द्रको सक्रिय कार्यकर्ता जस्तो हुनुहुन्थ्यो । उहाँ नेपाल फर्कने बित्तिकै हुकुम प्रमाङ्गीबाट सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुनुभयो । उहाँले जीवनमा धेरै समय सरकारी सेवामा बिताउनुभयो । न्यायाधीशपछि नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष, प्रमुख निर्वाचन आयुक्तदेखि उहाँ २ पटक मन्त्री पनि हुनुभयो’ बीरेन्द्रले लेखेका छन् ।  बुबा राजकीय पदमा, घर ललितपुरको जावलाखेलमा, शिक्षा गोदावरीस्थित सेन्ट जेभियर्स स्कूलमा । बीरेन्द्रका बाल्यकाल नै सुनौला अवसरबाट अगाडि बढे । त्यसमाथि बीरेन्द्रले सर्वाधिक गर्व गर्ने लायक जीवन त कक्षा ३ पछि सुरु भयो । जहाँबाट उनले शिक्षा मात्र सिकेनन्, अनुशासन, मिहिनेत धैर्यता सिके । जीवन उपयोगी नेटवर्क बनाए । जहाँ आत्मविश्वासी र उर्जाशिल व्यक्तित्वको आधार निर्माण गरे ।  छोरा बीरेन्द्र वीर विक्रम शाहलाई बेलायतको इटर्न कलेज पढाउँदा निकै प्रभावित भएको तत्कालीन राजा महेन्द्रले त्यस्तै सुविधा सम्पन्न स्कूल नेपालमा खोल्न बेलायती महारानीलाई प्रस्ताव गरे । राजाको इच्छा अनुसार स्कूल खोल्न बेलायत सरकारले ३० लाख पाउण्ड अनुदान दियो । बुढानिलकण्डमा ६०० रोपनी क्षेत्रफलमा अत्याधुनिक स्कूल सञ्चालनमा आयो । सुरुमा नाम नस्किए पनि पूर्वशिक्षा मन्त्री सुरेन्द्र बहादुर बस्नेत र उनको सानी आमाका छोरा बहालवाला शिक्षा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको जोडबलमा बीरेन्द्र बहादुर बस्नेतले बुढानिलकण्ठ स्कूलमा पढ्ने अवसर पाए, दोस्रो व्याचको विद्यार्थीका रुपमा । बुढानिलकण्ठबाट शिक्षा, अनुशासन र कर्मको सिकाइ उच्च स्तरको भएको र आफ्नो सफलताको जग नै सोही स्कूल भएको भन्दै बस्नेतले पुस्तकको धेरै भागमा यसको चर्चा गरेका छन् ।  बीचमा बिग्रिए बीरेन्द्र एसएलसीमा ९४.८६ प्रतिशत अंकसहित पास भएका बीरेन्द्रको अमृत साइन्स क्यापसको प्रवेश परीक्षामा एसएलसीका बोर्डफस्ट भएका विद्यार्थीको भन्दा अगाडि नाम निस्किएको थियो तर उनी अन्तिम परीक्षामा फेल भए । कडा अनुशासनबाट फुक्काफाल हुनु, बरालिएका साथीहरुको संगतमा पर्नु र कलेजमा धेरै राजनीति हुनुले आफ्नो पढाइ बिग्रिएको उनको विश्लेषण छ । आईएस्सी फेल भएपछि जीन्दगी बर्वाद हुने चिन्ता उनीमा पलायो । तर, बुबाले ढाडस दिए । उनी बनारस गएर आइकम पढे, पास भए ।  आइकमको परीक्षा दिएर नेपाल फर्के लगत्तै बुबाको निर्देशनमा बीरेन्द्र बस्नेत मोरङको डाँगीहाटमा कृषि फार्म समाल्न पुगे । बुबाले खोलेको कृषि फार्ममा त्यतिबेला पनि ८०/९० जना कामदार रहेको बीरेन्द्रले उल्लेख गरेका छन् । फार्ममा माछा पालनदेखि फलफूल खेतीका काम हुन्थ्यो । उनीहरू सूर्योदयदेखि सूर्याअस्तसम्म दैनिक १२ घण्टा काम गर्दथे । आफूले फार्म सम्हालेपछि दोहोरो हिसाब राख्ने, कामदारको ज्याला दैनिक महिलालाई ६ रुपैयाँ र पुरुषलाई ८ रुपैयाँ रहेकोमा दैनिक २ रुपैयाँ थप गर्ने, खेतीमा आधुनिक औजारहरूको प्रयोग ल्याउने जस्ता सुधारका काम गरेको उनले बताएका छन् । त्यतिबेला फार्मको वार्षिक आम्दानी २०/२५ लाख रुपैयाँ हुने गरेको र त्यो त्यतिबेलाको ठूलो कारोबार भएको उनी बताउँछन् ।  फार्ममा काम गर्दै गर्दा उनले विराटनगरस्थित मोरङ आदर्श बहुमुखी क्याम्पसबाट बिकम पास गरे । २५ वर्षको उमेरमा बस्नेतले ललितपुरकी सुनिता सिजापतिसँग विवाह गरे । त्यतिबेलाको अन्तरजातीय विवाह पनि मागी विवाह थियो भन्ने बीरेन्द्रको दावी छ । उनले सुनितासँगको प्रेमकथा बाई द बुकमा लेखेका छैनन् । यति मात्र लेखेका छन्–‘हामी दुई जना छौं तर हाम्रो सोच, विचार सधैं एउटै भयो ।’  बिकम पास गरेपछि बीरेन्द्रले हावर्ड विश्वविद्यालयदेखि अन्य प्रख्यात विश्व विद्यायलहरुमा पढ्न आवेदन गरे तर नाम निस्केन । अन्ततः ३२ वर्षको उमेरमा दुई छोरी हुर्काउँदै उनी त्रिभुवन विश्वविद्यालयमा एमए अर्थशास्त्र पढ्न थाले ।   