रविभक्त श्रेष्ठ : सर्वस्वहरणपछि निरन्तर व्यावसायिक सफलता {भिडियो स्टोरी}
काठमाडौं । काठमाडौंको इन्द्रचोकमा एउटा सामान्य कपडा पसल सञ्चालन गरेर आज देशकै गर्व गर्न लायक व्यावसायिक समूह हो– आईजे ग्रुप । विगतमा एनई ग्रुपको नामले परिचित यो व्यावसायिक समूहले व्यवसायको पाँच पुस्ता पार गरिसकेको छ । आफ्नो पाँच पुस्ताले बेहोरेका विभिन्न आरोह-अवरोह र अनुभवहरूलाई आत्मसात गर्दै आईजे ग्रुपको व्यावसायिक नेतृत्व गरिरहेका छन्- रविभक्त श्रेष्ठ । रविभक्त आईजे ग्रुपको चौथो पुस्ताको व्यावसायिक नेतृत्वकर्ता हुन् । परिवारले अगाडि बढाएको व्यवसायलाई उनले मलजल गर्दै देशको एक प्रतिष्ठित र स्थापित व्यावसायिक घरानाका रूपमा आईजे ग्रुपलाई अगाडि बढाइरहेका छन् । नेपाली व्यवसायीमाझ पृथक किसिमको पहिचान स्थापित गरेका श्रेष्ठको हजुरबुबा (हरिभक्त श्रेष्ठ)को आमाले सुरु गरेको व्यवसाय उनको हजुरबुबा, बुबा र उनी हुँदै उनका छोरा रविन्द्रभक्तको काँधमा आईजे ग्रुपको व्यावसायिक जिम्मेवारी आइपुगेको छ । शताब्दीऔंदेखिको व्यावसायिक अनुभवले रविभक्तलाई थप परिपक्व भएर अगाडि बढ्न प्रेरित गरिरहेको छ । आईजे समूहको जग रविभक्तका बुबा स्व. इन्द्रभक्तले राखेपनि यो परिवारको व्यावसायिक जरा भने अझै गहिरो छ । आईजे ग्रुपका अध्यक्ष श्रेष्ठका अनुसार उनको पारिवारिक व्यवसायको जन्मदाता उनको हजुरबुबाको आमा हुन् । ‘मेरो हजुरबुबाको आमा अशिक्षित भए पनि व्यापार गर्नुपर्छ भन्ने मानसिकताको हुनुहुँदो रहेछ, हजुरबुबालाई पनि व्यवसाय गर्न उत्प्रेरित गर्नु हुँदो रहेछ,’ पारिवारिक व्यावसायिक इतिहास स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘इन्द्रचोकमा घरकै तल सानो कपडा पसल थियो, त्यहीबाट परिवारको गुजारा चल्थ्यो, त्यही कपडा पसलबाट व्यवसाय विस्तार हुँदै आज आईजे ग्रुप देशको अग्रणी व्यावसायिक ग्रुप बनेको हो ।’ व्यवसायप्रति हजुरबुबाको कम रुचि भएका बुबा इन्द्रभक्तले सानो उमेरमै व्यवसाय सम्हालेको रविभक्त सुनाउँछन् । उनले बुबाले नै हो आईजी ग्रुप (तत्कालीन एनई ग्रुप) बिस्तार गरेको । एउटा सामान्य कपडा पसलदेखि बहुराष्ट्रिय कम्पनीलाई नेपाल भित्र्याउने पहिलो साहसी र क्षमतावान व्यवसायीको पहिचान उनै इन्द्रभक्तले बनाए । उनले त्यसअघि भारतबाट चिया आयात गरेर बिक्री गर्ने काम पनि गरिरहेका थिए । उनको चिया व्यापारले हिन्दुस्तान लिभरलाई नेपाल ल्याउन ठूलो भूमिका खेल्यो । ‘मेरो बुबा खासै नपढेको भएपनि धेरै दूरदर्शी हुनुहुन्थ्यो । कपडा र चिया लगायत वस्तु आयात गरेर बिक्री गर्नेमध्येको त्यतिखेरको प्रमुख व्यवसायी उहाँ नै हो । बिस्तारै विभिन्न देशसँग सम्बन्ध बनाएर व्यापार सुरु गर्नुभयो । जापान, कोरिया, भारतलगायत देशबाट सामान आयात गर्नुहुन्थ्यो, त्यतिखेर सरकारको नजरमा पनि उहाँ एक अनुशासित र मिहिनेती व्यवसायी हुनुहुन्थ्यो,’ आफ्नो बुबालाई स्मरण गर्दै श्रेष्ठ भन्छन् । वर्षौंसम्म कपडाको व्यापार गरेपछि श्रेष्ठका बुबाले उद्योग सुरु गर्ने योजना बनाए । उनले हेटौंडा औद्योगिक क्षेत्रभित्रको एउटा बन्द सिन्थेटिक फ्याक्ट्री किनेर पुनः सञ्चालनमा ल्याए । त्यहींबाट कपडाको उत्पादन सुरु गरे । विराटनगरमा गणपति कपास उद्योग पनि सुरु गरे । त्यो पनि पछि बन्द भयो । आइरन उद्योग खोले त्यसमा पनि सफलता मिलेन । श्रेष्ठका अनुसार अनौपचारिक अध्ययनमा माहिर थिए इन्द्रभक्त । ‘विभिन्न पत्रपत्रिका र किताबहरू अध्ययन गर्नमा उहाँ धेरै अगाडि हुनुहुन्थ्यो, देश विदेशका घटनाक्रमबारे जानकारी लिइरहनु हुन्थ्यो,’ उनी भन्छन्, ‘नेपालमा युनिलिभरको आगमन उहाँको अध्ययनले नै सार्थक बनेको हो ।’ एकदिन श्रेष्ठका बुबा पत्रिका पढ्दै थिए । उनले हिन्दुस्तान लिभर (यूनिलिभर) को विज्ञापन देखे । यसलाई नेपाल किन ल्याउन सकिँदैन भन्ने सोंचे, त्यसैको खोजीमा लागे । हिन्दुस्तान लिभरका अधिकारीहरूसँग भेटे । सुरुमा उनीहरूले नेपालको बजार अध्ययन गरेर मात्रै नेपालमा आउन सकिने बताएपछि उनी नेपाल फर्किए । उनीहरूले नेपालको बजार हेरे, सम्भावना देखेपछि युनिलिभरको प्रडक्ट नेपाल पठाउन र नेपालमै उत्पादन गर्न सहमत भए तर सरकारले नेपालमा उत्पादनको स्वीकृत दिएन । ‘आर्थिक विकास, रोजगारी र राजस्वको हिसाबले नेपालमा ठूलो सम्भावना थियो । तर, नेपाल सरकारले त्यतिबेला स्वीकृति दिएन, सरकारले रेड कार्पेट बिछ्याउनुपर्ने बेला उल्टै वास्तै गरेन । निजी क्षेत्रहरूका व्यवसायीले पनि नेपालमा यो उद्योग आउनु हुन्न भनेर विरोध गर्नतर्र्फ लागे,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘त्यतिखरे खुला अर्थतन्त्रको नीति पनि आइसकेको थिएन ।’ विसं २०४७ सालपछि नेपाल सरकारले उदारवादी अर्थतन्त्रको नीति अवलम्बन ग¥यो । निजी क्षेत्रले विभिन्न क्षेत्रमा प्रवेश गर्ने अवसर पायो । त्यतिखरे अर्थमन्त्री महेश आचार्य बनिसकेका थिए । विभिन्न निकायमा धाएपछि सरकारले दुई वर्षपछि अर्थात २०४९ सालमा नेपाल लिभर लिमिटेडको नाममा उद्योग दर्ताको प्रमाणपत्र प्रदान ग¥यो । बहुराष्ट्रिय कम्पनी युनिलिभरलाई नेपालमा ल्याएर उत्पादन सुरु गर्ने पहिलो नेपाली व्यवसायी नै इन्द्रभक्त बने । उनले २०३५ देखि २०३८ सालसम्म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पनि गरेका थिए भने चार कार्यकालसम्म नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष भएर समेत काम गरिसकेका थिए । सुरुमा नेपाल लिभरबाट स्थापना भएको कम्पनी २०६२ सालमा यूनिलिभरको नाममा रूपान्तरण भयो । नेपालमा १० मध्ये ८ घरपरिवारले दैनिक रूपमा यूनिलिभरका प्रडक्टहरू प्रयोग गर्ने श्रेष्ठको दाबी छ । उनका अनसार यूनिलिभरले हेयर केयर, स्किन केयर, ओरल केयर होम केयरका प्रडक्टहरू उत्पादन गर्दै आएको छ । यूनिलिभरले प्रत्येक वर्ष लगभग २७ हजार मेट्रिक टन उत्पादन गर्दै आएको उनले बताए । अहिले यूनिलिभर नेपालको पुँजीबजारमा ‘ब्लु चिप’ कम्पनी बनेको छ । लगानीकर्ताको नजर यही कम्पनीमा छ, जुन बजारमा प्रतिकित्ता ५ हजार ८०५ रुपैयाँसम्ममा कारोबार भएको छ । यो नै नेपालको सबैभन्दा महँगो सेयर हो । कम्पनीले वार्षिक १७१४ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । यस कम्पनीमा श्रेष्ठ परिवारको ५ प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र भारतीय लगानीकर्ताको ८० प्रतिशत सेयर स्वामित्व छ । श्रेष्ठ परिवारले पहिलो पटक बहुराष्ट्रिय कम्पनीलाई नेपाल भित्र्याएकै कारण आज नेपालमा अन्य बहुराष्ट्रिय कम्पनी पनि धमाधम भित्रिरहेका छन् । श्रेष्ठ परिवारको सर्वस्व हरण इन्द्रभक्त श्रेष्ठका तीन जना दाजुभाइ थिए । जेठा इन्द्रभक्त व्यवसायमा, माइला राजनीतिमा थिए भने कान्छा परराष्ट्रमा जागिरे थिए । इन्द्रभक्तलाई व्यवसायबाहेकमा रुचि थिएन । माइला नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । देशमा जहानियाँ राणाशासन थियो । त्यहीबेला नेपाली कांग्रेस लगायतका दलहरू राणाशासनको विरोधमा थिए । इन्द्रचोकमा घर भएका इन्द्रभक्तका माइला भाइले इन्द्रचोकमै कार्यक्रम राखेर जोडतोडले राणाविरुद्ध भाषण गरे । त्यही कसुरमा उनी पक्राउ परे । उनलाई राणाहरूले सजाय दिए । पुरै परिवार सर्वस्व हरणमा प¥यो । ‘माइला काकाले परिवारको कुरा पनि सुन्नु भएन । भाषण गरेकै आधारमा राणाहरूले काकालाई गोलघरमा थुन्यो । हामी संयुक्त परिवारमा थियौं । काकासँगै हामी पनि सर्वश्व हरणमा परेका रहेछौं, ’ उनले भने । श्रेष्ठका अनुसार त्यसपछि उनको परिवारले फेरि सुरुवातदेखि व्यवसाय थाल्यो । उनका बुबाको मिहिनेतकै कारण व्यवसायले फेरि एउटा लय समात्यो । भारतबाट सुतीको कपडा र चिया ल्याएर नेपालमा बिक्री गर्ने काममा इन्द्रभक्त सक्रिय बने । ‘बुबाले भारत र कोरियाबाट सुतीको कपडा ल्याउनु हुन्थ्यो, त्यतिबेलाको सरकारले आयातको जिम्मा पनि बुबालाई मात्र दिएको थियो । उहाँ धेरैको प्रिय पात्र हुनुहुन्थ्यो, तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले बुबालाई नै विश्वास गरेर आयातको जिम्मेवारी दिएको बुबाले सुनाउनुहुन्थ्यो,’ श्रेष्ठले पुरानो कुरा स्मरण गर्दै भने । अमेरिकामा पढाइ, नेपालमा व्यवसाय विसं. २०१२ सालमा जन्मिएका रविभक्त श्रेष्ठले बुबाबाट धेरै व्यावसायिक कुरा सिके । उनी पनि व्यवसायमा लागेको लामो समय भइसकेको छ । ६९ वर्षीय रविभक्त अझै पनि आफूमा युवापन रहेको सुनाउँछन् । ‘जोस, जाँगर र काम गर्ने हुटहुटी अहिले पनि छ, मेरो मनबाट म पनि युवा नै हो, म योङ्ग नै छु,’ उनी भन्छन्, ‘अझै पनि सबै काम गर्न सक्छु ।’ श्रेष्ठले एनई ग्रुपलाई परिवर्तन गरेर आमाबुबाकै नामबाट आईजे ग्रुप बनाए । अहिले उनको व्यावसायिक समूहको नाम आई (इन्द्रभक्त) जे (जवाहर देवी) अर्थात आईजे ग्रुप राखेका छन् । उनले आफ्नो छोरा रविन्द्रभक्त श्रेष्ठको सल्लाहमै नाम परिवर्तन गरेको सुनाए । श्रेष्ठको स्कुले जीवन काठमाडौंमै भयो । उनी कक्षा चारसम्म जेपी हाई स्कूलमा पढे । त्यसपछि त्रिभुवन आदर्श विद्यालय हुँदै लेबोरेटरी स्कूलबाट एसएलसी (हालको एसईई) पास गरे । उनले त्रिचन्द्र कलेजबाट व्यवसाय प्रशासनमा स्नातक गरे । श्रेष्ठका अनुसार उनकी आमाले आफ्ना छोराछोरीको राम्रो शिक्षामा संधै जोड दिन्थिन् । त्यसकारण उनी दाजुसँगै उच्च शिक्षा पढ्न अमेरिका गए । उनले अमेरिकाको न्यूयोर्क बिजनेस स्कूलमा व्यवस्थापन पढे । त्यहाँको पढाइसकेपछि उनी नेपाल फर्किए । तर, विडम्वना उनको दाजु अमेरिकाबाट नेपाल फर्किएनन् । उनी भने नेपाल फर्किएर बुबालाई व्यवसायमा सहयोग गरे । जसले व्यापक अवरोधका बीच नेपालमा पहिलो पटक बहुराष्ट्रिय कम्पनी यूनिलिभर साझेदारीमा भित्र्यायो र अरू व्यवसायीलाई पनि बहुराष्ट्रिय कम्पनीसँग साझेदारीको सम्भावना देखायो । अमेरिबाट फर्किएपछि श्रेष्ठले विवाह गरे । विवाहअघिको प्रेम प्रसंग पनि गज्जव छ उनको । पद्मकन्या कलेजमा आफ्नी बहिनीलाई छोड्न जानु उनको दैनिकी थियो । त्यहाँ जाँदा उनले एउटा युवतीलाई मन पराए । घरमा कुरा राखे । केटाकेटीको घरमा कुराकानी भयो । ‘सुरुमा उनलाई म मन परिनँ । तर, म उनको पछि लागिरहेँ, अन्ततः प्रेम बुझाउन सफल भएँ, त्यसपछि दुई परिवारबीच भेटघाट भयो र विवाह तय भयो,’ श्रेष्ठ विगत सम्झिँदै भन्छन्, ‘त्यसपछि त विवाह भैहाल्यो नि ।’ अहिले उनकी श्रीमती कान्ता श्रेष्ठको एक छोरा र एक छोरी छन् । छोरा रविन्द्रभक्त पनि आईजे ग्रुपकै निर्देशकका रूपमा काम गरिरहेका छन् । व्यापारबाट उद्योगमा, ठूला कम्पनी साझेदारीमा एउटा कपडा पसलबाट सुरु भएको आईजे ग्रुपको व्यावसायिक यात्रा अहिले उत्पादन, बैंकिङ, बीमा, डिस्ट्रिब्युसन, अन्तर्राष्ट्रिय व्यापार, परामर्श सेवा तथा परियोजना विकासमा बिस्तार भएको छ । यूनिलिभर, सोल्टी होटल, समिट होटल, हिमालय बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, नेशनल आइसक्रिम जस्ता कहलिएका व्यापारिक प्रतिष्ठानमा आईजे ग्रुपको लगानी छ । उपभोग्य वस्तुमा यूनिलिभरका प्रडक्ट र नेशनल आइसक्रिममा यस ग्रुपको लगानी छ भने हस्पिटालिटीमा भिभान्ता होटल, समिट होटल, सोल्टी क्राउन प्लाजा र सोल्टी वेष्टेन्ड प्रिमियर लगायतमा साझेदारीमा यस समूहको लगानी छ । श्रेष्ठका अनुसार अहिले सोल्टीले उपत्यका बाहिर पनि विभिन्न होटलको व्यवस्थापनको जिम्मा लिएको छ । सोल्टी ब्राण्डकै होटल काठमाडौं बाहिर पनि खोल्ने योजनाका साथ नेपालगञ्जमा होटल सञ्चालन भइसकेको छ भने पोखरामा जग्गा खरिदको काम भइसकेको उनको भनाइ छ । पाँचतारे होटल सोल्टीमा ओवराय ग्रुपको लगानी थियो । ओवरायले सोल्टीबाट बाहिरिने निर्णय गरेपछि त्यसको सेयर आईजी ग्रुपले खरिद गरेको थियो । विसं २०६७ सालमा सोल्टी होटलको सेयर खरिद गरेर यो व्यावसायिक समूहले हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हो । त्यसको चार वर्षपछि अर्थात विसं २०७१ सालमा समिट होटलमा लगानी ग¥यो भने २०७५ सालमा सोल्टी वेष्टेन्डमा लगानी ग¥यो । विसं २०७६ सालमा भिभान्ता होटलमा प्रवेश गरेको यो व्यावसायिक समूहले अहिले चौधरी र अन्य व्यावसायिक साझेदारसँग मिलेर कान्तिपथमा ८ रोपनी जग्गामा ‘१९०५ टावर’ निर्माण गर्ने योजना बनाएको छ । जसमा होटल तथा व्यावसायिक कम्पलेक्स हुनेछन् । ‘मन मिल्ने ग्रुपसँग साझेदार हुने हो, त्यसपछि मात्रै सफलता पाउन सकिन्छ, हामीले सोही ढंगले दुई÷तीन व्यावसायिक ग्रुपसँग साझेदारीमा काम गरिरहेका छौं,’ श्रेष्ठले भने । उनको ग्रुपको हिमालयन बैंक र युनाइटेड अजोड इन्स्योरेन्समा पनि लगानी छ । उनी तत्कालीन युनाइटेड इन्स्योरेन्सको धेरै समय अध्यक्ष रहेका थिए । यस्तै, श्रेष्ठले घरजग्गामा पनि लगानी गरेका छन् भने श्री इन्टरप्राइजेज, सिबक्रिम होल्डिङ्स, प्रेसटेलर भेन्चर, आईजे क्यापिटल पार्टनरमा लगानी गरेर ती कम्पनीलाई अगाडि बढाइरहेका छन् । यस्तै, उनले आईजे ग्रुपको सहायक कम्पनी एसआरआई डाइग्नोस्टिक्समा पनि लगानी गरेर स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका छन् । श्रेष्ठका अनुसार आईजे ग्रुपले एक हजार बढी मानिसलाई रोजगारी दिएको छ । पछिल्लो समय अस्वस्थ्य अभ्यासले व्यवसाय गर्न कठिन भएको सुनाउँदै वस्तु व्यापारबाट आफूहरूले हात झिकेको उनले बताए । ‘पछिल्लो समय व्यापारमा प्रतिस्पर्धा गर्न नसकेकै हो, पुराना तथा इथिकल व्यवसाय गर्नेभन्दा पनि नयाँ अनुहारले व्यवसायमा गति लिएको देखिन्छ, उनीहरू कसरी अगाडि बढे त्यो प्रष्ट छ,’ उनले भने । नेपालमा नीतिगत कारण नै व्यवसायको बाधक रहेको श्रेष्ठले सुनाए । ‘नेपालमा नीतिगत र राजनीतिक अस्थिरता छ, पर्यटनमा ठूलो सम्भावना छ तर नेपाल ईयूको कालोसूचीमा छ । यो समस्या समाधानका लागि कुनै प्रयास गरिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेतर्फ सरकारको चासो छैन । होटललाई पनि उद्योगको सरह मान्यता दिनुपर्छ भनेर हामीले लामो समयदेखि भनिरहेका छौं तर यसतर्फ पनि सरकारको ध्यान छैन,’ उनी प्रश्न गर्छन् ‘अनि कसरी हुन्छ देश विकास ?’ नेपालको प्रशासनिक झन्झट, आर्थिक नीति र कानुनकै कारण प्रत्यक्ष वैदेशिक लगानी चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘वैदेशिक लगानीकर्तालाई जुन किसिमको महत्व दिनुपथ्र्यो त्यो भएको छैन, विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आउँदा बजार हेर्छन् । सुरक्षा, प्रतिफल र लगानीमैत्री वातावरण हेर्छन्, ती सबै कुरामा कन्भिन्स भएपछि मात्रै नेपालमा आउँछन् । यी सबै कुरा नभेट्टाएपछि उनीहरू आउँदैनन्, अहिले भएकै यही हो,’ उनले भने । श्रेष्ठले प्रोफेशनल बहुराष्ट्रिय कम्पनीहरू नेपालमा आउन नमानेको धारणा राखे । ‘यूनिलिभर प्रोफेशनल कम्पनी हो, संसारभर परिचित ब्राण्ड छ, यसका प्रडक्टसँग सबै परिचित छन, कम्पनीमा कानूनीरूपमा काम हुन्छ । बेस्ट ब्रेन भएका जनशक्ति छन्, उनीहरूले नेपालमा लगानीमैत्री वातावरण देखेनन् भने थप लगानी गर्न नसक्ने अवस्था हुन्छ, अरूलाई पनि लगानी नगर्नका लागि सुझाव दिन सक्छन्, सरकारले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘बहुराष्ट्रिय कम्पनी नेपालमा पूर्णरूपमा सन्तुष्ट छैनन् ।’ श्रेष्ठले तयारी बस्तु र कच्चा पदार्थको भन्सारदर उस्तै हुँदा नेपालमा बनेका वस्तुले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको धारणा राखे । कच्चा पदार्थको भन्सारदर तयारी वस्तुको भन्दा एक तह कम हुनुपर्ने उद्यमीहरूको माग मान्न सरकार तयार नहुँदा नेपालमा उद्योग फस्टाउन नसकेको, व्यापार मात्र फस्टाएको उनी बताउँछन् । ‘सरकार र ब्यूरोक्रेसीबाट व्यवसायीलाई हेर्ने दृष्टिकोण सहयोगी छैन । हामीले सरकारी निकायमा गएर दिएका सुझावहरू कार्यान्वयन नै भएका छैनन् । बहुराष्ट्रिय कम्पनीबाट गएका सुझाव सरकारले कार्यान्वयन ग¥यो भने पनि देशलाई धेरै टेवा पुग्छ,’ उनी भन्छन्, ‘नेपाली उद्योगको उत्पादनको १० रुपैयाँ पर्छ भने आयात गर्दा ८ रुपैयाँ पर्छ अनि कसरी प्रतिस्पर्धा गर्न सकिन्छ ?’ विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयपछि पर्यटन क्षेत्रलाई चलायनमा बनाउनका लागि अधिकांश देशले फ्री भिसाको नीति अगाडि सारे । त्यसले ती देशहरूलाई फाइदा नै ग¥यो । तर, व्यवसायीले नेपाल सरकारलाई पर्यटकका लागि फ्री भिसाको व्यवस्था गर्न माग गरेपनि वास्ता नगरेको गुनासो उनले गरे । सरकारले भिसा फ्री गरेको खण्डमा राजस्व १० अर्ब बढ्ने अनुमान उनको छ । बुबाछोरा नै महासंघको नेतृत्वमा रविभक्तले आफ्नो बुबाको पदचाप पछ्याइरहे । उनका बुबा विसं २०३५ सालमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बने, जतिखेर उनी २३ वर्षका थिए । एकदिन उनी बुबासँगै महासंघमा पुगे अनि ‘म पनि भविष्यमा यही कुर्सीमा बस्छु’ भन्ने प्रण गरे । विगत स्मरण गर्दै उनी भन्छन्, ‘बुबा महासंघको अध्यक्ष हुँदा मेरो भर्खर विवाह भएको थियो, बुबा अध्यक्ष भएपछि एकदिन महासंघको कार्यालय पुगेँ, त्यहाँ पुगेपछि एकदिन म पनि अध्यक्ष बन्छु भन्ने प्रण गरेँ ।’ बुबासँगै उनको व्यावसायिक यात्रा अगाडि बढ्दै गयो । उनको बुबापछि महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्म ज्योति, आनन्दराज मुल्मी र प्रदिपकुमार श्रेष्ठ महासंघको अध्यक्ष बने । पद्म ज्योति अध्यक्ष भएको समितिमा उनी कार्यसमिति सदस्यमा निर्वाचित भए । विसं २०५४ साल अर्थात आनन्दराज मुल्मी अध्यक्ष रहेको कार्यसमितिको तृतीय उपाध्यक्ष बने र २०५६ अर्थात प्रदिपकुमार श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिको प्रथम उपाध्यक्ष बने । विसं २०५८ सालमा उनी महासंघको अध्यक्षमा निर्वाचित भए । महासंघमा आवद्ध भएको ८ वर्षमै उनले महासंघको नेतृत्व गर्ने अवसर पाए । आफ्नो बुबाकै पदचापमा हिँडेको कारण आफू सफल भएको उनी बताउँछन् । ‘कार्यसमितिमा पुगेपछि सबैभन्दा छोटो समयमा अध्यक्ष बन्ने मै हुँ । महासंघमा बाबुछोरा नै अध्यक्ष बन्ने मौका पनि मिल्यो,’ उनले खुसी साटे । ‘म अध्यक्ष हुँदा उद्योगी व्यवसायीलाई समाज र ब्यूरोक्रेसीले हेर्ने नजर पृथक थियो, व्यवसायी फटाहा हुन् भन्ने दृष्टिकोण थियो । म अध्यक्ष भएपछि ‘कर्पोरेट इथिक्स फोरम’ बनाएँ, ‘बिजनेस कोड अफ कन्डक्ट’ बनाएँ, सबैसँग छलफल गएर सरकारलाई बुझायौं,’ श्रेष्ठ भन्छन्, ‘मोरल बिजनेस अगाडि बढाउन मैले ठूलो पहल गरेँ ।’ विगतमा प्रधानमन्त्री तथा मन्त्रीहरूले खासै चासो नराख्ने महासंघमा आफू अध्यक्ष बनेपछि सबैको चासो बढेको दाबी गर्छन् । ‘विगतमा केही माग राख्नु प¥यो र केही भन्नुपर्यो भने प्रधानमन्त्री तथा मन्त्रीकहाँ जानु पथ्र्यो तर मैले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेर महासंघमै आउने वातावरण सिर्जना गरेँ, त्यसपछि मन्त्री तथा अन्य राजनीतिक दलका नेताहरू पनि महासंघमै आएर छलफल गर्ने अभ्यास सुरु भयो,’ ‘उनी भन्छन्, ‘त्यसपछि धेरै नेताहरूले हामी पनि महासंघमा आएर तपाईंहरूसँग छलफल गर्छौं भन्ने प्रस्ताव गर्नुभयो, महासंघलाई ‘रेपुटेड’ संस्था बनाउन ठूलो पहल गरेँ ।’ श्रेष्ठले विसं २०५८ देखि २०६० सालसम्म महासंघको नेतृत्व गरे । महासंघको अध्यक्ष हुँदा पर्यटनलाई उद्योगको रूपमा मान्यता दिन ठूलो प्रयास गरेपनि त्यसले अहिलेसम्म साथर्कता नपाएको उनको गुनासो छ । उनी महासंघको अध्यक्ष हुँदा पर्यटन सहायक मन्त्रीसमेत बन्ने अवसर पाए । त्यतिखेर राजा ज्ञानेन्द्र थिए भने प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द्र थिए । ‘म सहायकमन्त्री भएपनि मन्त्रीसरह अधिकार दिइएको थियो, राजा र प्रधानमन्त्रीसँग नियमित छलफल हुन्थ्यो, सात महिनाको अवधिमा पनि धेरै काम गरेँ, मलेसियाको क्वालम्पुर जाँदा त्यहाँको उपप्रधानमन्त्रीले स्वागत गर्नु भएको थियो,’ उनी विगत स्मरण गर्दै भन्छन्, ‘नेपाल वायुसेवा निगमको पीपीपी मोडलमा लैजाने प्रतिवेदन पनि मेरै पालामा बनेको हो ।’ तर, उनी सहायक मन्त्रीबाट बाहिरिएपछि त्यो प्रतिवदेनले सार्थकता पाएन । अहिलेसम्म निगम वित्तीयरूपमा समस्यामा परिरहेको छ । त्यतिबेलै सरकारी–निजी मोडलमा निगमलाई लिन सकेको भए अहिले यो हाल देख्न नपर्ने उनको भनाइ छ । श्रेष्ठ व्यवसायीले बढी नाफा गरे, नाफाखोर भए भन्ने आरोप स्वाभाविक नभएको तर्क गर्छन् । उनी सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्छन् । ‘सरकारले पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारलाई साझेदारका रूपमा अगाडि बढाउनुपर्छ, आर्थिक विकासका काममा निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्छ,’ उनी भन्छन्, ‘सरकारले निजी क्षेत्रलाई प्रतिस्पर्धीको दृष्टिकोणले हुर्नु हुँदैन ।’ व्यवसाय र औद्योगिक क्षेत्रमा दिएको योगदानका लागि श्रेष्ठले प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु (दोस्रो), गोर्खा दक्षिण बाहु (तेस्रो), र वीरेन्द्र–ऐश्वर्य पदकलगायत विभिन्न पुरस्कारहरू पाएका छन् । नेपालमा पहिलो पटक बहुराष्ट्रिय कम्पनी भित्र्याएको श्रेय मात्रै होइन, उनको परिवारले नेपाली अर्थतन्त्रमा पु¥याएको योगदानको समग्र निजी क्षेत्र र सरकारले पनि प्रशंसा गर्दै आएको छ ।
सुलभ बुढाथोकी : १५ सयको जागिरदेखि दुई दर्जन कम्पनी मालिकसम्म, बिलियन डलरको यात्रामा (भिडियो स्टोरी)
काठमाडौं । नेपालका निजी तथा सरकारी स्कूल/कलेजले विद्यार्थीहरू पाएनौं भनेर रोइकराइ गरिरहँदा सुलभ बुढाथोकीले सञ्चालन गरेका एक दर्जन शैक्षिक संस्थाहरू भरिभराउ छन् । देश बिग्रियो, आर्थिक मन्दी भयो भन्ने आवाज बढिरहँदा बुढाथोकी भने देश बन्छ, बन्दैछ भन्ने आत्मविश्वास बढाइरहेका छन् । धेरैले देशमा वस्तु आयातमात्रै बढ्यो, व्यापार भएन, अब डलर पाउन पनि हम्मेहम्मे हुन्छ भन्ने धारणा राखिरहँदा उनी भने केही वर्षभित्रै देशमा ‘मिलियन्स अफ डलर’ अर्थात् सयौं मिलियन डलर नेपाल भित्र्याउने रणनीति बुनिरहेका छन् । युवाहरू देशमा रोजगारी पाएनौं भनेर पलायन भइरहँदा उनी आफ्नो प्रत्येक विद्यार्थीलाई पढाइसकेको भोलिपल्टै जागिर लगाउँछन् । बुढाथोकी यो किसिमको आत्मविश्वास, यो दृढता र जाँगर कसरी आयो ? हामीले उनलाई सुरुमा यही जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘कसैले तैंले यो काम गर्न सक्दैनन् भन्यो भने मैले त्यो कामलाई जसरी पनि गर्नैपर्छ, एउटा कामको पछि लागेपछि त्यो काम नसकिँदासम्म पछि हट्दिनँ, घरपरिवारले पनि मलाई लिँडे भन्छन्, समस्याबाट भाग्ने बानी ममा छैन, बरु समस्याभित्रै अवसर खोजेर हिँड्छु ।’ सानैदेखि केही पृथक किसिमको काम गर्न रुचाउने बुढाथोकीको जन्म ललितपुरको इमाडोलमा भयो । मीनभवनमा रहेको ईपीएस स्कूलबाट विद्यालय तह पास गरेका उनले सन् १९९४ मा एसएलसी (हालको एसईई) सकाए । शंकरदेव कलेज र मीन भवन क्याम्पसबाट उच्च शिक्षा पुरा गरे । एसएलसी पास गरेदेखि नै सूचना प्रविधि (आईटी) पढ्ने रुचि थियो उनमा । तर त्यतिबेला अहिले जस्तो सूचना प्रविधि पढ्ने कलेज नै खुलेका थिएनन् । सुरुमा बुढाथोकीको परिवारको स्टेशनरी कारखाना थियो । मोटरसाइकल चलाउनैका लागि भएपनि त्यो कारखानामा गइरहने दैनिकी थियो उनको । तर, विडम्बना पछि कारखाना बन्द भयो । त्यो तीतो अनुभव सुलभसँग छुट्टै छ । त्यही बेला उनले आईटी पढ्ने योजना बनाए । त्यतिखेर आईटीको औपचारिक शिक्षा थिएन । विगत स्मरण गर्दै उनी भन्छन्, ‘जमलमा रहेको एनएआईएटी नामक ट्रेनिक इन्स्टिच्युटमा तालिम लिएँ, कम्युटरको आधारभूत ज्ञान पनि थिएन, सरले कम्प्युटर बन्द गर्न लगाउँदा मैले अर्कै बटन थिचेको अहिले पनि सम्झिन्छु । बिस्तारै ट्रेनिङ लिँदै सिक्दै गइयो, कम्प्युटरमा लेवलअप गर्दै अघि बढियो ।’ सिकाइसँगै बुढाथोकी कम्प्युटर ट्रेनिङ सेन्टरमा काम गर्न थाले । मासिक १ हजार ५ सय रुपैयाँ तलब थियो उनको । ल्याबमा काम गर्नु र विद्यार्थीलाई पढाउनु उनको दैनिकी बन्यो । तर, विस्तारै त्यो संस्था पनि वित्तीय रूपमा समस्यामा पर्न थाल्यो । विद्यार्थी तीन जना मात्रै बाँकी रहे । सन् २००२ मा सञ्चालकहरूले संस्था नै बन्द गर्ने निर्णय गरे । त्यतिबेलासम्म बुढाथोकीले भारतको बैंगलोरमा गएर आईटीमा उच्च शिक्षा पनि हासिल गरेका थिए । आईटीमा राम्रो ज्ञान बनाइसकेका उनीभित्र अमेरिका जाने इच्छा पनि पलाएको थियो । तर, त्यो बन्द गर्ने संस्था नै चलाउने कि भन्ने योजना पनि बनाए उनले । ‘मैले अमेरिका जाने साेंच बनाएको थिएँ । तर, देश छोडेर विदेश किन जानु भनेर यही संस्था किन्ने विचार गरेँ । तर, सुरुमा उनीहरूले दिन मानेनन्, पछि म सक्छु भनेर कन्भिन्स गरेपछि मलाई बिक्री गरे,’ उनी विगत सम्झिँदै भन्छन्, त्यतिखेर वित्तीय रूपमा समस्यामा परेको संस्था नै मैले टेकओभर गरेपछि अहिलेको इस्लिङ्टन र आईएनजी बनेको हो ।’ सुरुको डुबेको बिआरएस इन्फोटेक पछि नाम परिवर्तन गरेर इस्लिङ्टन राखिएको बुढाथोकीको भनाइ छ । त्यो संस्था किन्दा उनको परिवार उनीसँग रिसाएका थिए । आईटीमा राम्रो ज्ञान भएको आफ्नो छोरोले राम्रो जागिर खानसक्छ भन्ने आत्मविश्वास उनको आमाबुबामा थियो । उनको बुबाले अमेरिका गए पनि हुन्छ नभनेका होइनन् । किनकि अमेरिकामा उनले राम्रो कमाइ गर्न सक्थे । तर, उनले डुबेको संस्था किने । परिवार भने उनको त्यो निर्णयमा सन्तुष्ट थिएन । २ दर्जन कम्पनी हाँक्दै एक हजार ५ सय रुपैयाँको तलब खाने बुढाथोकी अहिले दुई दर्जन कम्पनीको मालिक बनेका छन् । त्यसमा एक दर्जन शैक्षिक संस्था छन् । तीन जना विद्यार्थी, एक/दुई जना शिक्षक र डुबेको संस्थाबाट सुरु भएको उनको यात्रा लाख बढी विद्यार्थी, सयौं शिक्षक र दर्जन शैक्षिक संस्थामा बिस्तार भएको छ । यो छोटो अवधिमा उनी शिक्षा र सूचना प्रविधिको क्षेत्रमा एक सफल उद्यमीका रूपमा स्थापित भएका छन् । अहिले उनले इनोभेट नेपाल ग्रुप (आईएनजी) मार्फत व्यवसाय बिस्तार गरिरहेका छन् । आईएनजी ग्रुपमार्फत् २५ वटा संस्था सञ्चालित छन् । त्यसमध्ये १० वटा स्कुल तथा कलेज छन् । ती शैक्षिक संस्थामा उच्च शिक्षातर्फ ११ हजार, टेक्नोलोजीतर्फ माई सेकेण्ड टिचरमा झन्डै एक लाखको संख्यामा विद्यार्थी रहेको उनले जानकारी दिए । बुढाथोकीले ती शैक्षिक संस्थामा १७ सय कर्मचारी रहेको सुनाए । ‘हामीले आईएनजी ग्रुपमार्फत एउटा प्रणाली नै विकास ग¥यौं । माई सेकेण्ड टिचरले स्कुल शिक्षा सुधार गर्छ, त्यस्तै ब्याचलर एजुकेशनको लागि पनि हाम्रो आफ्नै इकोसिस्टमले काम गर्छ । ब्याचलर पूरा गरेर निस्किएको जनशक्तिलाई नै प्रयोग गरेर हामी प्रडक्ट मार्केटमा गयौं, अहिले कक्षा ११ र १२ को एकेडेमिक टिम बाहेक ९० प्रतिशत जनशक्ति हाम्रो आफ्नै विद्यार्थीहरू हुन्,’ उनले भने । व्यवसायहरू इस्लिङ्टन कलेज, कमलपोखरी हेराल्ड कलेज, नक्साल इटहरी इन्टरनेश्नल कलेज इन्फोमेरिक्स कलेज, पोखरा विराटनगर इन्टरनेश्नल कलेज काव्य स्कुल, नयाँ वानेश्वर एपेक्स कलेज, मध्येवानेश्वर माई सेकेण्ड टिचर स्किल एकेडेमी आईएनजी कन्सल्टिङ भैरव टेक इनोभेट टेक साइबर साथी आईएनजी फुड वान मोर कप वान मोर बाइट आईएनजी एआरसी आईएनजी स्टुडियो कलेजसँगै आईएनजी ग्रुपले नेपालमा पहिलो पटक अर्थात सन् २०११ मा साइबर सेक्युरटीको पनि पढाइ सुरु ग¥यो । आज देशको सबैभन्दा ठूलो साइबर सेक्युरेटी कम्पनीका रूपमा आईएनजी ग्रुपकै भैरव टेक अगाडि छ । ‘आजभन्दा १३ वर्ष अगाडि नेपालमा पहिलो पटक साइबर सेक्युरेटी पढाउन सुरु गर्यौं, त्यही प्रडक्ट प्रयोग गरेर आईटी उद्योगको सेटअप गर्यौं, आज भैरव टेक नेपालको पहिलो र सबभन्दा ठूलो साइबर कम्पनी भनेर सुन्दा गर्व लाग्छ,’ बुढाथोकीले खुसी हुँदै भने । भैरव टेकले यूरोप, अमेरिकादेखि जापान, अस्ट्रेलिया, बंगलादेश लगायतका विकसित राष्ट्रका ठूल्ठूला कम्पनीसँगै कतिपय क्लाइन्टहरूको लागि साइबर सेक्युरेटी सेवा दिँदै आएको छ । नेपालबाट विदेशको सेक्युरेटी कम्पनीले हेरिरहेको छ । टोयोटा फाइनान्सियल सर्भिसेसको साइबर सेक्युरिटी, युनाइटेड नेशन्स स्विट्जरल्याण्डको एउटा पार्ट, केही समयअघि सम्पन्न भएको पेरिस ओलम्पिकको साइबर सेक्युरिटी यही भैरव टेकले गरेको हो । आईएनजीको इकोसिस्टममा आज विभिन्न ५५ वटा देशमा उपस्थिति रहेको बुढाथोकीले सुनाए । इस्लिङ्टनले थाइल्याण्डको कलेजलाई यहींबाट व्यवस्थापन गरिरहेको पनि जानकारी दिए । एउटा डुबेको संस्थालाई सुधार्न सक्छु भन्ने जुन आँट र जोश उनले लिए, त्यसले सार्थकता मात्रै पाएको छैन, आज ५५ देशमा आफ्नो उपस्थिति देखाएका छन् । ‘समस्यासँग लड्दै र जुद्दै अगाडि बढ्दैछु, कोरोना महामारीको बेला धेरै मानिस घरभित्रै बसे, हामीले सबै कलेजलाई अपग्रेड ग¥यौैं, माई सेकेण्ड टिचरको ग्रोथ कोरोनाकै बेला भएको हो, चुनौतीको बेला अरू सुते, हामीले १८ घण्टा काम ग¥यौं, आज यो सफलता मिलेको छ,’ बुढाथोकीले सुनाए । अहिले आईएनजीले काठमाडौंसँगै पोखरा, विराटनगर र इटहरीमा कलेज चलाइरहेको छ । काठमाडौंमै प्रविधिबाटै शिक्षा दिने काभ्या स्कूल पनि सञ्चालित छ । माई सेकेन्ड टिचर अहिले देशका एक सयभन्दा बढी विद्यालयमा चलिरहेको छ । एक लाख विद्यार्थीले यसैको प्रविधिबाट पढिरहेका छन् । विद्यार्थी नै बिजनेस पाटर्नर बुढाथोकीले विद्यार्थीलाई पढाएर मात्रै आफ्नो ड्युटी सकियो सोचेका छैनन् । पढेका विद्यार्थीलाई काम दिनुलाई उनले आफ्नै जिम्मेवारी ठाने । ‘यस वर्ष १ हजार ९५७ जनाले स्नातक उत्र्तीण गरे । ‘ग्र्याजुएट भएको एक महिनाभित्र १९०० जनालाई जब जागिर दिलायौं । सम्पर्कमा नआएकाले ५७ जनालाई काम लगाउन बाँकी छ । मेरा विद्यार्थीमध्ये एक जनालाई मात्र जब प्लेसमेन्ट गर्न बाँकी थियो भने तपाईंसँगको अन्तरवार्ता मेरो प्राथमिकतामा पर्दैन थियो,’ उनले भने । विद्यार्थीसँगको सहकार्यमा बुढाथोकीले अर्को राम्रो अभ्यास गरेका छन् । आफ्ना विद्यार्थीहरूलाई सकेसम्म आफ्नै व्यवसायमा जागिर दिने । व्यवसाय गर्न चाहनेलाई व्यावसायिक साझेदार पनि बनाउने । उनको यही रणनीतिअनुसार आईएनजी अन्तर्गतको शैक्षिक संस्थामा आवद्ध अधिकांश कर्मचारी सोही संस्थाका पूर्वविद्यार्थी रहेका छन् भने व्यावसायिक साझेदार पनि उनका विद्यार्थीहरू नै रहेका छन् । ‘यो ग्रुपको नेतृत्व मैले गरेको छु । तर, मेरो सवल पक्ष भने पनि मेरो मन, मुटु र मस्तिष्क जे भने पनि त्यो सबै मेरो टिम हो, आज आफ्नो टिम देखेर गर्व लाग्छ,’ उनी भावुक हुँदै भन्छन्, ‘मेरो टिमले मभन्दा बढी दुःख गरेको छ ।’ हाल यो ग्रुपको उच्च शिक्षातर्फको नेतृत्व गरिरहेका प्रकाश श्रेष्ठ आईएनजीकै प्रडक्ट हुन् । बुढाथोकी भन्छन्, ‘प्रकाश हाम्रो संस्थामै पढेको, एकदमै दुःख गरेको व्यक्ति हुन्, उनले पढाइ सक्नासाथ टिचिङ असिस्टेन्टबाट काम सुरु गरेर जुनियर लेक्चरल, लेक्चरल हुँदै हेराल्ड कलेजको सीईओ भएर अहिले सम्पूर्ण उच्च शिक्षाको नेतृत्व गरिरहेका छन् ।’ इटहरी इन्टरनेशनल कलेजका सीईओ सत्यव्रत कोइराला, इस्लिङ्टनको सीईओ रोहित पाण्डे, स्किल एकेडेमीका अभिनव दाहाल र साइवर सेक्यरिटीमा संसार हाँकिराखेका भैरव टेकको सीईओ विजय लिम्बु, माई सेकेण्ड टिचरकी मीरा भट्टराई बुढाथोकीकै विद्यार्थी हुन् । उनीहरू सानोबाट अपग्रेड हुँदै अहिले नेतृत्वमा पुगेका हुन् । ‘यी सबैजना कतैबाट बोकेर ल्याएर नेतृत्वमा राखिदिएको होइन, शून्य अवस्थाबाटै नङ्ग्रा खियाएर दुःख गर्दै माथि पुगेकाहरू हुन्, अरु पनि धेरै जना हुनुहुन्छ मेरो टिममा, ९० प्रतिशत कर्मचारी सानोदेखि नै ग्रुम भएका छन्, उनीहरू नै मेरो भविष्यको बिजनेस पार्टनर हुन्,’ उनले भने । बुढाथोकी टिममा विश्वास गर्छन् । टिम नै आफ्नो स्ट्रेन्थ मान्छन् । ‘स्नातक पास गरेका आफ्ना विद्यार्थीलाई विश्वास गर्दै आउँदा आज अधिकांश ९० प्रतिशत नेतृत्वमा हुनेहरू आफैले पढाएकाहरू छन्, उनीहरू नेतृत्वमा छन्, हामीले एक किसिमको इकोसिस्टम विकास गर्न सफल भएका छौं,’ उनले खुसी हुँदै भने । विद्यार्थी यस कारण रोज्छन् आईएनजी अहिले अधिकांश विद्यालय तथा कलेजहरू विद्यार्थी नपाएर बन्द हुने अवस्थामा हुँदा आईएनजीले सञ्चालन गरेका शैक्षिक संस्थामा भने विद्यार्थी भरिभराउ छन् । यो कसरी सम्भव भयो ? बुढाथोकी यसको जवाफ दिँदै भन्छन्, ‘हामीले विद्यार्थीले चाहेको कुरा सिकायौं, व्यवस्थापन, पाठ्यक्रम समयानुकूल हुनुप¥यो, पुराना पाठहरू घोकाएर अहिलेको विद्यार्थी बस्न सक्दैनन् ।’ स्कुल/कलेजका आन्तरिक व्यवस्थापनदेखि शैक्षिक प्रवृत्तिमा नयाँ जेनेरेशन अनुकूलको वातावरण, अहिलेको पुस्ताको रुचिअनुसारको सिकाइ प्रणाली र सीपयुक्त शिक्षा दिन सकेमा विद्यार्थीहरू विदेश नजाने र विदेश गएकाहरू पनि फर्किने वातावरण बन्ने उनको भनाइ छ । देशभित्रको स्कुल/कलेजमा विद्यार्थीको संख्यामा ह्रास आउने, विदेसिनेले डलरमा खर्च गर्नुपर्ने बाध्यताको पछाडि एउटै कारण रहेको बुढाथोकीले सुनाए । विद्यार्थीलाई नचिन्दा र उनीहरूको अपेक्षा पूरा गर्न मद्दत गर्ने शिक्षा नहुँदा अहिले युवाको रोजाइ विदेश बन्ने गरेको उनको भनाइ छ । ‘अहिलेको ‘जेन जी’ जेनेरेशनका विद्यार्थीलाई उही दशकौं पुरानो शिक्षा पद्धतिमा जवर्रजस्त जोड्न खोजेपछि उनीहरूमा सीप र क्षमता विकास कसरी हुन्छ ?,’ उनी प्रश्न गर्दै भन्छन्, ‘अनि समय सुहाँउदो भविष्य खोज्न वैदेशिक शिक्षा र रोजगारीमा विद्यार्थी पलायन नभएर के गरुन् त ?’ ‘पढाउने शिक्षण संस्थाको हालत हेरौं, चार÷पाँच पुस्ताले प्रयोग गरेको उही पुरानो फर्निचर, त्यसपछिका पुस्ता आउँदा समेत फेरिएको हुँदैन । हालको जेनेरेशन निकै पर साेंचेर बसेका छन्, उनीहरूको सोचलाई बुझेर सन्तुष्टि दिने किसिमका स्रोतसाधन नेपालका स्कुल÷कलेजमा छैनन्, गतिलो कोर्स छैन, विश्वको कुन कुनामा के भइरहेको छ भनेर विद्यार्थीले घरमै थाहा पाउँछन् अनि स्कुल÷कलेजको त्यो हाल देखेपछि विदेश जान उप्रेरित हुनु स्वाभाविक हो,’ उनी थप्छन्, ‘हाम्रा स्कुल÷कलेज विद्यार्थीलाई ९० को दशकको शिक्षा प्रणालीमै तान्न चाहन्छन्, त्यो कसरी सम्भव छ अबको समयमा ?’ बुढाथोकी विद्यार्थीहरूले राम्रो नम्बर ल्याएर पास गरेपछि राम्रो जागिर पाइन्छ भन्ने मानसिकतालाई त्यागेर घोकेर नम्बर ल्याउनेभन्दा आफै बुझेर सिकेर अघि बढ़ने मनोवृत्ति विकास गर्न आवश्यक रहेको बताउँछन् । शैक्षिक प्रणालीको विकास नै नयाँ तवरले गर्न जरुरी रहेको उनको भनाइ छ । अहिले धेरै कम्पनीले सीपयुक्त जनशक्ति नपाएको उनको भनाइ छ । आफूहरूले कम्पनी र विद्यार्थीबीचको दूरीलाई जोड्ने कामको व्यवस्थापन गरिरहेको सुनाए । ‘बालबालिकालाई नम्बरको पछि कुदाएर मात्र सामथ्र्यवान बनाउन सकिँदैन, ‘बच्चाहरूसँग समस्यासँग जुध्न सक्ने क्षमताको विकास गराउन आजको शिक्षाले सकेको छैन, भावनात्मक रूपमा पनि उनीहरू स्वयंलाई सम्हाल्न सक्ने मनोवृत्ति विकास गर्ने शिक्षाको खाँचो छ, त्यसमाथि विश्वविद्यालयसम्म पुगेर डिग्री लिएकालाई पनि डिग्रीको उपयोगिता यो वा त्यो क्षेत्रमा छ भनेर बुझाउनुपर्ने भएको छ । त्यहाँनिर हामी सबैले काम गर्न जरुरी छ,’ उनले भने । विश्वविद्यालयहरूको प्रणाली नै खराब रहेको बुढाथोकी सुनाउँछन् । राजनैतिक नेतृत्व र व्यवस्थापन पक्षले सोंच नै परिवर्तन गर्न नसकेको उनको बुझाइ छ । ‘म आफै पोखरा विश्वविद्यालयमा आवद्ध छु, त्यहाँ पनि सुधार जारी राखेका छौं, यही रफ्तारमा अघि बढे त्यसले नेपालको शैक्षिक प्रणालीमै सुधार ल्याउँछ । तर, हामीले परिवर्तन कहाँ गर्नु पर्छ भने जति धेरै विद्यार्थीलाई विश्वविद्यालयले फेल गरायो उति नै विश्वविद्यालय तगडा हुन्छ भन्ने जुन भ्रम बाहिर छरिएको छ, त्यसलाई जति सक्दो चाँडो चिर्नु आवश्यक छ,’ उनले भने । अर्को यति जनाभन्दा विद्यार्थी पढाउन पाइँदैन भन्ने कोटा सिस्टमको थ्रेसहोल्ड हटाउन आवश्य रहेको उनको बुझाइ छ । अर्बौंको कारोबार, डलर कमाउने रणनीति केही वर्षअघि सिङ्गापुरमा बेलायतका स्कुल/कलेजहरूमा आधुनिकीकरणको शिक्षा के कसरी अगाडि बढाउने, अबको डिजाइन कस्तो हुन्छ भन्ने विषयमा एउटा कार्यक्रम भयो । संयोगवस बुढाथोकी त्यहाँ पुग्ने अवसर पाए । छलफलका लागि फिलिपिन्स, भारत, सिङ्गापुर र भियतनाम लगायतका देशका शिक्षाविदहरू त्यहाँ पुगे । ‘त्यहाँ एउटा डिजाइन तयार भयो । नेपालमा मैले काम गर्छुभन्दा त्यहाँ भएका अधिकांश मानिस हाँसे,’ उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘उनीहरूले हामीलाई नेपाली भनेर पत्याएका थिएनन्, अहिले पनि नेपाललाई आईटीमा अझै पत्याउँदैनन् । त्यो छलफलमा रहेका मुख्य व्यक्ति र मेरो पनि मेन्टर एवं व्यवसायिक पार्टनर पनि भएकोले अन्तिममा प्रोजेक्ट मैले पाएँ, त्यतिबेला मैले आफ्नै स्रोतसाधनबाट सिस्टम बनाएर दिन्छौं भन्ने सर्त थियो ।’ ११ हजार विद्यार्थी, १ हजार ७०० कर्मचारी, २५ वटा कम्पनी, ५५ देशमा आईटी व्यापार गरिरहेको आइएनजी ग्रुपका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकी आगामी ४ वर्षपछि आफ्नै नेतृत्वमा रहेका कम्पनीले वार्षिक कम्तिमा २०० मिलियन अमेरिकी डलर नेपाल भित्र्याउनेमा विश्वस्त छन् । बुढाथोकी आफैले सिस्टम बनाएर दिने, सोही सिस्टम नेपालमा प्रयोग गर्न पाउनुपर्ने, कपिराइट पनि आफ्नो अधिनमा हुनुपर्ने र रोयल्टी फ्रि चलाउन पाउनुपर्ने सर्त राखे । त्यतिबेला प्रोजेक्टको १० मिलियन डलर भ्यालु थियो । तर, उनले पैसा नलिएर नेपालको शैक्षिक गुणस्तर सुधार गर्ने ठाने । अहिले उनलाई नेपाल मात्र होइन, साउथ एसियाकै स्वामित्व छ । यसरी सुरु भएको हो ‘माई सेकेण्ड टिचर’ । भारतमा कसैले यो नाममा चलाउन चाहन्छ भने बुढाथोकीको अनुमति चाहिन्छ । अहिले ५१ वटा देशले यो सिस्टम प्रयोग गर्छन् । यसको डिजाइनर क्याम्ब्रिज विश्वविद्यालयका शिक्षाविद्हरू हुन् । आईएनजी ग्रुपको वार्षिक ३ सय करोडको कारोबार छ । अहिले इस्लिङ्टन कलेज, हेराल्ड कलेज, इटहरी इन्टरनेशनल कलेज, इन्फोमेरिक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, काव्य स्कुल, एपेक्स कलेज र माई सकेण्ड टिचर लगायतको माउ अर्गनाइजेसन आईएनजी ग्रुप नै हो । ‘हाम्रो वार्षिक कारोबार ३ सय करोडको हाराहारीमा पुग्छ, सेल्फमेड आईटीमा आधारित, शैक्षिक, ट्रेनिङ र सामाजिक उद्यमशीलताबाट बिलियन डलर कमाउने युनिकर्न कम्पनी बनाउने लक्ष्य छ । बिलियन डलर कमाउने युनिकर्न कम्पनी बनाउँछु भन्दा धेरैलाई हाँसो लाग्ला । तर, सपना देख्दा मिडियम साइजभन्दा निकै माथि उठेर देख्नुपर्छ,’ उनी भन्छन्, यो एकदिन पक्कै सम्भव हुनेछ ।’ बुढाथोकीले अहिले पनि विदेशबाट नेपालमा डलर भित्र्याउने काम गरिरहेका बताए । उनी भन्छन्, ‘अघिल्लो वर्ष एक मिलियन डलर हामीलाई आएको थियो, कुनै पनि टेक्नोलोजी प्रडक्टमा आइसकेपछि बजारमा पुगेर साइकल समात्न समय लाग्छ । त्यो साइकल कम्तिमा १० वर्षको हुने रहेछ, हामी अहिले छैटाैं वर्षमा छौं । अबको चार वर्षमा जे जति हामीलाई आउँछ, सायद अहिले नेपालले त्यसको कल्पना पनि गरेको छैन, त्यो लेवलको लाभ हामीलाई हुन्छ ।’ अबको चारदेखि पाँच वर्षको समयावधिभित्र कम्तिमा असफल नै भए भने पनि २ सय मिलियन डलर नेपाल ल्याउने लक्ष्य रहेको बुढाथोकीले सुनाए । त्यो भनेको अहिलेको नेपालको २७ अर्ब बढी हो । ‘हामीले जग बलियो हालेका छौं, डिपीसी बाक्लो छ,’ उनी भन्छन्, ‘यही रफ्तारमा गयौं भने टार्गेट पूरा गर्न अर्थात् छत हाल्न धेरै समय लाग्दैन ।’ नेपाल उद्योग परिसंघले आगामी १० वर्षभित्र ३० खर्बको आईटी निर्यात गर्न सकिने प्रक्षेपणसहित सरकारलाई वातावरण बनाउन सुझाव दिएको छ । सरकार पनि सकारात्मक नै देखिन्छ । त्यो लक्ष्य पूरा गर्न निजी क्षेत्रले भरपुर सहयोग गर्ने बुढाथोकीको भनाइ छ । ‘सरकारले देख्दै नदेखेको आईटी क्षेत्रले गत वर्ष सवा खर्बको आईटी निर्यात गरेको छ, आईटीमा लागेर ८/१० लाखको कमाइ गर्ने धेरै छन् । फ्रिलान्सिङ गरेर पनि एक/डेढ लाख रुपैयाँ कमाइ गरिरहेका छन्, त्यसैले आईटी क्षेत्रको भविष्य निकै उज्वल छ, अवसरहरू धेरै छन्,’ उनी भन्छन्, ‘सरकारले आईटी क्षेत्रलाई अब प्राथमिकतामा नराख्नुको विकल्प छैन ।’ पहिला आफै सस्टेन भएर समाजलाई रिटर्न दिने सामाजिक उद्यमशीलताको मोडलमा आफू लागिरहेको उनको भनाइ छ । ‘शिक्षातर्फ कलेजहरूको नाफाबाट माई सेकेण्ड टिचर बनायौं, आईटीमा भैरवलाई ग्रोथ गरायौं । अबको पाँच वर्षपछि यी दुई संस्थाले २ सय मिलियन डलर नेपाल भित्र्याउँछन्,’ उनी भन्छन्, ‘त्यसपछि युवाहरू किन विदेश जानु प¥यो ?’ ‘हामीले एउटा इकोसिस्टम बनाएका छौं, अब नेपालमै युवाहरूलाई रोजगारी दिएर राख्छौं । युवा सक्षम हुनासाथ उसको परिवार सुखी हुन्छ, उनीहरू सक्षम भएपछि समाजलाई कुनै न कुनै रूपमा सेवा गर्छन्, त्यसरी नैं अघि बढ्दै जाने हो भने देश बन्छ । मैले गर्न चाहेको सामाजिक उद्यमशीलता पनि यही नै हो,’ उनी भन्छन्, ‘आपसमा जोडिएर आफू पनि ग्रोथ गर्ने समाजलाई पनि हेर्ने योजना छ।’ देशमा भविष्य छैन भनेर पलायन भइरहेका विद्यार्थीका लागि एउटा उदाहरण हुन् बुढाथोकी जसले सुरुमा अमेरिका जाने योजना बनाएर पछि आफ्नै देशमा केही गर्ने प्रण गरे । डुबेको संस्थालाई किनेर एउटा ब्राण्ड स्थापित गरे । ‘विद्यार्थी भाइबहिनीलाई नेपालमै अवसर छ भन्ने सन्देश हामीले दिएका छौं, स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्दैछौं, हामीसँग जोडिएका विद्यार्थीलाई ग्रुम गर्दै अगाडि बढाइरहेका छौं, आईएनजी आफू सफल हुँदै गर्दा स्टेक होल्डर्सलाई समेत सफल बनाउन काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘परिवर्तन छिट्टै देखिने छ ।’ व्यवसायीप्रतिको दृष्टिकोण नेपालमा व्यवसायीलाई हेर्ने हेय दृष्टिकोणले धेरै व्यवसायी तथा उद्यमी आजित छन् । व्यवसायमा सफल भएकाहरूलाई माफियाको ट्याग लगाउने समाजले उनीहरूलाई निरुत्साहित बनाउँछ । तर, बुढाथोकी यो भाष्य चिर्नतर्फ लागेका छन् । ‘मिहिनेत गरेर सफल हुँदा पनि माफिया भइन्छ, व्यापारी जति सबै ठग हुन् भन्ने भ्रम चिर्न जरुरी छ, त्यसको पहल राज्यले नै गर्नुपर्छ,’ उनी भन्छन्, ‘पहिलो कुरा त राज्यले व्यापारीजतिलाई एउटै टोकरीमा राख्यो, यो विलकुल गलत हो । व्यापारी को पनि वर्ग छुट्याएर प्रस्ट्याउन सकियो भने सुधार हुन्छ ।’ म्याद नाघेका वस्तुलाई जालझेल गरेर बेच्दै हिँड्नेहरू पनि व्यापारी बनेका छन्, नराम्रो बाटोमा लागेका पनि व्यापार गरेकै छन् । राज्यले सबैलाई एउटै टोकरीमा राख्दा समस्या सिर्जना भएको उनको बुझाइ छ । ‘समाज र राज्यलाई सेवा दिएर त्यहींबाट आर्जन गर्छु, देशमै रोजगारी सिर्जना गर्छु, समाजलाई नि बनाउँछु आफू पनि बन्छु भनेर लागेका पनि होलान् नि,’ उनी भन्छन्, ‘यसैका लागि अब व्यवसायीको पनि वर्ग छुट्याउनुपर्छ ।’ देश बनाउने जिम्मा राजनीति गर्नेहरूको मात्र हो भन्ने गलत भाष्य पनि समाजका लागि खतरा हो । निजी क्षेत्रबाट लागेका व्यवसायीको देश निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । राजनीतिक दलका शीर्ष नेतालाई गाली गरेर पनि केही नहुने बुढाथोकीको तर्क छ । ‘उहाँहरूले आफ्नो काम गरिसक्नु भएको छ, कुनै बेलाको बन्द समाजलाई उहाँहरूले खुल्ला बनाइदिनुभयो, प्रजातन्त्रदेखि लोकतन्त्र-गणतन्त्र ल्याइदिनु भयो, संविधान बनाइदिनु भयो, डेलिभर गर्नुपर्ने जति गरिसक्नु भयो, अब पनि त्यही पुस्तासँग हामीले अपेक्षा गर्ने होइन,’ उनी भन्छन्, ‘एउटै जमातसँग हामीले भएभरको विकासको आशा र अपेक्षा धेरै गरेर मात्र त्यो पूरा हुँदैन, अब देश निर्माणका लागि हामी आफै जाग्नुपर्छ ।’
हजारबाट अर्बौंको यात्रा, सफल उद्यमी उमेशको कथा (भिडियोसहित)
काठमाडौं । भोजपुरको एउटा सामान्य परिवारमा जन्मिएका उमेश श्रेष्ठ कसरी अर्बपति बने ? आउनुहोस् आज यही विषयमा चर्चा गरौं । उमेश श्रेष्ठ २०१२ माघ २० गते भोजपुरमा जन्मिए । स्कुले जीवन भोजपुरमै पुरा गरेका उनी थप अध्ययनका लागि एसएलसीपछि काठमाडौं आए । सानै देखि मिहिनेती थिए उनी । काठमाडौंमा फुपु र फुपाजुसँग बसे । शंकरदेव क्याम्पसबाट १२ कक्षा पास गरे । कक्षा १२ पास गरेपछि उनी छुट्टै कोठा लिएर भाडामा बस्न थाले । त्यतिखेर उनले मासिक एक सय रुपैयाँ कोठा भाडा तिर्थे । १२ कक्षा पास गरेपछि ललितपुरको पाटन क्याम्पसबाट स्नातक पास गरे । मानविकी अध्ययनपछि उनले एक वर्षे बीएड गरे । श्रेष्ठले वि.सं २०३० सालमा क्षेत्रीय शिक्षा निर्देशनालयमा प्राथमिक स्कुल सुपरभाइजरको जागिर पाए । विभिन्न विद्यालयहरूमा गएर निरीक्षण गर्नुपर्ने जिम्मेवारी थियो उनको । त्यही समयमा विद्यालयमा पढाउने काम पनि गरे । त्यतिखरे देशमा शिक्षा क्षेत्रले प्रगति गर्न सकेको थिएन, शिक्षामा सरकारी लगानीमात्रै थियो, निजी लगानी भएका विद्यालय सीमित थिए। उमेशले त्यतिबेलै शिक्षामा धेरै काम गर्न सकिने सम्भावना देखे । त्यतिखेर सरकारले पनि निजी क्षेत्रले शिक्षामा लगानी बढाउनुपर्ने नीति लिँदै थियो । काम गर्ने मौका यही हो भन्ने योजनाका साथ श्रेष्ठले स्थायी सरकारी जागिर छोडे । काम पाउन मुस्किल भइरहेको त्यो समयमा सरकारी जागिर छोड्ने उनको त्यो साहस असाधारण थियो । तर, उमेशले हुँदाखाँदाको जागिर छोडिदिए । त्यसपछि सुरु भयो लिटिल एञ्जल्स श्रेष्ठमा मैले केही गर्न सक्छु भन्ने आत्मविश्वास र दृढता थियो । विद्यालयमा पढाएको र विभिन्न विद्यालयमा गएर निरीक्षण गरेको अनुभव थियो उनीसँग । सरकारले पनि निजी क्षेत्रलाई शिक्षामा आकर्षित गर्ने नीति लिइरहेको बेला उनले लिटिल एञ्जल्स स्कुल सुरु गरे । विसं २०३७ सालमा दुईजना साथी मिलेर खोलेका लिटिल एञ्जल्स स्कुलको स्थापना भयो । स्कुलको भाडा थियो– दुई हजार रुपैयाँ । सुरुको वर्षमा ६५ जना विद्यार्थी भर्ना भए । ६५ हजार रुपैयाँ पुँजीमा नै स्कुल खोलियो । व्यवसाय सुरुवात गर्दाका दुःख र संघर्षहरू श्रेष्ठको मानसपटलमा अझै पनि ताजै छन् । एउटा थोत्रो साइकल चढेर पछाडि साथीलाई राखी विद्यार्थी खोज्न हिँडेका संघर्षका दिनहरू सम्झिँदा उनी अहिले पनि भावुक बन्छन् । बिहानै उठेर स्कुलमा सरसफाइ गर्ने र पछि विद्यार्थीलाई पढाउने श्रेष्ठको दैनिकी हुन्थ्यो । विस्तारै स्कुलले एउटा लय समात्यो । अभिभावकले विश्वास गर्न थाले । स्थापनाको दोस्रो वर्ष १०५ जना, तेस्रो वर्ष ३ सय जना, चौथो वर्ष ६ सय र पाँचौं वर्ष १२ सय विद्यार्थी पुगे । स्कुलको कमाइ बढ्न थाल्यो । उनको मिहिनेतको रफ्तारले थप गति लिन थाल्यो । आत्मविश्वासले थप उचाइ लिन थाल्यो । उनी मनमनै आफूलाई भन्थे ‘तँ गर्न सक्छन्, अगाडि बढ् ।’ स्कुलले कमाइ गर्न थालेपछि श्रेष्ठले विद्यार्थीलाई बोक्न गाडी किने । तर, चालक आफै बने । उनीसँग अहिले पनि भ्यान, बस, ट्रकको चालक अनुमति पत्र (लाइसेन्स) छ । ‘आफै स्कुल सफा गर्ने, आफै गार्डको काम गर्ने, भ्यान चलाउने, आफै पढाउने, जेजस्तो भएपनि काम गर्नुपर्छ भन्ने मानसिकता थियो,’ उनी संघर्षका सुरुवाती दिनहरू स्मरण गर्दै भन्छन्, ‘स्कुलले एउटा उचाइ लिन थालेपछि भारत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत देशमा पुगेर त्यहाँको शैक्षिक संस्थाहरू हेरियो, बुझियो, त्यहाँको सिकाइ नेपालमा लागू गर्ने प्रयास गरेँ ।’ सफलताका लागि मिहिनेत गर्नुपर्ने राय श्रेष्ठको छ । ‘सपना ठूलो देख्नुपर्छ, दूरदर्शी बन्नुपर्छ,’ उनी भन्छन्, ‘मल्टिप्लाई हुने क्षेत्रमा लगानी गर्नुपर्छ ।’ साढे चार दशकअघि स्थापना भएको लिटिल एञ्जल्स अहिले देशको गौरव गर्न लायक शैक्षिक संस्था बनेको छ । हजारौं विद्यार्थी यो संस्थाबाट पासआउट भएका छन् । अहिले लिटिल एञ्जल्सअन्तर्गत १० वटा शैक्षिक संस्था सञ्चालित छन् । १७ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ५ सय जना कर्मचारी कार्यरत छन् । चार सय बढी विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । गुणस्तरीय शिक्षा, अत्याधुनिक पूर्वाधार, सेवा सुविधाहरू र ठूलो संख्यामा विद्यार्थी भर्नाको हिसाबले लिटिल एञ्जल्स देशको एक प्रतिष्ठित शैक्षिक संस्था बन्न सफल भएको छ । एउटा फ्ल्याटबाट सुरु भएको स्कुल आज सयौं रोपनी जग्गामा फैलिएको छ । ‘जीवन नै शिक्षामा बिताएँ, मैले पाएको उपलब्धि नै शिक्षा हो, शिक्षा देश विकासको मेरुदण्ड हो,’ लिटिल एञ्जल्सका संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन्, ‘एउटा व्यक्तिले शिक्षामा यति धेरै काम गर्न सक्छ भने सिंगो देश लाग्यो भने परिवर्तन सम्भव छ ।’ प्याब्सन र हिसानको नेतृत्वमा पनि सफल लिटिल एञ्जल्स स्कुलको सफल उडान गरिरहेका श्रेष्ठलाई बजारले हेर्ने दृष्टिकोण पृथक बनिसकेको थियो । उनले गर्न सक्छन् भन्ने विश्वास धेरैमा थियो । त्यही विश्वासमा उनले निजी विद्यालयहरुको संगठन (प्याब्सन) को नेतृत्व गर्ने अवसर पाए । प्याब्सनमा पनि उनी चुप लागेर बसेनन् । निजी विद्यालयहरुको सुधारमा उनी लागिरहे । देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । रणधीर सुब्बा आयोगले २०३९ सालमा प्लस टुको अवधारणा बनाइसकेको थियो । तर, लागू भएको थिएन । त्यो अवधारणा कार्यान्वयन गराउनका लागि श्रेष्ठले ठूलो मिहिनेत गर्नुप¥यो । उनी उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को पनि अध्यक्ष बने । तीन कार्यकाल सफलताका साथ सम्पन्न गरे । सरकारले प्लस टुको अवधारणा ल्याएपश्चात् प्याब्सनले कक्षा १० सम्म मात्र समेटेकोमा कक्षा ११ र १२ कक्षलाई समेत समेटिने गरी हिसान स्थापना आफ्नै पहलमा भएको उनी बताउँछन् । साढे चार दशकअघि स्थापना भएको लिटिल एञ्जल्स अहिले देशको गौरव गर्न लायक शैक्षिक संस्था बनेको छ । हजारौं विद्यार्थी यो संस्थाबाट पासआउट भएका छन् । अहिले लिटिल एञ्जल्स अन्तर्गत १० वटा शैक्षिक संस्था सञ्चालित छन् । १७ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ५ सय जना कर्मचारी कार्यरत छन् । ‘प्याब्सन र हिसानलाई गति दिन ठूलो मिहिनेत गर्नुप¥यो, आज दुवै संस्था जति ठूलो बनेका छन्, त्यसमा मेरो पनि उत्तिकै योगदान छ, यी दुवै संस्थालाई हुर्काउन निकै कठीन भयो, अधिकांश लगानीकर्ताहरू भाग्ने अवस्था बन्यो, त्यो सकसको समयमा पनि ठाउँ-ठाउँमा पुगेर संस्था विस्तार गर्ने काम गरियो,’ उनी भन्छन्, ‘निकै पापड बेलेर शिक्षाको ज्योति फैलाइयो ।’ देशमा निजी विद्यालय सुरुवात गर्ने व्यक्तिमध्येमा आफू पनि रहेको श्रेष्ठको दाबी छ । पछिल्लो चार दशकमा देशको शिक्षा क्षेत्रमा ठूलो प्रगति भएको उनको बुझाइ छ । यद्यपि, अपेक्षाकृत काम भने अझै पनि हुन सकेको छैन । अपेक्षाकृत काम नहुनुको कारण सरकारको नीति र अस्थिर राजनीति रहेको उनको भनाइ छ । ‘शिक्षामा तीन धार आवश्यक पर्छ, एउटा- स्कुल एजुकेसन, दोस्रो- टेक्निकल भोकेसनल र तेस्रो- उच्च शिक्षा । हामीले यी तीन धार बनाउनै सकेनौं, शिक्षा र स्वास्थ्यमा संसारभर नै पैसा छ । तर, हामीले यही क्षेत्रलाई वेवास्ता ग¥यौं,’ उनी भन्छन् ‘परिणामस्वरूप युवाहरू विदेसिन बाध्य भए ।’ वातावारण र प्राकृतिक सम्पदाका हिसाबले शिक्षामा नेपाल ठूलो हब हुन सक्ने विश्वास श्रेष्ठको छ । उनी स्थानीय तह, प्रदेश र संघीय सरकार मिलेर शिक्षामा लगानी गर्न र आकर्षित गराउन भूमिका खेल्नुपर्ने धारणा राख्छन् । युवालाई प्राविधिक शिक्षा सिकाई सीपयुक्त बनाएर स्वदेशमै रोजगार बन्न सक्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने उनको जोड छ । सय बढी कम्पनी, अर्बौंको सम्पत्ति उमेश श्रेष्ठलाई चिनाउने भनेको शिक्षा क्षेत्र हो । लिटिल एञ्जल्सबाट सुरु भएको यात्रा अहिले एक सयभन्दा बढी कम्पनीमा लगानी गर्दै उनले व्यावसायिक सञ्चालनलाई व्यापक बनाएका छन् । अहिले उनले शिक्षासँगै स्वास्थ्य, होटल, जलविद्युत, कृषि र जडिबुटीमा पनि लगानी गरेका छन् । व्यवसाय गरेर उनले अर्बौं कमाइसकेका छन्, कमाउँदै छन् । तर, उनी आफूभन्दा पनि देशलाई धनी बनाउने यात्रामा रहेको बताउँछन् । पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला र बझाङसम्म उनले लगानी विस्तार गरेका छन् । श्रेष्ठले एक दर्जन शैक्षिक संस्था, एक दर्जन हाइड्रोपावर कम्पनी र एक दर्जन बढी कृषि कम्पनीहरूमार्फत् आफ्नो लगानी विस्तार गरिरहेको बताए । साथै उनले दुइटा वाणिज्य बैंक, चारवटा अस्पताल, आधा दर्जन होटलमा लगानी विस्तार गरेका छन् । ‘स्वास्थ्य क्षेत्रमा मैले सोंचजस्तो राम्रो गर्न सकिनँ, त्यस क्षेत्रमा मैले सफलता पाउन सकेको छैन, अरू सबै क्षेत्रमा राम्रो भइरहेको छ’ उनी बताउँछन् । श्रेष्ठले बझाङको सानीगाड हाइड्रो पावर, कालङ्गा हाइड्रो, बुङ्गल हाइड्रो, रामेछापको भिजन इनर्जी, म्याग्दीको माउन्टेन इनर्जी र पाँचथरको पाँचथर पावरलगायत एक दर्जन जलविद्युत कम्पनीमा लगानी गरेका छन् । उनी अब हाइड्रोबाट नै देशको विकास हुने र यो क्षेत्रमा धेरै सम्भावना रहेको सुनाउँछन् । ‘देशलाई धनी बनाउनका लागि जलविद्युत आवश्यक छ । तर, यहाँ बनाउने वातावरण नै छैन, स्थानीयको अवरोध एकातिर छ भने ट्रान्समिसन लगायत सरकारको नीतिगत अवरोध अर्कै छ, अहिले ३५ सय मेगावाट विद्युत् मात्रै उत्पादन भइरहेको छ । बनाउनु पर्ने ३५ हजार मेगावाट हो,’ उनी भन्छन्, ‘सबैको सहकार्य भयो भने देशलाई जलविद्युतबाट नै माथि उठाउन सकिन्छ ।’ श्रेष्ठले अन्नपूर्ण स्क्वायर, सिद्धार्थ भिलासा वनवस, होटल सिद्धार्थ भिलासा, हिमालयन दृश्य रिसोर्ट, होटल सिराइचुली, होटल सेन्ट्रल पार्क र तनहुँको घाँसी हेल्थ रिसोर्ट लगायत होटलमा लगानी गरेका छन् । उनले पर्यटनमा पनि प्रचुर सम्भावना देखेका छन् । पर्यटनमा पनि नयाँ अध्ययन र अनुसन्धान नभएको सुनाउँछन् । अब यो क्षेत्रमा पनि विधागत पर्यटनका क्षेत्रहरू छुट्याएर काम गर्नुपर्ने धारणा उनको छ । ‘हामी आयात गरेर खान्छौं तर देशमै भएको सम्भावना देख्दैनौं, व्यवसायी पनि कसरी छिटोभन्दा छिटो पैसा कमाउने भन्नेमा केन्द्रित छन्, व्यापारमै केन्द्रित छन् । देश बनाउने, राजस्व तिर्ने सुरसार छैन । अहिले ४० प्रतिशतभन्दा बढी ग्रे मार्केटबाट सामान आइरहेको छ, ‘उनी प्रश्न गर्छन्, ‘अनि कसरी बन्छ देश ?’ श्रेष्ठले पछिल्लो समय अस्पतालमा पनि लगानी विस्तार गरिरहेका छन् । सिल्भरलाइन अस्पताल बालाजु, पुष्पाञ्जलि अस्पताल चितवन, हेलोइस अस्पताल एकान्तकुना र महेन्द्रनारायणनिधि अस्पतालमा उनको लगानी छ । तर, अस्पतालको नतिजाप्रति भने उनी अझै पनि सन्तुष्ट छैनन् । आफूले अस्पताललाई सेवामूलक ढंगले अगाडि बढाउन नसकेको उनले गुनासो गरे । तर, उनले हार भने खाएका छैनन् । श्रेष्ठले लिटिल एञ्जल्स एजुकेसन ग्रुपअन्तर्गत ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल, लिटिल एन्जल्स कलेज अफ मेनेजमेन्ट, ललितपुरको झम्सिखेलस्थित आइडियल मोडेल स्कुल र चितवनको कल्याणपुरस्थित स्मल हेभन स्कुल र हात्तीवनमै रहेको मिलेनियम पब्लिकेसनमा लगानी गरेका छन् । उनी सरकारले पनि शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरेको तर्क गर्छन् । प्राइम कमर्सियल बैंक र प्रभु बैंकमा पनि श्रेष्ठको ठूलो लगानी छ । उनी ललितपुरको गोदावरीस्थित हिमालयन लोरा, अर्किड फार्म, संखुवासभाको सगरमाथा टी स्टेट, भोजपुरको डाँडा बोखिम नमुना कृषि तथा परामर्श केन्द्र र दोलखाको जिरी एकीकृत नमुना कृषि तथा परामर्श केन्द्र लगायत कम्पनीहरूमार्फत व्यवसाय विस्तार गर्नतर्फ लागिरहेका छन् । उनी चितवनको शुभकामना हाउजिङ एन्ड रियल इस्टेटका पनि अध्यक्ष हुन् । रामेछाप, खोटाङ, दोलखा, भोजपुर, धनकुटा, बझाङ, मुस्ताङ, जुम्ला, संखुवासभामा ठूलो परिमाणमा उनले कृषि गर्ने तयारीमा छन् । अधिकांश ठाउँमा कृषि सुरु भइसकेको छ । श्रेष्ठ कृषिमा ठूलो सम्भावना रहेको धारणा राख्छन् । त्यसैले आफू अहिले कृषिमा केन्द्रीत भएको उनी बताउँछन् । ‘नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण छ, स्रोतसाधन पर्याप्त छ, हामीले यसको प्रयोग गर्न जानेका छैनौं । रुखहरू नकाटेर मलेसियाबाट आयात गर्नुपर्ने अवस्था छ, नयाँ प्रविधिबाट रुख २० वर्षमै काट्न मिल्ने बनाउन सकिन्छ । पुराना रुखहरू काट्दै र नयाँ रोप्दै गयौं भने नेपाल वनजंगलबाटै धनी बन्न सक्छ, सही नीति र काम गर्ने आँट मात्रै हुनुपर्छ,’ उनी भन्छन्, ‘यहाँ काम गर्नेभन्दा पनि काम गर्नेको खुट्टा तान्ने प्रवृति बढी भएकोले अहिले समस्या भएको हो ।’ लिटिल एञ्जल्सबाट सुरु भएको श्रेष्ठको यात्रा अहिले सय बढी कम्पनीसम्म पुगेको छ । अहिले उनले शिक्षासँगै स्वास्थ्य, होटल, जलविद्युत, कृषि र जडिबुटीमा पनि लगानी गरेका छन् । उनले सय बढी कम्पनी खडा गरेर व्यवसाय गरिरहेका छन् । ती कम्पनीहरूबाट उनले अर्बौं कमाइसकेका छन्, कमाउँदै छन् । तर, उनी आफूभन्दा पनि देशलाई धनी बनाउने यात्रामा छन् । पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिको दार्चुला र बझाङसम्म उनले लगानी विस्तार गरेका छन् । श्रेष्ठ अबको केही वर्षमै मध्यपहाडी राजमार्गका क्षेत्रले काँचुली फेर्नेमा विश्वस्त छन् । गाउँघर रित्तिँदै गएको प्रसंगलाई जोड्नै उनी अबको २० वर्षमा गाउँघरहरू भरिने सम्भावना देखिरहेका छन् । ‘भोलिको दिनको लागि मैले अहिले संघर्ष गरिरहेको छु, गाउँघरमा ३५ हजार रुपैयाँमा एक रोपनी जग्गा पाइन्छ, त्यहीं कृषिकर्म गर्न सकिन्छ, सम्भावना त्यहीं छ,’ उनी भन्छन्, ‘मैले अधिकांश जिल्लाहरूमा जग्गा किनेको छु, मैले त्यहाँ ठूलो सम्भावना र अवसर देखेको छु ।’ सूचना प्रविधि, सोलार र हाइड्रोजनमा पनि उनले ठूलै सम्भावना देखिरहेका छन् । ‘मैले एक सय बढी कम्पनीमा लगानी गरिसकेको छु, म ५० वर्षपछिको अवस्था कस्तो हुन्छ भनेर अहिले नै सोच्छु, त्यही अनुसारको लगानी गर्छु, एउटा लगानीकर्ता दूरदर्शी बन्नुपर्छ,’ उनी भन्छन्, ‘अनुसन्धान पनि महत्वपूर्ण विषय हो ।’ जिल्ला-जिल्लामा जग्गा अब कृषिमा क्रान्ति गर्ने उद्देश्यका साथ श्रेष्ठले व्यावसायिक रणनीतिहरू बनाइरहेका छन् । कृषियोग्य ठाउँ–ठाउँमा गएर किसानलाई भेटिरहेका छन् । अहिले पनि उनलाई घरमा भेट्न आउने कृषकहरूको भीड लाग्छ । कृषिको सम्भावना देखेका ठाउँमा सयौं÷हजारौं रोपनी जग्गा खरिद गरेका छन् । त्यो जग्गालाई विभिन्न व्यक्ति तथा कम्पनीको नाममा राखेका छन् । ‘म जग्गाबाटै बनेको हुँ, देशभर धेरै जग्गा किनेको छु, काठमाडौंमै ५०० रोपनी जग्गा किनेको थिएँ । तर, अहिले हाइड्रोमा लगानी गर्नको लागि केही जग्गा बिक्री गरेँ, अझै पनि धेरै बाँकी छन्, सम्भावना भएको जिल्लामा अझै पनि जग्गा किनिरहेको छु, उनी भन्छन्, ‘अब कृषिमा नै क्रान्ति गर्ने हो ।’ सरकारी नीतिका कारण धेरै जग्गा किन्न पनि समस्या रहेको श्रेष्ठले सुनाए । ‘कतिवटा कम्पनी खोलेर कतिवटाको नाममा जग्गा राख्नु, त्यसैले केही जग्गा बिक्री गरेँ, काठमाडौंमा ३५ रोपनीभन्दा बढी जग्गा राख्यो भने हदबन्दी लागिहाल्छ, त्यसैले काठमाडौं बाहिर विभिन्न जिल्लाका विभिन्न ठाउँ-ठाउँमा १५ सयदेखि २ हजार रोपनीसम्म जग्गा किनेको छु,’ उनले भने । श्रेष्ठले टी स्टेट, कागती, स्याउ, किबी, जडिबुटीलगायत अन्य अन्नबालीका लागि विभिन्न जिल्लामा जग्गा खरिद गरेका छन् । ‘मैले हजारौं रोपनी जग्गा लिएको छु, यो भविष्य हो, मान्छेले देख्दैनन्, पहाडबाट बसाइँ सरेर सहरमा झर्छन्, अबको केही वर्षभित्र त्यहीं पहाड स्वर्ग बन्छ, त्यसपछि मान्छे फेरि गाउँ फर्किन्छन् ।’ श्रेष्ठले सम्वृद्धि खोजेका छन् । देशमा सबै धनी होऊन् भन्ने चाहन्छन् उनी । ‘म गाउँबाट आएको एउटा सामान्य व्यक्ति जसले एक्लै यति ठूलो परिवर्तन गर्न सक्छ भने सिंगो देशले चाह्यो भने किन हुँदैन ? नेताले चाह्यो भने नेपाल १० वर्षमा कायापलट हुन्छ, उनी दुखेसो पोख्दै भन्छन्, ‘यहाँ नेताहरू पनि इमान्दार भएनन्, खल्तीका नेता बने ।’ वार्षिक ३ खर्बको पुँजीगत बजेटले देशको विकास नुहनेमा उनी प्रष्ट छन् । राजनीतिमा पनि भाग्यमानी व्यवसायमा सफल उद्यमीको छवि निर्माण गरेका श्रेष्ठ राजनीतिमा पनि उत्तिकै भाग्यमानी बने । उनी यसमा पूर्ण सन्तुष्ट छन् । राजनीतिमा प्रवेश गरेको छोटो अवधिमा उनले सांसददेखि मन्त्रीसम्म बन्ने अवसर पाए । अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको कोषाध्यक्षको रूपमा काम गरिरहेका छन् । नेपाली राजनीतिमा यो किसिमको ‘छक्का’ प्रहार गर्ने व्यक्ति सायदै होलान्, राजनीतिमा उनले नयाँ किसिमको ‘कोर्स क्रिएट’ गरे । श्रेष्ठ विसं २०७० सालमा संविधान सभा सदस्य बने भने २०७४ सालमा पनि समानुपातिक सांसद बने । उनी आर्थिक समिति, शिक्षा तथा स्वास्थ्य समिति, विभिन्न उपसमिति संयोजक र नेपाली कांग्रेसको लेखा समिति संयोजक बनिसकेका छन् । ‘नेपाली कांग्रेसमा लागेको १२ वर्ष भयो, अहिलेसम्म जति पाएँ, यसमा सन्तुष्ट छु, अब योभन्दा माथिल्लो तहमा जाने कुनै महत्वाकांक्षा पनि छैन, बरु अरूलाई सहयोग गर्छु, अब देश कसरी बनाउने ? उद्योग कसरी चलाउने ? शिक्षामा कसरी लगानी बढाउने भन्ने गरी काम गर्छु, उनले भने, ‘यसमा पार्टी नेतृत्वको पनि साथ छ ।’ सुरुमा पार्टीका नेता कार्यकर्ताले आफ्नो आलोचना गरेपनि अहिले सबैले आफूप्रति विश्वास गर्ने श्रेष्ठको भनाइ छ । ‘अहिले सबै मप्रति सकारात्मक पनि हुनुहुन्छ, सुरुसुरुमा पार्टीमा मलाई हेर्नै चाहँदैनथे, सबैले यसको मान्छे उसको मान्छे भन्थे । तर, अहिले पार्टीमा चिनीजस्तै घुलित भएर गएको छु,’ उनले भने, ‘सबैको मान्छे भएर काम गरिरहेको छु ।’ श्रेष्ठ राजनीतिलाई पेसा बनाउन नहुने तर्क राख्छन् । ‘सुरु गरेदेखि नमरुन्जेलसम्म राजनीति गर्नुहुँदैन, राजनीति भनेको विकास र सम्वृद्धि लागि गर्ने हो,’ उनी भन्छन्, ‘जब राजनीति गर्नेले यसलाई पेसा ठान्छ, देशको विकास हुनै सक्दैन ।’ जहाँ जोखिम, त्यहीं लगानी श्रेष्ठको लगानीको आफ्नै रणनीति र मन्त्र छ । उनी सुरक्षित ठाउँमा लगानी गर्दैनन् । जहाँ जोखिम देख्छन्, जहाँ अन्यले लगानी गर्ने आँट गरेका छैनन्, त्यहीं लगानी गर्छन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयमा धेरै व्यवसायी सुस्त बने । थप लगानी विस्तार गर्ने र नयाँ व्यवसाय थाल्ने आँट कसैले गरेनन् । तर, उनले त्यही समयमा अस्पतालमा लगानी गरे, कृषिमा लगानी गर्न अग्रसर भए । ‘मैले जहाँ जोखिम देख्छु, त्यहीं लगानी गर्छु, जीवनमा जोखिम नलिए अवसर हुँदैन, अहिले मान्छेहरूमा निराशा छ, बैंकमा पैसा थुप्रिएको छ, यही बेला लगानी गर्ने जोखिम लिन सक्नुपर्छ,’ उनले भने । श्रेष्ठले शिक्षामा ठूलो सम्भावना भएपनि निजी क्षेत्रले यसमा प्रवेश गर्ने आँट नगरेकोमा गुनासो गर्छन् । ‘मैले एउटै कम्प्लेक्सभित्र तीनवटा स्कुल बनाउँदै छु, जहाँ गरिब, मध्यम वर्ग र उच्च वर्गको विद्यार्थीले एउटै सुविधा पाएर पढ्न सक्छन् । गरिबले पनि म कहाँ आएर न्यून शुल्कमा शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्छु । मैले अन्य व्यवसायबाट कमाएको पैसा त्यहीं लगानी गर्छु,’ उनले आफ्नो आगामी योजना सुनाए । नेपालमा राम्रो काम गरिरहेकाहरूलाई पनि नराम्रो काम गर्नेको बास्केटमा राख्ने प्रवृतिले समस्या सिर्जना गरिरहेको श्रेष्ठले सुनाए । ‘म देश बनाउने मान्छे परेँ । देश बनोस् भन्ने भावनाका साथ काम गरिरहेको छु, मेरो नेपाल बाहेक जाने ठाउँ छैन । मैले नेपालमै खुट्टा टेकेको छु । तर, अरू उद्योगी व्यवसायी नेपालमा पनि खुट्टा राख्छन् र सिंगापुर, दुवई भारत र अमेरिका लगायतका देशहरूमा पनि लगानी गर्छन्, जति मैले पैसा कमाएको छु, म यही देशमा खर्च गर्छु,’ उनले दृढताका साथ भने । श्रेष्ठ देश बन्छ भन्नेमा आशावादी छन् । व्यक्तिगत स्वार्थभन्दा देशको स्वार्थमा आफू लागिरहेको उनको भनाइ छ । उनले अब आफ्नो आमा लीलादेवी श्रेष्ठ र स्व. बुबा बद्रीप्रसाद श्रेष्ठको नाममा पनि ट्रष्ट खोल्ने तयारी गरेका छन् । आफ्नो सम्पत्तिको ५० प्रतिशत त्यहीं राख्ने उनको योजना छ । ‘म खाली खुट्टा आएको, खाली खुट्टा जान तयार छु, एउटा राम्रो फाउन्डेसन खोल्छु, त्यो फाउन्डेसनले काम गर्छ । अहिले पनि बिहान ५ बजे उठेर काम गर्छु, राति १० बजेसम्म काम गरिरहेको हुन्छु । अनुशासित ढंगले सबैले काम गर्यो भने देश बन्छ, देश बनेपछि सबै धनी हुन्छन्,’ उनी भन्छन्, ‘सबैले साँच्चिकै देशको लागि काम गर्यो भने १० वर्षमा नेपाल कायापलट बन्छ ।’