टायल बजारमा लेमिनारको उदय, १२ अर्बको आयात विस्थापित गर्ने लक्ष्य
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि श्री एयरको उडान समय मध्यान्न १२ः१५ मा थियो तर जहाज उड्दा २ बज्यो । उडान ढिला भएकाले नेपालगञ्जस्थित सिद्धार्थ होटलमा २ बजे खाना खाने कार्यक्रम रद्द गरिएछ । एयरपोर्टबाट मिडिया टुरको गाडी सरासर गुलरिया-८, बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेडमा पुग्यो । उद्योगभित्र छिरेका बसहरू सोझै क्यानटिनको ढोकामा पुगे । स्वादिलो समोसा, पुरी, तरकारी र चियाले सबैको भोक मर्यो । कम्पनीका अध्यक्ष सुब्रत धिताल, सञ्चालक अभिनव चुरिवालसहित कम्पनीका कर्मचारी पत्रकारहरूलाई उद्योग भ्रमण गराउन खटिए । करिब तीन दर्जन पत्रकारका हातमा वाकीटकी थमाए र कानमा एअरसेट लगाइदिए । १२.५ बिगा क्षेत्रफलमा फैलिएको उद्योग भ्रमणका लागि एक घण्टाभन्दा बढी समय लाग्यो । सञ्चालक अभिनव चुरिवालले उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ- विभिन्न प्रकारका माटोहरूलाई प्रशोधन गर्ने, मिश्रण गर्ने, भट्टीमा तताएर ग्यासको रूपमा विकास गर्ने, त्यसलाई पानीमा मिसाउने, त्यसपछि टायलको रूपमा विकास गर्ने, टायललाई पोल्ने, चिस्याउने, पखाल्ने, कलर गर्ने, प्रिन्ट गर्ने, गुणस्तर जाँच गर्ने, प्याकेजिङ गर्ने प्रक्रियादेखि उद्योगभित्र रहेको शोरुमसम्म सबै प्रक्रिया देखाउँदै बेलिविस्तार सुनाए । उनले उद्योगभित्र टायल कसरी बन्छ भनेर मात्र देखाएनन्, टायल कति बलियो छ र कति गुणस्तरी छ भनेर पत्रकारहरूलाई जीवन्त प्रदर्शनीसमेत गरे । उद्योगको पुरै भ्रमण गर्दा कहीं कतै फोटो, भिडियो खिच्न रोकतोक नलगाउनुले उनीहरूको पारदर्शीता र आत्मविश्वासकाे झल्को दियो । सुब्रत धिताल, श्यामसुन्दर खेतान, आशुतोष खेतान, चमकदार खेतान, अभिनव चुरिवालसहितका उद्यमीहरूले एउटा गजबको उद्योग खोलेका रहेछन् । ‘उद्योग राम्रो लाग्यो, यस्ता उद्योगले देश विकासमा मद्दत गर्छ, ’ उद्योग भ्रमणपछि कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवालीले साथीहरूसँग टिप्पणी गरे । लुम्बिनी सेरामिक्स लिमिटेडले गत भदौदेखि लामिनार टायल उत्पादन थालेको छ । देशका प्रमुख सहरमा १०० भन्दा बढी डिपोबाट लेमिनार बिक्री सुरु भइरहको चुरिवालले जानकारी दिए । ४ अर्ब लगानी यस उद्योगमा करिब ४ अर्ब रुपैयाँ लगानी भएको अभिनव चुरिवालले बताए । कम्पनीमा सुब्रत धितालको ३१ प्रतिशत सेयर रहेको छ भने श्यामसुन्दर खेतान, आशुतोष खेतान, चमकदार खेतान र शशि चुरिवालको १५.९ प्रतिशतका दरले सेयर रहेको छ । ५.६ प्रतिशत सेयर अन्य साझेदारसँग रहेको छ । कम्पनीको सञ्चालक समितिमा उल्लेखित पाँचजना मुख्य सेयरधनी र सृजन अर्यालसहित ६ जना रहेका छन् । यस उद्योगमा ३०० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् भने केही वरिष्ठ प्राविधिक कर्मचारी (विदेशीसमेत) आवद्ध रहेका छन् । उत्पादन क्षमता प्रतिवर्ष लगभग ४ करोड १५ लाख वर्ग फुट छ । व्यक्तिगत घर, एयरपोर्ट, कम्प्लेक्स र मल, अस्पताल, अपार्टमेन्ट सबैलाई आवश्यक टायल उत्पादन गर्न थालिएको चुरिवालले बताए । अत्याधुनिक मेसिन, डडेलधुरामा खानी टायल उत्पादनका लागि स्पेन, इटाली, चीन र भारतमा विकसित प्रविधि र मेसिनहरूको प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले डिजिटल प्रिन्टर र गुणस्तर जाँच गर्ने मेसिन इटालीबाट ल्याएको छ । मसी र ग्लेज पनि स्पेन र इटालीबाट ल्याइएको छ । कच्चा पदार्थको रूपमा प्रयोग हुने माटो भारतबाट ल्याउने गरिएको छ । ‘हामीले उत्पादनको सुरुवातमा भारतबाट कच्चा पदार्थ ल्याएका छौं । कच्चा पदार्थ पनि पूर्णरूपमा नेपाली नै प्रयोग गर्ने गरी काम गरिरहेका छौं, ’ चुरिवालले भने, ‘टायल बनाउने माटोको लागि डडेलधुरामा खानीको लाइसेन्स कम्पनीले पाएको छ । हामी छिट्टै उत्खननको प्रक्रियामा जानेछौं ।’ डडेलधुरामा खानी सञ्चालनमा आएसँगै टायल उद्योगले खपत गर्ने कच्चा पदार्थ, बिजुली, श्रमिक सबै नेपाली हुनेछन् । सिमेन्ट उद्योग जस्तै टायल उद्योग पनि नेपालका लागि मूल्य-श्रृंखलामा उच्च लाभ भएको र आयातलाई पूर्णरूपमा विस्तापित गर्ने उद्योगको रूपमा विकास हुने सम्भावनालाई यस उद्योगले उजागर गरेको छ । गुणस्तरसँगै छनौटका अवसर सञ्चालक चुरिवालका अनुसार लेमिनारका सबै उत्पादन १०० प्रतिशत भिट्रीफाइड टायल हुन् जुन पानी प्रतिरोधी, बलियो र गैर-छिद्र हुन्छन् । यी घर भित्र र बाहिर, भित्ता र भुइँ, आवास र व्यावसायिक स्थानमा लगाउन सकिन्छ । गुणस्तरसँग उपभोक्तालाई छनौटको अवसर पनि कम्पनीले दिएको छ । उनका अनुसार लेमिनार ब्राण्डमा ५०० भन्दा बढी प्रकारका टायल छन् जुन डिजाइन, साइज, फिनिशिङ र प्रयोगमा भिन्न छन् । मूल्य २० प्रतिशत कम हाल लेमिनारले प्रतिवर्ग फुट टाइलको उपभोक्ता मूल्य ८० देखि २०० रुपैयाँसम्म तोकेको चुरिवालले बताए । यो मूल्य विदेशबाट आयातित टायलभन्दा करिब २० प्रतिशत कम भएको उनको भनाइ छ । नेपालमा टायल बजार एकदमै प्रारम्भिक अवस्थामा रहेको र बजार खेलाडीहरूको मूल्य निर्धारण रणनीति परिवर्तनसँगै यस कम्पनीले पनि मूल्य परिवर्तन गर्न सक्ने देखिन्छ । लेमिनारको टायलको गुणस्तर र मूल्यलाई हेर्दा नेपालीहरूले भविष्यमा उच्च गुणस्तरीय टायल कम मूल्यमा किन्ने सक्ने सम्भावना देखिन्छ, जसरी नेपालमा सिमेन्ट उद्योगहरूको विकाससँगै उपभोक्ताले राम्रो लाभ पाएका छन् । टायल बजार कोभिड-१९ को महामारी आउनु अघिसम्म नेपालमा खपत हुने ९९ प्रतिशत टायल्स भारतीय उत्पादकबाट आयात हुने गरेको थियो । सन् २०१९ मा नेपालले करिब १० अर्ब ५० करोड टायल्स आयात गरेको थियो । नेपालमा टायलको बजार वार्षिक १० प्रतिशतभन्दा बढीले विस्तार भएको अनुमान छ र हाल करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको टायल खपत हुने अनुमान छ । नेपाली उपभोक्ताको लागि उच्च गुणस्तरका टायल उपलब्ध गराउने र आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित लेमिनार उद्योग स्थापना गरेको कम्पनीका अध्यक्ष सुब्रत धितालले बताए । ‘नेपालको प्रतिव्यक्ति टायल खपत यस क्षेत्रका देशहरूको तुलनामा कम छ । टायल खपत पनि बढ्दै जाने हामीलाई विश्वास छ । र, अबको केही वर्षमा नेपाल टाइल उत्पादन उद्योगमा पूर्ण आत्मनिर्भर हुनेछ, ’ अध्यक्ष धितालले भने । लेमिनारले बजारमा बलियो उपस्थिति जनाउँदै गर्दा अन्य ५ वटा टायल उद्योगहरू पनि सञ्चानमा आएका छन् । नेपाली वा विदेशी जुनसुकै टाइलभन्दा लामिनार टायल उच्च गुणस्तरको भएको र मूल्य पनि प्रतिस्पर्धी भएकोले बजारमा आफूहरू लिडर बन्ने विश्वास सञ्चालक अभिनव चुरिवालको छ । हाल देशका मुख्य सहरमा १०० भन्दा बढी लेमिनार टायलको डिलरहरू सञ्चालनमा आइसकेको र देशका सबै सहरमा उपस्थिति जनाउने उनले बताए । आर्थिक मन्दीले निर्माण क्षेत्रमा पनि मन्दी निम्त्याएको छ । टायल्सलगायत निर्माणसँग सम्बन्धित कुनै पनि उद्योगले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती यही हो । अरूको नक्कल गर्दै व्यवसायमा लगानी गर्ने संस्कार पनि छँदैछ । नयाँ कम्पनी थपिँदै जाँदा सबै कम्पनीको व्यावसायिक जोखिम बढ्दै जाने देखिन्छ । तर नेपालमा टायल उद्योग आयात प्रतिस्थापनको लागि एकदमै राम्रो अवसर रहेको छ । १० समूहका टायल कम्पनीले आफ्ना उत्पादनहरूलाई