बीरेन्द्र बस्नेतले सेनामा जागिर खाने प्रयास गरे, सफल भएनन् । अमेरिकामा पढ्न जाने प्रयास गरे, सफल भएनन् । निजी कम्पनीमा जागिर खाए, रमाउन सकेनन् । कृषि फार्म चलाएर, त्यसमा पनि अडिन सकेनन् । अनिश्चित भविष्यबाट डराउँदै अब उनी सुनिश्चित भविष्यको खोजीमा लागे । बहुदलीय प्रजातन्त्र स्थापनापछिको सरकारले खुला अर्थनीति अपनायो । व्यवसायमा निजी क्षेत्रको लगानी वृद्धि हुँदै थियो । त्यही बेलामा हवाइ सेवा क्षेत्रमा पनि खुला आकास नीति आयो । हवाइ सेवा सञ्चालन गर्ने कम्पनीले ५ वर्षसम्म कर छुट पाउने भए । त्यसपछि त हो बीरेन्द्रले बुद्ध एयरमा हात हालेको ।  स्थापनादेखि नै बुद्धको व्यवस्थापनको मुल नेतृत्व बीरेन्द्रले गर्दै आएका छन् । यद्यपी यो सुरेन्द्र बस्नेतको पारिवारिक कम्पनी हो । सुरेन्द्रका दुई छोरा बीरेन्द्र र शिवेन्द्रबीच बुद्धको स्वामित्वको विषयमा भएका विवाद समाचार मात्र बनेन्, अदालतमा मुद्दा पनि पुग्यो । विवादले बाई द बुकमा पनि स्थान पाएको छ । बुकमा बीरेन्द्रको एकतर्फी विचार छन् र शिवेन्द्र गलत भन्ने वर्णन पढ्न पाइन्छ ।  बिउ शिवेन्द्रको, गोडमेल बीरेन्द्रको बुद्ध एयर र बीरेन्द्र बस्नेत परिपूरक नाम बनेको छ नेपालको हवाई क्षेत्रमा, सञ्चार क्षेत्रमा, व्यावसायिक क्षेत्रमा । तर, बाई द बुक पढ्दा प्रष्ट देखिन्छ कि बुद्ध एयरको बिउ शिबेन्द्रले यूक्रेनबाट ल्याएका रहेछन् ।  मानव सिर्जित नतिजाहरु सोच र कर्मको फल हो । सोच बिउ हो । गोडमेल गर्नु, मलजल गर्नु कर्म हो । बीउ र कर्मको नतिजा हो- फल । बुद्ध एयरमा बिउ शिबेन्द्र र कर्म बीरेन्द्रको देखिन्छ ।  बीरेन्द्रले विराटनगरका कृषि फार्म चलाउँदै गर्दा शिवेन्द्र पाइलट बनिसकेका थिए । यूक्रेनबाट पाइलटिङ सिकेर नेपाल फर्केका शिवेन्द्र एशियन हेलिकप्टर्समा काम गरिरहेका थिए । जब सरकारले खुला आकाश हवाइ नीति लियो तव शिवेन्द्रले हवाइ कम्पनी खोल्ने सोच बनाए र यस विषयमा साथीहरुसँग छलफल चलाए । परिणाम बस्नेत परिवारको ८ लाख, श्रवण गोयलको ८ लाख र बीरेन्द्र बैद्यले ८ लाख गरी २४ लाख पुँजीमा कम्पनी दर्ता भयो ।  दुई साथीलाई लिएर शिवेन्द्र हेलिकप्टर लिन रुस गए । एक महिनापछि फर्किए ।  रुस घुमेर २४ लाख रुपैयाँ सके तर हेलिकप्टर ल्याएनन् । हेलिकप्टर नकिन्दै कम्पनीको पुँजी सकिएपछि साझेदारहरुले कम्पनी बन्द गर्न चाहेको तर बस्नेत परिवारले गोयल र बैद्यलाई ८/८ लाख रुपैयाँ फिर्ता गरेर सबै स्वामित्व बस्नेत परिवारले लिएको बाई द बुकमा लेखिएको छ ।  जब कम्पनीको १०० प्रतिशत सेयर बस्नेत परिवारको स्वामित्वमा आयो तब बीरेन्द्र बस्नेत अगाडि बढे । भिनाजु फिजोनाथ नेपालीसहित जानकारहरुसँगको परामर्शपछि बीरेन्द्रले हेलिकप्टर नभई जहाज नै किन्ने निर्णयमा गए । ५० लाख अमेरिकी डलर अर्थात ३२ करोड रुपैयाँमा बिचक्रफ्ट १९०० डी जहाज किन्ने तयारीमा जुटे ।  मूल्यको १० प्रतिशत अर्थात ५ लाख डलर मात्र तिरेपछि निर्माता रेथियन एयरक्राफ्टले जहाज किस्तामा दिने रहेछ । ‘खल्तीमा पाँच हजार थिएन, पाँच करोड जुटाउने हुटहुटी बोकेर कुदेँ’ बीरेन्द्रले लेखेका छन् ।  पैसा जुटाउन उनले धेरै सम्बन्धहरु प्रयोग गरेका छन् । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग भेटेर दुइटा जहाज किन्न ६ करोड ५० लाख रुपयाँ सञ्चय कोष र औद्योगिक विकास निगमबाट दिलाउन माग गरे । नाताले सूर्य बहादुर र बीरेन्द्रबहादुर दाजुभाई थिए । सूर्यबहादुर थापाको हजूरबा टेकबहादुर थापा र बीरेन्द्र बहादुर बस्नेतको हजूरआमा शिवकुमारी दाजुबहिनी हुन् । हरेक वर्ष दशैंमा सूर्यबहादुर थापा बीरेन्द्रको घरमा बुबा सुरेन्द्रबहादुर बस्नेतसँग टिका लगाउन जाने गरेका थिए । त्यो लेवलको पारिवारिक सम्बन्ध भएकोले सूर्यबहादुरले बीरेन्द्रको प्रस्तावमा सहयोग गरेको देखिन्छ ।  