चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे, खैरेनी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चन्द्र प्र्रसाद सापकोटा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर र दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले सरकारसँग सहकार्य र व्यवसायीका समस्या सुनिदिने होस् भन्ने धारणा राखेका छन् । हामीले अपेक्षा गरे अुसारको काम गर्ने नेतृत्व भए पुग्छ तारानाथ घिमिरे, अध्यक्ष ताप्लेजुङ उद्योग वाणिज्य संघ हामीले अपेक्षा गर्ने मात्र हो । अपेक्षा अनुसारको काम कहिल्यै हुँदैन । अबको नेतृत्व सबै व्यवसायीका भावना बुझ्ने खालको होस् भन्ने चाहना छ । आगामी नेतृत्वले साना तथा मझौला व्यवसायीहरुका समस्याहरु बुझ्ने र आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्छ । समस्यालाई गहन रुपमा लिन सक्नु पर्दछ । सबै व्यवसायीले मान्ने र अपनत्व महसुस गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा धेरै समस्या छन् । व्यवसायीहरुको भ्याटमा एकरुपता छैन । यसले गर्दा हामी व्यवसायीहरुले अनावश्यक रुपमा भ्याट पनि तिर्नु परेको अवस्था छ । हामी साना व्यवसायीका मर्म बुझ्ने खालको नेतृत्व आजको आवश्यकता हो । मूख्य नेतृत्व नभएकै कारण हाम्रा गुनासा सुनुवाई हुँदैन । हामी साना व्यवसायीले भनेको कसैले सुन्दैनन् । ठूला व्यवसायीहरु यो प्रति ध्यान दिँदैनन् । अबको नेतृत्वले व्यवसायीले तिर्नु परेको व्याजदर घटाउन सकोस् चन्द्र प्रसाद सापकोटा, अध्यक्ष, खैरेनी उद्योग वाणिज्य संघ, चितवन नेपाल उद्योग वाणिज्य महासंघमा अब आउने नेतृत्वले सबै उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्न सकोस् । देशमा रोजगार सिर्जना गर्ने मूख्य भूमिका उद्यागी व्यवसायीको हुन्छ । यसका लागि नीति नियमहरु सजिलो बनाउनका लागि अबको नेतृत्वले भूमिका खेल्न सक्नु पर्छ । एउटा कुखुरा पाल्ने व्यवसायीले तीन प्रतिशतमा ऋण पाउन सक्छ तर सयांैं मानिसलाई रोजगारी प्रदान गर्ने उद्योगीले १२/१३ प्रतिशत व्याजमा ऋण लिनु परेको अवस्था छ । यो किसिमको विभेद हुनु हुँदैन । अहिले सम्मका नेतृत्वले त्यस्तो किसिमको उल्लेख्य काम गरेको अवस्था छैन । सरकार र व्यवसायीबीचमा ब्रिजीङ गर्ने नेतृत्व चाहिन्छ प्रकाश मानन्धर, अध्यक्ष, काभ्रे उद्योग वाणिज्य संघ हामीलाई सवल नेतत्वको आवश्यकता छ । देशको सम्वृद्धिका लागि र व्यवसायीको हकहितका लागि काम गर्ने नेतृत्व हामीलाई चाहिन्छ । अहिले व्यवसायी निराश छन् । यो अवस्थालाई सहजै समधान गरी सफल नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति नेपाल उद्योग वाणिज्य महासंमा चाहिएको छ । हुनतः प्रयासहरु भइरहेका छन् । नीति नियमले गर्दा व्यवसायी निराश छन् । लगानीमैत्री वातावरण सिर्जना गरिदिनु पर्छ । अहिले व्यस्त छु भन्ने नेतृत्व हामीलाई चाहिएको छैन इन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष, दोलखा उद्योग वाणिज्य संघ आगामी नेतृत्वले जिल्ला र नगरका व्यवसायीहरुमा भएका समस्यालाई मध्यस्तकर्ताको रुपमा जिम्मेवारको भूमिका खेलोस् । पहिलेको जस्तै प्रवृति अबको नेतृत्वले नदोहोरयाओस् । अबको नेृत्वले कहिले फोन नउठाउने कहिले व्यस्त छु भन्ने खालको बाहना नगरोस् । हाम्रा समस्या सुनिदिने नेतृत्व चाहिन्छ । अहिले सम्मका नेतृत्वले खासै केही गर्न सकेका छैनन् । हाम्रा धेरै समस्या छन् । पहिले शाखा बचाउनका लागि महासंघबाट धेरै कार्यक्रहरु आउँथे । अहिले ती कार्यक्रमहरु आउन छाडेका छन् । अबको नेतृत्वले सबै जिल्ला नगरमा पनि व्यवसायीहरुलाई लाभ हुने खालका सिर्जनात्मक कार्यक्रहरु राखोस् । स्थानिय तह आइसकेपछि त्यहाँ हाम्रो उपस्थिति राम्रो हुुनु पर्छ ।
पूर्वाधार विकास कम्पनी कोमामा, प्रदेश सरकारसँग लफडा, पीडितको पैसा फिर्ता दिएको दाबी
