हरित ऊर्जा उद्यमी, ऊर्जाशील अभिभावक
जति उद्योग डुबे । जति नोक्सानी भयो, त्यसमा निराश भएको भए, हरेश खाएको भए सायद आज नेपाली उद्योगीमाझ सफल र प्रेरक उद्यमीका रूपमा परिचित हुन्थेनन् कृष्णप्रसाद आचार्य । उनी ४३ कम्पनीका मालिक बने । तीमध्ये कति नोक्सानी बेहोरेर बन्द भए । कतिपयबाट लगानी झिके त कतिपयलाई सुस्त सञ्चालन गरे । तर, अहिले पनि ३० वटा कम्पनीको दैनिक रिपोर्टिङ लिन्छन् आरएम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्य । अफिसकै कुर्सीमा बसेर । साढे सात दशकको उमेर । मुहारमा आत्मविश्वास । काममा लगनशील । नम्र स्वभाव । जलविद्युत उद्यमी कृष्णप्रसाद आचार्यलाई चिन्ने जो कोहीले पनि झ्वाट्ट देख्दा र बुझ्दा यसरी नै लिन्छन् । पंक्तिकारले उनै आचार्यलाई जिज्ञासा राखे, ‘अब व्यवसायबाट विश्राम लिऔं, आराम गरौं भन्ने लाग्दैन ?’ जवाफमा उनले भने, ‘म रिटायर्ड हुँदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम साससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ ।’ विसं २००९ जेठमा कास्कीको निर्मलपोखरीमा जन्मिएका आचार्य किसान परिवारको पृष्ठभूमिमै हुर्किए । परिवार किसान भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने ढाडस उनलाई बुवाले दिइरहन्थे । त्यही उत्प्रेरणाले उनी व्यवसाय गर्ने तरखरमा लागे । तर, अभाव थियो पुँजीको । उनले पुख्र्यौली जमीन बिक्री गरे । जमीन बिक्री गरेर बस किने । त्यतिखेर यातायात क्षेत्रमा उनले राम्रै सम्भावना देखे । बस सेवा सञ्चालन गरेर राम्रै अनुभव लिए । उनले पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्षका रूपमा पनि काम गरे । यातायातपछि आचार्यले पर्यटन क्षेत्रमा सम्भावना देखे । पोखरामा पहिलो पटक पर्यटकस्तरीय होटल खोले । पोखराको महेन्द्रपुलमा पहिलो पटक वि.सं. २०३० सालमा होटल खोलेर पर्यटन क्षेत्रमा सम्भावनाको सञ्चार उनैले गरे । जतिबेला पोखरामा बस्नयोग्य पर्यटकस्तरीय होटलहरू थिएनन् । ‘होटल व्यवसाय गर्दा नेपाल औद्योगिक विकास निगमबाट ऋण लिएँ, त्यतिबेला निजी क्षेत्रका बैंक थिएनन् । सरकारी बैंकले होटलमा लगानी गर्थेनन्,’ आचार्यले भने । उनी पर्यटन क्षेत्रमा अहिले पनि पर्याप्त सम्भावना र अवसरहरू रहेको सुनाउँछन् । दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग उद्योगी आचार्य जहाँ सम्भावना देख्छन्, त्यहाँ सिफ्ट भइहाल्छन् । त्यो उनको पहिचान बनिसकेको छ । समय र परिस्थितिसँगै आफूलाई रूपान्तरण गरेर सोही किसिमले काम गर्नु एउटा सफल व्यवसायीको विशेषता हो । उद्यमी आचार्यको जीवनमा यस विशेषता ठ्याक्कै लागू भएको देखिन्छ । विसं २०३० को दशकमा चाउचाउ भन्ने शब्द नेपाली शब्दकोषमा थिएन । जब उनले रारा चाउचाउ उत्पादन गरेर बजारमा ल्याए, सबैको मुखमा झुण्डियो ‘रारा’ । नेपालमा चाउचाउ उद्योग खोल्दाका सुरुवाती दिनहरू भने निकै सकस थिए । सरकारी कर्मचारीले उद्योग खोल्न नदिएको सकस उनलाई अहिले पनि स्मरण छ । तर, कृष्ण आचार्य र उनको टिमले त्यसलाई सार्थक तुल्यायो । र, २०३९ माघ २३ मा रारा चाउचाउको उत्पादन सुरु भयो । ‘दक्षिण एसियामै पहिलो रारा तयारी चाउचाउ उद्योग सुरु ग¥यौं । चाउचाउ भन्ने शब्द नै नेपाली शब्दकोषमा थिएन । हामीले सुरु गरेपछि शब्द पनि स्थापित भयो र उद्योग पनि,’ खुसी हुँदै उनी भन्छन् । रारा चाउचाउ उत्पादनका मुख्य पायोनियर कृष्ण आचार्य, सूर्यबहादुर केसी र फणिन्द्रमान श्रेष्ठ थिए । लगानीकर्ता भने १०६ जना थिए । केसी र श्रेष्ठको निधन भइसकेको छ । आचार्यले त्यो उद्योगको नेतृत्व २० वर्ष गरे । अहिले केसीका छोरा प्रकाश केसीले रारा चाउचाउ उत्पादन गरिरहेका छन् । ‘मलाई उद्योग क्षेत्रमा चिनाउने रारा चाउचाउ नै हो । म २७ वर्षको थिएँ । त्यसबेलाका बिजनेस टाइकनले मलाई खोज्थे, ठूल्ठूला राजनीतिज्ञले खोज्थे । राजा वीरेन्द्रले एक दिन बोलाएर उद्योग कसरी सुरु गर्याै ? प्रविधि कहाँबाट ल्यायौ, को–को संलग्न छौ भनेर सोध्नु भएको थियो,’ उद्योग सञ्चालन गर्दाका दिन स्मरण गर्दै आचार्यले भने । नयाँ उद्योगसँग उनको परिचय नै बदलियो । आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा, र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० कम्पनी बढीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । त्यसपछि ऊर्जामा प्रवेश चाउचाउ उत्पादन गरेर राष्ट्रिय व्यवसायीमाझ चिनिएका आचार्य सम्भावनाको खोजीमा लागिरहे । पछि अरू धेरै चाउचाउ उद्योग आए । प्रतिस्पर्धा बढ्यो । उनले भने क्षेत्र सिफ्ट गर्ने सोंच बनाए । ठूलो प्रतिस्पर्धा नभएको क्षेत्र खोजे । सम्भावना र अवसरको पहिचान गरे । र, दुई दशकअघि ऊर्जा क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे । उनको बुझाइमा जलविद्युत क्षेत्रमा प्रतिस्पर्धा छैन । जति जलविद्युत उत्पादन गरे पनि सम्भावना प्रचुर छ । यसले व्यवसाय सफलतासँगै राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान दिन्छ । आचार्य अहिले ऊर्जा क्षेत्रका पायोनियर उद्यमीका रूपमा परिचित छन् । उसो त आचार्यको पढाइ पोलिटिकल साइन्स हो । तर, उनलाई व्यवसाय नै मन पर्छ । उनी व्यवसायमै रमाएका छन् । ‘गर्दै, सिक्दै, नोक्सान बेहोर्दै फेरि उठ्दै’ व्यवसाय सुरु गरेको हुँ, व्यवसायमा पारदर्शीता र लगनशीलता भयो भने लामो यात्रा तय गर्न सकिन्छ,’ उनले अनुभव सुनाउँदै भने । उनका अनुसार जलविद्युत क्षेत्रमा लाग्नु भनेको पैसा कमाउनु मात्रै होइन, राष्ट्रिय अर्थतन्त्र पनि बढाउनु हो । ‘प्रकृतिले पानी दिएको छ, त्यो पानीको उपयोग गर्नुपर्छ भनेर जलविद्युत क्षेत्रमा लागें । जहाँ आयोजना सुरु हुन्छ, त्यहाँ विकास हुन्छ, बाटो र बिजुली जान्छ, त्यसपछि विद्यालय र स्वास्थ्य संस्था खुल्छ । यसले रोजगारी सिर्जना हुन्छ, विविध अवसरहरू सिर्जना गर्छ, लगानीको उपयुक्त क्षेत्र सोंचेर नै म यो क्षेत्रमा प्रवेश गरेको हुँ,’ उनले भने । आचार्यले वातावरणका लागि पनि राम्रो र प्रतिस्पर्धा पनि नभएको क्षेत्र भएकोले हाइड्रो क्षेत्र रोजेको सुनाए । उनकै नेतृत्वमा ४७५ मेगावाट विद्युत उत्पादनको चरणमा छ । उनका अनुसार २ आयोजनाको बक्ती बलिसकेको छ । दुई आयोजना निर्माणको अन्तिम चरणमा छन् भने एउटाको काम सुरु भइसकेको छ र दुइटा आयोजना अध्ययनको चरणमा छन् । आचार्यको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुडी ‘ए’ र ६.६ मेगावाटको रुडी ‘बी’, मल्टी एनर्जी डेभलपमेन्ट प्रालिले २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना, ७.