विभिन्न १० समूहमा वर्गीकरण गरेको छ । पानी प्रतिरोधी, बाथरुमको भुइँ र पर्खाल, भान्साको भुइँ र पर्खाल, टेरेस र बालकोनी, आवासीय क्षेत्र, अनुहार, व्यावसायिक क्षेत्र इत्यादिका लागि सतह कायम राख्न उपयोगी ‘म्याट’ एउटा समूह हो । त्यस्तै, पानी प्रतिरोधी, मर्मत गर्न सजिलो, शयनकक्षको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको पर्खाल, भान्साको भित्ता, व्यावसायिक क्षेत्र इत्यादिका लागि उपयुक्त चमकदार सतह भएको ‘चम्किलो’ टायल । लेमिनारको अर्को समूह हो म्याट नक्काशी जुन पानी प्रतिरोधी हुन्छ । यो टायल शयनकक्षको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको भुइँ र पर्खाल, भान्साको भुइँ र पर्खाल, व्यावसायिक क्षेत्रमा सजावटी रूपमा सुन्दर तरिकाले राख्न सकिन्छ । उच्च चमक अर्थात अल्ट्रा-चमक भएको अर्को समूहको टायल पानी प्रतिरोधी र सतह मर्मत गर्न सजिलो हुन्छ, जुन बेडरुमको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको पर्खाल, भान्साको पर्खाल र व्यावसायिक क्षेत्रमा मार्बलको विकल्पको रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ । कम्पनीले विशेष गरी पार्किङ, टेरेस, बाल्कोनी, पैदल मार्ग, बगैंचालगायतका सुख्खा र भिजेको बाह्य वातावरणमा सुरक्षाको लागि डिजाइन गरिएको उच्च-ग्रिप सतह भएको टायल पनि उत्पादन गर्छ । त्यस्तै, ठूला मल, सार्वजनिक भवन, कार्यालय भवन, लबी र लिफ्ट, पार्किङ, टेरेस र बालकोनी र अन्य निजी तथा व्यावसायिक स्थानहरू जस्ता उच्च ट्राफिक क्षेत्रहरूमा प्रयोग हुने १०० प्रतिशत एकरूपी पहिरन प्रतिरोधी टायलका लागि फुल बडी टायल बनाएको छ । त्यस्तै, व्यस्त क्षेत्रहरू जस्तै होटल, रेस्टुरेन्ट, स्टोर, बैठक कोठा, फोयर र अन्य व्यावसायिक स्थानहरूका लागि डिजाइन गरिएको विलासी अनुभूतिसहितको अतिरिक्त कडा सतह भएका घर्षण प्रतिरोधी टायल पनि उत्पादन गरेको छ । ‘स्थायित्व, डिजाइन र समाधान’ तीनवटै मोर्चामा प्रभावकारी हुन १०० प्रतिशत भिट्रीफाइड टायलहरूको पूर्ण दायरा विकास गरेका छौं । ग्राहकले लेमिनारमा सबै प्रकारका टायल पाउन सक्नेछन्, ’ सञ्चालक चुरिवालले बताए । १०० प्रतिशत भिट्रीफाइड पानी प्रतिरोधी हुने, कुनै पनि क्षति बिना अधिक लोडभार ग्रहण गर्न सक्ने, निर्माणको क्रममा ज्यादै कम क्षति हुने उनले बताए । नेपालको पहिलो १०० प्रतिशत भिट्रीफाइड टायल लेमिनार नै भएको पनि उनको दावी छ ।
मन्दीमा छैन निर्माण क्षेत्र, डुबेका छैनन् व्यवसायी
काठमाडौं । ‘निर्माण क्षेत्र मन्दीमा गयो, व्यवसायी डुबे, धेरैले आत्महत्या नै गरे, अधिकांश पलायन भए ।’ पछिल्लो तीन/चार वर्षको अवधिमा निर्माण व्यवसायीका नेताहरूको मुखबाट फुस्किने शब्द हुन् यी । पत्रकार वा सरकारी अधिकारीसँगको छलफल तथा अन्तर्कियामा निर्माण व्यवसायका नेताहरूले निर्माण क्षेत्र मन्दीमा गएको भन्दै गुनासो पोख्छन् । उनीहरू भन्छन्, ‘सरकारले हाम्रो कुरै सुनेन, निर्माण क्षेत्र धरासायी भयो, हामी डुब्यौं ।’ लामो समयदेखि धरासायी भयौं भनेर गुनासो गरिरहेका निर्माण व्यवसायीहरू साँच्चिकै समस्यामा छन् ? उनीहरूको व्यवसाय बर्सेनि खस्किँदै गएको छ ? उनीहरुले लिने ऋण रकम घट्दै गएको छ ? आउनुस्, आजको यो सामग्रीमा यिनै जिज्ञासाको जवाफ खोजौं । यी जिज्ञासाको जवाफ खोज्न केही निर्माण कम्पनीको व्यवसायको प्रवृति हेरौं । बुटवलको सुगम कन्स्ट्रक्सनले २०८०मा कुल ४ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गर्यो । यो निर्माण कम्पनीले २०७९ मा ३ अर्ब २४ करोड र २०७८ मा १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । २०७९ को तुलनामा २०८० मा ४१.