पात्रमा प्राण भर्ने कलाकार

मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरूमा डुब्ने नायिका । सिनेमाको पात्रमा प्राण भर्ने अभिनेत्री । सिनेमा हेर्ने र कलाप्रेमीहरूले चिन्ने, बुझ्ने र ग्रहण गर्ने यसरी नै हुन् अभिनेत्री सुरक्षा पन्तलाई । सिर्जनशीलता, रचनात्मकता र समाजलाई केही पाठ र सन्देश दिन खोज्ने कथामा डुबेर अभिनयमा अब्बलता देखाउनु उनको विशेषता हो ।  कथामा नयाँपन खोजिरहने सुरक्षा सधैं सुरक्षित बाटोभन्दा फरक, नयाँ र चुनौतीपूर्ण कथाहरूको माग गर्छिन् । किनकि उनका लागि कला प्रख्याति मात्र नभई समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण पनि हुनुपर्छ । ‘हामीले जे काम गरिरहेका हुन्छौं, त्यो कामले अन्य व्यक्तिको जीवनमा कति प्रभाव पारिरहेको रहेछ भनेर हामीले भेट्ने मान्छेहरूबाट थाहा पाउँछौं, यसले ठूलो आत्मसन्तुष्टि दिन्छ,’ सुरक्षाले भनिन् ।  इन्जिनियरिङ पृष्ठभूमिबाट आएर नेपाली सिनेमा क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल सुरक्षा आज दर्शकले ‘राम्रो कलाकार’ भनेर सिफारिस गर्ने नाममध्येमा पर्छिन् । आफू सफल भए पनि असफल भए पनि कलालाई माया गर्ने कलाकारलाई यस क्षेत्रले अन्ततः अँगाल्छ भन्ने उनको विश्वास छ । ‘कला क्षेत्रलाई विशुद्ध माया गरेर काम गर्ने कलाकारहरूलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ, माया गर्दाे रहेछ, ठाउँ दिँदोरहेछ । त्यसमा ढिलो चाँडो होला । तर, खुला रुपमा स्वागत गर्दो रहेछ,’ उनले अनुभव सुनाउँदै भनिन् ।  सरलदेखि जटिल मनोविज्ञान बोकेका महिला पात्रहरूमा उनले दिएको जीवन्त प्रस्तुति दर्शकमाझ चर्चित बन्दै गएको छ । कला प्रख्याति मात्र नभई, समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण हुनुपर्छ भन्ने बुझाइ सुरक्षाको छ ।  सुरक्षाले सन् २०१५ मा चलचित्र ‘अझै पनि’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिन् । उक्त चलचित्रबाट सहायक भूमिकामा डेब्यू गर्दा उनले साइँलीको चरित्र निभाइन् ।  चरित्र लेखनदेखि कथावस्तु र फिल्म सबैतिर समस्या भएकैले यो फिल्म चलेन । तर, दर्शक र चलचित्र निर्माताको नजरमा भने उनी परिसकेकी थिइन् । उनी एउटा राम्रो समूहको फिल्ममा पुगिन्, ‘धनपति’। एक ड्राइभर धनपतिले परिवार पाल्न गरेको संघर्षमा आधारित यो फिल्म अन्य मसालेदार फिल्मभन्दा धेरै फरक छ । चरित्र निर्माणमा सुरक्षाले गरेको मिहिनेत धनपतिमा देखियो । धनपति पनि खासै पैसा कमाउने फिल्म बन्न नसकेपनि दर्शक र समीक्षकहरूले सुरक्षाको अभिनयलाई खुलेरै प्रशंसा गरे । धनपति पछि उनले लगातार ‘भैरे’, ‘रोमियो एण्ड मुन्ना’ र ‘चङ्गा चेट’ मा काम गरिन् ।  त्यसपछि उनले फिल्म ‘गोपी’मा अभिनय गरिन् । सुरक्षाको अभिनय र चरित्रले गोपी फिल्ममा राम्रै प्रशंसा बटुल्यो । त्यसपछि उनी चरित्रमा झनै घुस्न थालिन् ।  ‘आमा’ फिल्ममा चरित्रका लागि भन्दै सुरक्षाले कपालसमेत काटिन् । उनले कपाल काटेकै भरमा समेत फिल्मको प्रचारप्रसार चुलीमा पुग्यो । फिल्मले राम्रै प्रशंसा पायो । चरित्रमा डुब्नका लागि कपाल काटेको विषयले निकै चर्चा पायो । सिनेमा र चरित्रप्रतिको सुरक्षाको इमानदारिता, लगनशीलता र त्यागको निकै तारिफ भयो । आमापछि उनले धेरै फिल्ममा काम गरिन् । ‘घर’ नामको हरर फिल्मदेखि ‘के घर के डेरा’सम्ममा उनले अभिनय गरिन् । यसैबीच उनले इटालियन चलचित्र ‘द एट माउन्टेन’मा पनि अभिनय गरिन् । जसले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनायो । मेरो सफलताको सारथि मेरो इच्छाशक्ति नै हो । नयाँ र फरक विषयवस्तु दर्शकमाझ पुर्‍याउने काममा प्रयासरत रहनेछु । अब अभिनयसँगै निर्देशन र सिनेमा निर्माणमा पनि काम गर्ने योजना छ ।  ‘बहाव‘देखि ‘बुलाकी’सम्ममा सुरक्षाले फरक चरित्रमा काम गरिन् । बुलाकी फिल्ममा सुदूरपश्चिमको भाषामा बोल्ने मात्रै होइन, उनले आफ्नै आवाजमा सुदूरपश्चिमकै भाषामा गीतसमेत गाइन् । यसले उनको कला र क्षमताको थप पुष्टि गर्‍यो । ‘बहाव’देखि ‘बुलाकी’सम्म फरक–फरक चरित्रमा देखिँदै आएकी उनी हिटको पछि होइन, चरित्रको पछि दौडिरहेकी कलाकार हुन् भन्ने प्रमाणित गर्‍यो । छोटा फिल्महरूदेखि म्युजिक भिडियोसम्म सबैमा काम गरेको अनुभव उनीसँग छ ।   सुरक्षाका लागि सफलताको सारथि नै इच्छाशक्ति हो । कला क्षेत्रमा नयाँ र फरक विषयवस्तु दर्शकमाझ पु¥याउने उद्देश्यसहित निरन्तर प्रयास उनको छ । उनका अनुसार फिल्म पढेर आएका नयाँ पुस्ताका फिल्ममेकरहरूलाई मूलधारको सिनेमामा ल्याउन सामूहिक प्रयास आवश्यक छ ।  आफूले अभिनयमार्फत नयाँ कथालाई समर्थन गर्ने कोसिस गरिरहेको बताउँदै सुरक्षाले यसलाई आफ्नो उद्देश्यकै रूपमा अघि बढाइरहेको बताइन् । ‘अलिकति नयाँ, फरक किसिमका विषयवस्तुलाई अझै दर्शकमाझ पुर्‍याउन खोजिरहेकी छु, हजारौंको संख्यामा नयाँ फिल्म मेकरहरू पढे–लेखेर बाहिर निस्कनु हुन्छ । कहिलेकाहीँ ममार्फत पनि उहाँहरूलाई मेनस्ट्रीम फिल्म मेकिङमा ल्याउन सकुँ भन्ने लाग्छ,’ सुरक्षाले आफ्नो उदारता पोखिन्।  अभिनयसँगै निर्मातातर्फको बाटो   अब अभिनयमात्रै होइन, निर्देशन र निर्माताको बाटो समाउने योजना सुरक्षाको छ । कथा लेखन, निर्माण वा निर्देशनतर्फ पनि लाग्ने योजना सुनाइन् उनले । ‘भविष्यमा अझै विभिन्न पात्रहरूमा उभिन पाऊँ भन्ने छ । आफ्नो इच्छाशक्ति रहेसम्म अभिनयबाहेक पनि कथा भन्नेतिर आउने योजना छ,’ उनले भनिन्, ‘विस्तारै कथा लेखन, निर्देशक र निर्माता भएर काम गर्न मन छ, कला क्षेत्रमा अझै धेरै काम  गर्ने योजना छ ।’ कला क्षेत्र धमिलो नहोस् भन्ने चाहनासहित राम्रो कथा, बलियो पटकथा, उत्कृष्ट अभिनय र निर्देशनमार्फत सक्षम टिमवर्क निर्माण गर्नु नै आफ्नो मूल लक्ष्य रहेको सुरक्षाले सुनाइन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको प्रतिनिधित्व गर्ने अनुहार बनेकी उनले अभिनय, रंगमञ्च, टेलिभिजन र अन्तर्राष्ट्रिय चलचित्रसम्मको यात्रा तय गर्दै आफूलाई स्थापित कलाकारका रूपमा दर्ज गराएकी छन् ।  नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत चिनिएकी सुरक्षा पुरस्कार र सम्मानको हिसाबले पनि उत्तिकै स्थापित छिन् । आफ्ना लागि दर्शकको माया नै सबैभन्दा ठूलो सफलता भएको उनी बताउँछिन् । ‘कला क्षेत्रमा काम गर्ने कलाकारहरूको सफलताको मुख्य मापन भनेको दर्शकहरूको माया हो,’ उनी भन्छिन्, ‘जहाँ जाँदा पनि राम्रो कलाकार हो भनेर चिनिनु गर्वको विषय हो, जुन मैले दर्शकबाट पाइरहेकी छु ।’ व्यावसायिक स्टारडमभन्दा बाहिर रहेर अभिनयलाई प्राथमिकता दिएकी सुरक्षाले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चबाट महत्त्वपूर्ण सम्मान र उचाइ प्राप्त गरेकी छन् । उनले सन् २०१९ मा चलचित्र ‘गोपी’बाट नेफ्टा फिल्म अवार्ड प्राप्त गरेकी गरिन् । यस फिल्ममा उनले मुख्य पात्रसँग जोडिएको संवेदनशील महिला चरित्र निभाएकी थिइन् । भूमिका आकारमा ठूलो नभए पनि कथामा यसको प्रभाव निर्णायक थियो । नेफ्टा अवार्डले उनलाई सह–भूमिकामा समेत प्रभाव छोड्न सक्ने अभिनेत्रीका रूपमा चिनायो । यस्तै, सन् २०२० मा  फिल्म ‘आमा’ राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषित भएसँगै उक्त फिल्मबाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन् । फिल्म ‘बुलाकी’बाट उनले नेपाल–अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)बाट पनि उत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरिन् ।  ‘बुलाकी’ फिल्ममा सुरक्षाले सुदूरपश्चिमेली महिलाको जीवन, पीडा र सामाजिक यथार्थलाई प्रस्तुत गरेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरको महोत्सवबाट सम्मानित हुनु सुरक्षाको अभिनय यात्रामा महत्वपूर्ण उपलब्धिका हो । सुरक्षाले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेर प्राप्त गरेको मान्यता पनि उनको सम्मान सूचीमै जोडिने विषय हो ।  इटालियन फिल्म ‘द एट माउन्टेन’को टिमसँग कान्स पुगेकी सुरक्षाको उपस्थितिलाई नेपाली फिल्म क्षेत्रका लागि अन्तर्राष्ट्रिय मान्यता र गौरवको रूपमा लिइएको थियो । यस उपलब्धिले उनलाई केवल पुरस्कार प्राप्त अभिनेत्री मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान बनाउने कलाकारको रूपमा पनि स्थापित गरेको छ । चिकित्सक बन्ने सपना, इन्जिनियरिङ पढाइ बुटवलमा जन्मिएकी सुरक्षा सानैदेखि पढाइमा अब्बल थिइन् । चार दिदी बहिनी र एक भाइसहित बाबुआमाको संरक्षणमा हुर्किएकी उनी घरपरिवारमै सीमित जीवनबाट बाहिर निस्केर केही फरक गर्ने चाहना बोकेर बसेकी थिइन् । तर, एसएलसीअघि उनले घर छाडेकी थिइनन् । उनको सपनाको सहर भने सधैं काठमाडौं नै थियो । तर, त्यो सपना घरमा राख्नु र व्यक्त गर्नु सजिलो थिएन । पढाइप्रतिको लगाव र निरन्तर मिहिनेतले अन्ततः उनलाई काठमाडौं आउने अवसर दिलायो । छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने परिवारको सल्लाहले उनी सपनाको सहर काठमाडौं आइन्  । आफू काठमाडौं आउँदा कुखुरा बोक्ने गाडीमा आएको अनुभव सुनाइन् । काठमाडौंमा सुरक्षाले आफूलाई प्रमाणित गर्दै अघि बढ्ने बाटो रोजिन् । डाक्टर बन्ने सपना बोकेर काठमाडौं आइपुगेकी उनको जीवनले यहाँ आएपछि नयाँ मोड लियो । चिकित्साशास्त्र पढ्ने लक्ष्यसहित राजधानी प्रवेश त गरिन् तर अपेक्षित छात्रवृत्तिमा नाम निस्केन ।  परिस्थितिले उनलाई विकल्प खोज्न बाध्य बनायो र अन्ततः उनले इन्जिनियरिङ पढ्ने निर्णय गरिन् । पढाइप्रतिको लगाव र इमानदारिताका कारण उनी इन्जिनियरिङमा पनि सफल भइन् र यही विषयमा उच्च अध्ययनतर्फ अघि बढिन् । इन्जिनियरिङमा मास्टर्स अध्ययन सुरु गर्नुअघि नै सुरक्षाको जीवनमा अर्को अप्रत्याशित अवसर आयो फिल्म अभिनय । त्यसपछि उनले नेपाली कला क्षेत्रको यात्रा तय भयो ।  २०७९ फागुनमा प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी सुरक्षाले आफ्नो अभिनय करिअरलाई निरन्तरता दिइरहेकी छन् । व्यक्तिगत जीवनमा महिला अधिकार, समानता र सामाजिक न्यायका विषयमा सचेत देखिने उनी अभिनय गरेका चलचित्रहरूमा महिला पात्रलाई कमजोर वा सजावटी रूपमा नभई सोच्ने, निर्णय गर्ने र प्रश्न उठाउने पात्रका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छन् ।  नेपाली कला क्षेत्रमा जीवनको कुनै सुनिश्चितता नभएको सुरक्षाको गुनासो छ । उनका अनुसार यो क्षेत्रलाई अझै चलायमान बनाउन नसकेको र नीतिगत तहसम्म पनि यसले प्राथमिकता पाएको छैन । ‘अझै धेरै कथाहरू छन्, जुन हामीले भन्न सकेका छैनौं, यो क्षेत्रलाई चलायमान बनाउन प्रयास गर्नुपर्छ,’ उनले भनिन्, लगानीकर्ताको ध्यान फिल्म उद्योगमा पनि जानुपर्छ ।’ सुरक्षाकै शब्दहरू :  कलाकारले गर्ने हरेक कामले कसैको जीवनमा प्रभाव पारिरहेको हुन्छ । कतिपय मानिसहरू आएर ‘मेरो जस्तै कथा रहेछ, राम्रो लाग्यो’ भन्नुहुन्छ । उहाँहरूले आफैलाई कथामा भेटे झैं महसुस गर्न पाउनुहुन्छ र कलाकारले आत्मसन्तुष्टि अनुभव गर्छन् । त्यो अनुभव गर्न पाउँदा धेरै खुसी लाग्छ । मानिसभित्रको सहानुभूति र संवेदनशीलता जगाउनु नै कलाको मूल प्रभाव हो । कलालाई माया गर्ने कलाकारलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ । म फरक पृष्ठभूमिबाट आएको हुनाले मेरो फिल्म क्षेत्रमा प्रवेश केही नौलो रह्यो । यसले कला क्षेत्रमा फरक विधाबाट आएका, पढेलेखेका मानिसले पनि राम्रो गर्न सक्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ ।  म नयाँनयाँ कथामा काम गर्न रुचाउँछु, किनकि नयाँपन नै कला क्षेत्र विकासको आधार हो । कलाकारका लागि सफलताको सबैभन्दा ठूलो मापन भनेको दर्शकको माया हो, राम्रो कलाकार भनेर चिनिनु, फिल्म नचले पनि हौसला दिनु आफ्नो सफलता हो जस्तो लाग्छ । यस यात्रामा सबैभन्दा ठूलो सारथि मेरो आफ्नै इच्छाशक्ति हो । इच्छाशक्ति बिना कलाकार दिगो रूपमा टिक्न सक्दैन । यसको पछि दर्शकको माया, परिवार, साथीभाइ र सकारात्मक सोचले बल दिन्छ । समाज, देश र अझ ठूलो अर्थमा संसारका लागि के गर्न सक्छु भन्ने दृष्टिकोणले पनि निरन्तर अघि बढ्न प्रेरित गर्छ ।  नयाँ र फरक कथावस्तु दर्शकमाझ पुर्‍याउने मेरो निरन्तर प्रयास रहनेछ । कहिलेकाहीँ चुनौती आउँछन्, नयाँ फिल्म–मेकिङ सिकेर आएका युवालाई मेनस्ट्रीममा ल्याउने चाहना पनि हुन्छ । सबै कुरा एक्लैले सम्भव हुँदैन, सामूहिक प्रयास आवश्यक हुन्छ र यही कुरा नै मेरा उद्देश्यहरूसँग जोडिएको छ । म फिल्म करिअरलाई अझ विविध बनाउन चाहन्छु । नयाँ पात्र, नयाँ अभिनय, र भविष्यमा कथावाचन, लेखन, निर्माण वा निर्देशनतर्फ पनि अघि बढ्ने योजना  छ । विकास मिडियाले गरेको ‘विकास नायक’ सम्मानलाई म विभिन्न क्षेत्रका व्यक्तिलाई एकै मञ्चमा ल्याउने राम्रो प्लेटफर्मका रूपमा हेरेकी छु । यस्तो प्लेटफर्मले फरक क्षेत्रका प्रभावशाली व्यक्तिसँग कलाकारलाई जोडिदिन्छ, सहकार्य र नेटवर्किङको नयाँ ढोका खोलिदिन्छ ।  

किसान जगाउँदै, निर्यात बढाउँदै