५ को मेगावाट गुप्चे खोला जलविद्युत् आयोजना, ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजना, ८.८ मेगावाटको रुदीखोला, १ सय ५५ मेगावाटको घुन्सा खोला आयोजना र ४० मेगावाटको बलेफी खोला जलविद्युत आयोजना अगाडि बढाइरहेका छन् । कतिपयको निर्माण सम्पन्न भएर बक्ती पनि बलिसकेका छन् भने कतिपय निर्माणको अन्तिम चरणमा र कतिपय अध्ययनको चरणमा छन् । आचार्य ऊर्जाले नै सबैलाई धनी बनाउन सक्ने बताउँछन् । ‘जलविद्युतमा अथाह सम्भावना छ, कुनै बेला ८२ हजार मेगावाटको क्षमता भनिए पनि वास्तममै डेढ लाख मेगावाटको सम्भावना छ । तर, अहिले २० हजार मेगावाट उत्पादन प्रयासको चरणमा मात्रै छ । व्यापार र उद्योगभन्दा पनि जलविद्युत राम्रो सम्भावनाको क्षेत्र हो,’ उनले भने । आचार्य जलविद्युत समूहमा लगानी हुने भएकोले ‘गोइङ टुगेदर र ग्रो टुगेदर’को मान्यतालाई विश्वास गर्छन् । उनले लगानी गरेर अगाडि बढाएका आयोजनामा पनि चार हजार बढी संस्थापक सेयरधनी छन् । उनले आफूले नेतृत्व गरेर बिजुली बलेका कम्पनीले प्रतिफल पनि राम्रै दिइरहेको सुनाए । उनको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रो सुरुवात भएको थियो । ‘हामीले निर्माण गरेका जलविद्युत आयोजना बन्दा बाटो लियौं, बिजुली लियौं । त्यहाँको युवा क्लब, आमा समूहमा सामाजिक काम ग¥यौं, जलविद्युतले गाउँगाउँमा विकासको अनुभूति गराएको छ,’ उनले भने । ‘बिन्ध्यवासिनी हाइड्रोपावरले काम गर्दा आयोजना स्थलबाट पोखरामासम्म आउन बीचमै बास बस्नुपर्ने अवस्था थियो । तर, अहिले डेढ घण्टामै पुगिन्छ । बिरामी बीचमै मृत्यु हुने समस्या थियो । अहिले त्यहाँको जनजीवनमा ठूलो परिवर्तन आएको छ,’ उनले भने । उर्जा उद्यमीका अभिभावक उर्जा उद्यमी कृष्णप्रसाद आचार्यको पृथक पहिचान छ । अधिकांश जलविद्युत प्रवद्र्धकले उनलाई अग्रज उद्यमीका रूपमा सम्मान गर्ने गरेका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुन् । उनलाई ऊर्जा उद्यमीहरूले निर्विरोध रूपमा इप्पानको अध्यक्षमा चयन गरेका थिए । एक इमानदार र लगनशील ऊर्जा उद्यमीको रूपमा पहिचान बनाएका आचार्यले इप्पानमा रहँदा पनि महत्वपूर्ण काम गरेको दाबी गर्छन् । ‘मैले आफैले पनि सकेजतिको जलविद्युत उत्पादन गरें । धेरै साथीहरूलाई जुटाएँ, ऊर्जामा लगानी गर्न उत्प्रेरित गरें, अझै गरिरहेको छु,’ उनी भन्छन्, ‘मैले इप्पानको नेतृत्व गरेपछि जलविद्युतमा सकारात्मक मुभमेन्ट सुरु भयो ।’ विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य बनाइएको थियो । आफू इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएको उनी सुनाउँछन् । ‘जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित ग¥यौं, प्रवद्र्धकको पहिचान बनाएँ । विद्युत खरिद बिक्री (पीपीए) रोकिएको थियो, ट्रासमिसन लाइनको समस्या थियो, नेपाल विद्युत प्राधिकरणले उत्पादन रोक, यति प्रतिशत मात्रै गर भनेर निर्देशन दिन्थ्यो । त्यसलाई हटाउन मेरो नेतृत्वको टिम सफल भयो,’ उनले आफू इप्पानको नेतृत्वमा भएका काम सुनाउँदै भने । विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य थियो । म इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएँ, जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित भयो । आचार्य इप्पानमा जानुअघि प्रवद्र्धकले कबुल गरेजति विद्युत उत्पादन गरेन भने प्राधिकरणले जरिवाना गथ्र्यो । आफूले त्यो जरिवाना गर्ने अभ्यास हटाउन सफल भएको उनले दाबी गरे । उनका अनुसार उनको नेतृत्वमा इप्पानमा भएको महत्वपूर्ण काम संगठन विस्तार हो । १४/१५ जनामात्रै प्रवद्र्धक जोडिएका इप्पानमा उनकै कारण ५०० जना संगठित भए । अहिले जलविद्युतसँग सम्बन्धित सरकारका समिति तथा निकायमा जलविद्युत उद्यमी नै आवद्ध हुने विषय स्थापित भएको उनले सुनाए । सरकारले ऊर्जा उद्यमीका लागि नीतिगत सहजताका साथै दुःख नदिने प्रवृत्तिमात्रै ग¥यो भने पनि धेरै काम गर्न सकिने आचार्य बताउँछन् । ‘अहिले उत्पादकहरू धेरै छन्, खरिदकर्ता र बिक्रेता एउटा मात्रै छ । २०६८ सालमा तोकेको दरमा प्राधिकरणले अहिलेसम्म खरिद गर्छ । बिक्री दर भने तीन पटक बढाइसक्यो । मुद्रास्फीतिअनुसार दर पुनरावलोकन गरेको छैन । ७ वटा मन्त्रालय, २२ वटा विभाग र २०० वटा टेबलमा जलविद्युत उद्यमी पुग्नुपर्छ । ३६ वटा कानुनको अधिनमा रहेर काम गर्नुपर्छ, यो किसिमले जलविद्युत क्षेत्रको विकास हुन सक्दैन,’ उनले भने । उनले सरकारले भाषणमा एकद्वार प्रणाली भने पनि व्यवहारमा लागू नभएको गुनासो गरे । ‘मैले काममा एकद्वार प्रणाली तत्कालीन राजा वीरेन्द्रबाट सुनेको हुँ, अहिलेसम्म सुनिन्छ, तर कार्यान्वयन भएको छैन । अधिकांशको नियत दुःख दिने छ । पदमा बस्नेसम्म दुःख दिने तर बाहिर आएपछि यो काम भएन भन्छन्,’ उनले भने, ‘यस्तो प्रवृत्ति रोकियो भने जलविद्युत प्रवर्द्धकले ५० हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छन् ।’ निजी क्षेत्रकै कारण अहिले देशमा लोडसेडिङ अन्त्य भएको तर यसका श्रेय एक जनालाई मात्र दिने काम भएको आचार्यको भनाइ छ । लोडसेडिङ अन्त्यको श्रेय निजी क्षेत्रलाई दिनुपर्ने उनको धारणा छ । चुनौती र समस्या धेरै भएपनि आफू चुनौतीभित्र नै सम्भावना खोज्ने गरेको आचार्य बताउँछन् । ‘जलविद्युत क्षेत्रमा चुनौती अथाह छन् । तर, म कहिल्यै पनि निराश भइनँ । भारतले नाकाबन्दी गरेको बेला मैले दुई नयाँ उद्योग ल्याएँ । त्यतिबेला धेरै मान्छेहरूले यो लगानी गर्ने समय होइन भनेका थिए । भूकम्पको समयमा बर्बाद भयो भन्थे तर मैले काम रोकिनँ । अप्ठ्यारो परेको बेला काम गर्ने मान्छेको पहिचान हुन्छ,’ उनले भने । मध्यरातमा फोन गरेर भोलि तपाईंको साइटमा रगतको खोला बग्छ भन्ने मान्छेसँग पनि आचार्य जुधे । मन्त्रालयमा वर्षौंदिनसम्म गएर फाइल अगाडि नबढेको अनुभव पनि लिए । तर, उनी निराश भएनन् । उनी भन्छन्, ‘चुनौती र समस्याबाट भागेको भए आज तपाईंसँग कुरा गर्ने सक्ने अवस्थामा कहाँ पुग्थें र !’ छोराहरू नै सफलताका सारथी उद्यमी कृष्ण आर्चाका दुई छोरा छन् । जेठो सुदीप र कान्छो सन्दिप । दुवै छोराले उनलाई व्यवसायमा साथ दिइरहेका छन् । दुइटै छोरालाई उनले अमेरिकामा पढाए । तर, उनलाई खुसी यसमा मिलेको छ कि दुवै छोरा नेपाल फर्किएर व्यवसायमा साथ दिइरहेका छन् । ‘धेरैले छोराछोरी विदेश पठाउने विषयलाई गौरवका रुपमा लिन्छन् । तर, मैले नेपाल फर्काएकोमा गौरव महसुस गर्छु । हामी अहिले संयुक्त परिवारमा छौं । छोरा बुहारीले व्यवसायमा राम्रो साथ दिइरहेका छन्, म एकदमै खुसी छु,’ उत्साहित हुँदै उनले भने । छोराहरु सन्दीप र सुदीपसँग कृष्णप्रसाद आचार्य । सुदीप कामना सेवा विकास बैंकका अध्यक्ष, डिस होमका प्रबन्ध निर्देशक, डीएचआईको अध्यक्ष, मल्टिपल इनिर्जी प्रालिको सञ्चालक रहेर काम गरिरहेका छन् । उनले बुवालाई जलविद्युतमा पनि साथ दिइरहेका छन् । सन्दिपले आईटी कम्पनीको नेतृत्व गरिरहेका छन् । उनले नेपालमा आईटी प्रडक्ट उत्पादन गरेर अमेरिकामा निर्यात गर्दै आएका छन् । आचार्य साथीभाइहरू जुटाएर काम गर्दा सफल भइने तर पारदर्शिताको भने आवश्यकता हुने बताए । ‘नेपालमा पारदर्शिताको कमी छ, व्यावसायिक साझेदारहरूसँग पारदर्शी कायम गर्न सकियो भने सफलताको सबैभन्दा ठूलो सफलता हुन्छ । इमान्दारिता र लगनशीलता आवश्यक पर्छ,’ उनले भने । म रिटायर्ड हुदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम स्वाससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ । आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० भन्दा बढी कम्पनीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । नेपालको अन्तरिम व्यवस्थापिका संसद २०६३–२०६४ को सांसद समेत रहेर काम गरेका आचार्य व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । उनी गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका रूपमा पनि कार्यरत छन् । ‘कहिले कता त कहिले कता लाग्नु हुँदैन, त्यसले क्षणिक रूपमा पैसा कमाए पनि सफलता भने मिल्दैन, समाज र राष्ट्रले केही पाउँदैन । समाजलाई के दिनु भयो भन्ने कुराले ठूलो अर्थ राख्छ,’ उनी भन्छन्, ‘अहिले म ७५ वर्षको भएँ, मेरो अन्त्य पनि कुनै परियोजना निर्माण गर्दागर्दै होस् भन्ने चाहना छ ।’ इप्पानका अध्यक्ष गणेश कार्की पनि ऊर्जा क्षेत्रको विकासमा आचार्यको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउँछन् । ‘उहाँले इप्पानको नेृतृत्व गर्दा पनि परिणामुखी काम भए । उहाँ पहिले पनि माननीय भइसकेको हुनाले इप्पानलाई संस्थागत बनाउन र सरकारसँग नीतिगत समन्वय गर्न उहाँको कार्यकाल उदाहरणीय बन्यो,’ उनी भन्छन्, ‘उहाँको व्यक्तिगत सम्बन्ध राम्रो भएकोले पनि काम गर्न सहज भयो ।’ जलविद्युत क्षेत्रमा सामूहिक लगानीको मोडललाई अगाडि बढाउन पनि उनले ठूलो भूमिका खेलेको कार्कीको भनाइ छ । कृष्णकै शब्दहरू: जागिरले आफूलाई मात्र चलाउँछ, व्यवसायले धेरैलाई जोड्छ भन्ने बुवाको प्रेरणाले म व्यवसायमा लागें । सुरु यातायातबाट गरें । पछि पोखरामा पर्यटकस्तरको पहिलो होटल खोलें । यातायात र होटल सञ्चालन गरेपछि दक्षिण एसियाकै पहिलो तयारी चाउचाउ उद्योग सुरु गरें, ‘रारा चाउचाउ’ । त्यतिबेला चाउचाउ भन्ने शब्द पनि नेपाली शब्दकोषमा थिएन, हामीले सुरु गरेपछि शब्द पनि चलनमा आयो, उद्योग पनि स्थापित भयो । राजा वीरेन्द्रले समेत बोलाएर सोध्नुभयो कि उद्योग कसरी सुरु गर्यौ भनेर । पैसा कमाउने मात्र काम होइन, राष्ट्र निर्माणको सोंचसहित म जलविद्युत उत्पादनको क्षेत्रमा आएँ । अहिले ४०० मेगावाटभन्दा बढी बिजुली उत्पादनमा संलग्न छु । केही आयोजनामा बत्ती बालिसक्यो, केही अन्तिम चरणमा छन् । जलविद्युतमा आएपछि बुझें– जहाँ आयोजना जान्छ, त्यहाँ विकास पुग्छ । बाटो जान्छ, बिजुली जान्छ, विद्यालय–स्वास्थ्य संस्था आउँछन् । रोजगारी सिर्जना हुन्छ । स्थानीय मानिसको जीवनस्तर माथि उकास्सिन्छ । ‘गो टुगेदर, ग्रो टुगेदर’ भन्ने मान्यतामा काम गरिरहेको छु, मैले चार हजारभन्दा बढी प्रमोटरलाई जोडेको छु । नेपालको व्यवसायमा सबैभन्दा ठूलो समस्या पारदर्शिता नहुनु हो । साझेदारसँग पारदर्शिता राखियो भने सफल भइन्छ । अमेरिकाबाट फर्किएर छोराहरूले पनि मलाई व्यवसायमा साथ दिइरहेका छन् । मलाई त्यसमा ठूलो गौरव छ । सरकारले नीतिगत सहजता गरिदियो भने जलविद्युत उद्यमीहरूले ५० हजार मेगावाट उत्पादन गर्न सक्छन् । म इप्पानको नेतृत्व गर्दा ‘झोलामा खोला बोक्ने’ भनेर आरोप लगाइन्थ्यो । म त्यो भाष्यलाई बदल्न सफल भएँ । जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भनेर स्थापित गरें । पीपीए रोकिएको थियो, कबोल गरेको विद्युत उत्पादन नगर्नेलाई जरिवाना लगाइन्थ्यो । ट्रान्समिसन लाइनका अवरोध थिए । सबै हटाउन लडें । संगठन १२/१५ सदस्यबाट ५०० पु¥यायौं । निजी क्षेत्र नआएको भए लोडसेडिङ हट्दैनथ्यो । त्यो श्रेय लिइरहेकै आधारमा कतिपयले पार्टी खोले । म कठिन समयमा नै काम गर्छु । नाकाबन्दीमा दुई उद्योग ल्याएँ, भूकम्पमा पनि रोकिनँ । धम्की दिने, रोक्ने, काम नगरिदिने लगायत धेरै चुनौतीहरू भोगें । तर, कहिल्यै निराश भइनँ । म व्यापारमा होइन, उत्पादनमा लागें । पारदर्शी र इमानदार भएर काम गर्छु । अहिले तीन दर्जनभन्दा बढी कम्पनीमा लगानी छ, ५०० भन्दा बढीले रोजगार पाएका छन् । मेरै जीवनकालमा एक हजार विद्युत उत्पादन गर्ने लक्ष्य छ । मेरो कामको मूल्यांकन गर्दै विकास मिडियाले मलाई विकास नायकको रूपमा सम्मान गर्न लागेको खबर सुनेपछि राम्रो काम गर्नेको कहीँ नै कही मूल्याङकन भइरहेको हुन्छ भन्ने लाग्यो । यो कार्यलाई निरन्तरता पनि दियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।
पात्रमा प्राण भर्ने कलाकार
मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरूमा डुब्ने नायिका । सिनेमाको पात्रमा प्राण भर्ने अभिनेत्री । सिनेमा हेर्ने र कलाप्रेमीहरूले चिन्ने, बुझ्ने र ग्रहण गर्ने यसरी नै हुन् अभिनेत्री सुरक्षा पन्तलाई । सिर्जनशीलता, रचनात्मकता र समाजलाई केही पाठ र सन्देश दिन खोज्ने कथामा डुबेर अभिनयमा अब्बलता देखाउनु उनको विशेषता हो । कथामा नयाँपन खोजिरहने सुरक्षा सधैं सुरक्षित बाटोभन्दा फरक, नयाँ र चुनौतीपूर्ण कथाहरूको माग गर्छिन् । किनकि उनका लागि कला प्रख्याति मात्र नभई समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण पनि हुनुपर्छ । ‘हामीले जे काम गरिरहेका हुन्छौं, त्यो कामले अन्य व्यक्तिको जीवनमा कति प्रभाव पारिरहेको रहेछ भनेर हामीले भेट्ने मान्छेहरूबाट थाहा पाउँछौं, यसले ठूलो आत्मसन्तुष्टि दिन्छ,’ सुरक्षाले भनिन् । इन्जिनियरिङ पृष्ठभूमिबाट आएर नेपाली सिनेमा क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल सुरक्षा आज दर्शकले ‘राम्रो कलाकार’ भनेर सिफारिस गर्ने नाममध्येमा पर्छिन् । आफू सफल भए पनि असफल भए पनि कलालाई माया गर्ने कलाकारलाई यस क्षेत्रले अन्ततः अँगाल्छ भन्ने उनको विश्वास छ । ‘कला