८२ प्रतिशत र २०७९ मा २०७८ को तुलनामा १२२.५२ प्रतिशतले सो निर्माण कम्पनीको व्यवसाय र आम्दानी बढेको देखिन्छ । काठमाडौंको बालुवाटारमा मुख्य कार्यालय रहेको कालिका ग्रुपबाट सञ्चालित कालिका कन्स्ट्रक्सनको व्यवसाय पनि पछिल्लो तीन आर्थिक वर्षमा निरन्तर बढ्दो छ । व्यवसायी बिक्रम पाण्डेले नेतृत्व गरिरहेको सो निर्माण कम्पनीले २०८० मा ४ अर्ब २८ करोड १० लाख, २०७९ मा ३ अर्ब ६३ करोड ३० लाख र २०७८ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ । यो तीन वर्षको अवधिमा यस निर्माण कम्पनीको व्यवसाय ५० प्रतिशतले बढेको तथ्यांकबाट प्रष्ट हुन्छ । यो निर्माण कम्पनीको १५ अर्ब बढी ऋण लिन सक्ने ल्याकत छ । सडक निर्माण, भवन तथा पुल लगायतका पूर्वाधार निर्माणको काम गरिरहेको काठमाडौंको मोतिदान कन्स्ट्रक्सनको व्यवसाय पनि पछिल्लो आर्थिक वर्षमा बढ्दै गएको छ । यो निर्माण कम्पनीले २०८० मा ३ अर्ब ६८ करोड ८० लाख, २०७९ मा २ अर्ब ७० करोड ९० लाख र २०७८ मा ३ अर्ब १२ करोड ३० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यस निर्माण कम्पनीको व्यवसाय ३६ प्रतिशत बढीले वृद्धि भएको छ । जनकपुरमा निर्माणजन्य काम गर्दै आएको बि वर्गको कम्पनी रोशन कन्स्ट्रक्सनको व्यवसाय पनि तीन वर्षमा दोब्बर भएको छ । २०८० मा २ अर्ब ७६ करोड ९० लाख रुपैयाँ, २०७९ मा १ अर्ब ८२ करोड १० लाख र २०७८ मा १ अर्ब ९६ करोड १० लाख रुपैयाँबराबरको व्यवसाय गरेको यस निर्माण कम्पनीले पनि राम्रो पफर्मेन्स गरेको छ । अघिल्लो वर्षको तुलनामा यस निर्माण कम्पनीको व्यवसाय रकम ५२ प्रतिशतले बढेको छ । पश्चिम बाँकेमा सञ्चालित पीएस निर्माण सेवाले पनि पछिल्लो तीन वर्षको अवधिमा व्यवसाय बढाएको नै देखिन्छ । यस निर्माण कम्पनीले २०८० मा १९ करोड ८० लाख, २०७९ मा ९ करोड ८० लाख र २०७८ मा ७ करोड ७० लाखको सञ्चालन आम्दानी गरेको छ । यस्तै, पूर्वी धरानमा रहेको ए वर्गको निर्माण कम्पनी एमए कन्स्ट्रक्सनले पनि २०८० मा १ अर्ब ६३ करोड ३० लाख रुपैयाँ, २०७९ मा ८० करोड ९० लाख र २०७८ मा ५३ करोड १० लाख रुपैयाँको व्यवसाय गरेको छ । यो तीन वर्षको तुलनामा यस निर्माण कम्पनीको व्यवसाय २०७ प्रतिशतले बढेको छ । सुदूरपश्चिको कञ्चनपुरमा रहेको कुमार श्रेष्ठ निर्माण कम्पनीले पनि २०८० मा २ अर्ब ९२ करोड ५० लाख, २०७९ मा ३ अर्ब ६३ करोड २० लाख र २०७८ मा २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । यो तीन वर्षको अवधिमा यस निर्माण कम्पनीको व्यवसाय पनि सन्तोषजनक रुपमा वृद्धि भएको छ । कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा रहेको वाईएसएस निर्माण सेवाको व्यवसाय पनि पछिल्लो तीन वर्षमा स्थिर देखिन्छ । यस निर्माण कम्पनीले २०८० मा २८ करोड ४० लाख रुपैयाँ, २०७९ मा १६ करोड ३० लाख र २०७८ मा २९ करोड ७० लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ । विगत तीन वर्षमा व्यवसाय गरेका केही प्रतिनिधी निर्माण कम्पनी हुन् यी । हामीले यो समाचार सामग्रीमा पूर्व धरानदेखि पश्चिम कर्णाली र सुदूरपश्चिमसम्मका विभिन्न निर्माण कम्पनीको पछिल्लो तीन वर्षको व्यवसायको प्रकृति केलाउने प्रयत्न गरेका छौं । यो समाचारमा पाँच दर्जन बढी निर्माण कम्पनीको व्यवसायलाई नमुनाको रुपमा लिएका छौं । अर्ब बढी आम्दानी गर्ने १६ कम्पनी २०८० मा डेढ दर्जन कम्पनीले एक अर्ब बढी रकमको व्यवसाय गरेका छन् । वर्षमा एक अर्बबराबरको व्यवसाय गर्ने १६ वटा निर्माण कम्पनीमध्ये ११ कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा बढेको छ भने पाँच वटा कम्पनीको व्यवसाय घटेको छ । व्यवसाय बढेका