ललितपुरका सडकमा स्मार्ट लाइट, मान्छे धेरै हुँदा पूर्ण क्षमतामा बल्ने, मान्छे कम हुँदा बिस्तारै निभ्ने

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १८ महिनासम्म देखिने गरी काम गर्न नसकेको स्वीकार गरेका छन् । पत्रकारसँगको भेटमा मेयर महर्जनले कानूनी झमेलाको कारण काम गर्न नसकिएको बताए । मेयर महर्जनले भने–अब हामी देखिने गरी काम गर्दैछौं । महानगरको सबै सडकमा स्मार्ट लाईट राख्ने काम प्रमुखताका साथ गर्छौँ–मेयर महर्जनले भने । उनका अनुसार स्मार्ट लाइट नेपालमै पहिलो पटक ललितपुर महानगरले प्रयोग गर्न लागेको हो । महानगरले विद्युत प्राधिकरणसँगको सहकार्यमा सडक लाइट प्रयोग गर्न लागेको हो । लाइट पूर्णरुपमा अटोमेटिक हुनेछ । मानिसहरुको संख्या धेरै भएको बेलामा लाइट पूर्ण क्षमतामा बल्नेछ भने मानिसको संख्या कम भएसँगै बिस्तारै निभ्ने छ । लाइटले रातिको समयमा इबोस्ड नम्बर प्रयोग गरिएको सवारीको समेत रेकर्ड राख्नेछ । लाइट राख्नका लागि महानगरले जनवरी २२ तारिखमा बोलपत्र आव्हान गर्ने भएको छ । ७९ जनालाई महानगरमा रोजगारी महानगरले ७९ जनालाई रोजगारीको दिए भएको छ ।महानगरलाई प्राप्त अधिकार अनुसार २९ जना इन्जिनियर र ५० जनालाई नगर प्रहरीमा रोजगारी दिन लागेको हो । खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरी र इन्जिनियर लिने महानगरले जनाएको छ ।

सन् २०१८ मा अमेरिकी मनोरञ्जन उद्योग डिस्नेको आम्दानी सात अर्ब डलर

काठमाडौं । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो । बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम्पनी डिस्नेको सन् २०१६ को आम्दानी ७ अर्ब ६० करोड डलर थियो । डिस्ने, पिक्सार, मार्भेल स्टुडियो र लुकास फिल्मलाई मन पराउने विश्वभरका समर्थकलाई धेरै धेरै धन्यवाद,” वाल्ट डिस्ने स्टुडियोका अध्यक्ष अलान होर्नले बताएका थिए । उत्तर अमेरिकामा डिस्नेले झण्डै ३ अर्ब १० करोड डलर आम्दानी गरेको थियो । डिस्नेका केही चलचित्र अहिले विश्वकै उत्कृष्ट १० स्थानभित्र रहेका छन् । “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार”, “इन्क्रेडिबल २” र “स्टार वार्स” समेतका प्रत्येक चलचित्रले संयुक्तराज्य अमेरिका र क्यानाडामा ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन् । यी चलचित्रले कूल चार अर्ब ६४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । सन् २०१९ मा डिस्नेले अर्को फड्को मार्दैछ । “क्याप्टेन मार्भेल” र “एभेन्जर्सः इन्डगेम” नयाँ स्वरुपमा आउँदैछ भने “फ्रोजेन २” र “स्टार वार्सः इपिसोड नाइन” वर्षको अन्त्यमा बक्स अफिसमा आउनेछ । एनिमेटेड चलचित्रका नयाँ संस्करणका रुपमा “डम्बो”, “अल्लादीन” र “दी लायन किङ” बजारमा आउँदैछन् भने डिस्नेको सहायक कम्पनी पिक्सारको उत्पादनका रुपमा “टोय स्टोरी फोर” पनि यसै वर्ष बक्स अफिसमा आउनेछ । रासस एएफपी

