बैंकिङ क्षेत्रमा यस कारण भएन कर्जाको माग

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलता पर्याप्त छ । ब्याजदर निरन्तर घट्दो क्रममा छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव विस्तारै कम हुँदैछ । देशमा दुई ठूला राजनीतिक दल सम्मिलित सरकार बनेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुकुलो नीति अंगिकार गरेको छ । पछिल्लो दुई/तीन महिनाको अवधिमा देशमा पूर्वाधार सम्मेलन भयो । नाडा अटो शो आयोजना भयो । बैंकहरूले सस्तो ब्याजमा आकर्षक कर्जाका स्कीमहरू सार्वजनिक गरिरहेका छन् । यो वातावरणमा पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह किन भइरहेको छैन ? कुनै बेला ऋण पाएनौं भनेर पुर्पुरोमा हात लगाउने व्यवसायीहरू अहिले किन कर्जाको माग गरिरहेका छैनन् ? कर्जामा महँगो ब्याज भयो भनेर गुनासो गर्ने व्यवसायीहरू सस्तो ब्याजदर हुँदा किन ऋण लिइरहेका छैनन् ? आज हामीले बैंकमा कर्जा माग नहुनुका केही कारणहरू खोजेका छौं । ऋण दिनका लागि तयार रहेका बैंकरहरू व्यवसायीसँगको छलफलमा के कस्ता गुनासो सुन्छन् ? व्यवसायीहरूले उनीहरूसँग ऋण नलिनुका के कारण भन्छन् ? यही जिज्ञासा हामीले राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी निर्देशक (डीईओ) पवन रेग्मीसँग राख्यौं । हामीले उनले भनेको कुरालाई जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । पवन रेग्मी । अर्थतन्त्र चलायमान बनाउन सरकार, बैंक तथा वित्तीय संस्था र नागरिक (जो ऋण लिन इच्छा व्यक्त गर्छन्न्) को भूमिका हन्छ । सरकारको दायित्व पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउनु हो । र, काम सम्पन्न भएपछि भुक्तानी दिनु हो । यदि समयमा काम गरेको भुक्तानी प्राप्त गर्‍याे भने लगानीकर्ताको मनोबल बढ्छ । तर, अहिले सरकारले चाहेर पनि भुक्तानी दिन सकेको छैन । किनभने लक्ष्यअनुसारको राजस्व संकलन भइरहेको छैन । विभिन्न कारणले सरकार आफै अप्ठ्याराे स्थितिमा चलिरहेको छ । बैंकहरूसँग पर्याप्त मात्रामा तरलता छ । बैंकहरू ९० प्रतिशतसम्म सीडी रेसियोमा जान सक्छन् । पुँजीका हिसाबले पनि बैंकहरू लगानी गर्न सक्षम छन् । राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रवाह हुने गरी दुई/तीन वटा काम गरिरहेको छ । बैंकले ग्राहकलाई सस्तोमा कर्जा दिन आधार दर घटाउने काम गरिहरको छ । ब्याजदर घटेपछि लागत पनि घट्छ । त्यसैले ब्याजदर कम गर्न आधार दर घटाइरहेको छ । र, प्रिमियम शुल्क पनि घटाइरहेको छ । कर्जाको माग बढाउन सकियो भने अर्थतन्त्र पनि चलायमान गर्न सकिन्छ । सरकारको आम्दानी बढेपछि भुक्तानी गर्ने क्षमता बढ्छ । तर, कर्जाको माग आएन भनेर हामी चुप लागेर बस्दैनौं । ग्राहकलाई शिक्षित गर्नुपर्ने बैंकको दायित्व पनि हो । बैंकले कर्जा दिन्छ तर, ग्राहकलाई यस विषयमा जानकारी नहुन पनि सक्छ । कर्जाका लागि बैंकमा के–के कागजात आवश्यक पर्छन् भनेर ग्राहकलाई जानकारी नहुन सक्छ । यी सबै विषय ग्राहकलाई जानकारी गराउने काम बैंकले गरिरहेको छ । बैंकले साना किसानलाई मध्यनजर गरेर एक प्रदेश एक विशेष प्रडक्ट ल्याएको छ । केन्द्रीय बैंकले कर्जाको माग बढाउन विभिन्न किसिमका प्रयत्न गरिरहेको छ । जस्तो सेयर कर्जामा संस्थागत लगानीकर्तालाई खुला गरिएको छ । केही बैंकलाई पुँजीकोषको दबाब थियो । त्यसलाई पनि केन्द्रीय बैंकले खुकुलो गरेर क्यापिटल चार्जलाई खुला गरेको छ । राष्ट्र बैंकले पनि धेरै हदसम्म नीतिगत सहज वातावरण बनाइदिएको छ । तर, व्यवसायीमा मनोबल बढ्न सकेको छैन । साथै बैंकको एनपीए बढेपछि प्रोभिजन गर्नुपर्ने हुन्छ । जसले गर्दा क्यापिटल चार्जमा हिट भएको हुनसक्छ । एनपीए रिकभर गर्न सकियो भने कर्जा प्रवाह गर्न सहज हुनसक्छ । बैंकर रेग्मीको भनाइलाई संक्षेपमा बुझ्दा अहिले व्यवसायीमा मनोबलमा कमी छ । अर्थात् उनीहरूमा अझै पनि कर्जा लिने वा नलिने विषयमा दुविधा छ । विगतमा सरकार तथा नियामकले देखाएको अस्थिर नीतिले उद्योगी व्यवसायी त्रसित छन् । सरकारले आज खुकुलो नीति अवलम्बन गरेर भोलि कडाइ गर्ने हो कि भन्ने आशंका उनीहरूमा छ । सरकारले उनीहरूको मनोबल बढ्ने किसिमको नीति ल्याउन सकेको छैन । मौखिकरूपमा व्यवसायीमैत्री नीति भएको भन्ने वक्तव्यबाजी तथा भाषण गरेपनि व्यवहारमा भने देखिँदैन । अहिले अर्को समस्या भनेको बैंकमा भएको खराब कर्जाको हो । बैंकरहरू खराब कर्जाको व्यवस्थापन गर्न सकेका छैनन् । उद्योगी व्यवसायी तथा ऋणीको सम्पत्तिलाई धितोमा सकारेका बैंकरहरूले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा थप कर्जा प्रवाह गर्न पनि आँट गर्न सकिरहेका छैनन् भने आफ्नो सम्पत्ति लिलाम भएका व्यवसायी तथा ऋणीहरूले थप ऋण माग गर्ने हिम्मत गरिरहेका छैनन् । यस्तै, एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) गोविन्द घिमिरेले पनि बैंकर रेग्मीकै जस्तो धारणा राखेका छन् । उनको भनाइलाई पनि हामीले यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । तरलता पर्याप्त हुँदा पनि किन बैंकबाट कर्जा प्रवाह हुन सकेको छैन ? भन्ने हाम्रो जिज्ञासामा उनले यस्तो धारणा राखे । गोविन्द घिमिरे । कोरोना महामारीपछि तरलता संकटका कारणले घरजग्गा बजार, सेयर बजार, एसएमई