कम्पनीको व्यवसाय उल्लेख्य रुपमा वृद्धि भएको तथ्यांकबाट देखिन्छ भने व्यवसाय घटेका कम्पनीको झिनो रकमले कम भएको छ । तर, तीन वर्षअघिको तुलनामा भने सबै कम्पनीको व्यवसाय बढेको देखिन्छ । दुई वर्षको अवधिमा सगुन कन्स्ट्रक्सन, कालिका, रोशन, मोतिदान, रेलिगर, एमए, बन्दन भगवती, स्वामिनारायण, वेदालय, के एस र रौटह निर्माण कम्पनीको व्यवसाय बढेको छ । यस्तै, समानान्तर, सुमो, बानियाँ र पीआर खानी निर्माण सेवाको व्यवसाय झिनो रकमले घटेको छ । यी १६ निर्माण कम्पनीले यो एक वर्षको अवधिमा ८६ अर्ब ६२ करोड रुपैयाँको व्यवसाय गरेका छन् भने २०७९ मा ३१ अर्ब ६५ करोड र २०७८ मा ३२ अर्ब २ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको तथ्यांकबाट देखाउँछ । तीन वर्षको अवधिमा १६ वटा निर्माण कम्पनीको व्यवसाय निरन्तर बढ्दै गएको देखिन्छ । ८० करोडसम्म कारोबार गर्ने कम्पनी यो समाचार सामग्रीमा ३० करोड रुपैयाँदेखि ८० करोड रुपैयाँबराबरको व्यवसाय गर्ने निर्माण कम्पनीको संख्या १७ वटा रहेको छ । तीन वर्षको अवधिमा १० वटा कम्पनीको व्यवसाय बढेको छ भने सात वटा कम्पनीको व्यवसाय घटेको छ । अघिल्लो वर्षको तुलनामा २०८० मा नारायण निर्माण, डीएस कन्स्ट्रक्सन, रोयल कन्स्ट्रक्सन, पिके निर्माण सेवा, सक्षम निर्माण सेवा, विकास एण्ड ब्रदर्स, स्विटगंगा, रेनु कन्स्ट्रक्सन, प्रेरणा निर्माण सेवा र रोजन निर्माण सेवाको व्यवसाय बढेको छ भने अन्य कम्पनीको व्यवसाय घटेको छ । तर, २०७८ को तुलनामा भने २०८० मा अधिकांश निर्माण कम्पनीको व्यवसाय बढेको देखिन्छ । साना कम्पनी केही मारमा तथ्यांकले साना कम्पनीको बिजनेसमा भने स्थिर देखिन्छ । अधिकांश कम्पनीको बिजनेस स्थिर हुँदा केहीको भने घटेको छ । अधिकतम् वार्षिक तीन करोड रुपैयाँसम्मको व्यवसाय गर्ने कम्पनीहरु समस्यामा परेको तथ्यांकबाट देखिन्छ । तर, ठूला कम्पनीहरुले भने व्यवसाय बढाएको नै देखिन्छ । साना एक दर्जन कम्पनीको व्यवसाय बढ्दा एक दर्जन निर्माण कम्पनीको व्यवसाय घटेको नै देखिन्छ । ठूला निर्माण व्यवसायीभन्दा पनि साना निर्माण व्यवसायी वर्तमान अर्थतन्त्रको मन्दीको चपेटामा परेको तथ्यांकबाट प्रष्ट हुन्छ । [pdf id=522486] के भन्छन् निर्माण व्यवसायी ? निर्माण व्यवसायी भने अहिले निर्माण क्षेत्रमा समस्या नै रहेको बताउँछन् । उनीहरू खर्च बढेको, सरकारबाट बक्यौता भुक्तानी नभएको तथा ठूलो रकम कर तिर्नु परेको कारण ठूलो समस्या नै रहेको बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह अहिले पनि निर्माण व्यवसायी ठूलो समस्याको सामना गरिरहेको धारणा राख्छन् । तथ्यांकले व्यवसाय बढ्दै गरेको देखिन्छ, निर्माण व्यवसायी कसरी समस्यामा परे भन्ने जिज्ञासमा उनले भने, ‘निर्माण कम्पनीले देखाउनका लागि भएपनि रेटिङ राम्रो गराउँछन्, ठूलो कम्पनीको रेटिङ राम्रो नै हुन्छ, भइरहेको तथ्यलाई नकार्न सकिँदैन,’ उनले थपे,‘वास्तवमा भने हामी समस्यामा नै छौं ।’ उनका अनुसार केही जलविद्युत क्षेत्रमा काम गर्ने निर्माण कम्पनीहरूको व्यवसाय अन्यको तुलनामा राम्रो हुन सक्छ । बैंकबाट ऋण लिनैका लागि र निर्माणको सम्झौताका लागि पनि केहीले राम्रो व्यवसाय गरेको देखाएर रेटिङ राम्रो देखाउने गरेको अभ्यास रहेको उनको धारणा छ । रेटिङ एजेन्सी इक्रा नेपालकी बिजनेस हेड वर्षा श्रेष्ठले पनि रेटिङमा निर्माण कम्पनीको व्यवसाय राम्रै नै देखिने गरेको बताइन् । उनका अनुसार रेटिङ कम्पनीले उपलब्ध गराएको विभिन्न विवरणका आधारमा हुने भएकोले सोही आधारमा रेटिङ हुने गरेको छ । ऋण पनि बढ्दै प्रत्येक वर्ष निर्माण क्षेत्रमा प्रवाह हुने ऋण पनि बढ्दै