काठमाडौं । ३५ अर्ब रुपैयाँभन्दा बढीको सडक पूर्वाधान हेटौंडा– काठमाडौं सुरुङमार्ग बनाउने लक्ष्यसहित स्थापना कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी खारेजीको संघारमा पुगेको छ । कम्पनीले समयमै उचित ढंगले काम गर्न नसकेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सो आयोजना प्रदेश सरकारले बनाउन लागेको बताए । प्रदेशको मात्रै नभएर देशकै महत्वपूर्ण विकास आयोजना भएको र सो आयोजना ओघटेको कम्पनीले बनाउन नसक्ने अवस्था देखिएपछि प्रदेश सरकार अग्रसर भएको उनको भनाइ छ । यता कम्पनी भने प्रदेश सरकारले आफूहरुलाई कामै गर्न नदिएको आरोप लगाउन थालेको छ । संघीय सरकारले दिएको आयोजना प्रदेश सरकारले बनाउन नदिएर त्यसै थन्किएको भन्दै प्रदेश सरकार विरुद्ध कानुनी उपचारमा जाने संकेत कम्पनीले गरेको छ । तर, कम्पनीले ९ वर्ष अगाडी हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने भनेर सर्वसाधारणसगँ उठाएको पैंसा फिर्ता गर्न थालेको छ । हेटौंडा –काठमाडौं सुरुङमार्गका परियोजना निर्देशक नुगल आनन्द वैद्य मानवीय संकटमा परेका सर्वसाधारणको रकम कम्पीले फिर्ता दिन लागेको बताउँछन् । केही लगानीकर्तालाई कम्पनीले रकम फिर्ता गरिसकेको उनको भनाइ छ । ‘जथाभावी सेयर रकम उठाउने नीति हाम्रो कम्पनीको थिएन, केही व्यक्तिहरुले सुरुमा नै मनलाग्दी रकम उठाए, त्यसले पनि समस्या भइरहेको छ, पैसा फिर्ता चाहियो भनेर माग गर्ने र अति आवश्यकता परेको देखिएका केहीको रकम फिर्ता गरिसकेका छौं,’निर्देशक बैद्यले भने । बैंकमा पैसा राखेर व्याज खादै कम्पनीले सर्वसाधारणसँग उठाएको केही रकम कम्पनीले बैंकको मुद्दति निक्षेपमा राखेर व्याज खादै कम्पनी चलाएको छ । यस्तो व्याजबाट आर्जित रकमबाटै कम्पनीले संचालन खर्च चुटाएको छ । ‘कम्पनीले सर्वसाधारण लगानीकर्ताको सेयर सुरक्षित गराउन निक्षेप बढाउदै जान्छ, मुद्दती निक्षेपबाट आएको व्याजलाई पनि फेरि मुदतीमा जम्मा गरेर लगानी सुरक्षित गर्दै जाने योजना बनाएका छौं,’ निर्देशक बैद्यले भने । लगानी गर्न अझै सर्वसाधारण आउँदै पैसा उठाएको ९ वर्षसम्म केही नगरी बसेको कम्पनीले सुरुङमार्ग बनाउला भन्ने आश सर्वसाधारणमा अझै मरेको छैन । त्यसैकारण केही सर्वसाधारण लगानी गर्न अझै कम्पनीमा आउने गरेका छन्, जुन कम्पनी आफै करिब मृत अवस्थामा पुगेको छ । कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी २०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन । काम सुरु भएकै छैन । पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपति र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यसअनुसार कम्पनीले सर्वसाधारणबाट ३१ करोड ७६ लाख रुपैयाँ रकम उठाइसकेको थियो । कम्पनीको अध्यक्ष ४ पटक फेरिए । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् । कम्पनीमा सर्वसाधारण सेयर लगानी छ । आफ्नो कष्ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाडौं–हेटौंडा सुरुङमार्गको सेयरमा लगानी गरेका सर्वसाधारणको लगानी के हुन्छ भन्ने प्रश्न गम्भीर बनेको छ । सुरुङमार्ग क्षेत्रमा पर्ने मकवानपुर, खोकना र काठमाडौंको चाल्नाखेल लगायतका क्षेत्रका करिब ११ सयभन्दा बढी स्थानीयले सेयर लगानी गरेका छन् । कुलेखानीका करिब १ सय १ जना र भेमफेदीका करिब ९७ जना सामान्य कृषकसमेतले कम्पनीमा लगानी गरेका छन् । सम्बन्धित सामग्री सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र
सुरुङमार्गः सेयरमा उठाएको मात्रै हैन, सर्वे गर्दा खाएको र बसेको पैसा पनि तिर्न बाँकी