क्षेत्रसहित समग्र अर्थतन्मा ठूलो असर गर्‍याे । एसएमई क्षेत्रमा साना व्यवसायीहरू हुन्छन् । साना व्यवसायीहरूलाई एकचोटि समस्यामा परेपछि रिभाइभ हुन धेरै गाह्रो हुन्छ । कर्पाेरेट क्षेत्रमा जस्तो एसएमईमा रिभाइवलको सम्भावना कम हुन्छ । अर्थतन्त्रमा बेलाबखत खपतको माग साह्रै कमजोर हुन्छ । अहिले पनि बजारमा वस्तु तथा सेवाको माग नै अपेक्षित रूपमा सुधार हुन सकेको छैन । पछिल्लो समय नयाँ व्यवसाय सिर्जना भएर तत्कालै कर्जाको वृृद्धि हुने अवस्था छैन । हाल सञ्चालन भइरहेका व्यवसायलाई वर्किङ क्यापिटलका आधारमा थपथाप गरेर काम भइरहेको छ । केही बैंकहरू टीयर वान क्यापिटलका कारण दबाबमा परेका हुन् । ती बैंकलाई अफ्ठेरो परेको भएर सबै बैंकको कर्जा वृद्धि ठप्प भएको पनि होइन । केही कर्जा वृद्धि भइरहेको पनि छ । अपेक्षित रूपमा कर्जा वृद्धि हुन टीयर वान र टीयर टू क्यापिटलले ठूलो प्रभाव भन्ने हुँदैन । तथापि केही बैंकलाई अप्ठ्याराे परेको हो । त्यसका लागि बण्डको सुविधा दिएर सहजीकरण गर्न सकिन्छ । समग्र अर्थतन्त्रमा तत्कालै ठूलो सुधार हुने अवस्था छैन । त्यसैले बैंकहरू पनि नयाँ प्रडक्ट ल्याउन होडबाजी गरिरहेका छैनन् । किनभने बजारमा भएका प्रडक्टमा कर्जाको माग छ । कर्जाको माग नभएसम्म नयाँ प्रडक्ट ल्याउने अवस्था हुँदैन । विगतमा दशैंतिहारको समयमा नयाँ योजना ल्याउँथे । तर, अहिले त्यस्तो छैन । यसपटक विगतको जस्तो एलसी बढेको पनि छैन । पछिल्लो समय बैंकहरू अनुशासित भएर अगाडि बढ्नपर्छ भन्ने किसिमले महसुस गरिरहेका छन् । विगत तीन/चार वर्षको अवधिलाई हेर्ने हो भने बैंकहरूलाई रियलाइजेशन (महसुस) भएर उत्पादनशील क्षेत्र, वास्तविक अर्थतन्त्र, अर्थतन्त्रमा सघाउ पुग्ने क्षेत्र, रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरिरहेका छन् । अब यी क्षेत्रमा बैंकको लगानी डाइभर्ट भइरहेको छ । त्यसैले गर्दा दीर्घकालमा सघाउ पुग्ने देखिन्छ । बैंकर घिमिरले अहिले बैंकलाई पुँजी कोषको कारणले कर्जा लगानी सक्ने अवस्था नभएको परिदृश्य देखाए । उनले विगतका केही अस्वस्थ प्रतिस्पर्धालाई मनन गर्दै बैंकरहरू सही ट्र्याकमा जाने खोजेको धारणा राखे । वर्तमान सकसको समयमा सरकारले बैंक तथा उद्योगी व्यवसायीलाई दिनुपर्ने रिल्याक्सेसन तथा पर्याप्त बण्डहरू नल्याउँदा पनि कर्जाको माग नभएको हुन सक्ने बुझाइ उनको छ । अनुप मास्के । हिमालयन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनुप मास्के पनि धारणा पनि त्यस्तै छ । उनले पनि कर्जाको माग हुन नसक्नुका केही कारण तथा तर्कहरू राखेका छन् । उनले भनेका छन्- चलायमान भइरहेको अर्थतन्त्रमा दुई वर्षसम्म मन्दी आयो । त्यो मन्दीमा फसेका मान्छेहरू फेरि लगानी गर्न आँट गरिरहेका छैनन् । जसको असर निर्माण क्षेत्रमा परेको छ । त्यसको प्रभाव सिमेन्ट, डण्डी उद्योगमा परेको देखिन्छ । २० प्रतिशत सिलिङमा काम गरिरहेका छन् । बजारबाट अधिकांशको पैसा उठ्न बाँकी छ । सुधार हुन समय लाग्छ । जबसम्म निर्माण क्षेत्र माथि उठ्दैन तबसम्म त्यसले ठूलो प्रभाव पारिरहनेछ । निजी निर्माणका काम ठप्प छ । । रिटेल गइरहेको छैन । पुँजी कोषको दबाबले पनि बैंकको कर्जा नगएको हुनसक्छ । किनभने बैंकले प्रोभिजन राख्नुपर्ने हुँदा त्यहाँ पुँजी धेरै खान्छ । जबकसम्म रिकभरी हुँदैन तबसम्म सहज हुन अझै समय लाग्छ । वर्किङ क्यापिटल गाइडलाइन आउनुअघि सहज थियो । जग्गा, सेयर बजारमा लगानी गइरहेको थियो । जसकारण अर्थतन्त्र चलायमान भइरहेको थियो । जब वर्किङ क्यापिटल गाइडलाइन आयाे तब कर्जा लगानी गर्न असहज भइरहेको छ । देशमा उद्योगहरूको अवस्था राम्रो छैन । निरन्तर हुनुपर्ने निर्माण कार्य रोकिएको छ । सरकारले भुक्तानी दिन सकेको छैन । युवा विद्यार्थीहरू सबै विदेश पलयान भइरहेका छन् । अधिकांशको व्यापार व्यवसाय अप्ठ्याराे स्थितिमा चलिरहेको छ । जसकारण आर्थिक गतिविधि चलायमान हुन सकिरहेको छैन । अप्ठ्याराे स्थितिमा सञ्चालन भइरहेका व्यवसायीहरूलाई कर्जा दिन पनि बैंकहरू हच्किरहेका छन् । बैंकर मास्केले पनि नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा गाइडलाइन, निर्माण क्षेत्रमा देखिएको सुस्सता र विदेश पलायन कर्जा प्रवाह नहुनुको मुख्य कारण रहेको सुनाएका छन् । उनले वर्तमान अर्थतन्त्रमा देखिएको सुस्सताले व्यवसायीमा मनोबल नबढ्नु पनि अर्को महत्त्वपूर्ण कारण रहेको धारणा राखे । उनका अनुसार बजारमा वस्तु तथा सेवामा देखिएको सुस्तताले पनि कर्जाको माग हुन सकिरहेको छैन । विभिन्न बैंकर तथा विज्ञहरूसँग कर्जा प्रवाह नहुनका कारणहरू खोज्दा समान कारणहरू सुनिए । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले पारेको नकारात्मक प्रभावले अहिलेसम्म उद्योग व्यवसायले लय समात्न सकेका छैनन् । उपभोक्ताले खुलेर खर्च गर्न सक्ने अवस्था छैन । सरकारले पनि वर्तमान समस्या समाधानका लागि पर्याप्त नीतिगत व्यवस्था गर्न सकेको छैन भने गरेका नीतिगत व्यवस्था पनि कार्यान्वयन हुन सकेका छैनन् । यस कारण पनि बैंक तथा वित्तीय क्षेत्रबाट कर्जाको माग हुन सकेको छैन । आर्थिक क्षेत्रका विज्ञ तथा बैंकरहरूसँग कुरा गर्दा हामीले कर्जा प्रवाह हुन नसक्नुका केही कारणहरू संक्षेपमा प्रस्तुत गरेका छौं । विश्वास तथा मनोबलको कमी अहिले सबैभन्दा ठूलो समस्या भनेको मनोबलको हो । धेरै बैंकर तथा विज्ञहरूले उद्योगी व्यवसायी, उपभोक्ता तथा बैंकरमा पनि विश्वास र मनोबलको अभाव रहेको सुनाए । अर्थतन्त्रको चक्र विश्वासले चल्ने गर्छ । तर, अहिले वित्तीय बजारमा एकले अर्कालाई विश्वास नगर्ने अवस्थाको सिर्जना भएको छ । बैंकहरूले ब्याजदर घटाए पनि फेरि अर्को महिना बढाउने हो कि भन्ने शंका ऋणीमा छ । यो अवस्थाको सिर्जना बैंकरले नै गरेका हुन् । किनकि ब्याजदरको अस्थिर नीतिले ऋणीहरू आजित छन् । ७ प्रतिशत ब्याजमा लिएको ऋण १४ प्रतिशतसम्म पुगेका अनुभवहरू व्यवसायीमा पर्याप्त छन् । त्यसैले पनि अहिले व्यवसायीले जोखिम लिन चाहिरहेका छैनन् । नियामकको अस्थिर नीति पनि यसको एउटा महत्त्वपूर्ण कारण हो । ऋणको भारी  व्यवसायीहरूलाई अहिले समस्या भनेको ऋणको छ । विगतमा लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न ऋणीहरूलाई समस्या भइरहेको छ । नियमित किस्ता भुक्तानी गर्न समस्या भइरहेको बेला ऋणीले थप ऋण लिन चाहिरहेका छैनन् । अर्को समस्या भनेको ऋणीले लिएको ऋण तिर्न नसक्दा धितो लिलाम भएको छ । आफूसँग पर्याप्त सम्पत्ति तथा धितो नभएकोले पनि व्यवसायीहरूले व्यवसाय विस्तार तथा नयाँ व्यवसायका लागि ऋण लिन सकिरहेका छैनन् । यो अवस्थामा घट्दो वा बढ्दो ब्याजदरले ऋणीलाई कुनै महत्त्व राख्दैन । व्यापार व्यवसायमा कमी अहिले बजारमा नयाँ व्यवसाय थालनी भएको तथा उद्योगीले नयाँ उद्योग खोलेको समाचार तथा सूचना बिरलै सुनिन्छन् । जब बजारमा नयाँ लगानीकर्ता भित्रिन्छन्, उनीहरूले लिने भनेको बैंकबाट ऋण नै हो । बैंकबाट ऋण लिएर नै व्यवसाय सुरु गर्छन् । तर, अहिले बजारमा नयाँ व्यवसाय आउन सकेका छैनन् । लगानीका लागि अवसरहरू पनि सीमित छन् । सरकारले लगानी सम्मेलन र पूर्वाधार सम्मेलन गरेपनि त्यसले एउटा निचोड निकाल्न सकेको छैन । विदेशी लगानीकर्ताहरू भित्रिन सकेका छैनन् । देशमा भएका विदेशी लगानीकर्तालाई पनि अनेक किसिमबाट दुःख दिने काम भइरहेको व्यवसायीहरूले गुनासो गरेका छन् । त्यसकारण पनि नयाँ व्यवसायी बजारमा छिर्ने हिम्मत गर्न सकिरहेका छैनन् । सरकारले लगानीका लागि नयाँ क्षेत्रहरू पनि पहिचान गर्न सकेको छैन । जब देशमा नयाँ लगानीका क्षेत्रहरू पहिचान हुँदैनन्, व्यवसायीले पनि कुन क्षेत्रमा लगानी गर्ने भनेर भेउ पाउँदैनन् र बैंकबाट कर्जा पनि प्रवाह हुन सक्दैन । लगानीको जोखिम वर्तमान अर्थतन्त्रको सकस समाधान हुन सकेको छैन । यो समयमा नयाँ व्यापार व्यवसाय सुरु गर्ने आँट व्यवसायीमा देखिँदैन । व्यवसाय सञ्चालन गरिरहेका उद्योगी व्यवसायीले पनि सोचेअनुरूप प्रतिफल पाउन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाले पनि सेयरधनीलाई लाभांश दिन सकेका छैनन् । प्रतिफल नपाउने डरले पनि व्यवसायीले नयाँ व्यवसाय गर्ने तथा व्यवसाय विस्तार गर्न सकिरहेका छैनन् । अधिकांश ठूला व्यवसायीको लगानी सेयर बजारमा पनि छ । अहिले सेयर बजार पनि घटिरहेको छ । सेयर बजार घट्दा लगानीकर्ताले लगानी गुमाइरहेका छन् । त्यसले पुँजी निर्माणमा असर गरिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रमा पर्दा आर्थिक गतिविधि चलायमान हुन नसकेका हुन् । नीतिगत अस्थिरता नेपाली वित्तीय बजारको महत्त्वपूर्ण समस्या भनेको नीतिगत अस्थिरता हो । राजनीतिक अस्थिरताले नेपालमा नीतिगत अस्थिरताको समस्या सिर्जना गरिरहेको छ । विभिन्न समय व्यक्तिपिच्छे तथा राजनीतिक दलपिच्छे बन्ने नीतिगत व्यवस्थाले उद्योगी व्यवसायीलाई मारमा पारिरहेको छ । एक महिना अगाडि बन्ने नीति एक महिनापछि परिवर्तन हुन्छ । यसले व्यापार व्यवसायमा ठूलो असर गर्छ । नीतिगत अस्थिरताको डरले अहिले व्यवसायीहरूले कर्जाको माग गर्न छोडेको व्यवसायीहरू बताउँछन् । विदेशी लगानीकर्तालाई नीतिगत अस्थिरताले थप नकरात्मक असर पर्ने गर्छ । बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक पनि पछिल्लो समय नीतिगत अस्थिरतामा रुमल्लिरहेकाे छ । तीन महिनाअघि मौद्रिक नीतिमा गरेको व्यवस्था पहिलो त्रैमासिक समीक्षामार्फत परिवर्तन गर्छ । यसले बैंकर मात्रै होइन, व्यवसायीलाई पनि ठूलो असर गर्ने गरेको छ । यिनै कारणले पछिल्लो समय कर्जाको माग हुन छोडेको व्यवसायीहरू बताउँछन् । नेपाल चेम्बर अफ कमर्सको निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि अहिले अहिले व्यवसायीमा मनोबलको कमी, युवाको विदेश पलायन, पुरानै कर्जाको व्यवस्थापन र अस्थिर नीति लगायतका कारणले बैंकबाट व्यवसायीले कर्जाको माग नगरेको धारणा राखे । राजेन्द्र मल्ल । ‘अहिले आन्तरिक अर्थतन्त्र संकुचित बनेको छ, बजारमा वस्तु तथा सेवाको माग घटेको छ, ब्याजदर सिंगल डिजिटमा भएपनि कहिले यसको दोब्बर पुग्छ ठेगान नै हुँदैन, दैनिक २१ सय युवा विदेश गइरहेका छन्, यसले गर्दा व्यवसायीमा मबोबल उच्च राखेर काम गर्ने वातावरण छैन,’ उनले भने, ‘त्यसकारण पनि कर्जाको माग घटेको हुन सक्छ ।’ निवर्तमान अध्यक्ष मल्लका अनुसार सरकारले यस्तो अवस्था स्थिर नीति ल्याउन आवश्यक छ । ‘सरकारले अस्थिर नीति ल्याउँछ, समयमै सुनुवाइमै पनि हुँदैन, विकास बजेट खर्च हुन सकेको छैन । विकास बजेटको अधिकांश रकम चालु खर्चमै सकिरहेको छ, अब सरकारले व्यवसायीको मनोबल बढाउन आवश्यक छ,’ उनले भने, अब दुई ठूला राजनीतिक दल सम्मिलित सरकारले श्वेतपत्र जारी गर्नुपर्छ ।’ नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५२ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असारदेखि हालसम्म वाणिज्य बैंकको कुल ६५ अर्ब रुपैयाँ कर्जा बढेको देखिन्छ । गत असारमा बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । वाणिज्य बैंकको ऋण प्रवाह मात्रै ४६ खर्ब ३१ रुपैयाँ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेल पनि सबै सहज हुँदा पनि कर्जा प्रवाह किन हुन सकेको छैन भन्ने विषयमा आफू पनि अनभिज्ञ नै भएको धारणा राख्छन् । ‘अहिले सबै विषय सहज छ, अर्थतन्त्र सुधारको दिशामा छ, ब्याजदर घटेको घट्यै छ, बैंकमा पर्याप्त तरलता छ । राष्ट्र बैंकले पनि खुकुलो नीति अंगिकार गरेको छ । तर, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन सकेको छैन,’ अब सबैले समस्या के हो पहिचान गर्नुपर्छ, ’ उनले भने । उनले अब चाडपर्व पनि लागेको र निर्माण क्षेत्रको ठेक्कापट्टाको समय पनि आएकोले अर्थतन्त्र चलायमान हुन सक्ने विश्वास व्यक्त गरे ।

जसले आफूलाई घर बनाएनन्, अरूलाई उद्यमी बनाए

काठमाडौं । दुई दशकअघि गुल्मीबाट व्यापार–व्यवसाय गर्न उनी काठमाडौं आएका थिए । सामान्य काममा हात हालेका उनले दिनरात नभनी अथक मिहिनेत र इमान्दारिताका साथ कर्म गर्दै गए । बिस्तारै सफलता पनि हात लाग्दै गयो । काममा उनले कहिल्यै सम्झौता गरेनन् । कामलाई सानो वा ठूलो पनि भनेनन् । मिहिनेत र परिश्रम नै कर्म हो भन्ने मन्त्र सधैं आत्मसाथ गरेर अगाडि बढे । यही मन्त्रले उनलाई सफलताको उचाइतिर अगाडि बढाउँदै लग्यो । र, एकदिन त्यो उनको पोल्टामा परिछाड्यो । जुन, सायद उनले सोचेका पनि थिएनन् होला । अथक मिहिनेत र कडा परिश्रमबाट उनले ‘नाम र दाम’ दुवै कमाए । पैसा कमाएपछि आरामदायी जिन्दगी बिताउने रहर मानवीय स्वभाव हो । पैसा कमाएपछि घरजग्गा जोडौं, देशविदेश शयर गरौं, अब धेरै दुःख किन गर्ने भन्ने भावना आममानिसमा उत्पन्न हुनु अस्वाभाविक पनि होइन । तर, गुल्मीका शंकर भण्डारी भने यो मामलामा ‘अपवाद’ देखिन्छन् । व्यापार–व्यवसाय नै गर्न भनेर काठमाडौं झरेका शंकरले आफन्तसँगै काम सिके । लगनसाथ आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा प्रवेश गर्न ज्ञान सिके, सिप पनि सिके । विडम्बना, आफन्तसँगको उनको सहयात्रा त्यति लामो समय अगाडि जान सकेन । तर, हस्पिटालिटी क्षेत्रमा अहिले पाएको सफलतामा तिनै आफन्तको देन भनेर शंकर भुल्न सक्दैनन् । ‘अहिले पनि म भाडाको घरमा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेस्टुरेन्ट खोल्ने नै मेरो इच्छा हुन्छ, मेरो चाहना नै धेरैलाई व्यवसायी बनाउने, युवालाई रोजगारी दिलाउने र देशमा नै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने हो,’ शंकरको अठोट छ । ‘मलाई धेरै पैसा कमाउँ, लक्जरियस लाइफ बिताउँ भन्ने नै लाग्दैन,’ शंकर सादगी सुनिन्छन्, ‘म एक सामान्य मान्छे हुँ, मैले कमाएको पैसा म सकेसम्म बिजनेसमै लगानी गरेर यसलाई अझ विस्तार गरौं भन्ने नै रहन्छ ।’ होटल–रेस्टुरेन्टबाट कमाएको पैसा घरजग्गा किन्ने, उपभोगमा खर्च गर्ने सोच उनमा कहिल्यै आएन । ‘अहिले पनि म भाडाको घरमा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेस्टुरेन्ट खोल्ने नै मेरो इच्छा हुन्छ, मेरो चाहना नै धेरैलाई व्यवसायी बनाउने, युवालाई रोजगारी दिलाउने र देशमा नै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने हो,’ शंकरको अठोट छ । २२ वर्षअघि २०५९ साल । काठमाडौं सुन्धारामा शंकरले आफन्तसँगको साझेदारीमा होटल सुरु गरे । काम गर्दै जाने क्रममा लामो समय सहकार्य नहुने देखिएपछि उनले होटलको साझेदारी छाडे । होटल छाड्दा उनीसँग ८० हजार रुपैयाँ थियो । त्यही पैसाले सुन्धारामै किराना पसल खोल्ने निर्णय गरे । ‘पसल सुरु गर्दा ८० हजार मात्रै थियो, त्यसमा पनि ३५ हजारको त समान राख्न र्याक नै बनाएँ,’ शंकर सम्झिन्छन्, ‘बाँकी ४५ हजार रुपैयाँको सामान हालेँ ।’ पसल उनले सोचेभन्दा राम्रो हुन थाल्यो । त्यो किराना पसल पाँच वर्ष चलाए । त्यो बेला उनको पसल सुन्धारा क्षेत्रकै ‘उत्कृष्ट’ पसल भएको उनी सम्झिन्छन् । ‘मैले यस क्षेत्रका सबैजसो होटललाई किराना सामान सप्लाई गर्थें,’ उनी भन्छन्, ‘त्यसबेला दैनिक डेढ लाखसम्मको व्यापार पनि भयो ।’ किराना पसलबाटै राम्रो व्यापार भए पनि उनको मन भने होटल व्यवसाय कसरी गर्ने भन्नेमै डुलिरहेको थियो । ‘किराना पसल मेरो लक्ष्य होइन, मैलै त योभन्दा राम्रो गर्न सक्छु भन्ने हिम्मत थियो,’ शंकर तत्कालीन योजना सुनाउँछन्, ‘त्यसपछि मैले फेरि होटल व्यवसायमा हात हाल्ने निर्णय गरेँ ।’ शंकरले २०६३ सालमा सुन्धारामै एउटा घर भाडामा लिएर होटल स्थापना गरे । उनको मनमा व्यवसाय गरेपछि ‘ब्रान्ड’ स्थापित गर्नुपर्छ भन्ने सधैं हुन्थ्यो । उनले ‘भोलि म नरहे पनि मैले सुरु गरेको ब्रान्ड रहोस्’ भनेर होटलको नाम राखे ‘प्रेसिडेन्ट होटल’ । उनले होटल सुरु गर्ने समय देशमा पनि विभिन्न आन्दोलन भइरहेका थिए । देशको राज्य सत्ता परिवर्तनसँगै शंकर पनि व्यवसाय गरेर जीवन परिवर्तन गर्ने सुरुमा थिए । ‘होटल सुरु गर्ने बेला पनि मसँग धेरै पैसा थिएन,’ उनी सम्झिन्छन्, ‘६ तलाको घरको दुई तलालाई मैले होटलमा रूपान्तरण गरेँ, बाँकी रहेका चार तलामा चिनेका साथीभाइसँग सरसापट गरेर त्यसलाई बढाउँदै लगेर एक वर्षमा पूर्ण क्षमतामा होटल सञ्चालनमा ल्याएँ ।’ निरन्तरको संघर्ष र मिहिनेतमा उनले सुरु गरेको होटलले राम्रो गति लिन थाल्यो । त्यसपछि यो गतिलाई थप उचाइ दिनुपर्छ भन्ने लाग्यो । २०६५ सालमा उनले फेरि सुनधारामै अर्को घर लिएर थप होटल सुरु गरे । दुवै होटलबाट सफलता मिल्दै गएपछि शंकरले २०६९ सालमा रुपन्देही (लुम्बिनी) मा १५ कोठाको होटल सुरु गरे । त्यसपछि २०७२ सालमा बालाजुमा २० कोठाको अर्को होटल पनि सञ्चालनमा ल्याए । गुल्मीको एक मध्यम वर्गीय परिवारमा जन्मेहुर्केका शंकरको परिवारको व्यापार–व्यवसायमा टाढासम्म कुनै साइनो थिएन । पुस्तादेखि कृषि पेसा अँगाल्दै आएको परिवारमा होटल व्यवसायमा एकपछि अर्को सफलता हासिल गर्दै आएका शंकर मात्रै थिए । यो सफलता होटलमा मात्रै सीमित राख्न चाहेनन् शंकरले । त्यसपछि शंकरको मन रेस्टुरेन्ट व्यवसायतिर मोडियो । २०७३ सालमा सुन्धारामा ‘पे्रसिडेन्ट सेकुवा’ रेस्टुरेन्ट सञ्चालन गरे । ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ को नारा राखेर सञ्चालनमा ल्याइएको प्रेसिडेन्ट सेकुवाले छोटो समयमै ग्राहकको मन जित्न सफल भएपछि यसका आउटलेट पनि खुल्दै गए । करिब दुई दशकको यात्रामा प्रेसिडेन्टका १४ आउटलेटमा सञ्चालनमा छन् । सेकुवाको स्वादले धेरैको मन जितेपछि शंकरलाई थप रेस्टुरेन्ट खोल्ने हौसला मिल्दै गयो । उनले क्रमशः कलंकीको रविभवन, पुरानो बानेश्वरको बत्तीसपुतली, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा सुरु गरे । काठमाडौंमा मात्रै २० वटा आउटलेट खोल्ने शंकरको योजना छ । प्रेसिडेन्ट सेकुवा काठमाडौंमा ‘स्थापित ब्रान्ड’ भएको उनको दाबी छ । प्रेसिडेन्टकै नामबाट बेकरी पनि सञ्चालनमा ल्याएका छन् । आज  (असोज ५ गते) शनिबारदेखि सिनामंगल एयरपोर्टमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । यसलगत्तै लुम्बिनीमा मायादेवी मन्दिरबाट ५ मिनेट दुरीमा प्रेसिडेन्ट होटल सञ्चालनमा ल्याउँदैछन् । साझेदारी बढाउँदै व्यावसायिक यात्राले सफलता पाउँदै गएपछि ‘अब एक्लै धान्न सकिँदैन, साझेदार पनि चाहिन्छ’ भन्ने शंकरलाई लाग्यो । त्यसपछि उनको प्रेसिडेन्ट बिजनेस ग्रुपमा विभिन्न साझेदार जोडिए । साझेदार संख्या अहिले २५ पुगेको छ । प्रेसिडेन्ट बिजनेस ग्रुप र गैरआवासीय नेपालीहरूको सहकार्यमा नेपालभरि १ अर्ब रुपैयाँ लगानीमा एयरपोर्टमा खुलेको होटलसहित १० होटल खोल्न लागिएको शंकर खुसीसाथ सुनाउँछन् । ‘कुल १ अर्बको लगानीमा आगामी दुई वर्षभित्र नेपालभरि १० नयाँ होटल र रेस्टुरेन्ट खोल्ने घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं, यी होटल काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी, सुर्खेत, विराटनगर, जनकपुर लगायत प्रमुख सहरमा बन्नेछन्,’ शंकर योजना सुनाउँछन्, ‘गैरआवासीय नेपाली र प्रेसिडेन्ट बिजनेस ग्रुपबीचको यस सहकार्यले नेपालको होटल उद्योगलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास छ ।’ प्रेसिडेन्ट ग्रुपमा हाल करिब ३ सय युवाले रोजगारी पाएका छन् । त्यसमा २५ देखि ३० जना फरक क्षमता भएका व्यक्ति छन् । शंकरसँग सुरुवातदेखि जोडिएका धेरै कर्मचारी साथीहरू नै उनको बिजनेसमा साझेदार छन् । ‘हामीले धेरै ठूला होटलभन्दा साना होटल र रेस्टुरेन्टलाई फोकस गरेर काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘यसमा नै सफलता हासिल गर्ने हाम्रो लक्ष्य हो ।’ प्रेसिडेन्ट सेकुवामा टिपिकल नेपाली स्वादका विभिन्न आइटम पस्किने जमर्को गरेको शंकर बताउँछन् । नेपाली खाना र त्यसको स्वादलाई इन्डियन, कन्टिनेन्टल, चाइनिज, इटालियन, थाई खानाहरूले पनि ग्राहकलाई सन्तुष्ट पार्ने कोसिस रहेको उनी बताउँछन् । ‘नेपाली खाना स्वाद मात्रै नभएर पहिचान समेत भएकाले यसैलाई हामीले सिग्नेचर डिसका रूपमा विस्तार गर्दै लगेका छौं,’ उनी भन्छन्, ‘प्रेसिडेन्ट सेकुवामा आउने ग्राहकलाई हामी सकेसम्म नेपाली खाना खान प्रेरित गर्छौं, पिज्जा, बर्गर हाम्रो पहिचान होइन, त्यसैले हामीले प्रेसिडेन्ट सेकुवामार्फत नेपाली मौलिक खाना पस्केका हौं । प्रेसिडेन्टले खानाको क्वालिटी, हाइजिन र क्वान्टिटीलाई मेन्टेन गरेको छ ।’ पर्यटनमा शंकरले देखेको सम्भवाना विगत कोट्याएर हेर्ने हो भने नेपालको पर्यटन क्षेत्रमा धेरै ठूला दुर्घटना भए । यसले पनि यस क्षेत्रमा धेरै असर पारेको शंकर बताउँछन् । तर, नेपालमा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएकाले आत्तहिाल्नुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘हरेक कुराका नकारात्मक र सकारात्मक पक्ष हुन्छन्, कोभिडपछि पर्यटन क्षेत्र चलायमान बन्दैछ, कमीकमजोरी त अझै पनि छन्,’ उनी भन्छन्, ‘नेपालीहरूमा पनि रेस्टुरेन्टमा खाने, घुम्ने, रमाउने कल्चरमा वृद्धि हुँदै गएको छ, जुन हिसाबले अन्य देशमा छ त्यो चाहिँ अहिले नभए पनि भोलिका दिनमा हुन्छ भन्नेमा हामी आशावादी छौं ।’ पाँच–सात वर्षदेखि नेपालको हस्पिटालीटी क्षेत्रमा काम गर्ने व्यवसायीहरूले एकाध बाहेक खासै मुनाफा आर्जन गर्न नसकेको शंकर बताउँछन् । तर, बिस्तारै यस क्षेत्रले फड्को मार्ने र धेरै मुनाफा आर्जन गर्नेमा उनी विश्वस्त छन् । ‘यो क्षेत्र आज लगानी गरेर भोलि नै प्रतिफल आइहाल्ने क्षेत्र होइन,’ उनी भन्छन्, ‘यसमा जसले धैर्य गर्न सक्यो, प्यासनमा अडिग रहन सक्यो, त्यसले नै प्रगति गर्न सकेको देख्दै आइरहेका छौं ।’ पछिल्लो समय नेपालको हस्पिटालिटी क्षेत्रमा ठुल्ठूला ब्रान्ड र लगानी भित्रिने क्रम जारी छ । भएका नाम चलेका चारतारे–पाँतारे होटल बन्द भएका पनि छन् । यो प्रस्पिर्धात्मक क्षेत्र हो । यहाँ आउने जाने क्रम चलिरहने शंकर बताउँछन् । ‘नेपाल आउने पर्यटक सबै पाँचतारे, चारतारेमा बस्ने मात्रै हुन्छन् भन्ने छैन, साना तथा मझौलामा बस्ने पर्यटक पनि आउँछन्,’ उनी भन्छन्, ‘यसै कारणले पनि यस क्षेत्रका सानादेखि ठूला व्यवसायीलाई व्यवसायमा थप हौसला मिलेको छ, दुर्घटनाले केही असर पारेको छ तर यसको असर लामो समय रहँदैन ।’ भर्खरै नेपाल पर्यटन बोर्डले नयाँ सीईओ पाएको छ । नेपालको पर्यटन प्रचार प्रसारमा बोर्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा शंकर आशावादी छन् । एयरपोर्टमा प्रेसिडेन्ट होटल काठमाडौंको एयरपोर्ट गेट नजिकै शनिबारदेखि सञ्चालनमा आउन लागेको प्रेसिडेन्ट होटलमा करिब ५ करोड लगानी रहेको छ । २५ कोठा रहेको उक्त होटलले ग्राहकलाई सस्तोमा सेवा उपलब्ध गराउने शंकर बताउँछन् । नयाँ होटलले यात्रुका लागि विकल्पहरूको रोजाइ सुनिश्चित गर्ने उनले विश्वास व्यक्त गरे । उक्त होटलमा पर्यटकहरूले तीनतारे र चारतारे आवास सेवा प्राप्त गर्नेछन् । कोठाको शुल्क पनि बजारको प्रतिस्पर्धात्मकताका आधारमा चारदेखि पाँच हजार रुपैयाँको बीचमा राखिएको उनी बताउँछन् ।

सहकारी सञ्चालकमाथि प्रहरीको विभेद : पक्राउ लगत्तै काँग्रेस निकटलाई सार्वजनिक, एमाले निकटलाई गुपचुप

काठमाडौं । गत बुधबार परिचित सहकारीकर्मी तथा आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गर्यो । ३० हजार बढी बचकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ भएका उनको हातमा हतकडी लागेपछि सहकारी अभियान नै तरंगित बन्यो । लामो समयदेखि सहकारी क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा योगदान गरेका उप्रेतीको हिरासत बसाइँले धेरै अभियानकर्मी चिन्तित पनि बनेका छन् । केबी उप्रेती । राष्ट्रिय सहकारी बैंकको अध्यक्ष समेत रहेका उनी नेकपा एमाले निकट मानिन्छन् । एमालेको सहकारी विभागका सचिव रहेका उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रहरीले पक्राउ गरेपछि उनलाई प्रहरीले सार्वजनिक गरेर सबै विषयवस्तु प्रष्ट पार्छ भन्ने अपेक्षा सञ्चार जगत, अभियानकर्मी र बचतकर्तामा पनि थियो । तर, प्रहरीले उनलाई सार्वजनिक गरेन । उनी अहिले प्रहरी हिरासतमै छन् । उप्रेतीभन्दा अगाडि प्रहरीले अर्का ठूला सहकारीकर्मी तथा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको थियो । सो सहकारी संस्थाका सीईओ भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीसहित सो सहकारीका अन्य सञ्चालकविरुद्द गत माघमा महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको थियो । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धु्रब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएपछि भण्डारी लगायतका सञ्चालकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यलले जानकारी दिए । सीईओ सुरेन्द्र भण्डारीसहित अन्य सञ्चालक । सरकारले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त संस्थाको रुपमा घोषणा पनि गरेको छ । जसको व्यवस्थापकीय नेतृत्व सुरेन्द्र भण्डारीले गरिरहेका छन् । अध्यक्षका रूपमा अमरदास श्रेष्ठलाई अगाडि सारेपनि सहकारीमा सुरेन्द्रकै हालिमुहाली थियो । अहिले अध्यक्ष अमरदास पनि पक्राउ परेका छन् । प्रहरीले असार १४ गते शुक्रबार पक्राउ गरेर असार १६ गते आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार थिए । लालिगुराँस सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि परेको छ । यस्तै, ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा असार २ गते पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापासहित चार जना सञ्चालकलाई पक्राउ गरेर सोही दिन सार्वजनिक गर्‍यो । तेजविक्रम थापासहित अन्य सञ्चालक । पक्राउ पर्नेमा अध्यक्ष थापासहित सन्जना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा थिए । राजकर्णिकार थापाकी श्रीमती हुन् । सहकारीका सञ्चालकले बचकर्ताको बचत अपचलन गरेको भन्दै पक्राउ गरिएको प्रहरीको भनाइ थियो । सरकारले यो सहकारीलाई २०८० माघमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीका २ हजार ५३१ जनाले बचत फिर्ताका लागि उजुरी दिएका छन् । थापा पनि नेपाली काँग्रेस निकट नै मानिन्छन् । सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि यस सहकारीको नाम उल्लेख छ । सीबी लामा । यस्तै, गत जेठ १८ गते सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा सहकारी सञ्चालक चन्द्रबहादुर (सीबी) लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो । उनलाई पनि प्रहरीले सार्वजनिक नै गरेको थियो । उनी अहिले कारागारमा छन् । उनीमाथि ८ अर्ब रुपैयाँ बचत अपचनको आरोप छ । कान्तिपुर सहकारी गत फागुन ३ गते र पशुपति सेभिङ एण्ड क्रेडिट गत साउन १ गते समस्याग्रस्त घोषणा भएको हो । लामा नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् । उनी काँग्रेसबाट यसअघि समानुपातिक तथा प्रत्यक्ष दुवैतर्फ उम्मेदवारका लागि पनि सिफारिस भएका थिए । सहकारीका बचतकर्ताको ठूलो रकम अपचलन गर्ने मध्येका अर्का सहकारीकर्मी हुन् केदारनाथ शर्मा । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० असारमा पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । बचतकर्ताको रकम ठगेको आरोपमा उनी श्रीमतीसहित जेलमा छन् । उनले पनि शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी सहकारीका करिब ३८ हजार बचतकर्ताको ११ अर्ब रुपैयाँ बढी ठगेको आरोप छ । उनको दुइटै सहकारीमा समस्या आएको लामो समय भयो । केदारनाथ शर्मा । प्रहरीले उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । उनी भारतको मुम्बईमा एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बुझिएको थियो । राजनीतिक रूपमा ठूलो पहुँच भएका उनले पनि राजनीतिक पहुँचकै आधारमा बचतकर्ताको बचत दुरूपयोग गरेको बुझिन्छ । शर्मा शिवशिखर सहकारीको पूर्वअध्यक्ष हुन् । पूर्वअध्यक्ष भए पनि सहकारीको साँचो भने उनको हातमा थियो । उनले सहकारीकै रकमलाई चार दर्जन बढी कम्पनीमा लगानी गरेका थिए । उनी पनि नेपाली काँग्रेस निकट मानिन्छन् । उनी पनि अहिले श्रीमती गिता शर्मासँगै जेलमा छन् । रबिन्द्र चौलागाईं । यस्तै, काँग्रेस निकट नै मानिने अर्का सहकारीकर्मी रबिन्द्र चौलागाईंलाई पनि प्रहरलिे गत वर्षको असोजमा पक्राउ गरेर सार्वजनिक नै गरेको थियो । बचतकर्ताको बचत अपचलनको आरोप लागेका चौलागाईंलाई सीआईबीले गत वर्षको असोजमा पक्राउ गरेर सार्वजनिक गरेको थियो । उद्यपि, उनलाई पत्रकार सम्मेलन भन्दा पनि प्रेस विज्ञप्ति जारी गरेर सीआईबीले सार्वजनिक गरेको थियो । अहिले पनि उनी कारागारमै छन् । इच्छाराज तामाङ । यस्तै, सहकारीको बचतकर्ताको बचत अपचलन गरेर जेल चलान भएका सहकारीकर्मी हुन् इच्छाराज तामाङ । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका बचतकर्ताका रकम हिनामिना गरेको आरोपमा उनलाई सीआईबीले २०७८ असोजमा पक्राउ गरेको थियो । नेकपा एमालेका नेता समेत रहेका उनी समानुपातिक सांसद भएर पनि काम गरिसकेका थिए । तर, उनलाई प्रहरीले सार्वजनिक नै गरेन । अहिले उनीसहित उनकी श्रीमती सिर्जना शाक्य पनि जेलमै छन् । उनीहरुमाथि ५ अर्ब बढी बचत अपचलनको आरोप छ । सीआईबीले आफूले पक्राउ गरेकालाई विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने बताए पनि उनलाई भने सार्वजनिक नै गरेन । सुधिर बस्नेत । यस्तै, सुरुमा सबैभन्दा ठूलो सहकारी ठगीको आरोप लागेका व्यक्ति हुन् शुधिर बस्नेत । उनलाई पनि प्रहरीले ओरेण्टल को–अपरेटिभ लिमिटेडका बचतकर्ताको बचत अपचलन गरेको भन्दै २०७३ मा पक्राउ गरेको थियो । सुरुमा बचतकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरको आरोप लागे पनि पछि सावाँ ब्याजसहित १६ अर्ब ठगेको आरोप उनीमाथि छ । अहिले पनि उनले बचतकर्ताको सवा ३ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । सरकारले सो सहकारीलाई २०७९ मा समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको थियो । संसदीय छानबिन समितिको टीओआरमा पनि यो सहकारी परेको छ । बस्नेत पनि काँग्रेस निकट मान्निथे । उनले काँग्रेस नेतृ सुजता कोइरालासँग व्यावसायिक साझेदारी गरेको पनि खुलेको थियो । प्रहरीले पक्राउ लगत्तै उनलाई सार्वजनिक नै गरेको थियो । ओरेण्टल सहकारी संस्था २०६९ सालदेखि नै बन्द छ । सहकारी ठगी र अन्य लेनदेन तथा ठगी मुद्दामा संस्थाका सञ्चालक बस्नेत तीन वर्ष जेल परेर रिहा भएका थिए । पछिल्लो समय प्रहरीले ठूला सहकारीको बचतकर्ताको बचत अपचलन गरेको आरोपमा धमाधम सञ्चालकहरूलाई पक्राउ गरिरहेको छ । सहकारी अभियानकर्मीहरूले पनि प्रहरीले एमाले निकट सहकारी सञ्चालकलाई सार्वजनिक नगरेर काँग्रेस निकटलाई मात्रै सार्वजनिक गरिरहेको गुनासो गरेका छन् । नेकपा एमाले निकट सञ्चालकप्रति प्रहरी संगठन पनि उदार बनेको र काँग्रेसका सहकारीकर्मीप्रति आक्रामक बनेको एक सहकारी अभियानकर्मी बताउँछन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल भने पृथक धारणा राख्छन् । उनी कुन सञ्चालक कुन राजनीतिक दल निकट भन्ने सेकेण्डरी विषय भएपनि पहिलो विषय सबै सहकारीकर्मी भएको बताउँछन् । उनी यो सकसको समयमा सबैले सहकार्य गरेर अगाडि बढ्नु पर्ने र राज्यले पनि सोही ढंगले सहजीकरण गरिदिनु पर्ने अवस्थामा धमाधम पक्राउ गरेर वातावरण नै बिगार्ने काम गर्न नहुने बताउँछन् । ‘अहिलेको विषम परिस्थितिको समयमा सबैले सहकार्य गर्न आवश्यक छ, सबैको समन्वय गरेर यस क्षेत्रको सुधार गर्न जरुरी छ । तर, धमाधम पक्राउ गरेर वातावरण नै बिगार्नु हुँदैन,’ उनले भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटी कुनै पनि व्यक्ति राजनीतिक दल निकट भनेर प्रहरीबाट उन्मुक्ति दिने वा जगाउने भन्ने विषय नहुने धारणा राख्छन् । ‘हामीले अपराधलाई हेर्छौं, कुन व्यक्ति कुन राजनीतिक दल निकट भन्ने विषयले हामीलाई फरक पर्दैन, सीआईबीले पक्राउ गरेर पत्रकार सम्मेलनभन्दा पनि प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने गरेको छ,’ उनले भने । दान बहादुर कार्की । यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्य पनि प्रहरी संगठनबाट त्यस्तो विभेद नहुने धारणा राख्छन् । ‘को व्यक्ति कुन पार्टीमा आवद्ध छ भनेर हामीलाई मतलब हुँदैन, हामीलाई कुनै पनि पार्टीसँग सरोकार भएन, हामीले सानो परिमाणका सहकारीलाई सार्वजनिक गर्दैनौं, ठूला सहकारीको ठगीको विषय पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छौं,’ उनले भने । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले पनि प्रहरीले कानुन सम्मत काम गर्ने गरेको धारणा राखे । ‘को कुन पार्टीको हो हामीलाई जानकारी नै हुँदैन, हामी कानुनसम्मत काम गर्छौं,’ उनले भने । जो पक्राउ नै पर्दैनन् बचतकर्ताको अर्बौं रकम अपचलन गरेर फरार रहेका केही सहकारी सञ्चालकलाई नेपाल प्रहरीले पक्राउ नै गर्न सकेको छैन । बचतकर्ताको बचत अपचलन गरेको आरोप लागेका जितेन्द्रबहादुर (जीबी) राई, भरत महर्जन, देवकुमार नेपाली र रामबहादुर गौतम पक्राउ नै परेका छैनन् । सरकारले गौतमको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको छ भने सो सहकारी संसदीय छानबिन समितिको टिओआरमा पनि परेको छ । सहकारीका बचतकर्ताको बचत अहिलेसम्म अध्यक्ष गौतमले फिर्ता गर्न सकेका छैनन् । सरकारले २०८० को चैतमा गौतमश्रीलाई समस्याग्रस्त घोषणा गरेको थियो । यस सहकारीका १६ सय बचतकर्ताले ३ अर्ब रुपैयाँ बचत फिर्ताको माग गरेका छन् । सहकारी क्षेत्रको नियामक सहकारी विभाग र मन्त्रालयका पदाधिकारीहरूसँग पनि गज्जवको सम्बन्ध भएका अध्यक्ष गौतमले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै हात उठाएर फरार समेत भएका थिए । उनले उतैबाट लामो समय वक्तव्यबाजी पनि गरे । उतैबाट सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने बचन दिए । त्यो बिचमा नत नियामक नत अन्य सरकारी निकायबाट उनलाई बचत फिर्ताका लागि प्रतिबद्धता गराउने प्रयास हुन सकेन । पछि उनी नेपाल फर्किए । नेपाल फकिँदा उनी बचतकर्ताको पैसा अपचलन ठगको रूपमा होइन विदेशमा कुनै खेल खेलेर स्वर्णपदक जितेर फिर्ता भएको खेलाडीको जस्तो खादामाला हालेर फर्किए । त्यो उनको सरकारसँगको हिमचिम र शक्ति संघर्ष अभ्यस्त भएको कारणले हो । माओवादी निकट मानिने गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ठूलो लाभ यतिबेलै लिए । परिणमस्वरुप उनी पक्राउ समेत पर्न सकेका छैनन् । अब सत्ता गठबन्धन परिवर्तन भएपछि भने उनको त्रासको मिटर बढ्ने देखिन्छ । क्रमश: जीबी राई, भरत महर्जन, रामबहादुर गौतम र देवकुमार नेपाली । यस्तै, सबैभन्दा बढी रकम ठगेको आरोप जीबी राईलाई पनि लागेको छ । राईले हाम्रो नयाँ कृषि सहकारी संस्था, सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको ८ अर्ब बढी बचत ठगेको आरोप छ । उनी हाल फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । सरकारले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सुर्यदर्शन र स्वर्णलक्ष्मी सहकारी संसदीय छानबिन समितिको टीओआरमा परेका छन् । यस्तै, सुमेरु बचत तथा ऋण सहकारी संस्थाको अर्बौं बचत ठगेर अध्यक्ष भरत महर्जन पनि फरार छन् । उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनी विदेशमा रहेको बुझिएको छ । महर्जन काँग्रेस निकट मानिन्छन् । यस्तै, इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीमाथि पनि सहकारीका बचतकर्ताको अर्बौं रकम ठगेको आरोप छ । उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी हाल ढोरपाटन नगरपालिकाका मेयरका रुपमा कार्यरत छन् । उनले पनि बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । लामो समय उनी फरार पनि भए । पछि उनले सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति बिक्री गरेर बचतकर्ताको बचत फिर्ता दिने प्रतिबद्धता पनि गरेका थिए । उनीविरुद्द उजुरी परे पनि उनलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । करिब ३०० पक्राउ नेपाल प्रहरीले सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा करिब ३ सय जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले बचत ठगीको प्रकरणमा मुछिएका करिब ३०० जना मात्रै पक्राउ गरेको बताएको छ भने साढे ८ सय जना फरार रहेको जानकारी दिएको छ । सीआईबीले मात्रै चालु आर्थिक वर्षमा २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । तीन वर्षको अवधिमा सीआईबीले ६२ जनालाई पक्राउ गरेको तथ्यांक उपलब्ध गराएको छ । सीआईबीले यस वर्ष आर्जन बहुउदेश्यीय सहकारी संस्थाका ८ जना, देउराली बचत तथा ऋण सहकारी संस्थाका ३ जना, साई स्वागत बचत ऋण सहकारी संस्थाका १ जना, नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी संस्थाका २ जना, साउथ वेस्टर्न स्टेट बचत तथा ऋण सहकारी संस्थाका एक जना, रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका ३ जना र हाम्रो नयाँ कृषि सहकारी संस्थाका ५ जना सञ्चालक गरी कुल २३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।