क्षेत्रलाई विशुद्ध माया गरेर काम गर्ने कलाकारहरूलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ, माया गर्दाे रहेछ, ठाउँ दिँदोरहेछ । त्यसमा ढिलो चाँडो होला । तर, खुला रुपमा स्वागत गर्दो रहेछ,’ उनले अनुभव सुनाउँदै भनिन् । सरलदेखि जटिल मनोविज्ञान बोकेका महिला पात्रहरूमा उनले दिएको जीवन्त प्रस्तुति दर्शकमाझ चर्चित बन्दै गएको छ । कला प्रख्याति मात्र नभई, समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण हुनुपर्छ भन्ने बुझाइ सुरक्षाको छ । सुरक्षाले सन् २०१५ मा चलचित्र ‘अझै पनि’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिन् । उक्त चलचित्रबाट सहायक भूमिकामा डेब्यू गर्दा उनले साइँलीको चरित्र निभाइन् । चरित्र लेखनदेखि कथावस्तु र फिल्म सबैतिर समस्या भएकैले यो फिल्म चलेन । तर, दर्शक र चलचित्र निर्माताको नजरमा भने उनी परिसकेकी थिइन् । उनी एउटा राम्रो समूहको फिल्ममा पुगिन्, ‘धनपति’। एक ड्राइभर धनपतिले परिवार पाल्न गरेको संघर्षमा आधारित यो फिल्म अन्य मसालेदार फिल्मभन्दा धेरै फरक छ । चरित्र निर्माणमा सुरक्षाले गरेको मिहिनेत धनपतिमा देखियो । धनपति पनि खासै पैसा कमाउने फिल्म बन्न नसकेपनि दर्शक र समीक्षकहरूले सुरक्षाको अभिनयलाई खुलेरै प्रशंसा गरे । धनपति पछि उनले लगातार ‘भैरे’, ‘रोमियो एण्ड मुन्ना’ र ‘चङ्गा चेट’ मा काम गरिन् । त्यसपछि उनले फिल्म ‘गोपी’मा अभिनय गरिन् । सुरक्षाको अभिनय र चरित्रले गोपी फिल्ममा राम्रै प्रशंसा बटुल्यो । त्यसपछि उनी चरित्रमा झनै घुस्न थालिन् । ‘आमा’ फिल्ममा चरित्रका लागि भन्दै सुरक्षाले कपालसमेत काटिन् । उनले कपाल काटेकै भरमा समेत फिल्मको प्रचारप्रसार चुलीमा पुग्यो । फिल्मले राम्रै प्रशंसा पायो । चरित्रमा डुब्नका लागि कपाल काटेको विषयले निकै चर्चा पायो । सिनेमा र चरित्रप्रतिको सुरक्षाको इमानदारिता, लगनशीलता र त्यागको निकै तारिफ भयो । आमापछि उनले धेरै फिल्ममा काम गरिन् । ‘घर’ नामको हरर फिल्मदेखि ‘के घर के डेरा’सम्ममा उनले अभिनय गरिन् । यसैबीच उनले इटालियन चलचित्र ‘द एट माउन्टेन’मा पनि अभिनय गरिन् । जसले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनायो । मेरो सफलताको सारथि मेरो इच्छाशक्ति नै हो । नयाँ र फरक विषयवस्तु दर्शकमाझ पुर्याउने काममा प्रयासरत रहनेछु । अब अभिनयसँगै निर्देशन र सिनेमा निर्माणमा पनि काम गर्ने योजना छ । ‘बहाव‘देखि ‘बुलाकी’सम्ममा सुरक्षाले फरक चरित्रमा काम गरिन् । बुलाकी फिल्ममा सुदूरपश्चिमको भाषामा बोल्ने मात्रै होइन, उनले आफ्नै आवाजमा सुदूरपश्चिमकै भाषामा गीतसमेत गाइन् । यसले उनको कला र क्षमताको थप पुष्टि गर्यो । ‘बहाव’देखि ‘बुलाकी’सम्म फरक–फरक चरित्रमा देखिँदै आएकी उनी हिटको पछि होइन, चरित्रको पछि दौडिरहेकी कलाकार हुन् भन्ने प्रमाणित गर्यो । छोटा फिल्महरूदेखि म्युजिक भिडियोसम्म सबैमा काम गरेको अनुभव उनीसँग छ । सुरक्षाका लागि सफलताको सारथि नै इच्छाशक्ति हो । कला क्षेत्रमा नयाँ र फरक विषयवस्तु दर्शकमाझ पु¥याउने उद्देश्यसहित निरन्तर प्रयास उनको छ । उनका अनुसार फिल्म पढेर आएका नयाँ पुस्ताका फिल्ममेकरहरूलाई मूलधारको सिनेमामा ल्याउन सामूहिक प्रयास आवश्यक छ । आफूले अभिनयमार्फत नयाँ कथालाई समर्थन गर्ने कोसिस गरिरहेको बताउँदै सुरक्षाले यसलाई आफ्नो उद्देश्यकै रूपमा अघि बढाइरहेको बताइन् । ‘अलिकति नयाँ, फरक किसिमका विषयवस्तुलाई अझै दर्शकमाझ पुर्याउन खोजिरहेकी छु, हजारौंको संख्यामा नयाँ फिल्म मेकरहरू पढे–लेखेर बाहिर निस्कनु हुन्छ । कहिलेकाहीँ ममार्फत पनि उहाँहरूलाई मेनस्ट्रीम फिल्म मेकिङमा ल्याउन सकुँ भन्ने लाग्छ,’ सुरक्षाले आफ्नो उदारता पोखिन्। अभिनयसँगै निर्मातातर्फको बाटो अब अभिनयमात्रै होइन, निर्देशन र निर्माताको बाटो समाउने योजना सुरक्षाको छ । कथा लेखन, निर्माण वा निर्देशनतर्फ पनि लाग्ने योजना सुनाइन् उनले । ‘भविष्यमा अझै विभिन्न पात्रहरूमा उभिन पाऊँ भन्ने छ । आफ्नो इच्छाशक्ति रहेसम्म अभिनयबाहेक पनि कथा भन्नेतिर आउने योजना छ,’ उनले भनिन्, ‘विस्तारै कथा लेखन, निर्देशक र निर्माता भएर काम गर्न मन छ, कला क्षेत्रमा अझै धेरै काम गर्ने योजना छ ।’ कला क्षेत्र धमिलो नहोस् भन्ने चाहनासहित राम्रो कथा, बलियो पटकथा, उत्कृष्ट अभिनय र निर्देशनमार्फत सक्षम टिमवर्क निर्माण गर्नु नै आफ्नो मूल लक्ष्य रहेको सुरक्षाले सुनाइन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको प्रतिनिधित्व गर्ने अनुहार बनेकी उनले अभिनय, रंगमञ्च, टेलिभिजन र अन्तर्राष्ट्रिय चलचित्रसम्मको यात्रा तय गर्दै आफूलाई स्थापित कलाकारका रूपमा दर्ज गराएकी छन् । नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत चिनिएकी सुरक्षा पुरस्कार र सम्मानको हिसाबले पनि उत्तिकै स्थापित छिन् । आफ्ना लागि दर्शकको माया नै सबैभन्दा ठूलो सफलता भएको उनी बताउँछिन् । ‘कला क्षेत्रमा काम गर्ने कलाकारहरूको सफलताको मुख्य मापन भनेको दर्शकहरूको माया हो,’ उनी भन्छिन्, ‘जहाँ जाँदा पनि राम्रो कलाकार हो भनेर चिनिनु गर्वको विषय हो, जुन मैले दर्शकबाट पाइरहेकी छु ।’ व्यावसायिक स्टारडमभन्दा बाहिर रहेर अभिनयलाई प्राथमिकता दिएकी सुरक्षाले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चबाट महत्त्वपूर्ण सम्मान र उचाइ प्राप्त गरेकी छन् । उनले सन् २०१९ मा चलचित्र ‘गोपी’बाट नेफ्टा फिल्म अवार्ड प्राप्त गरेकी गरिन् । यस फिल्ममा उनले मुख्य पात्रसँग जोडिएको संवेदनशील महिला चरित्र निभाएकी थिइन् । भूमिका आकारमा ठूलो नभए पनि कथामा यसको प्रभाव निर्णायक थियो । नेफ्टा अवार्डले उनलाई सह–भूमिकामा समेत प्रभाव छोड्न सक्ने अभिनेत्रीका रूपमा चिनायो । यस्तै, सन् २०२० मा फिल्म ‘आमा’ राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषित भएसँगै उक्त फिल्मबाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन् । फिल्म ‘बुलाकी’बाट उनले नेपाल–अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)बाट पनि उत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरिन् । ‘बुलाकी’ फिल्ममा सुरक्षाले सुदूरपश्चिमेली महिलाको जीवन, पीडा र सामाजिक यथार्थलाई प्रस्तुत गरेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरको महोत्सवबाट सम्मानित हुनु सुरक्षाको अभिनय यात्रामा महत्वपूर्ण उपलब्धिका हो । सुरक्षाले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेर प्राप्त गरेको