प्रधानमन्त्री थापाले अर्थमन्त्री रविन्द्रनाथ शर्मालाई, शर्माले सञ्चय कोषका प्रशासक सञ्चारभक्त श्रेष्ठलाई भनेर कोष र बैंक अफ सिलोनबाट बुद्ध एयरलाई कर्जा दिलाएको पुस्तक पढेर बुझ्न सकिन्छ । त्यसअघि पनि बीरेन्द्रले कोषका प्रशासक सञ्चारभक्त श्रेष्ठ, नेपाल औद्योगिक विकास निगमका प्रमुख विकेमान सिंहलाई कर्जा प्रस्ताव गरेको, व्यावसायिक योजना पेस गरेको, धेरै पटक भेटेको तर उनीहरुबाट काम नभएपछि प्रधानमन्त्री थापाको पावर लगाएर कर्जा लिएको बीरेन्द्रले बाई द बुकमा खुलस्त लेखेका छन् । खल्तीमा थिएन ५ हजार पनि  जतिबेला जहाज किन्न कर्जाको खोजीमा बीरेन्द्र भौतारिँदै थिए, त्यतिबेला आफ्नो खल्तीमा ५ हजार रुपैयाँ पनि नभएको उनले बताएका छन् । जाउलाखेलको घर बन्धकी दिएर सुलभ पन्तसँग ७० लाख रुपैयाँ ऋण लिएको, त्यही पैसाबाट पुराना साझेदारको पुँजी फिर्ता दिएको, कर्जा लिँदा बुझाउनुपर्ने कमिशन बुझाएको, सञ्चालन पूर्वको खर्चहरु गरेको, कम्पनी सञ्चालनमा आएपछि मात्र शुल्क तिर्ने गरी परामर्श सेवा पनि उधारो लिएको बीरेन्द्रले बताएका छन् ।  त्यतिबेला सेकेण्ड ह्याण्डको मारुती ८०० कार चढ्ने गरेको पनि उल्लेख गरेका छन् । हाल बीरेन्द्रले बुद्ध एयरबाट करिब १०० करोड नाफा आर्जन गर्छन ।  खुलापन बाई द बुकमा बीरेन्द्रका खुलापन पढ्न पाइन्छ । हजुरबा नरबम बस्नेत २० वर्षको उमेरमा ज्यान मार्ने अपराधमा जलन परेको र ६ वर्ष जेल बसेपछि छुटेको विषय पनि उल्लेख गरेका छन् । भाइ शिबेन्द्र बस्नेतसँगको विवाद पनि लेखेका छन् । कम्पनीको अडिटर र कर प्रशासनबीच विवाद भएको विषयमा समेत बुद्ध एयर कर प्रशासनले भनेअनुसार कर तिरेको घटनाहरु पनि चर्चा गरेका छन् ।  सानीमाका छोरा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, फूपुका कान्छो ज्वाँई नरेन्द्र कटुवाल, जो सूर्य बहादुरका स्वकीय सचिव भएर धेरै वर्ष काम गरे, उनीहरूसँग लिएको लाभको चर्चा गरेका छन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि पूर्व मन्त्रीहरू चक्रप्रसाद बाँस्तोला, महेन्द्रबहादुर पाण्डे, अर्जुन नरसिंह केसी, गोकर्ण विष्टसँग कसरी सम्बन्ध जोड्ने काम भयो र कसरी व्यावसायिक लाभ लिन प्रयत्न गरियो भनेर उनले पुस्तकमा वर्णन गरेका छन् ।  कोशीमा आएको बाढीले पुल बगाएपछि पूर्वी नेपाल र बाँकी नेपालको यातायात टुट्दा बुद्ध एयरले करिब ९ महिनामा ३३ करोड रुपैयाँ कमाएको र नयाँ जहाजहरू थप्न सफल भएको विषयलाई उनले खुलेर सविस्तार गरेका छन् । भर्खरै खुलेको बैंक अफ सिलोन बुद्धलाई कर्जा दिन सहमत भए पनि बैंकमा निक्षेप नै नभएको र त्यस अवस्थामा नेपाली सेनाको कल्याणकारी कोषबाट उक्त बैंकमा निक्षेप राख्न सम्बन्धहरु प्रयोग गरेको पनि खुलाएका छन् । जुन आजको बैकिङ अभ्यासमा पूर्णत दण्डनीय कर्म हो ।  ‘मेरो अनुभवले भन्छ, ‘नीतिगत निर्णय गर्ने तहका मानिससँग तपाँईको सम्पर्क, सम्बन्ध वा पहुँच छैन भने नेपालमा उद्यम शुरु गर्न असम्भव जस्तै छ, ’बीरेन्द्रले प्रष्ट लेखेका छन् ।  सम्बन्धहरुलाई सोसल क्यापिटल, नेटवर्क इज नेटवर्थको रुपमा परिभाषित गर्दै सम्बन्धहरू कसरी जोड्ने, कसरी प्रभावकारी कुरा गर्ने र आफ्नो पक्षमा निर्णय पार्ने भन्नेबारेमा उनले अनुभवहरू साट्दै ‘र्यापो बिल्डिङ’ (बहुपक्षीय छलफलमा आफ्नो पक्षमा निर्णय गराउने क्षमता) मा आफू पोख्त भएको पनि लेखेका छन् । सम्बन्धमा जोड दिने क्रममा उनले भनेका छन्–‘प्रधानमन्त्री सूर्यबहादुर थापासँग पारिवारिक नाता थिएन भने हामीलाई ऋण लिन कठिन हुन्थ्यो र जहाज किन्ने हाम्रो प्रयास असफल हुनसक्थ्यो ।’ व्यवसाय गर्दा परेका कयौं गाँठो फुकाउन सम्बन्ध प्रयोग गरेको उनले खुलस्त लेखेका छन् ।  