‘हामीले बनाएको फ्रेन्च फ्राइज अब अमेरिकाले खान थालेको छ । नेपाली किसानको हातबाट बनेको उत्पादन अमेरिका पुगेको दिन मेरो जीवनको सबैभन्दा अर्थपूर्ण क्षण हो,’ फर्स्ट च्वाइस फुड्स प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेल निकै उत्साहका साथ आफ्नो खुशी साटे ।  कम्पनीले दुई महिनाअघि मात्रै ११० टन फ्रेन्च फ्राइज अमेरिका र भारतमा पठाए । जापान, बेलायत र अष्ट्रेलिया छिट्टै निर्यात गर्ने लक्ष्य छ । यस समाचारले नेपाल र देश बाहिरका सञ्चारमाध्यममा महत्त्वपूर्ण स्थान पायो । खाडी मुलुकहरूमा पनि निर्यात गर्ने सोचका साथ काम भइरहेको अध्यक्ष पौडेल बताउँछन् ।  फ्रेन्च फ्राइज निर्यात कम्पनीको पछिल्लो उपलब्धि हो । आन्तरिक बजारमा यसको उपस्थिति र कम्पनीले हासिल गरेको उपलब्धि निकै महत्त्वपूर्ण छ । नेपालमा खपत हुने कुल फ्रेन्च फ्राइजमध्ये करिब ६० प्रतिशत बजार आयात प्रतिस्थापन गरेको पौडेलले जानकारी दिए । नेपाली स्वादको फ्रेन्च फ्राइज उत्पादन गर्ने देशको पहिलो उद्योग नै फर्स्ट च्वाइस फुड्स हो ।  पाँच वर्षअघि २ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको उद्योगले छोटो अवधिमै फ्रेन्चफ्राइज बजारमा आफ्नो बलियो स्थान बनाउन सफल भएको छ ।  कृष्णप्रसाद पाैडेल  पौडेलका अनुसार उद्योगले अहिले फ्रेन्च फ्राइजसँगै क्रिनिकल कट, स्माइल्स, ह्यास ब्राउन, आलु टिक्की, भेग स्टिक, बर्गर प्याटीलगायत उत्पादन गर्दै आएको छ ।  एउटा उद्योगले वार्षिक ४० हजार मेट्रिक टन आलु खपत गर्छ भने यस्तै दुई÷तीन वटा उद्योग आयो भने अबको तीन वर्षमा हामी आलुमा आत्मनिर्भर बन्न सक्छौं । बिहान–बेलुका हाम्रो भान्सामा पाक्ने आलु गत आर्थिक वर्षमा मात्रै २० अर्बको भित्रिएको छ । तर, हाम्रा खेतहरू बाँझै छन् । कागजमा रमाउनेहरूले मात्रै सरकारबाट अनुदान र लाभ लिएका छन् । उद्योगले उत्पादन गरेको प्रडक्डले ६० प्रतिशतभन्दा बढी नेपाली मार्केट ओगटिसकेको छ । नेपाली उत्पादन विदेशीको तुलनामा स्वादिष्ट भएकोले पनि उपभोक्ताको रोजाइमा पर्न सफल भएको उनको दावी छ । अहिले फ्रेन्च फ्राइज काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगञ्ज लगायतका सहरका ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट र १७१ मोडर्न मार्टमार्फत उपभोक्तासम्म पुगेको छ । विस्तारै ठूला तारे चेन होटलहरूमा पनि टेन्डरमार्फत जाने तयारी छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले अहिले विदेशी फ्रेन्च फ्राइजभन्दा फर्स्ट च्वाइस फुड्सले उत्पादन गरेको फ्रेन्फ्राइजको राम्रो माग भइरहेको बताए । उनका अनुसार यो उद्योग आउनुभन्दा अघि विदेशी कम्पनीको बढी बिक्री हुने भएको भए पनि अहिले यस उद्योगले गुणस्तरीय फ्रेन्च फ्राइज उत्पादन गरिरहेकोले माग पनि बढिरहेको छ । ‘स्वदेशी उत्पादन हो, अहिले सबैले फर्स्ट च्वाइस फुड्स फ्रेन्च फ्राइज माग गर्छन्, बजारमा माग बढेको छ, गुणस्तर पनि राम्रो छ, यो उद्योगले राम्रो बजार लिएको देखेको छु,’ उनले भने ।  यस उद्योगसँग जोडिएर आज ३५ हजार बढी किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित छन् । किसानका खेतसम्म गएर बीउ, प्राविधिक सहयोग, भण्डारण सुविधा र बजारको सुनिश्चितता लगायत सबै कुरा कम्पनीले उपलब्ध गराएको छ । किसान अब वर्षभरि ‘कहाँ बेच्ने ?’ भनेर चिन्तित छैनन् । नेपालमा प्रयोग हुने फ्रेन्च फ्राइज प्रायः विदेशबाटै आउँथ्यो । आर्थिक वर्ष २०७७/७८ मा मात्रै २५ करोड रुपैयाँ बराबरको फ्रेन्च फ्राइज आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले यो उद्योगले आयातको परिणामलाई कम गर्दै निर्यात बढाइरहेको छ । अब विदेशी मुद्रा नेपाल आउने बाटो पनि यस उद्योगले खुला गरिदिएको छ ।  आफ्नो उद्योगले हजारौं किसानलाई सँगसँगै जोडेर लगेको सुनाउँछन् पौडेल । नवलपुरबाट  डेढ सय–दुई सय किसानबाट सुरु गरेको आलु उत्पादन आजको दिनसम्म आइपुग्दा उद्योगले २६ जिल्लाका ३५ हजार किसानलाई उद्योगसँग जोडिसकेको छ  । पौडेलका अनुसार गत वर्ष मात्रै उद्योगले किसानबाट २ हजार मेट्रिक टनभन्दा बढी आलु खरिद गरेको छ । रुपन्देही, कैलाली, नवलपुर, सिन्धुली, मकवानपुर, दाङ, बारा, पर्सालगायतका किसान उद्योगसँग जोडिएका छन् । किसानलाई बीउ, मल र प्राविधिक सहयोग उद्योगले नै गर्छ । साथै गण्डकी प्रदेश सरकारले पनि किसानलाई बीउमा अनुदान दिने गरेको पौडेलले बताए । ‘गण्डकी सरकारले नवलपुरमा आलु खेती गर्ने किसानलाई बीउमा अनुदान दिन्छ, यो हाम्रै पहलबाट भएको हो,’ पौडेल भन्छन्, ‘हामीले बीउदेखि प्राविधिक सहयोग र खेतमै बोरा लगेर आलु खरिद गर्छौं ।’ पौडेलका अनुसार किसानले प्रदेश सरकारबाट बीउमा ७५ प्रतिशत अनुदान र उत्पादन गरिसकेपछि उद्योगको नाममा बिलिङ गरिसकेपछि किलोमा २ रुपैयाँसम्म छुट पाउँछन् । नेपालमै पहिलो उद्योग, विदेशमा निर्यात  नेपाल आलु उत्पादनको लागि तीनै क्षेत्र (हिमाल, पहाड र तराई) उपयुक्त रहेको सुनाउँछन् कृष्णप्रसाद पौडेल । आजको दिनमा यो उद्योगले नेपाली फ्रेन्च फ्राइज उत्पादन गरेर विदेशी मुद्रा आम्दानी गर्नमा उदाहरणीय भूमिका निभाएको छ । यस्ता उद्योगहरू नेपालमा धेरै आउनुपर्ने पौडेल बताउँछन् । आगामी दिनमा उद्योगलाई थप विस्तार गर्ने योजना बनाएको उनले सुनाए । कम्पनीले प्रशोधन केन्द्रसँगै आलु भण्डारणका लागि ठूलो कोल्ड स्टोर हब बनाउने तयारी गरेको छ । यसैगरी, आलुको उत्पादनलाई विविधीकरण गर्ने योजना पनि रहेको छ । उनले भने, ‘हामीले अहिलेसम्म फ्रेन्च फ्राइजको उत्पादन सुरु गरेर बजारमा ल्यायौं,  अबको दुई वर्षभित्र पराठा, समोसा, टिकीलगायत थुप्रै आइटम सुरु गर्छौं ।’ पौडेल आमउपभोक्तालाई नेपाली उत्पादन नै प्रयोग गर्न सुझाउँछन् । उनी भन्छन्, ‘हाम्रो उत्पादन स्वादिष्ट हुनुका साथै स्वास्थ्यको लागि लाभदायक छ, तपाईंहरू जतिजना  फ्रेन्च फ्राइज खानुहुन्छ, आफ्नै किसानले उत्पादन गरेको आलुबाट बनाएको फ्रेन्च फ्राइज किन्नूस् र हामीलाई सहयोग गर्नूस् ।’ सरकारले म र मेरो टिमलाई विश्वास गरेर औजार र किसानलाई अनुदान दिन्छ भने अबको ४/५ वर्षमा मैले पनि देशलाई आलुमा आत्मनिर्भर बनाउन सक्छु । काम गर्न सकिन्छ, सम्भावना धेरै छन् । तराईका अधिकांश ठाउँमा जमीन खाली छ । आलुबाट राम्रो फाइदा लिन सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा २५ करोडको फ्रेन्च फ्राइज आयात भएको थियो । अहिले हामी निर्यात गरिरहेका छौं । हामीले ११० टन निर्यात गरिसक्यौं । जापान, बेलायत र अष्ट्रेलियामा निर्यात गर्ने लक्ष्य छ । आफ्नो व्यवसायलाई अभियानको रूपमा अगाडि बढाउँदैछन् उद्योगी पौडेल । किसानको पीडा देखेर नेपालमा पहिलोपटक प्लान्ट टप प्रविधि प्रयोगमा ल्याएको उनले बताए । यो अभियानअन्तर्गत कसरी लागत घटाउने र उत्पादन वृद्धि भन्नेमा जोड दिएको उनको भनाइ छ । ‘माटोमा रमाउने किसानको प्रगति जबसम्म हुँदैन तबसम्म उद्योग र राष्ट्रको प्रगति हुँदैन भनेर मैले बुझेको छु,’ पौडेल भन्छन्, ‘म उहाँहरूकै हकहितको लागि दिनरात लागिरहेको छु, उहाँहरूसँगै हातेमालो गरेर अघि बढिरहेको छु ।’ किसानको लागि स्थानीय सरकार, कृषि मन्त्रालयलगायत सम्बन्धित क्षेत्रले ध्यान दिनुपर्ने बताउँछन् उद्योगी पौडेल । कागजमा मात्रै कृषि उत्पादन नहुने, त्यसको लागि माटोमा रमाउने किसानसँग हात मिलाउनुपर्ने उनको तर्क छ  । ‘कागजमा रमाउने किसानलाई समातेर देश विकास हुँदैन, वास्तविक किसानको पीडा सुन्नुपर्यो, माटोमा रमाउने किसानलई समातेर देशको अर्थतन्त्रदेखि लिएर उत्पादन पनि वृद्धि गर्नुपर्यो,’ उनले भने । नेपालमा गर्नसके सम्भावना नै सम्भावना रहेको तर त्यसमा व्यक्ति मात्रै नभएर सबै क्षेत्रले समन्वय गर्नुपर्ने उद्योगी पौडेलको बुझाइ छ । ‘म एउटा व्यक्ति हो, व्यक्तिले मात्रै अगाडि बढाएर केही हुँदैन, राष्ट्रलाई अगाडि बढाउने हो भने सबै क्षेत्रले हातेमालो गर्नुपर्छ,’ उनी भन्छन् ।  त्यस्तै, उनी उद्योगको विकासको लागि सरकारले नीति, नियम र कानुन स्पष्ट बनाउनुपर्ने बताउँछन् । उनी उद्योगमा जाने विद्युत डेटिकेटेड हुनुपर्नेदेखि किसानलाई अनुदान र उद्योगीलाई केही वर्षसम्म ब्याजमा छुट गर्दिनुपर्ने धारणा राख्छन् ।  त्यस्तै, पौडेलले नेपालमा भविष्य छैन भनेर विदेश पलायन हुने युवाहरूलाई नेपालमै गर्न सक्ने अवस्था रहेको औंल्याउँछन् । ‘युवाहरू भविष्य छैन भनेर विदेश गएको देख्छु, त्यहाँ पुगेर उहाँहरूले मिहिनेत गर्दा भविष्य सुरक्षित हुने अनि यहाँ मिहिनेत गर्दा सुरक्षित नहुने भन्ने हुँदैन, मिहिनेत गरौं, यहाँ पनि त सम्भावना छ,’ उनले भने।  खेती किसानी भनेको पढेलेखेकाहरूले गर्नुहुन्न भन्ने भाष्य छ, त्यसलाई चिर्नुपर्ने उनको तर्क छ । नेपालमा गर्न चाहनेलाई थुप्रै अवसर रहेकोले त्यसमा ध्यान जानुपर्ने उनको सुझाव छ । ‘आलु किसानको पसिना हो, त्यसलाई प्राविधिक मिहिनेत जोडेर विश्व बजारसम्म पुर्‍याउनु नै हाम्रो राष्ट्रिय गौरव हो,’ उनले भने । कृष्णप्रसाद र उनको परिवार गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका कृष्णप्रसाद पौडेललाई आफ्नो गाउँ–बस्तीमा उब्जिएको आलु अमेरिकाको सुपरमार्केटमा पस्छ भनेर कल्पना पनि गरेका थिएनन् । तर, जीवन कहिलेकाहीँ कठोर संयोगहरूसँगै अघि बढ्छ । र, त्यही संयोगहरूको कुञ्जबाट निस्किएको एउटा सशक्त र सफल कथाका पात्र हुन् कृष्णप्रसाद पौडेल ।  ५२ वर्षअघि गुल्मीको मदाने गाउँपालिकामा जन्मिएका कृष्णप्रसाद पौडेल तीन भाइमध्ये जेठो सन्तान् हुन् । उनी पढ्ने बेला अहिलेजस्तो नजिकै विद्यालय थिएनन् । डेढ घण्टा पैदल हिँडेर पढ्न जानुपर्थ्यो । त्यो पनि खाली खुट्टा । सात कक्षा पढ्दासम्मै उनको खुट्टामा कहिल्यै चप्पल परेन । त्यो समयमा आजजस्तो बिजुली थिएन । मट्टीतेल बालेर पढ्नुपर्थ्यो । मट्टीतेल पनि सहजै उपलब्ध थिएन । विद्यालय शिक्षा पूरा नहुँदै उनले घरको दैनिकीलाई टेवा दिन परदेशको बाटो रोजे । कामको खोजीमा भारत पसे ।  ‘त्यतिबेला स्कुलको २०/२५ रुपैयाँ शुल्क तिर्नको लागि पनि समस्या थियो । बाख्राको पाठा, घ्यू बेचेर स्कुलको फी तिरिन्थ्यो, फी न्यून थियो तर २०–२५ रुपैयाँ पनि हाम्रो लागि धैरै थियो, त्यति रकम जुटाउन ५ माना घिउ बेच्नुपर्थ्यो,’ विगत स्मरण गर्दै उनले भने । भारतमा पौडेलको दैनिकी सहज थिएन । सुरुमा उनले एउटा क्यान्टिनमा भाँडा माझ्ने काम थाले । महिनाको २५ रुपैयाँमा ६ महिनासम्म काम गरिसकेपछि उनले मासु पसलमा काम गर्ने अवसर पाए । उनी काम गर्ने मासु पसलमा १८/२० जना नेपालीहरू थिए । ती सबैको नेतृत्व पौडेलले नै गर्थे । भारतमा करिब ८ बिताएपछि उनी २०५८ सालमा स्वदेश फर्किए ।  उनले आफ्नो उद्यममा परिवारलाई पनि सँगै ल्याएका छन् । पौडेलको सिंगो परिवार नै उद्योगमा संलग्न छन् । परिवारमा उनकी श्रीमती, दुई छोरी र एक छोरा–बुहारी छन् । उनका जेठी छोरी मानव संशाधन विभाग हेर्छिन्, छोरो मार्केटिङ, बुहारी फुड टेक्निसिएन ल्याब हेर्छिन् र श्रीमतीले पुरानो फ्याक्ट्रीमा एडमिन हेर्छिन् । कान्छी छोरी भने पढ्दैछिन् । मासु पसलबाट व्यवसायको सुरुवात पौडेलले कल्पना पनि गरेका थिएनन् कि एकदिन म ठूलो उद्योगी बन्छु, सयौंलाई रोजगारी दिन्छु । हजारौंलाई आफ्नो काममा संलग्न गराउँछु । तर, उनको मिहिनेत, परिश्रम र लगनशीलताले अर्कै मोड लियो ।  ठूला उद्यमी बन्न धनाढ्य परिवार वा व्यावसायिक पृष्ठभूमिबाट आउनुपर्छ भन्ने सोच धेरैको हुन्छ । तर, धेरैजना शून्यबाट उठेर करोडौंको मालिक बन्न सफल भएका थुप्रै उदाहरण यही समाजमा छन् । ती उदाहरणमध्येका एक पात्र हुन् पौडेल । सानो लगानीबाट व्यवसायको यात्रा थालनी गरेका पौडेल आज अर्बौं मूल्यको आलु साम्राज्य खडा गरेका छन् । उनको उद्योगबाट उत्पादन भएको वस्तुले आज नेपाली बजार मात्रै होइन, अन्तर्राष्ट्रिय बजारसमेत पाउन सफल भएको छ । यो उनको मात्रै नभएर नेपालको लागि गौरवको विषय हो । उनको यो व्यावसायिक कदमले हजारौं युवालाई प्रेरणा मिलेको छ । २०५८ सालमा कृष्णप्रसाद पौडेल नेपाल फर्किँदा मासु पसल भए पनि व्यवस्थित थिएनन् । पौडेलका अनुसार त्यतिबेला मासु फोहोर ठाउँमा काटेर भाग लगाइन्थ्यो । बाहिर खुला ठाउँमा राखिन्थ्यो, गुणस्तर मेन्टेन गरिएको हुन्थेन । त्यही समयमा पौडेलले त्यसलाई परिवर्तन गर्दै सफा र एसीसहितको मासु पसल खोले । सुरुमा उनले  १० वटा कुखुरा र एउटा खसीबाट आफ्नो व्यवसाय सुरुवात गरे । त्यहीबाट सुरु भएको हो उनको उद्यमशीलताको यात्रा । सधैं स्वच्छ र गुणस्तरयुक्त सामान दिनुपर्छ भन्नेमा सचेत थिए पौडेल । त्यसको नजिता उनको व्यवसाय दिनप्रतिदिन बढ्दै गयो, उपभोक्ताहरू बढ्दै जान थाले । त्यसपछि पौडेलले आफ्नो व्यवसायलाई थोरै रूपान्तरण गरे । उनले नेपालमै पहिलो पटक विसं २०६२ सालमा फुड ट्रक भित्र्याए ।  त्यसपछि उनको व्यवसाय झन् फस्टाउँदै गयो ।  ‘जहाँ भीडभाड हुन्छ, त्यहाँ हामी ‘फुड ट्रक’ मा मःम, ससेज, मासु आइटमहरू राखेर बेच्थ्यौं, त्यसले हाम्रो मार्केटलाई असाध्यै उचाइँमा पुर्‍याइदियो,’ पौडेलले आफ्नो व्यवसायमा पाउँदै गएको सफलताबारे सुनाउँदै भने, ‘बुटवलदेखि भैरहवासम्म हामीले तीन/चार वटासम्म फुड ट्रक चलायौं, त्यसबाट हामीले असाध्यै प्रशंसा पायौं ।’ व्यापार बढ्दै गयो । त्यसपछि उनले विसं २०६६ सालदेखि बुटवलको नयाँगाउँमा सुपर क्वालिटी मिट प्रोसेसिङ उद्योग सञ्चालनमा ल्याए । ६/७ कठ्ठा जग्गा खरिद गरेर त्यही उनले उद्योग सञ्चालनमा ल्याएका थिए । सो व्यवसाय पनि फस्टाउँदै गयो । बुटवलबाट सुरु गरेर उनले दाङ, नेपालगञ्ज हुँदै ठूला सहर पोखरा र काठमाडौंमा पनि विस्तार गरे । उनका अनुसार हाल देशभर करिब २५० आउटलेटबाट सुपर क्वालिटीका उत्पादन बिक्री हुन्छन् । ३०÷३५ वटा आइटमहरू भाटभटेनी, बिगमार्टलगायत थुप्रै रिटेलहरूमा उपलब्ध छ । अहिले धेरैले कृष्णप्रसादलाई ‘क्वालिटी’ उपनामले चिन्छन् ।  उपभोक्ताको मागसँगै जन्मिएको ‘फर्स्ट च्वाइस’ व्यवसाय सञ्चालन गर्दै जाँदा बजारमा ‘फ्रेन्च फ्राइज’ को माग हुन थाल्यो । तर, त्यतिबेलासम्म फ्रेन्च फ्राइजबारे अनभिज्ञ थिए उनी । विदेशी ‘म्याकन’ भन्ने कम्पनीबाट फ्रेन्च फ्राइज नेपाल आउने रहेछ भन्ने थाहा पाएपछि त्यहाँबाट लगेर बुटवलमा बेच्न थाले । त्यही बेला अहमदाबादमा खुलेको फ्रेन्च फ्राइज उद्योगका डाइरेक्टरहरूसँग भेट हुने मौका जुरेको पौडेलले सुनाए । उनले विं.सं २०७३ सालतिर अहमदाबादको उद्योगसँग सम्झौता गरेर फ्रेन्च फ्राइज ल्याएर बेच्न थाले । उनका अनुसार १२ सय कार्टुन फ्रेन्च फ्राइज बेच्न कम्पनीलाई करिब ५ महिना लाग्यो । त्यतिबेला ठूला पाँचतारे, चेन होटलमाबाहेक कसैले पनि फ्रेन्च फ्राइज मगाउँदैनथिए । उनका अनुसार विसं २०७५/७६ मा आइपुग्दा फ्रेन्च फ्राइजको माग नेपालमा ह्वात्तै बढ्यो ।   माग उच्च हुँदै गए पनि नेपालमा मार्केट सानो छ, सम्भव छैन भनेर लगानी गर्न उनले हिम्मत गर्न सकेनन् । तर, बजारमा फ्रेन्च फ्राइजको माग झन्–झन् उच्च हुँदै गएपछि उनी सोच्न बाध्य भए । पौडेलको तत्कालीन नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानासँग भेट भयो ।  तत्काल सानो प्लान्टबाट सुरु गरौं भनेर उनले बैंकसँग प्रस्ताव राखे । लगानीको ७५ प्रतिशत बैंकले कर्जा लगानी गर्ने र २५ प्रतिशत उद्योगले लगानी गर्नेगरी सम्झौता भयो । उनका अनुसार तत्कालीन प्रोजेक्टेको भ्यालु ७० देखि ७२ करोडको बीचमा थियो । यसरी २०७७ फागुनबाट फर्स्ट च्वाइस फुड्स सुरु भएको उनले सुनाए । प्लान्ट निर्माणको समयमा कोरोनाको कारणले केही समय निर्माण कार्य पछि धकेल्यो, जसले गर्दा उद्योगको लागत बढ्न गएको पौडेल बताउँछन् । सुरुमा फ्रेन्च फ्राइज उत्पादन गर्ने मेसिन युरोपबाट मगाइएको थियो । जसको क्षमता प्रतिघण्टा ५ सय टन क्षमता थियो, त्यसलाई बढाएर उनले २५ सय टनमा पुर्‍याए । छिट्टै ४० हजार टन उत्पादन क्षमता राख्ने उनी बताउँछन् । त्यससँगै कम्पनीले आलु प्रशोधनको लागि अत्याधुनिक कोल्ड चेन, प्याकेजिङ र क्वालिटी कन्ट्रोल प्रणाली सञ्चालनमा ल्याएपछि उत्पादनमा गुणस्तरसमेत पाएको उनले सुनाए । उद्योगमा लगानीकर्ताको रूपमा रहेको अवसर इक्विटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ध्रुव तिमल्सिनाले पनि फर्स्ट च्वाइस फुड्सले राम्रो पफर्मेन्स गरेर किसानलाई लाभ र आयात प्रतिस्थापन गर्ने काममा ठूलो टेवा पुर्‍याएको बताए । उनका अनुसार अहिले तत्काल बजार लिन केही समय लागे पनि केही वर्षपछि भने यसको बजार ठूलो हुने सक्ने सम्भावना छ ।  ‘फ्रेन्च फ्राइजको गुणस्तर राम्रो छ, विदेशीभन्दा यस उद्योगले उत्पादन गरेका फ्रेन्च फ्राइज गुणस्तरीय छन् । विश्वस्तरीय उद्योगको प्लान्ट छ, हजारौं किसानहरूले लाभ लिइरहेका छन्, आयातमा प्रतिस्थापन भइरहेको छ । यो उद्योगले आगामी दिनमा थप गति लिने ठूलो सम्भावना छ,’ उनले भने ।   पौडेलकै शब्दहरू : हामी देशभित्र केही गरौं, किसानरूको जीवन उचालौं र सम्भावना भएका क्षेत्रहरूमा लागेर उत्पादन बढाऔं भन्ने उद्देश्यले काम गरिरहेका छौं । अहिले कैलाली र टीकापुरमा आधुनिक मेसिनहरूबाटखसयौं बिघामा मेसिनबाट आलु रोपेका छौं । यसले श्रमिकको लागत पनि घटाएको छ । यसबाट किसानले फाइदा लिन सक्ने भए । अब थप प्रविधि भित्राएर गयौं भने विश्वका कुनै पनि देशभन्दा नेपाल कम हुँदैन । म त एउटा व्यक्ति हो । एउटा व्यक्तिले गरेको काम कति होला ? आलुमा अनुसन्धान गर्नैका लागि १० करोड खर्च गरिसक्यौं । किसानलाई कसरी फाइदा दिन सकिन्छ, कसरी नवीनतम् काम गर्न सकिन्छ भनेर लागिरहेका छौं । हामी तीन सिजन आलु उत्पादन गर्न सक्छौं ।  स्थानीय र प्रदेश सरकारलाई पनि हामी झकझक्याइरहेका छौं । राज्यबाट वितरण भइरहेको अनुदान कागजमा रमाउने किसानले मात्रै पाइरहेका छन्, माटोमा रमाउनेले त्यो लाभ पाइरहेका छैनन् । किसानहरूसँग मेसिन छैन । यस्तो तरिकाले कृषिमा फाइदा हुँदैन । कृषिबाट लाभ लिनका लागि योजना चाहिन्छ, प्रविधि, जोस जाँगर, परियोजना र प्राविधिकहरूको आवश्यकता पर्छ । भारतमा सरकारले किसानलाई के आवश्यक छ भनेर विकल्प दिन्छ । के दियौं भने उत्पादन वृद्धि हुन्छ भनेर उप्रेरणा दिन्छ । अब कृषि क्षेत्रको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ । किसानहरूका लागि सरकारले काम गर्नुपर्छ । एउटा उद्योगले वार्षिक ४० हजार मेट्रिक टन आलु खपत गर्छ भने यस्तै दुई÷तीन वटा उद्योग आयो भने अबको २/३ वर्षमा हामी आलुमा आत्मनिर्भर बन्न सक्छौं । बिहान–बेलुका हाम्रो भान्सामा पाक्ने आलु गत आर्थिक वर्षमा मात्रै २० अर्बको भित्रिएको छ । तर, हाम्रा खेतहरू बाँझै छन् । कागजमा रमाउनेहरूले मात्रै सरकारबाट अनुदान र लाभ लिएका छन् ।  अब सरकारको नीति नै परिवर्तन हुनुपर्छ । किसानहरूलाई उत्प्रेरणा गर्नुपर्छ । तबमात्रै आत्मनिर्भर हुन सकिन्छ । सरकारले म र मेरो टिमलाई विश्वास गरेर औजार र किसानलाई अनुदान दिन्छ भने अबको ४/५ वर्षमा मैले पनि देशलाई आलुमा आत्मनिर्भर बनाउन सक्छु । काम गर्न सकिन्छ, सम्भावना धेरै छन् । तराईका अधिकांश ठाउँमा जमीन खाली छ । आलुबाट राम्रो फाइदा लिन सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा २५ करोडको फ्रेन्च फ्राइज आयात भएको थियो । अहिले हामी निर्यात गरिरहेका छौं । हामीले ११० टन निर्यात गरिसक्यौं । जापान, बेलायत र अष्ट्रेलियामा निर्यात गर्ने लक्ष्य छ ।  ६० प्रतिशत आयात प्रतिस्थापन गरेका छौं । विदेशी कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छौं । तर, विदेशबाट आएका वस्तु भन्सारमा ‘ल्याब टेष्ट’ हुनुपर्छ । हामीले निर्यात हुने वस्तु १० ठाउँमा परीक्षण हुन्छन् । तर, नेपाल सरकारले भने गुणस्तर जाँच  नै नगरेर आयात गर्छ । हामी जुनसुकै कम्पनीसँग प्रतिस्पर्धा गर्न तयार छौं । तर, गुणस्तर परीक्षण हुनुपर्छ । हाम्रा उपभोक्ताको जीवनमाथि खेलवाड गर्न पाइँदैन ।  