मान्यता पनि उनको सम्मान सूचीमै जोडिने विषय हो । इटालियन फिल्म ‘द एट माउन्टेन’को टिमसँग कान्स पुगेकी सुरक्षाको उपस्थितिलाई नेपाली फिल्म क्षेत्रका लागि अन्तर्राष्ट्रिय मान्यता र गौरवको रूपमा लिइएको थियो । यस उपलब्धिले उनलाई केवल पुरस्कार प्राप्त अभिनेत्री मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान बनाउने कलाकारको रूपमा पनि स्थापित गरेको छ । चिकित्सक बन्ने सपना, इन्जिनियरिङ पढाइ बुटवलमा जन्मिएकी सुरक्षा सानैदेखि पढाइमा अब्बल थिइन् । चार दिदी बहिनी र एक भाइसहित बाबुआमाको संरक्षणमा हुर्किएकी उनी घरपरिवारमै सीमित जीवनबाट बाहिर निस्केर केही फरक गर्ने चाहना बोकेर बसेकी थिइन् । तर, एसएलसीअघि उनले घर छाडेकी थिइनन् । उनको सपनाको सहर भने सधैं काठमाडौं नै थियो । तर, त्यो सपना घरमा राख्नु र व्यक्त गर्नु सजिलो थिएन । पढाइप्रतिको लगाव र निरन्तर मिहिनेतले अन्ततः उनलाई काठमाडौं आउने अवसर दिलायो । छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने परिवारको सल्लाहले उनी सपनाको सहर काठमाडौं आइन् । आफू काठमाडौं आउँदा कुखुरा बोक्ने गाडीमा आएको अनुभव सुनाइन् । काठमाडौंमा सुरक्षाले आफूलाई प्रमाणित गर्दै अघि बढ्ने बाटो रोजिन् । डाक्टर बन्ने सपना बोकेर काठमाडौं आइपुगेकी उनको जीवनले यहाँ आएपछि नयाँ मोड लियो । चिकित्साशास्त्र पढ्ने लक्ष्यसहित राजधानी प्रवेश त गरिन् तर अपेक्षित छात्रवृत्तिमा नाम निस्केन । परिस्थितिले उनलाई विकल्प खोज्न बाध्य बनायो र अन्ततः उनले इन्जिनियरिङ पढ्ने निर्णय गरिन् । पढाइप्रतिको लगाव र इमानदारिताका कारण उनी इन्जिनियरिङमा पनि सफल भइन् र यही विषयमा उच्च अध्ययनतर्फ अघि बढिन् । इन्जिनियरिङमा मास्टर्स अध्ययन सुरु गर्नुअघि नै सुरक्षाको जीवनमा अर्को अप्रत्याशित अवसर आयो फिल्म अभिनय । त्यसपछि उनले नेपाली कला क्षेत्रको यात्रा तय भयो । २०७९ फागुनमा प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी सुरक्षाले आफ्नो अभिनय करिअरलाई निरन्तरता दिइरहेकी छन् । व्यक्तिगत जीवनमा महिला अधिकार, समानता र सामाजिक न्यायका विषयमा सचेत देखिने उनी अभिनय गरेका चलचित्रहरूमा महिला पात्रलाई कमजोर वा सजावटी रूपमा नभई सोच्ने, निर्णय गर्ने र प्रश्न उठाउने पात्रका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छन् । नेपाली कला क्षेत्रमा जीवनको कुनै सुनिश्चितता नभएको सुरक्षाको गुनासो छ । उनका अनुसार यो क्षेत्रलाई अझै चलायमान बनाउन नसकेको र नीतिगत तहसम्म पनि यसले प्राथमिकता पाएको छैन । ‘अझै धेरै कथाहरू छन्, जुन हामीले भन्न सकेका छैनौं, यो क्षेत्रलाई चलायमान बनाउन प्रयास गर्नुपर्छ,’ उनले भनिन्, लगानीकर्ताको ध्यान फिल्म उद्योगमा पनि जानुपर्छ ।’ सुरक्षाकै शब्दहरू : कलाकारले गर्ने हरेक कामले कसैको जीवनमा प्रभाव पारिरहेको हुन्छ । कतिपय मानिसहरू आएर ‘मेरो जस्तै कथा रहेछ, राम्रो लाग्यो’ भन्नुहुन्छ । उहाँहरूले आफैलाई कथामा भेटे झैं महसुस गर्न पाउनुहुन्छ र कलाकारले आत्मसन्तुष्टि अनुभव गर्छन् । त्यो अनुभव गर्न पाउँदा धेरै खुसी लाग्छ । मानिसभित्रको सहानुभूति र संवेदनशीलता जगाउनु नै कलाको मूल प्रभाव हो । कलालाई माया गर्ने कलाकारलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ । म फरक पृष्ठभूमिबाट आएको हुनाले मेरो फिल्म क्षेत्रमा प्रवेश केही नौलो रह्यो । यसले कला क्षेत्रमा फरक विधाबाट आएका, पढेलेखेका मानिसले पनि राम्रो गर्न सक्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ । म नयाँनयाँ कथामा काम गर्न रुचाउँछु, किनकि नयाँपन नै कला क्षेत्र विकासको आधार हो । कलाकारका लागि सफलताको सबैभन्दा ठूलो मापन भनेको दर्शकको माया हो, राम्रो कलाकार भनेर चिनिनु, फिल्म नचले पनि हौसला दिनु आफ्नो सफलता हो जस्तो लाग्छ । यस यात्रामा सबैभन्दा ठूलो सारथि मेरो आफ्नै इच्छाशक्ति हो । इच्छाशक्ति बिना कलाकार दिगो रूपमा टिक्न सक्दैन । यसको पछि दर्शकको माया, परिवार, साथीभाइ र सकारात्मक सोचले बल दिन्छ । समाज, देश र अझ ठूलो अर्थमा संसारका लागि के गर्न सक्छु भन्ने दृष्टिकोणले पनि निरन्तर अघि बढ्न प्रेरित गर्छ । नयाँ र फरक कथावस्तु दर्शकमाझ पुर्याउने मेरो निरन्तर प्रयास रहनेछ । कहिलेकाहीँ चुनौती आउँछन्, नयाँ फिल्म–मेकिङ सिकेर आएका युवालाई मेनस्ट्रीममा ल्याउने चाहना पनि हुन्छ । सबै कुरा एक्लैले सम्भव हुँदैन, सामूहिक प्रयास आवश्यक हुन्छ र यही कुरा नै मेरा उद्देश्यहरूसँग जोडिएको छ । म फिल्म करिअरलाई अझ विविध बनाउन चाहन्छु । नयाँ पात्र, नयाँ अभिनय, र भविष्यमा कथावाचन, लेखन, निर्माण वा निर्देशनतर्फ पनि अघि बढ्ने योजना छ । विकास मिडियाले गरेको ‘विकास नायक’ सम्मानलाई म विभिन्न क्षेत्रका व्यक्तिलाई एकै मञ्चमा ल्याउने राम्रो प्लेटफर्मका रूपमा हेरेकी छु । यस्तो प्लेटफर्मले फरक क्षेत्रका प्रभावशाली व्यक्तिसँग कलाकारलाई जोडिदिन्छ, सहकार्य र नेटवर्किङको नयाँ ढोका खोलिदिन्छ ।
किसान जगाउँदै, निर्यात बढाउँदै
‘हामीले बनाएको फ्रेन्च फ्राइज अब अमेरिकाले खान थालेको छ । नेपाली किसानको हातबाट बनेको उत्पादन अमेरिका पुगेको दिन मेरो जीवनको सबैभन्दा अर्थपूर्ण क्षण हो,’ फर्स्ट च्वाइस फुड्स प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेल निकै उत्साहका साथ आफ्नो खुशी साटे । कम्पनीले दुई महिनाअघि मात्रै ११० टन फ्रेन्च फ्राइज अमेरिका र भारतमा पठाए । जापान, बेलायत र अष्ट्रेलिया छिट्टै निर्यात गर्ने लक्ष्य छ । यस समाचारले नेपाल र देश बाहिरका सञ्चारमाध्यममा महत्त्वपूर्ण स्थान पायो । खाडी मुलुकहरूमा पनि निर्यात गर्ने सोचका साथ काम भइरहेको अध्यक्ष पौडेल बताउँछन् । फ्रेन्च फ्राइज निर्यात कम्पनीको पछिल्लो उपलब्धि हो । आन्तरिक बजारमा यसको उपस्थिति र कम्पनीले हासिल गरेको उपलब्धि निकै महत्त्वपूर्ण छ । नेपालमा खपत हुने कुल फ्रेन्च फ्राइजमध्ये करिब ६० प्रतिशत बजार आयात प्रतिस्थापन गरेको पौडेलले जानकारी दिए । नेपाली स्वादको फ्रेन्च फ्राइज उत्पादन गर्ने देशको पहिलो उद्योग नै फर्स्ट च्वाइस फुड्स हो । पाँच वर्षअघि २ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको उद्योगले छोटो अवधिमै फ्रेन्चफ्राइज बजारमा आफ्नो बलियो स्थान बनाउन सफल भएको छ । कृष्णप्रसाद पाैडेल पौडेलका अनुसार उद्योगले अहिले फ्रेन्च फ्राइजसँगै क्रिनिकल कट, स्माइल्स, ह्यास ब्राउन, आलु टिक्की, भेग स्टिक, बर्गर प्याटीलगायत उत्पादन