काठमाडौं । सात वर्षअघि मकवानपुर भीमभेदीका सन्तोश लामाले काठमाडौं–हेटौडाको सुरुङबाट ओहोर–दोहोर गर्न पाइने हल्ला सुने । गाउँभरी नै सरुङमार्ग बन्ने चर्चा चल्न थाल्यो । २०७३ साल भित्र काठमाडौं जान सहज भइसक्ने लामालाई विश्वास थियो । तर, उनको सपना २०७६ साल बितिसक्न लागे पनि पूरा भएको छैन । सपना पूरा नभएको मात्रै होइन, अब सुरुङमार्ग नबन्नेमा उनी पनि ढुक्क जस्तै छन् । काठमाडौं–हेटौंडा सुरुङमार्ग लामालाई अचेल पशुपाति शर्माको ‘लुटनसके लुट कान्छा…’ भन्ने गीत जस्तै लाग्न थालेको छ । सडक बन्ने कुरा गफ मात्रै जस्तो अनुभूति हुन थालेको छ । भीमभेदीमा रहेको लामाको सगरमाथा होटलमा सर्वे गर्ने टोली बस्यो । गाउँको मात्रै होइन, देशको मुहारै फेरिने परियोजनाका सर्वे गर्ने व्यक्तिहरुलाई राख्न पाउँदा लामाको खुसीको सीमा नै रहेन । उनले राम्रोसगँ सञ्चालन भइरहेको होटलमा सर्वेका लागि आएकाहरुलाई खाने बस्ने व्यवस्था सकेसम्म राम्रो पनि गरे । मकवानपुरबासी, व्यवसायी, राजनीतिक दलका नेता र उद्योगीसँगै बसेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको कम्पनीले जनताकै लगानीमा छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउने बताउँदा लामा निकै उत्साहित थिए । सरकारले नगरेपछि हामी गछौंं भन्दै निजी क्षेत्रले स्थापना गरेको नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) मार्फत सुरुङमार्ग बन्ने र मकवानपुरसँगै तराईका जिल्लामा ठूलो विकासे लहर आउने लामालाई विश्वास थियो । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेनको बाटोसहितको डिजाइन भएको सुरुङमार्गबाट हेटौँडा पुग्न झण्डै एकघण्टा मात्रै लाग्ने अनुमान गरिएको थियो । भीमफेदीमा नै किराना पसल, होटल र घर भएका लामाले यो अभियानलाई जति सकिन्छ, त्यति लगानी गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । उनले आफ्नो बुवा अंकल लामाको नाममा १० हजार रुपैयाँको सेयरसमेत किने । आफ्नै घर छेउमा सन् २०१६ मा बन्ने भनिएको सुरुङमार्ग अझैसम्म निर्माण प्रारम्भसमेत नहुँदा उनी चिन्तित मात्रै होइन, आक्रोसित पनि छन् । लामाजस्तै सुरुङमार्गको सेयर किन्नेहरु यतिबेला निराश छन् । सुरुङमार्ग निर्माण गर्ने कम्पनीले सर्वेका लागि पठाएका व्यतिmहरुले खाना खाएको, र बसेको पैसा लिन कम्पनीको मुख्य कार्यालय थापाथलीमा पुग्दा त्यहाँबाट पैसा नपाएपछि लामालाई आफू ठगिएको हो कि भन्ने शंका लाग्न थालेको थियो । लामाले कम्पनीका कर्मचारीहरुले होटलमा खाना खाएको र बसेको पैसा अझसम्म पाएका छैनन् । र, सेयर वापत दिएको रकमको अत्तोपत्तो छैन । अरु सेयरबाट मात्रै ठगिएको छन् । धेरै सर्वसाधारणसँग एनपीबीसीएलले संस्थापक लगानी भन्दै करिब ३२ करोड रुपैयाँ उठाएको छ । तर, सो रकमबारे कम्पनी पारदर्शी रुपमा प्रस्तुत नभएको गुनासो सेयर लगानीकर्ताहरुको छ । रकम सदुपयोग नभएको र कम्पनीले आयोजना सुरु हुन नसक्नुबारे कुनै आधिकारिक जानकारी पनि नगराएका कारण धेरै लगानीकर्ताहरु आक्रोशित छन् । कतिपय लगानीकर्ताले कम्पनीका सञ्चालकहरुले आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि मात्र सर्वसाधारणबाट सेयर स्वरुप उठाएको रकम दुरुपयोग गरिरहेको आरोपसमेत लगाउन थालेका छन् । सुरुङ मार्ग निर्माण गर्न सुरुवातमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । सन् २०१६ सम्म निर्माण सक्ने लक्ष्य लिइएकोमा अझै आयोजना सुरु भएको छैन । २०६९ सालमा शिलान्यास भइसकेको यो आयोजनाबाट असन्तुष्टी जनाउँदै राप्रपाका सांसदसमेत रहेका ठेकेदार व्यवसायी विक्रम पाण्डेले हात झिकिसकेका छन् । एनपीबीसीएलमा एमालेका सांसद तथा व्यवसायी सुभाषचन्द्र ठकुरी र निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जयराम लामिछानेलगायत अझै सक्रिय छन् । भिडियोः प्रकाश वाग्ले सम्बन्धित सामग्री सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र