व्यवसायमा गाँठो फुकाउन सम्बन्धको सदुपयोगलाई उनले जायज कर्मको रुपमा व्याख्या गरेका छन् । तर, उनले नेपालमा बढ्दो क्रोनी क्यापिटलिजले डरलाग्दो रुप लिएको र यसले स्वच्छ व्यवसाय गर्नेहरू पलायन हुन बाध्य पारिरहेको पनि उल्लेख गरेका छन् । नेता र कर्मचारीले व्यवसायी वा आफन्तको नाममा सेयर लगानी गरी खोलेका कम्पनीहरुले नीतिगत रुपमा सरकारबाट ठूलो लाभ पाउन थालेको र त्यस्ता कम्पनीहरूसँग अरुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाबारे पनि उनले व्याख्या गरेका छन् ।   असंगती बाई द बुकमा नमिलेको विषयहरु पनि छन् । आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ७१ करोड भ्याट मात्र तिरेको उल्लेख छ । जसअनुसार कम्पनीको बिक्री ७ खर्ब ७४ अर्बभन्दा बढी हुनुपर्छ । बाई द बुकको १२१ पृष्ठमा आईएफसीसँग लिएको कर्जा म्याद सकिनुभन्दा तीन वर्ष अगाडि नै चुक्ता गरेको उल्लेख छ ।  तर, १४२ पेजमा अहिले पनि (२०८२ साल बैशाखसम्म) कुल कर्जाको ८० प्रतिशत डलरमा नै रहेको लेखिएको छ । नेपाली बैंकले कर्जा दिने रुपैयाँमा नै हो । आईएफसीबाहेक विदेशी संस्थाबाट कर्जा लिएको उल्लेख छैन । यस अवस्थामा ९० प्रतिशत कर्जा डलरमा कसरी हुन गयो ? बुकमा प्रष्ट छैन । हालै बुद्ध एयरले ३ अर्ब ९ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ ।  ‘साझे कि बाझे’मा विश्वास समूहमा शक्ति हुन्छ, एकता नै बल हो, एक थुकी सुकी–सय थुकी नदी जस्ता संगठित कर्मको महत्वबारे बीरेन्द्र बस्नेत जानकार छन् । तर बुद्ध एयरको सफलताका आधारहरु मध्ये एकल स्वामित्वलाई उनले प्रमुखता दिएका छन् र बुद्ध एयरलाई भविष्यमा पब्लिक कम्पनी बनाउने वा साझेदारी थप्ने मार्गमा नलैजाने विषयमा जोड दिएका छन् ।  बीरेन्द्र ‘साझे कि बाझे’ मा विश्वास गर्दछन् । जहाँ साझेदारी हुन्छ, त्यहाँ विवाद हुन्छ भन्ने विषयले बीरेन्द्रको मस्तिष्कमा गढेको छ । बुद्ध एयर र बुद्ध इन्टरनेशनलमा भएको साझेदारीको पीडाबारे उनले थोरै मात्र पुस्तकमा लेखेका छन् । बुबा सुरेन्द्र बस्नेतको निधनपछि भाई शिवेन्द्रले बुद्ध एयरमा सिर्जना गरेको कलह, ३५ प्रतिशत सेयर लिएर बुद्ध एयर विभाजित गर्न खेलेको भूमिका र त्यसले आफूलाई मानसिक रुपमा पारेको पीडाबारे एउटा च्याप्टर नै लेखेका छन् । हवाइ सुरक्षा मापदण्डको परिपालनासहित गुणस्तरीय सेवा, प्रभावकारी सञ्चार तथा ब्राण्डिङ, कानुनको परिपालना, सामूहिक कार्यशैली, पारदर्शी सञ्चालन विधि, सुक्ष्म अध्ययनपछि मात्र निर्णय लिने संस्कार बुद्धको सफलताको आधारहरु देखिन्छन् । उनले कम्पनीको पुस्तान्तरणमा जोड दिएका छन् । छोरी आस्था र भतिजी देवयानीले कम्पनी अगाडि बढाउन सक्छन् भन्नेमा उनी विश्वस्त देखिन्छन् । सच्चिनु पर्ने दुई विषय व्यवसायी वा व्यवसाय उन्मुख जो कोहीले आफूमा पाइन लाउन बाई द बुक पढ्दा राम्रो हुन्छ । किताब पढिसक्दा बीरेन्द्रप्रति सम्मानभाव वृद्धि हुन्छ । अझ राम्रो गर्न बीरेन्द्र दुई ठाउँमा सच्चिनुपर्छ । शिवेन्द्र परस्त्री मोहको विषय बाई द बुकमा पढ्न पाइन्छ । उनको अराजक जीवनशैली र मदिरा मोहबारे राजधानीको महँगा होटलमा थुप्रै किस्साहरू सुन्न पाइन्छ ।  शिवेन्द्रका यस्ता चरित्रका बीच पारिवारिक द्वन्द्व व्यवस्थापनमा बीरेन्द्रले उदारताका साथ मिहिनेत गर्न जरुरी छ । दोस्रो, २७ वर्षको बुद्ध एयरलाई २७० वर्ष भन्दा बढी आकाशमा कसरी उडाउने भनेर बिरेन्द्रले दूरदृष्टि लिनुपर्छ । त्यसको लागि पारिवारिक कम्पनीबाट पब्लिक कम्पनी बनाउनु नै विश्वमा सफल र स्थापित मोडेल हो । पारिवारिक द्वन्द्व व्यवस्थापन गर्न र छोरी-भतिजीप्रतिको विश्वासबाट व्यवहारिकतामा रुपान्तरण हुन बीरेन्द्र बस्नेतले ढिला गरे भने नेपाली आकाशमा बुद्ध एयरको साम्राज्य खलबलिने जोखिम उच्च हुनेछ ।   

१०० अर्ब कारोबार हुने नाका बन्द, बजार महँगिने, व्यवसायी संकटमा