गर्दै आएको छ । एउटा उद्योगले वार्षिक ४० हजार मेट्रिक टन आलु खपत गर्छ भने यस्तै दुई÷तीन वटा उद्योग आयो भने अबको तीन वर्षमा हामी आलुमा आत्मनिर्भर बन्न सक्छौं । बिहान–बेलुका हाम्रो भान्सामा पाक्ने आलु गत आर्थिक वर्षमा मात्रै २० अर्बको भित्रिएको छ । तर, हाम्रा खेतहरू बाँझै छन् । कागजमा रमाउनेहरूले मात्रै सरकारबाट अनुदान र लाभ लिएका छन् । उद्योगले उत्पादन गरेको प्रडक्डले ६० प्रतिशतभन्दा बढी नेपाली मार्केट ओगटिसकेको छ । नेपाली उत्पादन विदेशीको तुलनामा स्वादिष्ट भएकोले पनि उपभोक्ताको रोजाइमा पर्न सफल भएको उनको दावी छ । अहिले फ्रेन्च फ्राइज काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगञ्ज लगायतका सहरका ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट र १७१ मोडर्न मार्टमार्फत उपभोक्तासम्म पुगेको छ । विस्तारै ठूला तारे चेन होटलहरूमा पनि टेन्डरमार्फत जाने तयारी छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले अहिले विदेशी फ्रेन्च फ्राइजभन्दा फर्स्ट च्वाइस फुड्सले उत्पादन गरेको फ्रेन्फ्राइजको राम्रो माग भइरहेको बताए । उनका अनुसार यो उद्योग आउनुभन्दा अघि विदेशी कम्पनीको बढी बिक्री हुने भएको भए पनि अहिले यस उद्योगले गुणस्तरीय फ्रेन्च फ्राइज उत्पादन गरिरहेकोले माग पनि बढिरहेको छ । ‘स्वदेशी उत्पादन हो, अहिले सबैले फर्स्ट च्वाइस फुड्स फ्रेन्च फ्राइज माग गर्छन्, बजारमा माग बढेको छ, गुणस्तर पनि राम्रो छ, यो उद्योगले राम्रो बजार लिएको देखेको छु,’ उनले भने । यस उद्योगसँग जोडिएर आज ३५ हजार बढी किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित छन् । किसानका खेतसम्म गएर बीउ, प्राविधिक सहयोग, भण्डारण सुविधा र बजारको सुनिश्चितता लगायत सबै कुरा कम्पनीले उपलब्ध गराएको छ । किसान अब वर्षभरि ‘कहाँ बेच्ने ?’ भनेर चिन्तित छैनन् । नेपालमा प्रयोग हुने फ्रेन्च फ्राइज प्रायः विदेशबाटै आउँथ्यो । आर्थिक वर्ष २०७७/७८ मा मात्रै २५ करोड रुपैयाँ बराबरको फ्रेन्च फ्राइज आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले यो उद्योगले आयातको परिणामलाई कम गर्दै निर्यात बढाइरहेको छ । अब विदेशी मुद्रा नेपाल आउने बाटो पनि यस उद्योगले खुला गरिदिएको छ । आफ्नो उद्योगले हजारौं किसानलाई सँगसँगै जोडेर लगेको सुनाउँछन् पौडेल । नवलपुरबाट डेढ सय–दुई सय किसानबाट सुरु गरेको आलु उत्पादन आजको दिनसम्म आइपुग्दा उद्योगले २६ जिल्लाका ३५ हजार किसानलाई उद्योगसँग जोडिसकेको छ । पौडेलका अनुसार गत वर्ष मात्रै उद्योगले किसानबाट २ हजार मेट्रिक टनभन्दा बढी आलु खरिद गरेको छ । रुपन्देही, कैलाली, नवलपुर, सिन्धुली, मकवानपुर, दाङ, बारा, पर्सालगायतका किसान उद्योगसँग जोडिएका छन् । किसानलाई बीउ, मल र प्राविधिक सहयोग उद्योगले नै गर्छ । साथै गण्डकी प्रदेश सरकारले पनि किसानलाई बीउमा अनुदान दिने गरेको पौडेलले बताए । ‘गण्डकी सरकारले नवलपुरमा आलु खेती गर्ने किसानलाई बीउमा अनुदान दिन्छ, यो हाम्रै पहलबाट भएको हो,’ पौडेल भन्छन्, ‘हामीले बीउदेखि प्राविधिक सहयोग र खेतमै बोरा लगेर आलु खरिद गर्छौं ।’ पौडेलका अनुसार किसानले प्रदेश सरकारबाट बीउमा ७५ प्रतिशत अनुदान र उत्पादन गरिसकेपछि उद्योगको नाममा बिलिङ गरिसकेपछि किलोमा २ रुपैयाँसम्म छुट पाउँछन् । नेपालमै पहिलो उद्योग, विदेशमा निर्यात नेपाल आलु उत्पादनको लागि तीनै क्षेत्र (हिमाल, पहाड र तराई) उपयुक्त रहेको सुनाउँछन् कृष्णप्रसाद पौडेल । आजको दिनमा यो उद्योगले नेपाली फ्रेन्च फ्राइज उत्पादन गरेर विदेशी मुद्रा आम्दानी गर्नमा उदाहरणीय भूमिका निभाएको छ । यस्ता उद्योगहरू नेपालमा धेरै आउनुपर्ने पौडेल बताउँछन् । आगामी दिनमा उद्योगलाई थप विस्तार गर्ने योजना बनाएको उनले सुनाए । कम्पनीले प्रशोधन केन्द्रसँगै आलु भण्डारणका लागि ठूलो कोल्ड स्टोर हब बनाउने तयारी गरेको छ । यसैगरी, आलुको उत्पादनलाई विविधीकरण गर्ने योजना पनि रहेको छ । उनले भने, ‘हामीले अहिलेसम्म फ्रेन्च फ्राइजको उत्पादन सुरु गरेर बजारमा ल्यायौं, अबको दुई वर्षभित्र पराठा, समोसा, टिकीलगायत थुप्रै आइटम सुरु गर्छौं ।’ पौडेल आमउपभोक्तालाई नेपाली उत्पादन नै प्रयोग गर्न सुझाउँछन् । उनी भन्छन्, ‘हाम्रो उत्पादन स्वादिष्ट हुनुका साथै स्वास्थ्यको लागि लाभदायक छ, तपाईंहरू जतिजना फ्रेन्च फ्राइज खानुहुन्छ, आफ्नै किसानले उत्पादन गरेको आलुबाट बनाएको फ्रेन्च फ्राइज किन्नूस् र हामीलाई सहयोग गर्नूस् ।’ सरकारले म र मेरो टिमलाई विश्वास गरेर औजार र किसानलाई अनुदान दिन्छ भने अबको ४/५ वर्षमा मैले पनि देशलाई आलुमा आत्मनिर्भर बनाउन सक्छु । काम गर्न सकिन्छ, सम्भावना धेरै छन् । तराईका अधिकांश ठाउँमा जमीन खाली छ । आलुबाट राम्रो फाइदा लिन सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा २५ करोडको फ्रेन्च फ्राइज आयात भएको थियो । अहिले हामी निर्यात गरिरहेका छौं । हामीले ११० टन निर्यात गरिसक्यौं । जापान, बेलायत र अष्ट्रेलियामा निर्यात गर्ने लक्ष्य छ । आफ्नो व्यवसायलाई अभियानको रूपमा अगाडि बढाउँदैछन् उद्योगी पौडेल । किसानको पीडा देखेर नेपालमा पहिलोपटक प्लान्ट टप प्रविधि प्रयोगमा ल्याएको उनले बताए । यो अभियानअन्तर्गत कसरी लागत घटाउने र उत्पादन वृद्धि भन्नेमा जोड दिएको उनको भनाइ छ । ‘माटोमा रमाउने किसानको प्रगति जबसम्म हुँदैन तबसम्म उद्योग र राष्ट्रको प्रगति हुँदैन भनेर मैले बुझेको छु,’ पौडेल भन्छन्, ‘म उहाँहरूकै हकहितको लागि दिनरात लागिरहेको छु, उहाँहरूसँगै हातेमालो गरेर अघि बढिरहेको छु ।’ किसानको लागि स्थानीय सरकार, कृषि मन्त्रालयलगायत सम्बन्धित क्षेत्रले ध्यान दिनुपर्ने बताउँछन् उद्योगी पौडेल । कागजमा मात्रै कृषि उत्पादन नहुने, त्यसको लागि माटोमा रमाउने किसानसँग हात मिलाउनुपर्ने उनको तर्क छ । ‘कागजमा रमाउने किसानलाई समातेर देश विकास हुँदैन, वास्तविक किसानको पीडा सुन्नुपर्यो, माटोमा रमाउने किसानलई समातेर देशको अर्थतन्त्रदेखि लिएर उत्पादन पनि वृद्धि गर्नुपर्यो,’ उनले भने । नेपालमा गर्नसके सम्भावना नै सम्भावना रहेको तर त्यसमा व्यक्ति मात्रै नभएर सबै क्षेत्रले समन्वय गर्नुपर्ने उद्योगी पौडेलको बुझाइ छ । ‘म एउटा व्यक्ति हो, व्यक्तिले मात्रै अगाडि बढाएर केही हुँदैन, राष्ट्रलाई अगाडि बढाउने हो भने सबै क्षेत्रले हातेमालो गर्नुपर्छ,’ उनी भन्छन् । त्यस्तै, उनी उद्योगको विकासको लागि सरकारले नीति, नियम र कानुन स्पष्ट बनाउनुपर्ने बताउँछन् । उनी उद्योगमा जाने विद्युत डेटिकेटेड हुनुपर्नेदेखि किसानलाई अनुदान र उद्योगीलाई केही वर्षसम्म ब्याजमा छुट गर्दिनुपर्ने धारणा राख्छन् । त्यस्तै, पौडेलले नेपालमा भविष्य छैन भनेर विदेश पलायन हुने युवाहरूलाई नेपालमै गर्न सक्ने अवस्था रहेको औंल्याउँछन् । ‘युवाहरू भविष्य छैन भनेर विदेश गएको देख्छु, त्यहाँ पुगेर उहाँहरूले मिहिनेत गर्दा भविष्य सुरक्षित हुने अनि यहाँ मिहिनेत गर्दा सुरक्षित नहुने भन्ने हुँदैन, मिहिनेत गरौं, यहाँ पनि त सम्भावना छ,’ उनले भने। खेती किसानी भनेको पढेलेखेकाहरूले गर्नुहुन्न भन्ने भाष्य छ, त्यसलाई चिर्नुपर्ने उनको तर्क छ । नेपालमा गर्न चाहनेलाई थुप्रै अवसर रहेकोले त्यसमा ध्यान जानुपर्ने उनको सुझाव छ । ‘आलु किसानको पसिना हो, त्यसलाई प्राविधिक मिहिनेत जोडेर विश्व बजारसम्म पुर्याउनु नै हाम्रो राष्ट्रिय गौरव हो,’ उनले भने । कृष्णप्रसाद र उनको परिवार गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका कृष्णप्रसाद पौडेललाई आफ्नो गाउँ–बस्तीमा उब्जिएको आलु अमेरिकाको सुपरमार्केटमा पस्छ भनेर कल्पना पनि गरेका थिएनन् । तर, जीवन कहिलेकाहीँ कठोर संयोगहरूसँगै अघि बढ्छ । र, त्यही संयोगहरूको कुञ्जबाट निस्किएको एउटा सशक्त र सफल कथाका पात्र हुन् कृष्णप्रसाद पौडेल । ५२ वर्षअघि गुल्मीको मदाने गाउँपालिकामा जन्मिएका कृष्णप्रसाद पौडेल तीन भाइमध्ये जेठो सन्तान् हुन् । उनी पढ्ने बेला अहिलेजस्तो नजिकै विद्यालय थिएनन् । डेढ घण्टा पैदल हिँडेर पढ्न जानुपर्थ्यो । त्यो पनि खाली खुट्टा । सात कक्षा पढ्दासम्मै उनको खुट्टामा कहिल्यै चप्पल परेन । त्यो समयमा आजजस्तो बिजुली थिएन । मट्टीतेल बालेर पढ्नुपर्थ्यो । मट्टीतेल पनि सहजै उपलब्ध थिएन । विद्यालय शिक्षा पूरा नहुँदै उनले घरको दैनिकीलाई टेवा दिन परदेशको बाटो रोजे । कामको खोजीमा भारत पसे । ‘त्यतिबेला स्कुलको २०/२५ रुपैयाँ शुल्क तिर्नको लागि पनि समस्या थियो । बाख्राको पाठा, घ्यू बेचेर स्कुलको फी तिरिन्थ्यो, फी न्यून थियो तर २०–२५ रुपैयाँ पनि हाम्रो लागि धैरै थियो, त्यति रकम जुटाउन ५ माना घिउ बेच्नुपर्थ्यो,’ विगत स्मरण गर्दै उनले भने । भारतमा पौडेलको दैनिकी सहज थिएन । सुरुमा उनले एउटा क्यान्टिनमा भाँडा माझ्ने काम थाले । महिनाको २५ रुपैयाँमा ६ महिनासम्म काम गरिसकेपछि उनले मासु पसलमा काम गर्ने अवसर पाए । उनी काम गर्ने मासु पसलमा १८/२० जना नेपालीहरू थिए । ती सबैको नेतृत्व पौडेलले नै गर्थे । भारतमा करिब ८ बिताएपछि उनी २०५८ सालमा स्वदेश फर्किए । उनले आफ्नो उद्यममा परिवारलाई पनि सँगै ल्याएका छन् । पौडेलको सिंगो परिवार नै उद्योगमा संलग्न छन् । परिवारमा उनकी श्रीमती, दुई छोरी र एक छोरा–बुहारी छन् । उनका जेठी छोरी मानव संशाधन विभाग हेर्छिन्, छोरो मार्केटिङ, बुहारी फुड टेक्निसिएन ल्याब हेर्छिन् र श्रीमतीले पुरानो फ्याक्ट्रीमा एडमिन हेर्छिन् । कान्छी छोरी भने पढ्दैछिन् । मासु पसलबाट व्यवसायको सुरुवात पौडेलले कल्पना पनि गरेका थिएनन् कि एकदिन म ठूलो उद्योगी बन्छु, सयौंलाई रोजगारी दिन्छु । हजारौंलाई आफ्नो काममा संलग्न गराउँछु । तर, उनको मिहिनेत, परिश्रम र लगनशीलताले अर्कै मोड लियो । ठूला उद्यमी बन्न धनाढ्य परिवार वा व्यावसायिक पृष्ठभूमिबाट आउनुपर्छ भन्ने सोच धेरैको हुन्छ । तर, धेरैजना शून्यबाट उठेर करोडौंको मालिक बन्न सफल भएका थुप्रै उदाहरण यही समाजमा छन् । ती उदाहरणमध्येका एक पात्र हुन् पौडेल । सानो लगानीबाट व्यवसायको यात्रा थालनी गरेका पौडेल आज अर्बौं मूल्यको आलु साम्राज्य खडा गरेका छन् । उनको उद्योगबाट उत्पादन भएको वस्तुले आज नेपाली बजार मात्रै होइन, अन्तर्राष्ट्रिय बजारसमेत पाउन सफल भएको छ । यो उनको मात्रै नभएर नेपालको लागि गौरवको विषय हो । उनको यो व्यावसायिक कदमले हजारौं युवालाई प्रेरणा मिलेको छ । २०५८ सालमा कृष्णप्रसाद पौडेल नेपाल फर्किँदा मासु पसल भए पनि व्यवस्थित थिएनन् । पौडेलका अनुसार त्यतिबेला मासु फोहोर ठाउँमा काटेर भाग लगाइन्थ्यो । बाहिर खुला ठाउँमा राखिन्थ्यो, गुणस्तर मेन्टेन गरिएको हुन्थेन । त्यही समयमा पौडेलले त्यसलाई परिवर्तन गर्दै सफा र एसीसहितको मासु पसल खोले । सुरुमा उनले १० वटा कुखुरा र एउटा खसीबाट आफ्नो व्यवसाय सुरुवात गरे । त्यहीबाट सुरु भएको हो उनको उद्यमशीलताको यात्रा । सधैं स्वच्छ र गुणस्तरयुक्त सामान दिनुपर्छ भन्नेमा सचेत थिए पौडेल । त्यसको नजिता उनको व्यवसाय दिनप्रतिदिन बढ्दै गयो, उपभोक्ताहरू बढ्दै जान थाले । त्यसपछि पौडेलले आफ्नो व्यवसायलाई थोरै रूपान्तरण गरे । उनले नेपालमै पहिलो पटक विसं २०६२ सालमा फुड ट्रक भित्र्याए । त्यसपछि उनको व्यवसाय झन् फस्टाउँदै गयो । ‘जहाँ भीडभाड हुन्छ, त्यहाँ हामी ‘फुड ट्रक’ मा मःम, ससेज, मासु आइटमहरू राखेर बेच्थ्यौं, त्यसले हाम्रो मार्केटलाई असाध्यै उचाइँमा पुर्याइदियो,’ पौडेलले आफ्नो व्यवसायमा पाउँदै गएको सफलताबारे सुनाउँदै भने, ‘बुटवलदेखि भैरहवासम्म हामीले तीन/चार वटासम्म फुड ट्रक चलायौं, त्यसबाट हामीले असाध्यै प्रशंसा पायौं ।’ व्यापार बढ्दै गयो । त्यसपछि उनले विसं २०६६ सालदेखि बुटवलको नयाँगाउँमा सुपर क्वालिटी मिट प्रोसेसिङ उद्योग सञ्चालनमा ल्याए । ६/७ कठ्ठा जग्गा खरिद गरेर त्यही उनले उद्योग सञ्चालनमा ल्याएका थिए । सो व्यवसाय पनि फस्टाउँदै गयो । बुटवलबाट सुरु गरेर उनले दाङ, नेपालगञ्ज हुँदै ठूला सहर पोखरा र काठमाडौंमा पनि विस्तार गरे । उनका अनुसार हाल देशभर करिब २५० आउटलेटबाट सुपर क्वालिटीका उत्पादन बिक्री हुन्छन् । ३०÷३५ वटा आइटमहरू भाटभटेनी, बिगमार्टलगायत थुप्रै रिटेलहरूमा उपलब्ध छ । अहिले धेरैले कृष्णप्रसादलाई ‘क्वालिटी’ उपनामले चिन्छन् । उपभोक्ताको मागसँगै जन्मिएको ‘फर्स्ट च्वाइस’ व्यवसाय सञ्चालन गर्दै जाँदा बजारमा ‘फ्रेन्च फ्राइज’ को माग हुन थाल्यो । तर, त्यतिबेलासम्म फ्रेन्च फ्राइजबारे अनभिज्ञ थिए उनी । विदेशी ‘म्याकन’ भन्ने कम्पनीबाट फ्रेन्च फ्राइज नेपाल आउने रहेछ भन्ने थाहा पाएपछि त्यहाँबाट लगेर बुटवलमा बेच्न थाले । त्यही बेला अहमदाबादमा खुलेको फ्रेन्च फ्राइज उद्योगका डाइरेक्टरहरूसँग भेट हुने मौका जुरेको पौडेलले सुनाए । उनले विं.