गएको तथ्यांकबाट देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निर्माण क्षेत्रमा प्रवाह हुने ऋण रकम पनि बढ्दै गएको हो । २०८१ को भदौसम्म बैंकहरुले कुल २ खर्ब १० अर्ब ४५ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । यस्तै, २०८० को अन्तिमा २ खर्ब ७ अर्ब २२ करोड र २०७९ मा २ खर्ब ३ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ऋण निर्माण क्षेत्रले उपभोग गरेको देखिन्छ । यस्तै, २०७८ मा १ खर्ब ९० अर्ब १९ करोड ६० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा ऋण प्रवाह गरेका छन् । पाँच दर्जन निर्माण कम्पनीहरुले २ खर्ब १५ अर्ब ७८ करोड रुपैयाँ ऋणका लागि पनि रेटिङ गराएका छन् । पछिल्लो तीन आर्थिक वर्षमा निर्माण क्षेत्रको व्यवसाय बढ्दै गएको छ भने बैंक तथा वित्तीय संस्थाले बढी नै ऋण प्रवाह गरेका छन् । तर, कुनै व्यक्ति तथा संस्था समस्यामा छ भने बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने हिम्मत गर्दैनन् । संकटमा परेको बेला बढी सावाँ ब्याज तिर्ने आँट व्यवसायी गर्दैनन् । तर, तथ्यांकले निर्माण कम्पनीहरुको व्यवसाय र ऋण रकम वृद्धि भएको देखाउँदा मन्दीमा छौं भनिरहेका निर्माण व्यवसायीको भाष्य हौवा होकि भन्ने अनुमान पनि लगाउन सकिन्छ । महासंघका अध्यक्ष सिंहले भने अहिले देशभरका २४ हजार बढी निर्माण कम्पनीहरु समस्यामा नै रहेको धारणा राख्छन् । उनले नेपाल राष्ट्र बैंकले धेरै नीतिगत सहजता प्रदान गरेकोले केही राहत मिलेको धारणा राखे ।
मेडिकल कलेजको व्यवसाय बढ्दै, यस्तो छ ८ कलेजको तीन वर्षको आम्दानी
काठमाडौं । पछिल्लो समय मेडिकल कलेजको व्यवसाय बढ्दै गएको छ । विगतका वर्षहरूको तुलनामा सन् २०२३ मा ८ वटा मेडिकल कलेजको व्यापार बढेको देखिएको हो । विकासन्यूजलाई प्राप्त तथ्यांकअनुसार ८ वटा मेडिकल कलेजले २०२३ मा कुल १२ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । २०२२ मा यी ८ वटा कलेजले ११ अर्ब ६८ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेका थिए । यो एक वर्षको अवधिमा ८ वटा मेडिकल कलेजको व्यवसाय करिब ४ प्रतिशतले बढेको देखिन्छ । यस समाचारमा हामीले देशका ठूला ८ वटा मेडिकल कलेजले विगत तीन वर्षमा गरेको व्यवसायको विश्लेषण गर्ने प्रयास गरेका छौं । आश्विन्स मेडिकल कलेज ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले सबैभन्दा धेरै व्यवसाय गरेको छ । यो अस्पतालले २०२४ को मध्यसम्म २ अर्ब २ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२३ मा २ अर्ब ८३ करोड ४० लाख बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजले २०२२ मा २ अर्ब ७९ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस्तै, २०२१ यो मेडिकल कलेजले २ अर्ब २२ करोड ६५ लाख रुपैयाँको व्यवसाय गरेको थियो । २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ३ सय शय्याको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । चितवन मेडिकल कलेज सन् २००६ मा चितवन जिल्लाका डाक्टरहरूको समूहले स्थापना गरेको यो निजी कलेज हो । जसलाई पछि २०२४ जनवरी २५ मा सार्वजनिक लिमिटेडमा रूपान्तरण गरिएको थियो । यस अस्पतालले विभिन्न विशेषज्ञता क्षेत्रमा उन्नत डायग्नोस्टिक सुविधासहितको सेवा प्रदान गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चितवन मेडिकल कलेजले २०२३ मा १ अर्ब ८७ करोड ८० लाखको व्यवसाय गरेको छ भने २०२२ मा २ अर्ब ७ करोड ९० लाखको व्यवसाय गरेको छ । यो कलेजले २०२१ मा भने १ अर्ब ८७ करोड ८० लाखको व्यापार गरेको थियाे । तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पछिल्लो