काठमाडौं । विसं २०७२ सालको भूकम्पले चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भयो । त्यसपछि उक्त नाका सञ्चालनमा आउन झण्डै एक दशक समय लाग्यो । पछिल्लो समय तातोपानी नाका सञ्चालन रहे तापनि व्यवसायीहरूले अधिकांश वस्तु तथा सेवा भने रसुवाको रसुवागढी नाकाबाट आयात गर्दै आएका थिए।  तातोपानी नाकाबाट आयात गर्दा सडकको अवस्था नाजुक र लागत धेरै लाग्ने भएको हुँदा अधिकांश व्यवसायीहरूले रसुवागढी नाका हुँदै चीनबाट सामान आयात गर्दै आएको बताए । तर, सोमबार रातीको भारी वर्षा र भोटेकोशी नदीमा आएको बाढीले छिमेकी मुलुक चीनसँगको व्यापारिक सम्पर्क टुटेको छ । अर्बाैं रुपैयाँ बराबरको सामान आयात हुने रसुवागढी नाका चीनसँगको ठूलो सीमा नाका पनि हो ।  चिनियाँ सामग्री आयातका लागि सहज मानिएको यस नाकाबाट स्याउ, लसुन, अदुवा, ओखर, चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान र विद्युतीय सवारी साधन (ईभी) आयात हुने गरेको छ । साथै, नेपालमा निर्माणाधीन जलविद्युत आयोजनाका लागि आवश्यक उपकरण, बच्चाबच्चीहरुका खेलौना लगायत अन्य सामान आयात हुने गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई बताउँछन् ।  रसुवागढी नाकाबाट सबैभन्दा धेरै सवारी साधन आयात हुने गरेको उनले बताए । रसुवागढी नाकाबाट निर्यात भने न्यून रहेको छ । नेपालबाट ऊनी गलैँचा, तयारी कपडा, चाउचाउ, जडीबुटी, अगरबत्ती, भाँडामा माझ्ने स्टिल उड र काठका सामग्री निर्यात हुने गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएसँगै चीनसँग हुने कारोबार अनिश्चित समयका लागि रोकिएको छ । बाढीले मितेरी पुलसँगै भन्सार नाकामा राखिएका दर्जनौं सवारी साधनहरु बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ । हालसम्मको तथ्याङ्क अनुसार १८ जना बेपत्ता भएका छन् । भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० भन्दा बढी गाडीहरू बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको प्रशासनले जनाएको छ । साथै, आधा दर्जन जलविद्युत कम्पनीहरूमा क्षति पुर्याएको छ भने सुक्खा बन्दरगाहमा पनि असर पारेको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली काठमाडौं ल्याउन तयारी अवस्थामा रहेका ३५/४० वटा कन्टेनर, १ सयभन्दा बढी ईभी गाडी बगाएको जानकारी आफूले पाएको बताउँछन् । तथ्याङ्क संकलनको काम भइरहेकाले अर्बाैंको क्षति भएको हुन सक्ने उनको भनाइ छ ।  ‘धेरै व्यवसायीहरू रोडमा आउनुपर्ने स्थिति हुनसक्छ । किनभने एउटै गाडीमा करोडौंको सामान चीनबाट आयात गरिन्छ । ती गाडीहरू सामानसहित हराएका छन् । खोलाले खाएको छ । क्षतिको कल्पना नै गर्न सकिँदैन । यसको असर विस्तारै देखिन्छ,’ उनले भने, ‘हाम्रो व्यापार व्यवसाय ठप्प भयो । नाकामा चीनतर्फको भूभागमा रहेका सामानहरू अड्किएका छन् ।’  उनी कपडा, पार्ट्स, इलेक्ट्रोनिक्स सामाग्रीहरु आयात गर्छन् । ‘मेरो एउटा गाडीमा आंशिक क्षति भएको छ । ५ करोड भन्दा बढीको क्षति भएको छ । तर, अरु व्यवसायी साथीहरूको त पूर्ण क्षति भएको छ,’ उनले भने । नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठ मितेरी पुल बगाएपछि ठूलो असर व्यापार व्यवसायमा पर्ने बताउँछन् । पुल बन्न लामो लाग्ने भएकाले व्यवसायीहरूलाई पीडा भइरहेको उनी सुनाउँछन् । साथै, सामानहरूको लागत उच्च हुने भएकाले मूल्य बढ्न सक्ने खतरा रहेको उनले सुनाए ।  उनका अनुसार स्याउ, रेडिमेट सामान र ईभी गाडीमा धेरै क्षति पुर्याएको छ । बाढी पहिरोबाट अर्बाैं रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।  ‘कन्टेनर बगाएको छ, ईभी गाडी बगाएको छ । त्यहाँका सबै पूर्वाधार सबै बगाएको छ । अब यार्डमा भएका थप सामान पनि बगाउला भन्ने चिन्ता छ,’ उनले भने, ‘उत्तरी नाका रसुवाबाट हुने व्यापार ६ महिनाभन्दा बढी समयका लागि ठप्प भयो,’ उनले भने ।  अब केरुङमा आएको सामान तातोपानी नाका भएर ल्याउनुपर्ने उनको भनाइ छ । तर, तातोपानी नाकाको सडक भने सहज नरहेको उनको भनाइ छ । तातोपानी नाका सडक दिनकै बिग्रिने र दिनकै बन्ने भइरहेकाले तातोपानी नााकालाई दबाब हुने उनले बताए । अर्थविद् डा. गोविन्द नेपाल बाढीले गरेको क्षतिबाट अर्थतन्त्रमा ठूलो असर गर्ने बताउँछन् । चीनसँगको मुख्य नाका भएकाले त्यसको असर दीर्घकालसम्म पर्न सक्ने उनको भनाइ छ ।  ‘रसुवागढी नाका चीनसँगको व्यापारिक कारोबार हुने मुख्य मार्ग हो । यो मार्ग हुँदै धेरै सामानहरू आयात हुन्छन् । यसको असर दीर्घकासम्म पर्न सक्ने देखिन्छ । किनभने धेरै पछि मात्रै यो नाका सञ्चालन आएको हो,’ उनले भने ।  उनका अनुसार भूकम्प क्षति पुर्याएपछि तातोपानी नाका नाका खुल्न धेरै समय लागेको थियो । त्यसैले रसुवागढी नाका पनि पुन निर्माण हुन समय लाग्न सक्ने उनको बुझाइ छ । सीमा क्षेत्रमा कुटनैतिक प्रश्न उठ्ने भएकोले पनि पुन निर्माण हुन समय लाग्ने गरेको उनले सुनाए ।  ‘अब रसुवागढी नाकालाई लिएर चीनले विभिन्न सर्त राख्न सक्छ । जसले रसुवागढी नाका तत्काल बन्ने छाँटकाँट देखिंदैन । किनभने तातोपानी नाका बन्न पनि धेरै समय लागेको थियो,’ उनले भने, ‘अब महँगी बढ्न सक्ने सम्भावना छ । सो नाकाबाट खाद्यान्न सामाग्री भन्दा पनि फलफूलहरू, जुत्ता, चप्पल आयात हुन्छ । ती वस्तुहरूको मूल्य बढ्ने देखिन्छ ।’ चीनबाट आयात हुने सामाग्री ठप्प भएपछि भारतको सप्लाइ बढ्ने उनले बताए ।  पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य के कति क्षति भएको हो सो आधारमा मात्रै त्यसले पार्ने असरको गणना हुने बताउँछन् । सीमा नाका नै बन्द भएपछि सरकारले तत्काल केही न केही विकल्प अपनाउनुपर्ने उनले बताए । तर, सीमामा पूर्वाधार निर्माण भने मनसुन पछि मात्रै सम्भव हुने उनको भनाइ छ ।  नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापाका अनुसार कुन व्यवसायीको कति गाडीहरू बगाएका छन् भनेर यकिन तथ्याङ्क आएको छैन । तर, १ सयभन्दा बढी गाडी बगाएको जानकारी आएको उनले बताए । तर, धेरैले बजेट अगाडि नै गाडीहरू ल्याइसकेको हुँदा क्षति धेरै हुन नपाएको उनको बुझाइ छ । आफूले गाडी काठमाडौं ल्याइसकेको हुँदा क्षति नभएको उनले जानकारी दिए ।  रसुवागढी नाका विसं २०७२ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म यस नाकाबाट मात्रै ८० अर्ब रुपैयाँ बराबरको सामग्री आयात भएको छ । असार मसान्तसम्ममा १०० अर्ब भन्दा बढी कारोबार  हुँदै थियो । जेठसम्म जिप, कार, भ्यान ६ हजार २६६ वटा, ४६९ वटा तीन पाङ्ग्रे र १ हजार १७६ वटा विद्युतीय माइक्रोबस तथा बस ट्रक आयात भएको कार्यालयले जनाएको छ । जेठसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ । रसुवाको सुक्खा बन्दरगाह चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो । भोटेकोशी बगरमा ७ सय मिटर लामो र साढे ५ मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण गरी बन्दरगाह निर्माण गरिएको थियो । बन्दरगाहमा संयुक्त निरीक्षण स्थल, गोदाम भवन, ३ सय माल बाहक र १ सय साना सवारी साधन पार्किङ गर्न सकिने थियो । 

नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डे सहकारी ठगीमा मुछिए, पदाधिकारी मिलेर करोडौं रकम निजी कम्पनीमा

काठमाडौं । देशमा सहकारी ठगीको विषयले व्यापकता पाउँदा थप अर्को सहकारीमा ठूलो रकम अपचलनको विषय बाहिरिएको छ । विकासन्युज डटकमलाई प्राप्त केही कागजात तथा छानबिन समितिको प्रतिवेदनले थप अर्को सहकारीमा ठूलो आर्थिक घोटाला भएको खुलेको हो । सो सहकारी घोटालामा भीआईपी नेताहरु संलग्न रहेको तथ्य फेला परेको छ ।  नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) मा करोडौं रकम अपचलन भएको खुलेको हो । सो प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, सोही पार्टीका नेता, पूर्वमन्त्री तथा बंगलादेशका लागि पूर्वराजदूत समेत रहेका बंशीधर मिश्र लगायतका २८ जना सहकारीको रकम अपचलन प्रकरणमा जोडिएका हुन् ।  