बाँकेमा साक्षरता अभियान, ८० हजार नागरिक निरक्षर

काठमाडौं । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् । साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै रहेको भेटिएको छ । उपमहानगरपालिकासँगै जोडिएको नरैनापुर गाउँपालिकामा मात्रै करीब १२ हजार नागरिक निरक्षर रहेको भेटिएका छन् । यो एउटै गाउँपालिकाको तथ्याङ्कले पनि बाँकेमा निरक्षर अभियान कागजमै सीमित रहेको प्रष्ट देखिएको छ । सरकारी तथ्याङ्क अनुसार निरक्षरमध्ये महिला ५० हजार ४६९ र पुरुष ३४ हजार ६१५ अझै निरक्षर छन् । पाँच लाख ४ हजार ५४८ जनसङ्ख्या रहेको जिल्लामा एक लाख ७६ हजार २५५ महिला र दुई लाख १२ हजार ६३२ पुरुष साक्षर रहेको कागजी तथ्याङ्कले देखाएको छ । ३५ हजार जनसङ्ख्या रहेको नरैनापुरमा १२ हजार निरक्षर रहनुले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाको अवस्थामा पनि सुधार हुन नसकेको आँकलन गरिएको छ तर, तत्कालीन जिल्ला शिक्षा तथा अहिलेको शिक्षा एकाइ समितिसँग बाँकेमा निरक्षर नागरिकको विवरण नै छैन । बाँकेमा निरक्षरको सङ्ख्या बढी रहे पनि तत्कालीन जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा निरक्षरको यकिन विवरण नभएको बताएका छन् । राष्ट्रिय योजना आयोगका अनुसार बाँकेको साक्षरता दर ५६ प्रतिशत छ । यसले पनि बाँकेमा ४४ प्रतिशत नागरिक निरक्षर रहेको देखाएको छ । तर, स्थानीय तहमा गएर सर्वेक्षण गर्ने हो भने यो सङ्ख्या कागजमा घटेपनि सङ्ख्यात्मक रूपमा उत्तिकै रहेको छ । शिक्षा नै विकासको मूल आधार हो भन्दै शैक्षिक सुधारमा सरकारले गरेको लगानी बाँकेका हकमा बालुवामा पानीझै भएको छ । नरैनापुरको यो निरक्षर अवस्थाले पनि सरकारको हरेक गाउँ र जिल्ला पूर्ण साक्षर बनाउने अभियान अलपत्र देखिएको छ । साक्षरको तथ्याङ्क घट्ने–बढ्ने क्रम जारी रहने गरेको जनाउँदै सो कार्यालयका कर्मचारीहरूले सोही कारणले बढी निरक्षर देखिएको हुनसक्ने बताएका छन् । एक कर्मचारीले भन्नुभयो, “वर्षौैं पढ्दा त बिर्सिन्छन् भने जम्मा तीन महीना पढेकाले सधैँ सम्झिने हुन् भन्ने विषय सामुदायिक सिकाइ केन्द्रमार्फत सञ्चालन गरिने निरन्तर शिक्षामा करीब डेढ सय कक्षाका लागि कोटा आए पनि यी कक्षासमेत प्रभावकारी हुनसकेका छैनन् । साक्षर घोषणा गरिएको तत्कालीन नौबस्ता गाविस र नेपालगञ्ज उपमहानगरपालिकाकै केही वडामा समेत अहिले पनि निरक्षर नागरिक रहेका छन् । तत्कालीन सीतापुर र मनिकापुरले साक्षर घोषणाका लागि अनुमति लिए पनि धेरै नागरिक निरक्षर रहेकै कारण अहिले पनि घोषणा गर्न नसकिएको वडा नं १८ मनिकापुरका वडाध्यक्ष कृष्ण कार्की बताएका छन् । गाउँपालिकामा निकै ठूलो जनसङ्ख्या निरक्षर रहेकाले साक्षर बनाउने अभियान सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताएका छन् । अहिले पनि नरैनापुर गाउँपालिकामा रहेका यी निरक्षरले सरकारी कामकाजमा औँठाछाप नै प्रयोग गर्दै आएको पाइएको गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले जानकारी दिएका छन् । रासस