समय यस मेडिकल कलेजको आम्दानी बढ्दै गएको छ । यूनिभर्सल मेडिकल कलेज रुपन्देहीको भैरहवामा रहेको यूनिभर्सल मेडिकल कलेजले पनि व्यवसाय बढाउँदै गएको छ । १९९८ मा निजी मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको यो कलेजले २०२३ मा १ अर्ब ४७ करोड ९० लाखको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२२ मा १ अर्ब ३९ करोड २० लाखको व्यापार गरेको छ भने २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यवसाय गरेको छ । ५०० शय्याको अस्पताल रहेको यो कलेजमा विद्यार्थीहरूले व्यावहारिक प्रशिक्षणका लागि अस्पतालमा काम गर्दै आइरहेका छन् । यस कलेजमा एमबीबीएस, बीडीएस (दन्त चिकित्सा), बीएससी नर्सिङ, बी फार्मा लगायत विभिन्न स्नातक कोर्सहरूका साथै स्नातकोत्तर कोर्सहरू पढाइ हुँदै आइरहेका छन् । मणिपाल कलेज पोखरामा रहेको मणिपाल मेडिकल कलेज नेपालको सबैभन्दा पुरानो मेडिकल कलेज हो । यसको पूरा नाम मणिपाल कलेज अफ मेडिकल साइन्सेस हो । १९९४ मा भारतको मणिपाल ग्रुपले स्थापना गरेको यो मेडिकल कलेजले एमबीबीएस, बीडीएस र अन्य स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । दक्ष चिकित्सक उत्पादन गर्न र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना भएको यो कलेजमा अत्याधुनिक प्रयोगशाला, लाइब्रेरी र अनुभवी प्राध्यापकहरू छन् । यस कलेजको आफ्नो मणिपाल शिक्षण अस्पताल पनि छ, जसमा विद्यार्थीहरूले क्लिनिकल प्रशिक्षण प्राप्त गर्छन् । कलेजले २०२४ को मध्यसम्म ७४ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको छ भने २०२३ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । कलेजले २०२२ मा १ अर्ब ९ करोड ९० लाखको सञ्चालन आम्दानी गरेको थियो भने २०२१ मा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । नेशनल मेडिकल पर्साको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज नेपालको एक प्रसिद्ध मेडिकल कलेज हो । यो कलेज २००१ मा देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको संस्थापक समूहले स्थापना गरेको थियाे । नेशनल मेडिकल कलेज नेपालकै उत्कृष्ट चिकित्सा शिक्षण संस्थाहरूमा गनिन्छ र यो नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । यहाँ एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र अन्य स्नातक र स्नातकोत्तर तहका स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशालाहरू, लाइब्रेरी र अनुसन्धान केन्द्रहरू उपलब्ध छन् । नेशनल मेडिकल कलेजसँगै अस्पताल पनि छ, जसले विद्यार्थीहरूको क्लिनिकल प्रशिक्षणलाई सशक्त बनाउँदै आएको छ । ७५० भन्दा बढी शय्या भएकाे यो कलेजले पनि आफ्नो आम्दानी बढाउँदै गएको छ । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ भने २०२२ मा १ अर्ब १९ करोड ४० लाख र २०२१ मा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजको पनि आम्दानी बढ्दै गएको देखिन्छ । काठमाडौं मेडिकल कलेज काठमाडौं मेडिकल कलेज काठमाडौंको सिनामंगलमा अवस्थित छ । यो कलेजको स्थापना १९९७ मा भएको हो । कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ । यो कलेजले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र एमडी/एमएसजस्ता विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । यो कलेजको आफ्नै अस्पताल छ, जहाँ विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिक्न सक्छन् । अस्पतालले विभिन्न आन्तरिक चिकित्सा, शल्यचिकित्सा, प्रसूति-स्त्री रोग, बाल रोग, मनोविज्ञानलगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यो