पाण्डे सो सहकारीका पूर्व अध्यक्ष हुन् भने मिश्र वर्तमान अध्यक्ष हुन् । सो सहकारीका उपाध्यक्ष जीवन प्रकाश शर्मा, सचिव चिकित्सक डा. रामकुमार अधिकारी लगायत २८ जनाले सहकारी संस्थाको रकम अपचलन गरेको खुलेको हो ।  नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडभित्र अनियमितता तथा भ्रष्टाचार भएको अनुमानपछि सेयर सदस्यहरूले सहकारीको १७औं साधारण सभामा छानबिनको माग गरेपछि बनेको समितिले सहकारी संस्थाभित्र ठूलो घोटाला भएको निश्कर्ष निकालेको हो । संस्थाको आर्थिक, भौतिक तथा नीतिगत विषयमा छानबिन गर्नका लागि २०८० असारमा पुण्यप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । सो समितिले यो अवधिमा संस्थाको विभिन्न निर्णय तथा कागजात अध्ययन गर्दा ठूलो अनियमितता भएको भेट्टाएको हो ।  सहकारीको अनियमितता सम्बन्धमा छानबिन गर्न गठित समितिले तीन महिनाको समय पाएको थियो । उक्त समितिले आफ्नो प्रतिवेदन बुझाउन पटक-पटक प्रयास गरे पनि सञ्चालक समितिले प्रतिवेदन बुझ्न नमानेको समितिका एक सदस्यले विकान्युज डटकमलाई बताए ।  ‘हामीले १८औं साधारण सभामा प्रतिवेदन सार्वजनिक गर्न खोज्दा सञ्चालक समितिबाट रोक्ने प्रयास भयो, प्रतिवेदनले संस्था भित्रका अनियमिततालाई उजागर गर्ने र आगामी कार्यदेशबारे समेत मार्ग दर्शन गरे पनि सञ्चालक समितिले यसलाई ग्रहण गर्नै खोजेन,’ ती सदस्यले भने ।  समितिको अनुसन्धानले सहकारीका केही पदाधिकारी तथा पूर्व पदाधिकारीले मनोमानी रुपमा सहकारीबाट पेस्कीको रुपमा लाखौं रकम लिई फिर्ता नगरेको देखिएको छ ।    सो सहकारी संस्थाका सचिव डा. राम कुमार अधिकारीको नाममा मात्रै ४४ लाख ३० हजार ६२३ रुपैयाँ पेस्की छ । डा. अधिकारीले २०७१ सालबाट लिएको पेस्की हालसम्म फछ्र्यौट नगरेको देखिएको छ ।  नेको नेपालका पुर्वअध्यक्ष तथा नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको नाममा संस्था स्थापनादेखिको पेस्की फछ्र्यौट नभएको समितिको प्रतिवेदनले देखाएको छ । पाण्डेको नाममा २२ लाख ४९ हजार ५०६ रुपैयाँ बेरुजु छ ।  संस्थाका अध्यक्ष बंशीधर मिश्रको नाममा ५ लाख र उपाध्यक्ष जीवन प्रकाश शर्माको नाममा ५ लाख २७ हजार रुपैयाँ पेस्की रहेको प्रतिवेदनमा उल्लेख छ । रामबहादुर कवँरको नाममा १ करोड ७ लाख, होप इन्टरनेश्नलको नाममा १ करोड २४ लाख, नवराज रुपाखेतीको नाममा ४२ लाख १९ हजार र बुद्धिमान तामाङको नाममा २७ लाख ७० हजार रुपैयाँ पेस्की दिइएको छ ।  चम्पादेवीमा केवलकार निर्माण गरिरहेको चम्पादेवी इको फ्रेण्ड्ली कम्पनीले समेत नेको नेपालबाट पेस्की लिएर फछ्र्यौट नगरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त कम्पनीको नाममा १२ लाख रुपैयाँ बेरुजु छ ।    संस्थाका अध्यक्ष बंशीधर मिश्रले यो लामो समयदेखि विभिन्न कामका लागि लिएको पैसाको बिल भर्पाइ नभएका कारण अहिले एक्कासि ठूलो रकम हुन गएको धारणा राखे । उनले यो पैसा विभिन्न प्रयोजनका लागि विभिन्न व्यक्तिले प्रयोग गरेकोले बताए ।  ‘यो एकै पटक लिएको पैसा होइन, वर्षौंदेखि भ्रमण तथा कुनै कामका लागि लिएको रकम हो, त्यो कामको उनीहरुले बिल दिएनन्,त्यसैले बेरुजु देखिएको हो, अब हामीले तीन महिनाभित्र असुल उपर गर्नका लागि सम्बन्धित व्यक्तिको नाममा सूचना जारी गरिसकेका छौं, काम व्यवस्थित गर्न खोज्दा नै यो विषय बाहिरिएको हो,’ उनले भने ।    यो सहकारी २ अर्ब ७५ करोड रुपैयाँ ऋणमा रुहेको नेको नेपालले  मनमोहन मेडिकल कलेज र मनमोहन मेमोरियल इन्स्च्युट लगायतका शैक्षिक संस्था सञ्चालन गरेको छ ।  ५३ करोड ८७ लाख ८२ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको जगेडा कोष ८ लाख १३ हजार र कर्जा सापटी २ अर्ब ७४ करोड ३१ हजार रुपैयाँ छ । ​​​​ नेकोमा पनि जीवी प्रवृत्ति  पछिल्लो समय नेपाली सहकारी क्षेत्रमा जीवी राई एउटा नकारात्मक मानक बनेका छन् । राईले विभिन्न ठाउँमा सहकारी खोल्ने र त्यहाँका  बचतकर्ताबाट उठेको बचत आफुले सञ्चालन गरेका कम्पनीमा लगानी गरेको सांसद सुर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन समितिको अध्ययनले खुलाएको थियो ।  