अहिले उद्योगमा एग्रोनोमी, प्रडक्सन, इन्जिनियर, फाइनान्स, म्यानेजमेन्ट टिमले काम गरिरहेका छन् । यो सफलताको श्रेय उनीहरूलाई नै जान्छ । मैले बाटो मात्रै देखाएको हो । उनीहरूको ठूलो हात छ । २० वटा बढी जिल्लामा ३५ हजार घरपरिवार पनि जोडिएका छन् । उनीहरूको मिहिनेतले यो सफलता मिलेको हो । उनीहरूले आलु उत्पादन गरेर हाम्रो उद्योगमा बिक्री गर्ने गरेका छन् । यसलाई हामीले ठूलो उपलब्धिका रूपमा लिएका छौं । म मुस्ताङ पनि गएको थिएँ । अब त्यहाँका जनतालाई पनि लाभ हुने काम हामी गर्छौं । नेपालमा उत्पादन भएको वस्तु अमेरिकामा जान्छ, आगामी दिनमा थप विस्तार गर्ने लक्ष्य राखेका छौं । जापानबाट अर्डर आइरहेको छ, अष्ट्रेलियाबाट आइरहेको छ । तर, स्टक छैन । यसमा राज्यले पनि ध्यान दिनुपर्छ । हामीले विद्युत सब्सिडी पायौं भने खुसी हुन्छौं ।  सुदूरपश्चिम सरकारले कैलालीलाई आलुको जोन बनाउन लागौं भन्नु भएको छ । सहयोग गर्छौं भनेर सुदूरपश्चिम सरकारले प्रतिवद्धता गरेको छ । आलुबाट बन्ने २५ वटा परिकारहरू उत्पादन गर्नका लागि अर्को प्लान्टबाट काम गर्ने तयारी भइरहेको छ । प्लान्ट बनिरहेको छ, मेसिन आएपछि उत्पादन थाल्छौं । विकासन्युजको यो सम्मानले हामीलाई थप उत्प्रेरणा मिल्छ । काम गर्न हौसला मिलेको छ । 

नबिल बैंक : समाजको सारथी, राष्ट्रको गौरव

नेपाली बैंक तथा वित्तीय क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंक हो, नबिल । सन् १९८४ मा मुलुककै पहिलो ज्वोइन्ट भेन्चर बैंकका रूपमा स्थापित नबिलले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ ।  कुनैबेला मुलुकमा साहु तथा महाजनबाट पैसा लिएर आफ्नो खर्च धान्ने नेपाली समाजलाई नबिलले बैंकिङ कारोबार सिकायो । उच्च सरकारी अधिकारीहरूसँग पहुँच हुने वर्गमा सीमित बैंकिङलाई पहुँच नहुने वर्गसामु पुर्‍याउन नबिलले ठूलो मिहिनेत गर्‍यो । चिटिक्क परेको बैंकको ढोकाभित्र छिर्न डराउने नेपालीहरूलाई सफा सोफामा बसेर बैंकिङ कारोबार गर्न नबिलले उत्प्रेरित गर्‍यो । आज घरबाटै बैंकिङ, मोबाइलबाटै कारोबार गर्ने अवस्थामा समाजलाई पुर्‍याउने नबिल बैंकको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।  त्यसैले पनि बैंकिङ क्षेत्रमा नबिल बैंकप्रतिको विश्वास उच्च छ । बैंकमा पूर्ण विश्वाससहित ढुक्कले पैसा राख्ने र ऋण लिने अभ्यासले प्रसय पाएको छ । ढड्डा र घर्राबाट चल्ने पुरानो ढर्राको बैंकिङ अभ्यासलाई नबिलले प्रविधिमैत्री बनाएर बैंकिङ कारोबारलाई पूर्णरूपमा कम्प्युटराइज गर्न सफल भएको छ । र, सेवाग्राहीलाई पनि त्यसमा अभ्यस्त पार्दै लगेको छ ।  नबिलले पहिलो पटक आधुनिक कम्प्युटराइज्ड बैंकिङ प्रणाली सुरु गर्दै सेवामुखी प्रतिस्पर्धात्मक बैंकिङ वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यस अवधिमा नबिलले बैंकिङ क्षेत्रमा प्रविधिमा नेतृत्व, पूर्वाधार तथा उत्पादक क्षेत्रमा उच्च कर्जा प्रवाह र राजस्व योगदानमार्फत राष्ट्रिय विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ ।  नबिल बैंक निरन्तर रूपमा नेपालको बैंकिङ क्षेत्रमा आधुनिकीकरणको नेतृत्वकर्ताको रूपमा आफूलाई चिनाउँदै आएको छ । बैंकले सन् १९९२ मा नेपालको इतिहासमै पहिलो पटक क्रेडिट कार्ड सेवा सुरु गरेर आफूलाई लिडरका रूपमा परिचित गरायो भने त्यसपछि एटीएम तथा पीओएस सेवाहरूको विस्तारले भुक्तानी प्रणालीलाई डिजिटल बनाउन बैंकिङ क्षेत्रमै पायोनियर बैंकका रूपमा चिनाउन सफल भयो ।  पछिल्ला वर्षहरूमा नबिलले डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै छिटो, सरल र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । नबिलको ‘एन बैंक’ एप तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीले शाखा धाउनु नपर्ने वातावरण सिर्जना भएको छ ।  बैंकमा खाता खोल्न तथा वित्तीय कारोबार गर्न भौतिकरूपमा शाखा कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभ्यासमा नबिलले अग्रणी भूमिका खेलिरहेको छ ।  यसले सेवाग्राहीको समय तथा यात्रा खर्च मात्रै घटाएको छैन, शाखामा पुग्न नसक्ने आम नागरिकलाई पनि सहज बैंकिङ पहुँच विस्तार गरिदिएको छ ।  नबिल बैंकले डिजिटल तथा रोबोटिक प्रोसेस अटोमेशनद्वारा काम गर्दै आएको छ । यसले सेवाको गुणस्तर, समय व्यवस्थापन तथा दिगो बैंकिङलाई मजबुत बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली बताउँछन् ।  सीईओ ज्ञवालीका अनुसार नबिल बैंकको विकास योगदानको मूल आधार नै वित्तीय समावेशीकरण हो । बैंकले सेवाविहीन तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा शाखा तथा सेवा विस्तार गरेर दूरदराजका समुदायलाई पनि औपचारिक रूपमा बैंकिङ प्रणालीमा ल्याएको छ । यसले बचत गर्ने बानीको विकास, सुरक्षित तथा पारदर्शी वित्तीय सेवामा पहुँच, उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याएको उनको दाबी छ। पूर्वाधार निर्माण र ऊर्जा विकासमा अग्रणी बैंक नबिल बैंकले नेपालको पूर्वाधार तथा ऊर्जा क्षेत्रमा रूपान्तरणकारी भूमिका खेलेको छ । नेपालमा पूर्वाधार बैंक नहुँदा नै नबिलले परियोजना फाइनान्सिङ र कर्पोरेट/होलसेल बैंकिङको क्षमता विकास गरेर व्यवसायीको मन जितेको थियो । र, अहिले पनि व्यवसायीको कारोबारका लागि नबिल नै रोजाइमा पर्ने गरेको छ।   नबिलले सन् १९९८ मा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा लगानी गरेर निजी क्षेत्रको ऊर्जा विकासमा नयाँ अध्यायको सुरुवात गरेको थियो । यो आयोजना निजी क्षेत्रबाट विकास भएको एक मेगावाटभन्दा ठूलो क्षमताको पहिलो आयोजना थियो । जलविद्युत् आयोजनामा वित्तीयकरण गर्ने पहिलो व्यावसायिक बैंक नै नबिल हो ।  सीईओ ज्ञवालीका अनुसार नबिल बैंकले सुरुदेखि नै जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको छ । जलविद्युत परियोजनाहरू जटिल र जोखिमपूर्ण भए पनि नबिलको सो कदमले ऊर्जा क्षेत्रमै विश्वास जगाएको छ । र, अन्य बैंकहरूलाई पनि ऊर्जा क्षेत्रमा लगानी गर्न नबिलले नै प्रेरित गर्‍यो । आज बैंकहरूको लगानीको मुख्य क्षेत्र नै जलविद्युत क्षेत्र बनिरहेको छ । हाल ऊर्जा क्षेत्रमा नबिलको योगदान झनै व्यापक छ । जलविद्युत्, सौर्य, नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र अन्य ऊर्जा परियोजनामा नबिलले लगानी बढाउँदै गएको छ ।  