खानेपानीको क्षेत्रमा दशककै सबैभन्दा बढी बजेट
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि खानेपानी तथा सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैंया बजेट विनियोजन गरेको छ । जुन बजेट आर्थिक वर्ष २०७५/०७६ को तुलनामा १९ अर्ब ४१ करोड बढी हो । विभिन्न अधुरा खानेपानी आयोजनालाई पूर्णता दिन, नयाँ आयोजना सुरु गर्न र साना सहरी खानेपानी आयोजनाहरु सम्पन्न गरी आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाको पहुँच पुर्याउने योजना सहित सरकारले खानेपानीको क्षेत्रलाई बढी प्राथमिकता दिएको हो । संविधानमा समेत स्वच्छ खानेपानीको हकलाई मौलिक अधिकारमा समेटिएको छ । सोही अनुसार सरकारले खानेपानी तथा सरसफाइ जस्तो विषयलाई यस पटकको बजेटमा बढी महत्व दिएको हो । खानेपानीको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बरले बजेट बढाएको छ । जुन खानेपानी तथा सरसफाइको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो । खानेपानी मन्त्री बिना मगरको सक्रियतामा खानेपानी तथा सरसफाइको क्षेत्रमा अघिल्ला आर्थिक वर्षहरु भन्दा ह्वात्तै बजेट बढाईएको हो । आर्थिक वर्ष २०७५/०७६ मा खानेपानी र सरसफाइका लागि सरकारले २४ अर्ब ५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा २२ अर्ब ७० करोड छुट्याइएको थियो । २०७२ सालदेखि खानेपानी मन्त्रालयलाई अलग मन्त्रालयको रुपमा स्थापना गरिएको हो । त्यसअघि खानेपानी मन्त्रालयको जिम्मेवारीहरु सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत राखिएको थियो । खानेपानीको लागि अलग गरेर बजेट छुट्याउने गरिएको थिएन । खानेपानीको लागि भनेर आर्थिक वर्ष २०६५/०६६ मा १ अर्ब ७९ करोड रकम विनियोजन भएको थियो । त्यसको ठीक तेस्रो वर्षमा आइपुग्दा खानेपानी र सरसफाइ क्षेत्रमा भएको पूँजीगत खर्च बढेर २ अर्ब ७ करोड पुग्यो । आर्थिक वर्ष २०७०/०७१ मा आइपुग्दा खानेपानीका लागि भनेर ५ अर्ब २३ करोड छुट्याइयो । आर्थिक वर्ष २०७२(०७३ मा खानेपानीको शीर्षकमा छुट्टै बजेट नभएपनि विभिन्न मन्त्रालयका कार्यक्रमहरुसँग जोडेर खानेपानीका लागि बजेट बनाइयो । आर्थिक वर्ष २०७३/०७४ मा खानेपानीको लागि १६ अर्ब ३४ करोड रुपैयाँ पुर्याइयो । अब आउने आर्थिक वर्षका लागि सरकारले खानेपानी र सरसफाइलाई बढी महत्व दिएको छ । बजेटले केही वर्षभित्रै अधिकांश नेपालीलाई आधारभूत खानेपानी सेवाको पहुँच पुर्याउने गरी खानेपानी तथा सरसफाइका कार्यक्रम अघि बढाउने बताएको छ । तराई मधेस खानेपानी सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन खानेपानी आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन बजेट छुट्याइएको छ । सुख्खाग्रस्त क्षेत्रहरुमा खानेपानी आयोजना सञ्चालन गर्ने योजनापनि छ । खानेपानीको लागि मात्रै नभई सरकारले सरसफाईको क्षेत्रमा समेत उत्तिकै ध्यान दिएको छ । खानेपानी वितरण प्रणाली तथा ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन खानेपानी संस्थान, काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडको संस्थागत पुनर्संरचना गरिने बजेटमा उल्लेख छ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै आधारभूत स्तरको सरसफाइ सुविधा सुनिश्चित हुनेगरी स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा संचालनमा ल्याइने घोषणा सरकारले गरेको छ । खानेपानी मन्त्रालय अन्तर्गत रहेको निर्माणाधीन प्रथम चरणको मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्दै दोस्रो चरणका लागि यांग्री र लाक्रे खोलाको प्रवेश मार्ग र विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिने घोषणा बजेटमा छ । सरकारले एक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेकाले यस पटकको बजेटमा मेलम्ची खानेपानी आयोजनाको लागि रु ७ अर्ब ३९ करोड रकम विनियोजन गरेको हो । यो आयोजना राष्ट्रिय गौरवको आयोजना हो । बजेटमा खानेपानी आयोजनाहरु अघि बढाउने सँगै सरकारले नीति तथा कार्यक्रममा नेपालको पानी विदेश निर्यात गरिने घोषणा गरेकाले सोही अनुसार खानेपानी मन्त्रालयले कार्य समेत अघि बढाएको छ ।
दुर्घटना अपडेटः नवलपरासी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
कावासोती । पूर्वपश्चिम रागमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालीका-२, स्थित हमाल चोकमा आज दिउँसो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मनकामना अस्पताल चितवनमा उपचारका क्रममा नाम ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । यसअघि दुर्घटनामा परी गैँडाकोट नगरपालिका–१४ बस्ने ६५ वर्षीया कुमारी सुनारी र गैँडाकोट नगरपालिका–१८ बस्ने ७० वर्षीया जमुना मापछनको मृृत्यु भएको थियो । उनीहरु दुवै जनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका एक जनाको पुरानो मेडिकल कलेज भरतपुर, १२ जनाको मनकामना अस्पताल चितवन, आठ जनाको नयाँ मेडिकल कलेज भरतपुर र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वप्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । ना४ख ५२९५ नंको बस र ना२ख ४८९० नंको ट्रक एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । रासस
नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता जेठ २० गतेदेखि, साकुरा नेपालले दियाे ९० हजार
बिदुर । आगामी जेठ २० गतेदेखि २९ गतेसम्म संचालन हुने देश्राे नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि साकुरा नेपाल कन्सल्टेन्सीले म्यान अफ दि म्याचकाे प्रायाेजन गरेकाे छ। कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बिहीवार बिहान प्रतियोगिताका आर्थिक संयोजक एवं नुवाकोट जिल्ला फूटवल संघका अध्यक्ष दीपकलाल चित्रकारलाई रु ९०,००० हस्तान्तरण गरेका छन्। प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुलाई उपलब्ध गराईने रु दस हजार नगद पुरस्कार रकमको व्यवस्था साकुरा नेपाल कन्सल्टेन्सीले गरेको हाे। गत वर्ष सम्पन्न प्रथम नुवाकोट गाेल्डकपमा पनि साकुराले नै याे बिधाकाे प्रायाेजन गरेकाे थियाे। जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजना तथा बिदुर नगरपालिकाको संरक्षकत्वमा बट्टार खेलमैदानमा संचालन हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन क्लवहरु नेपाल अार्मी, नेपाल प्रहरी, मनाङ मर्स्याङ्दी लगायत विभागीय टिमहरु र नुवाकोटको स्थानीय टिम सहित १० टिमको सहभागिता रहने बताईएको छ ।