सं २०७३ सालतिर अहमदाबादको उद्योगसँग सम्झौता गरेर फ्रेन्च फ्राइज ल्याएर बेच्न थाले । उनका अनुसार १२ सय कार्टुन फ्रेन्च फ्राइज बेच्न कम्पनीलाई करिब ५ महिना लाग्यो । त्यतिबेला ठूला पाँचतारे, चेन होटलमाबाहेक कसैले पनि फ्रेन्च फ्राइज मगाउँदैनथिए । उनका अनुसार विसं २०७५/७६ मा आइपुग्दा फ्रेन्च फ्राइजको माग नेपालमा ह्वात्तै बढ्यो । माग उच्च हुँदै गए पनि नेपालमा मार्केट सानो छ, सम्भव छैन भनेर लगानी गर्न उनले हिम्मत गर्न सकेनन् । तर, बजारमा फ्रेन्च फ्राइजको माग झन्–झन् उच्च हुँदै गएपछि उनी सोच्न बाध्य भए । पौडेलको तत्कालीन नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानासँग भेट भयो । तत्काल सानो प्लान्टबाट सुरु गरौं भनेर उनले बैंकसँग प्रस्ताव राखे । लगानीको ७५ प्रतिशत बैंकले कर्जा लगानी गर्ने र २५ प्रतिशत उद्योगले लगानी गर्नेगरी सम्झौता भयो । उनका अनुसार तत्कालीन प्रोजेक्टेको भ्यालु ७० देखि ७२ करोडको बीचमा थियो । यसरी २०७७ फागुनबाट फर्स्ट च्वाइस फुड्स सुरु भएको उनले सुनाए । प्लान्ट निर्माणको समयमा कोरोनाको कारणले केही समय निर्माण कार्य पछि धकेल्यो, जसले गर्दा उद्योगको लागत बढ्न गएको पौडेल बताउँछन् । सुरुमा फ्रेन्च फ्राइज उत्पादन गर्ने मेसिन युरोपबाट मगाइएको थियो । जसको क्षमता प्रतिघण्टा ५ सय टन क्षमता थियो, त्यसलाई बढाएर उनले २५ सय टनमा पुर्याए । छिट्टै ४० हजार टन उत्पादन क्षमता राख्ने उनी बताउँछन् । त्यससँगै कम्पनीले आलु प्रशोधनको लागि अत्याधुनिक कोल्ड चेन, प्याकेजिङ र क्वालिटी कन्ट्रोल प्रणाली सञ्चालनमा ल्याएपछि उत्पादनमा गुणस्तरसमेत पाएको उनले सुनाए । उद्योगमा लगानीकर्ताको रूपमा रहेको अवसर इक्विटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ध्रुव तिमल्सिनाले पनि फर्स्ट च्वाइस फुड्सले राम्रो पफर्मेन्स गरेर किसानलाई लाभ र आयात प्रतिस्थापन गर्ने काममा ठूलो टेवा पुर्याएको बताए । उनका अनुसार अहिले तत्काल बजार लिन केही समय लागे पनि केही वर्षपछि भने यसको बजार ठूलो हुने सक्ने सम्भावना छ । ‘फ्रेन्च फ्राइजको गुणस्तर राम्रो छ, विदेशीभन्दा यस उद्योगले उत्पादन गरेका फ्रेन्च फ्राइज गुणस्तरीय छन् । विश्वस्तरीय उद्योगको प्लान्ट छ, हजारौं किसानहरूले लाभ लिइरहेका छन्, आयातमा प्रतिस्थापन भइरहेको छ । यो उद्योगले आगामी दिनमा थप गति लिने ठूलो सम्भावना छ,’ उनले भने । पौडेलकै शब्दहरू : हामी देशभित्र केही गरौं, किसानरूको जीवन उचालौं र सम्भावना भएका क्षेत्रहरूमा लागेर उत्पादन बढाऔं भन्ने उद्देश्यले काम गरिरहेका छौं । अहिले कैलाली र टीकापुरमा आधुनिक मेसिनहरूबाटखसयौं बिघामा मेसिनबाट आलु रोपेका छौं । यसले श्रमिकको लागत पनि घटाएको छ । यसबाट किसानले फाइदा लिन सक्ने भए । अब थप प्रविधि भित्राएर गयौं भने विश्वका कुनै पनि देशभन्दा नेपाल कम हुँदैन । म त एउटा व्यक्ति हो । एउटा व्यक्तिले गरेको काम कति होला ? आलुमा अनुसन्धान गर्नैका लागि १० करोड खर्च गरिसक्यौं । किसानलाई कसरी फाइदा दिन सकिन्छ, कसरी नवीनतम् काम गर्न सकिन्छ भनेर लागिरहेका छौं । हामी तीन सिजन आलु उत्पादन गर्न सक्छौं । स्थानीय र प्रदेश सरकारलाई पनि हामी झकझक्याइरहेका छौं । राज्यबाट वितरण भइरहेको अनुदान कागजमा रमाउने किसानले मात्रै पाइरहेका छन्, माटोमा रमाउनेले त्यो लाभ पाइरहेका छैनन् । किसानहरूसँग मेसिन छैन । यस्तो तरिकाले कृषिमा फाइदा हुँदैन । कृषिबाट लाभ लिनका लागि योजना चाहिन्छ, प्रविधि, जोस जाँगर, परियोजना र प्राविधिकहरूको आवश्यकता पर्छ । भारतमा सरकारले किसानलाई के आवश्यक छ भनेर विकल्प दिन्छ । के दियौं भने उत्पादन वृद्धि हुन्छ भनेर उप्रेरणा दिन्छ । अब कृषि क्षेत्रको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ । किसानहरूका लागि सरकारले काम गर्नुपर्छ । एउटा उद्योगले वार्षिक ४० हजार मेट्रिक टन आलु खपत गर्छ भने यस्तै दुई÷तीन वटा उद्योग आयो भने अबको २/३ वर्षमा हामी आलुमा आत्मनिर्भर बन्न सक्छौं । बिहान–बेलुका हाम्रो भान्सामा पाक्ने आलु गत आर्थिक वर्षमा मात्रै २० अर्बको भित्रिएको छ । तर, हाम्रा खेतहरू बाँझै छन् । कागजमा रमाउनेहरूले मात्रै सरकारबाट अनुदान र लाभ लिएका छन् । अब सरकारको नीति नै परिवर्तन हुनुपर्छ । किसानहरूलाई उत्प्रेरणा गर्नुपर्छ । तबमात्रै आत्मनिर्भर हुन सकिन्छ । सरकारले म र मेरो टिमलाई विश्वास गरेर औजार र किसानलाई अनुदान दिन्छ भने अबको ४/५ वर्षमा मैले पनि देशलाई आलुमा आत्मनिर्भर बनाउन सक्छु । काम गर्न सकिन्छ, सम्भावना धेरै छन् । तराईका अधिकांश ठाउँमा जमीन खाली छ । आलुबाट राम्रो फाइदा लिन सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा २५ करोडको फ्रेन्च फ्राइज आयात भएको थियो । अहिले हामी निर्यात गरिरहेका छौं । हामीले ११० टन निर्यात गरिसक्यौं । जापान, बेलायत र अष्ट्रेलियामा निर्यात गर्ने लक्ष्य छ । ६० प्रतिशत आयात प्रतिस्थापन गरेका छौं । विदेशी कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छौं । तर, विदेशबाट आएका वस्तु भन्सारमा ‘ल्याब टेष्ट’ हुनुपर्छ । हामीले निर्यात हुने वस्तु १० ठाउँमा परीक्षण हुन्छन् । तर, नेपाल सरकारले भने गुणस्तर जाँच नै नगरेर आयात गर्छ । हामी जुनसुकै कम्पनीसँग प्रतिस्पर्धा गर्न तयार छौं । तर, गुणस्तर परीक्षण हुनुपर्छ । हाम्रा उपभोक्ताको जीवनमाथि खेलवाड गर्न पाइँदैन । अहिले उद्योगमा एग्रोनोमी, प्रडक्सन, इन्जिनियर, फाइनान्स, म्यानेजमेन्ट टिमले काम गरिरहेका छन् । यो सफलताको श्रेय उनीहरूलाई नै जान्छ । मैले बाटो मात्रै देखाएको हो । उनीहरूको ठूलो हात छ । २० वटा बढी जिल्लामा ३५ हजार घरपरिवार पनि जोडिएका छन् । उनीहरूको मिहिनेतले यो सफलता मिलेको हो । उनीहरूले आलु उत्पादन गरेर हाम्रो उद्योगमा बिक्री गर्ने गरेका छन् । यसलाई हामीले ठूलो उपलब्धिका रूपमा लिएका छौं । म मुस्ताङ पनि गएको थिएँ । अब त्यहाँका जनतालाई पनि लाभ हुने काम हामी गर्छौं । नेपालमा उत्पादन भएको वस्तु अमेरिकामा जान्छ, आगामी दिनमा थप विस्तार गर्ने लक्ष्य राखेका छौं । जापानबाट अर्डर आइरहेको छ, अष्ट्रेलियाबाट आइरहेको छ । तर, स्टक छैन । यसमा राज्यले पनि ध्यान दिनुपर्छ । हामीले विद्युत सब्सिडी पायौं भने खुसी हुन्छौं । सुदूरपश्चिम सरकारले कैलालीलाई आलुको जोन बनाउन लागौं भन्नु भएको छ । सहयोग गर्छौं भनेर सुदूरपश्चिम सरकारले प्रतिवद्धता गरेको छ । आलुबाट बन्ने २५ वटा परिकारहरू उत्पादन गर्नका लागि अर्को प्लान्टबाट काम गर्ने तयारी भइरहेको छ । प्लान्ट बनिरहेको छ, मेसिन आएपछि उत्पादन थाल्छौं । विकासन्युजको यो सम्मानले हामीलाई थप उत्प्रेरणा मिल्छ । काम गर्न हौसला मिलेको छ ।