नबिल बैंकले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा ४ अर्ब ४६ करोड, ७३ मेगावाटको सानिमा मध्य तमोरमा १ अर्ब ६७ करोड, ४० मेगावाटको माथिल्लो चमेलियामा २ अर्ब १४ करोड र ३७ मेगावाटको त्रिशूली–३ बी जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ ।   बढ्दै गएको लगानीले नेपालको ऊर्जा उत्पादन, औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक दिगोपनामा योगदान पुगिरहेको सीईओ ज्ञवालीको धारणा छ । उनका अनुसार नबिल सौर्य ग्रिड परियोजनामा पनि प्रवेश गरेको छ । जसले हरित ऊर्जा तथा सुक्खा महिनाको ऊर्जा सन्तुलन गर्न सहयोग गर्नेछ ।  सीईओ ज्ञवालीले बैंकले ऊर्जा क्षेत्रमा कुल ७५ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता गरेको जानकारी दिए । बैंकले प्रतिबद्धता गरेको विद्युतको क्षमता ३ हजार १६४.२२ मेगावाट हो । बैंकले हालसम्म ५४ वटा जलविद्युत परियोजनामा लगानी गरेको छ, जसमध्ये चारवटा सौर्य ऊर्जा परियोजना पनि छन् ।   नबिलकै साथ सहयोगमा ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत परियोजना निर्माण हुन सफल भयो । बैंकले सो जलविद्युतको उपकरणहरू भित्र्याउनका लागि आवश्यक प्रतितपत्र (एलसी)को व्यवस्था गरिदिएको थियो । त्यस समयमा बैंकको पुँजी सानो हुँदा पनि यति ठूलो प्रतिबद्धता कठिन थियो । तर, नबिलले जोखिम साझेदारीसहित नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा नयाँ काम सम्पन्न गरी आफूलाई अब्बल बैंकका रूपमा चिनाएको थियो । यसले अन्तर्राष्ट्रिय बैंक तथा लगानीकर्ताहरूमाझ नेपाली बैंकमाथि विश्वास बढाएको सीईओ ज्ञवाली बताउँछन्। नेपालभर सडक, पुल, अस्पताल, कार्यालय भवन, जलविद्युत, राजमार्ग निर्माण गर्ने ठेकेदारहरूलाई आवश्यक बैंक ग्यारेन्टी, कर्जा सुविधा तथा अन्य वित्तीय उपकरण प्रदान गर्दै नबिल निर्माण क्षेत्रको विकासको एक महत्वपूर्ण स्टेक होल्डर बन्दै आएको छ । सार्वजनिक खरिद ऐन अनुसार ठेकेदारले बैंक ग्यारेन्टी सुविधाबिना निर्माण कार्यको बिड गर्न सक्दैनन् । नबिल बैंककै अग्रणी भूमिका र सहयोगले ठूल्ठूला परियोजनाहरू निर्माणमा टेवा पुगेको बैंकले दाबी गरेको छ ।  नबिलले सिमेन्ट, उड्डयन, दूरसञ्चार तथा ठूल्ठूला उद्योगहरूको स्थापना र विस्तारका लागि कर्जा विस्तार गरेर देशको अर्थतन्त्रमा सहयोग गरिरहेको छ । बैंकका अनुसार हालसम्म १० वटा सिमेन्ट उद्योगमा ८.५ अर्ब कर्जा लगानी भइसकेको छ । प्रत्येक दिन २६ हजार ५०० टन उत्पादन क्षमता सिमेन्ट उद्योगमा उक्त लगानी भएको हो । बैंकले कुल क्षमताको ३५ प्रतिशत अर्थात् लगानी गरेको जनाएको छ । जसले कुनै बेला आयात गर्नुपर्ने बाध्यतामा रहेको सिमेन्ट क्षेत्र अहिले निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । नेपालबाट अहिले सिमेन्ट निर्यातसमेत हुन थालेको छ ।  कर भुक्तानी र सामाजिक कार्यमा सधैं अगाडि नबिल बैंकले कर भुक्तानीमार्फत राज्यलाई पनि ठूलो योगदान गरेको छ । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमध्ये सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नबिल ८ पटकसम्म सरकारबाट सम्मानित भइसकेको छ । आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले नाफामा ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा नबिल बैंक पहिलो पटक सम्मानित भएको थियो । त्यसपछि आव २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/८० मा उत्कृष्ट करदाता बनेर सरकारबाट सम्मानित भएको थियो । बैंकले पछिल्लो एक दशकमा मात्रै साढे १९ अर्ब रुपैयाँ कर तिरेको बैंकको वित्तीय विवरणबाट देखिन्छ ।   बैंकले डिजिटल तथा औपचारिक बैंकिङ विस्तारले आर्थिक क्रियाकलाप पारदर्शी बनाउने, सुशासन बलियो बनाउने तथा दीर्घकालीन आर्थिक स्थिरता स्थापित गर्न मद्दत गरेको छ । नबिल बैंक सूचकमात्र अब्बल र अगाडि छैन, जनजीवनमा पनि ठूलो प्रभाव पारेको छ । नबिल सस्टेनेबल बैंकिङका माध्यमबाट सामाजिक क्षेत्र र सुशासनमा आधारित बैंकिङ अभ्यास गर्दै आएको छ । बैंकले प्रत्यक्षरूपमा हजारौंलाई रोजगारीमात्रै प्रदान गरेको छैन, देशमा समस्या परेको बेला ठूलो सहयोग पनि गर्दै आएको छ ।  बैंकले २०७२ को महाभूकम्पको समयमा प्रधानमन्त्री राहत कोषमा २ करोड १ लाख, दुई वर्षअघि रुकुम–पश्चिम र जाजरकोटमा भूकम्प जाँदा ९६ अस्थायी घर निर्माण गरिदिएको थियो भने बाढीपीडित ९० परिवारलाई फ्लड–सपोर्ट किट सहयोग गरेको थियो ।  यस्तै, कोभिडको समयमा वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारी राहत कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको थियो भने सिन्धुपाल्चोकमा भूकम्प जाँदा ३१ घरधुरीलाई राहत सामग्री वितरण गरेको थियो । चार वर्षअघि टीकापुरमा बाढी आउँदा १ हजार बढी घरपरिवारलाई खाद्यान्न वितरण गरेको थियो ।  शिक्षाबाट पछाडि परेका समुदायका विद्यार्थीहरूको लागि छात्रवृत्ति, सरकारी विद्यालयहरूमा शैक्षिक सामग्री र डिजिटल सिकाइका उपकरणका साथै ब्रेल सामग्रीजस्ता समावेशी सिकाइ सहयोग उपलब्ध गराउन नबिल बैंक अग्रपङ्क्तिमा आउँछ । नबिलले १०४ वटा विद्यालयमा नबिल स्वच्छ खानेपानी अभियान सञ्चालन गरेर ९० हजार बढी शिक्षक तथा विद्यार्थीलाई लाभान्वित बनाएको छ । विद्यालयका किशोरीलाई सेनिटरी प्याड वितरण गरेर ५० हजार बढीलाई लाभान्वित बनाएको छ ।  यसैगरी, निःशुल्क कृत्रिम अंग वितरण, जटिल शल्यक्रिया तथा विशेष स्वास्थ्य आवश्यकता भएका व्यक्तिहरूका लागि सहयोग, विपन्न समुदायहरूका लागि स्वास्थ्य शिविर तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक चिकित्सा उपकरण उपलब्ध गराउने जस्ता पहलहरू गरेको छ । नबिल बैंकले युवाहरू, महिला समूह, साना तथा मध्यम उद्योग (एसएमई) र समुदायहरूलाई लक्षित गरी नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (नबिल एसएसई) मार्फत बैंकले विभिन्न व्यक्ति तथा स्टार्टअपहरूलाई दिगो सामाजिक उद्यम निर्माण गर्न मद्दत गरिरहेको छ । जसले जीविकोपार्जन र रोजगारमा सकारात्मक प्रभाव पारिरहेको छ ।  नबिल बैंकको यो अभियानले डिजिटल वित्तीय साक्षरता तथा ठगी सचेतनासहित करिब ४० हजार मानिस लाभान्वित भएका छन् भने ११ हजार बढीले नबिल एसएसईको तालिम लिएका छन् । यही अभियानबाट १९३ वटा सामाजिक उद्यम स्थापना भई १७ हजारले रोजगारी पाएको नबिलको दाबी छ ।  बैंकले अर्थतन्त्रमा योगदानसँगसँगै सामाजिक कार्य अन्तर्गत ‘क्लिन हिमालय’ अभियान अन्तर्गत ४५ टन फोहोर व्यवस्थापन गरेको दाबी गरेको छ ।  