मेडिकल कलेजले २०२३ मा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब २८ करोड ८० लाख र २०२१ मा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । मेडिकल कलेजको आम्दानी पनि बर्सेनि बढ्दै गएको देखिन्छ । नेपाल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको कलेजले विद्यार्थीहरूलाई नवीनतम् चिकित्सा प्रविधि सिकाउँदै आएको छ । किष्ट मेडिकल कलेज किष्ट मेडिकल कलेज नेपालको एक प्रमुख मेडिकल कलेज हो । जुन ललितपुरको इमाडोलमा छ । यसको स्थापना २००६ मा भएको थियाे । यो कलेज नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । कलेजले एमबीबीएस, बीडीएस र बिएससी नर्सिङजस्ता विभिन्न स्नातक स्तरका स्वास्थ्य विज्ञानका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकाे छ । किष्ट मेडिकल कलेजसँगै किष्ट मेडिकल कलेज शिक्षण अस्पताल पनि छ । जसले ५०० भन्दा बढी शैय्यासहितका विविध स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको छ । कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र मेडिकल प्रविधि छन् । कलेजले विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक अध्ययनलाई सहज बनाउँदै आएको छ । कलेजमा अत्याधुनिक उपकरण र अनुसन्धानको सुविधा पनि उपलब्ध छन् । यो कलेजले पनि आम्दानी बढाउँदै लगेको छ । नेपाल र विदेशका अनुभवी प्राध्यापक र चिकित्सकहरू रहेको यस मेडिकल कलेजले पनि विद्यार्थीहरूको शैक्षिक स्तरलाई बढाउने प्रयास गर्दै आएको छ । कलेजले २०२३ मा ७८ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ भने २०२२ मा ६८ करोड ८० लाख रुपैयाँ र २०२१ मा ५१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । किष्ट मेडिकल कलेजले नेपालमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ । गण्डकी मेडिकल कलेज गण्डकी मेडिकल कलेज नेपालको एक प्रतिष्ठित चिकित्सा शिक्षा संस्था हो, जुन पोखरामा अवस्थित छ । २००७ मा स्थापना भएको यो कलेजले नेपाल मेडिकल काउन्सिल र मेडिकल काउन्सिल अफ इन्डिया र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त गरेको छ । यस मेडिकल कलेजमा एमबीबीएस, बीडीएस, बिएससी नर्सिङ र अन्य स्वास्थ्य विज्ञानसम्बन्धी स्नातक कार्यक्रमहरू सञ्चालित छन् । यो कलेजको पनि आफ्नै शिक्षण अस्पताल छ, जसमा ७५० भन्दा बढी शैय्या छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र अनुसन्धान केन्द्रहरू पनि छन् । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब १५ करोड ७० लाख र २०२१ मा १ अर्ब ७ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । यस मेडिकल कलेजको व्यवसाय पनि हरेक वर्ष बढ्दै गएको देखिन्छ । साढे १५ अर्ब ऋण खोज्दै ८ वटा मेडिकल कलेजले ऋणका लागि रेटिङ गराएका छन् । मेडिकल कलेजहरूले ऋणका लागि विभिन्न रेटिङ एजेन्सीमा रेटिङ गराएका छन् । ८ वटा मेडिकल कलेजले कुल १५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबर ऋणका लागि रेटिङ गराएका हुन् । ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले ४ अर्ब ८४ करोड २० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ भने पोखराको मणिपाल मेडिकल कलेजले २ अर्ब ऋणको लागि रेटिङ गराएको छ । यस्तै, पोखराकै गण्डकी मेडिकल कलेजले ८२ करोड ५० लाख, चितवन मेडिकल कलेजले २ अर्ब ४१ करोड, नेशनल मेडिकल कलेजले ९५ करोड, काठमाडौं मेडिकल कलेजले १ अर्ब ६१ करोड ४० लाख र किष्ट मेडिकल कलेजले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको रेटिङ एजेन्सीहरूले जानकारी दिएका छन् ।