सोही प्रवृत्ति नेको सहकारी र यसका सञ्चालकहरुमा पनि देखिएको छ । तत्कालीन अध्यक्ष  पाण्डेले नेको नेपालको रकम साधारण सभा र सञ्चालक समितीको सहमति समेत नलिई अन्य निजी कम्पनीमा लगानी गरेको पाइएको हो ।   पाण्डेको नेतृत्वमा जलविद्युत, केबलकार, ईटाभट्टासहित करिब १० वटा कम्पनीमा नेकोबाट साढे एक करोड रुपैयाँ लगानी भएको प्रतिवेदनले देखाएको छ  । नेको नेपालबाट भैरवकुण्ड हाइड्रो पावर कम्पनीमा पाँच लाख रुपैयाँ, चम्पादेवि इको फ्रेण्डली डेभलपमेण्ट प्रालीमा १ करोड २० लाख रुपैयाँ, जनता टीभीमा एक लाख, केन्द्रिय स्वास्थ्य सहकारीमा ५० हजार, मनमोहन मेमोरियल सेभिङ एण्ड क्रेडिट इन्भेष्टमेन्टमा एक लाख, माथिल्लो थोपल हाईड्रोमा २० लाख १० हजार, रोयल कोअपरेटिभमा एक हजार, लालिगुराँस सहकारीमा ४ लाख २२ हजार, राष्ट्रिय सहकारी बैंकमा ७ लाख १० हजार र शुभ इट्टा उद्योगमा १० लाख रुपैयाँ लगानी गरिएको छ ।   उक्त लगानी सहकारी ऐन विपरित भएको सहकारीका जानकारहरु बताउँछन । सहकारी विभागका प्रवक्ता रघुनाथ महतका अनुसार उक्त कार्य सहकारीको सिद्धान्त र सहकारी कानुन विपरित हो  । सहकारीले विधि र सिद्धान्तः निजी कम्पनीमा लगानी गर्न पाइँदैन । यदि कहीँ कतै यस्तो भएको भए त्यो अमान्य र खारेजयोग्य समेत हुन सक्ने महतको भनाइ छ ।  सहकारीका अध्यक्ष मिश्रले कुनै बेला अन्जानमा लगानी भएकोले अब ती कम्पनीमा भएको सेयर लगानी फिर्ता ल्याउने प्रयास भइरहेको बताउँछन् । ‘अब लगानी भएका कम्पनीबाट सेयर फिर्ता ल्याउने प्रयास गर्छौं, त्यो सेयर लगानी गर्नमा को-को जिम्मेवार थिए त्यो पनि अनुसन्धान हुन्छ,’ उनले भने ।  सफेद सपना बाँडेर झुटको खेती मनमोहन मेडिकल कलेजको अवधारणासँगै भुई मान्छेहरूलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने मात्रै नभई चिकित्सा शिक्षाको पहुँच समेत तल्लो तहमा पुर्याउने सपना बाँडेर सर्वसाधारणलाई सेयर खरिद गर्न लगाइएको थियो ।  तत्कालीन समयमा प्रत्येक विकास क्षेत्रमा मेडिकल कलेज खोल्ने योजना संस्थापक अध्यक्ष पाण्डेले अगाडि सारेका थिए ।  पाण्डेले संविधान सभामा बोल्दै मनमोहन मेडिकल कलेजले सञ्चालन अनुमति पाएमा त्रिवि शिक्षण अस्पतालले भन्दा सस्तो चिकित्सा शिक्षा र चिकित्सा सेवा उपलब्ध गराउने बताएका थिए ।  पाण्डेको उक्त कथनले धेरै लगानीकर्तामा उत्साह सिर्जना गरेको थियो ।  पाण्डेको आग्रहमा प्रतिसेयर सदस्य १ लाख रुपैयाँमा २ हजार ५ सय लगानीकर्ताले मेडिकल कलेजमा लगानी गरेका थिए । सार्वजनिक कार्यक्रममा भाषण गरे पनि पाण्डेको त्यतिबेलै मेडिकल कलेज चलाउने सोच नरहेको एक सेयरधनीले बताए । स्थापनाकाल देखिनै मनमोहन मेडिकल कलेज र नेपाल स्वास्थ्य सहकारीले सञ्चालन गरेका शैक्षिक संस्थाहरुमा अनियमितताको  गन्ध आइरहे पनि सुरुमा नेतृत्वप्रतिको विश्वासका कारण आफुहरु चुप लागेको एक सदस्यले जानकारी दिए ।  नाम नबताउने सर्तमा ती सञ्चालक सदस्यले भने, ‘त्यही विश्वास अहिले तातो दुध जस्तै भएको छ ।’ नेपाल सरकारले सामुदायिक अस्पताललाई बर्सेनि दिएको अनुदानमा समेत घोटाला भएको उनले बताए । नेपाल सरकारले उपलब्ध गराएको ३४ करोड रुपैयाँ पनि अपचलन भएको ती सदस्यले बताए ।  महायज्ञमै घोटाला  मनमोहन मेमोरियल कलेज तथा  शिक्षण अस्पतालको नाममा २०६७ कार्तिक २२ गतेदेखि सुरु गरेको महायज्ञबाट ९९ करोड ३५ लाख २१० रुपैयाँ उठेको आम्दानीमा देखिए पनि संस्थाको कुनै पनि खातामा उक्त रकम नदेखिएको प्रतिवेदनले देखाएको छ ।  नेको सहकारीको वर्तमान कार्यसमिति ।  नेको नेपाल सञ्चालक समितिका एक सदस्यका अनुसार उक्त रकम तत्कालीन अध्यक्ष राजेन्द्र पाण्डे र वर्तमान अध्यक्ष डा. मिश्रको समन्वयमा बैंक खातामा राख्ने भनिए पनि नराखेर अपचलन गरिएको आरोप पनि छ ।