स्वस्थ सूचक, अब्बल प्रतिफल  बैंकले समाज र देशको अर्थतन्त्रसँगै बैंकका सेयरधनीलाई पनि राम्रो प्रतिफल वितरण दिइरहेको छ । बैंकका हरेक वित्तीय सूचकहरू अब्बल देखिन्छन् । पछिल्लो वित्तीय विवरणअनुसार नबिलले ५ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सेयर पुँजी २७ अर्ब ५ करोड, जगेडा कोष ३२ अर्ब ४३ करोडसहित बैंकको कुल पुँजी कोष ६५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।  बैंकले वित्तीय बजार, सरकार, सर्वसाधारण र सेयरधनीलाई पनि प्रत्येक वर्ष खुसी बनाउँदै गएको छ । बैंकले हालसम्म अधिकतम १४० प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको छ भने विगत तीन दशकदेखि कुनै पनि वर्ष सेयरधनीको हात खाली गरेको छैन ।  नबिल बैंकलाई उच्च बिन्दुमा पुर्‍याउन यसका संस्थापक सेयरधनी र यस बैंकको व्यवस्थापकीय नेतृत्वमा बसेर काम गर्नेहरूको ठूलो योगदान छ । यस बैंकको मुख्य सेयरधनीहरूमा एनबी इन्टरनेशनल (३९.४४ प्रतिशत), आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेश (७.७७ प्रतिशत), राष्ट्रिय बीमा कम्पनी (७.६३ प्रतिशत), निर्वाणकुमार चौधरी (०.७० प्रतिशत) र वरुण चौधरी (०.६७ प्रतिशत) रहेका छन् ।  बैंकमा स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ । फोर्ब्स सूचीमा रहेका अर्बपति विनोद चौधरी यस बैंकको मुख्य लगानीकर्ताको रूपमा परिचित छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै विभिन्न समयमा बैंकर्स ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिल केशरी शाह, सशीन जोशी, अनिल ज्ञवालीसहितले यस बैंकलाई वर्तमान अवस्थामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । नबिल बैंकको पहिलो अध्यक्ष सशीनारायण शाह, त्यसपछिका सत्यान्द्रप्यारा श्रेष्ठदेखि अहिलेका अध्यक्ष उपेन्द्र पौडेलले पनि नबिल बैंकलाई यो स्थानसम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका छन् ।  नबिल बैंकले आधुनिक बैंकिङ, डिजिटल भुक्तानी, जलविद्युतमा वित्तीयकरण लगायतमा अग्रणी भूमिका खेलेको छ । बैंकले ऊर्जा परियोजना तथा ठूला पूर्वाधारहरूमा नेतृत्व गरेर राष्ट्र निर्माणको एक महत्त्वपूर्ण स्टेक होल्डरका रूपमा आफूलाई चिनाएको छ । बैंकले उद्योग, सिमेन्ट, सेवा क्षेत्रमा सहभागितामार्फत घरेलु उत्पादन तथा रोजगार प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, विपद् राहत, वित्तीय साक्षरता, सामाजिक उद्यमशीलतामा व्यापक योगदान गरेकै कारण आज विकास नायकका रूपमा आफूलाई उभ्याएको छ । मनोज ज्ञवालीकै शब्दहरू : नबिल देशको पहिलो ज्वोइन्ट भेञ्चर बैंक हुँदै सुरुवाती दिनहरूमा बैंकिङ सेवा सर्वसाधारणसम्म पुर्‍याउन सफल भयो । बैंकको सबै लेखाजोखा कागजात तथा पासबुक र ढड्डामा हुने बैंकिङ अभ्यासलाई रूपान्तरण गर्दै नबिलले सबै हिसाब–किताबलाई कम्प्युटराइज गर्ने कामको थालनी गर्‍यो । बैंकको डेभिट तथा क्रेडिट कार्डको इनोभेसनमा पनि नबिल पहिलो बैंक हो । त्यतिबेलादेखि अहिलेसम्म नबिल विभिन्न प्रडक्टहरूमा पनि पायोनियर बैंकको रूपमा काम गर्दै आएको छ । अहिले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने काम पनि बैंकिङ क्षेत्रमै पहिलो हो ।  विविध प्रडक्ट, सेवा र इनोभेसनमा नबिल पायोनियर नै हो । १/२ लाख रुपैयाँ कर्जा लिएका उद्यमी, व्यवसायीहरू अहिले अर्बौंको नेटवर्थमा काम गरिरहेका छन् । नबिलले ऊर्जा तथा ठूला पूर्वाधारमा ठूलो रकम लगानी गरेर त्यो क्षेत्रका विकासमा ठूलो योगदान दिएको छ । परियोजना फाइनान्सिङ तथा ग्यारेन्टीमा हामीले उच्च जोखिम लिएर पनि देश निर्माणमा साथ दिइरहेका छौं । हामी देश बनाउने काममा सक्रिय छौं । सेवाग्राहीको मागअनुसारको प्रडक्ट ल्याउने र त्यो सँगै देशलाई योगदान दिनुपर्ने ठाउँमा पनि नबिल अगाडि छ । नबिल संस्थागत सुशासनमा अडिग छ । जहिले पनि हामी सस्टेनेवल बैंकिङको नारा लिएर काम गरिरहेका छौं ।  हामी निरन्तर बढी कर तिर्ने बैंकका रूपमा सम्मानित हुँदै आएको छौं । बैंकमा काम गर्न चाहनेहरूका लागि पनि नबिल पहिलो रोजाइमा छ । सेयरधनीको प्रतिफलमा पनि नबिल अगाडि छ । विगतमा हामी सबैभन्दा बढी लाभांश दिने बैंकका रूपमा परिचित थियौं । अहिले पनि १२.५ प्रतिशत लाभांश घोषणा गरेका छौं । मर्जरको कारणले लाभांश अहिले केही घटेको हो । बैंक कम्प्लायन्स, संस्थागत सुशासन, कर्मचारीको हकहितका लागि पहिलो रोजाइ बन्दै आएको छ । सगरमाथाको चुचुरोमा पुग्नुभन्दा बसिराख्न चु्नौती हुन्छ । हामी ठूलोभन्दा पनि बेस्ट बैंक भन्ने दौडमा छौं ।  नबिल बैंक भन्नेवित्तिकै जुन कन्फिडेन्स अहिले बजारमा छ, त्यसलाई थप मजबुत र विस्तार गर्न लागिरहेका छौं । नबिल बैंक अहिले ठूला सहरमा मात्रै होइन, दूरदराजमा पनि सेवा दिइरहेको छ । दूरदराजका शाखामा नाफा नभए पनि सेवाको हिसाबले देशभर २६८ शाखामार्फत काम गरिरहेका छौं । उद्यमीको विकास हुनुपर्छ भनेर नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (एसएसई) सुरु गरेका छौं । त्यसले उद्यमीसँगै रोजगारी सिर्जना गर्ने काम गरेको छ । सातै प्रदेशमा उद्यमको विकासमा काम गरिरहेका छौं ।  बैंकिङ क्षेत्रले छरिएर रहेको पैसालाई एकीकृत गरेर कर्जा प्रवाह गर्ने हो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले वित्तीय विवरणमात्रै हेर्‍यो । हामीले संकलन गरेको निक्षेपले कति व्यवसाय विस्तारमा काम गर्‍यो ? देशको जीडीपीमा कति काम गर्‍यो । रोजगारी कति सिर्जना गर्‍यो । अर्थतन्त्रमा के कस्तो प्रभाव गर्‍यो ? भन्ने विषय बुझ्नुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि बैंकसँगै त्यो क्षेत्र र देशलाई हेर्ने हो ।  अबको बैंकिङ डिजिटल बैंकबाट अगाडि बढ्छ । अब कर्जा प्रवाह पनि डिजिटलबाट हुनुपर्छ । त्यसको लागि पूर्वाधार निर्माण गरेर त्यसमा पनि लाग्नुपर्छ । नबिल डिजिटल बैंकिङमा थप अगाडि हुन चाहन्छ । घरबाटै बैंकिङ सेवासँगै सुरक्षित बैंकिङ गर्नका लागि हामीले तयारी गरिरहेका छौं । हामीले गरेको लगानीले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्नुपर्छ । हामीले गरेको कामलाई मूल्यांकन गर्दै विकासन्युज जस्तो प्रोफेसनल मिडियाले विकास नायक अवार्डबाट नबिल बैंकलाई सम्मान गर्न लागेको विषय धेरै महत्त्वपूर्ण हो । यसबाट हामी धेरै खुसी छौं । यसले हामी र समग्र बैंकिङ क्षेत्रलाई आगामी दिनमा थप परिष्कृत भएर काम गर्न उत्प्रेरित गर्छ ।