रुपन्देहीमा नक्कली नोट छाप्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । नक्कली नोट छाप्ने र कारोबारमा संलग्न भारतीयसहित दुई जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय ३८ वर्षीय अब्दुल हमिद र २२ वर्षीय अनिल पासीलाई पक्राउ गरेको हो । प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान बढाएको थियो ।  प्रहरी कार्यालयका अनुसार खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलिले नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा प्रिन्ट हुन बाँकी, प्रिन्ट गरिएका अवस्थामा रहेका नक्कली नोट समेतका सामानहरू सहित पक्राउ परेका हुन् । नेपाली ५०० दरको ३० थान, नेपाली १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको नोट ७ थान रहेका छन् । नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सीपीयु १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर १ थान, प्रिन्ट पेपर रिम ४ थान, मोवाईल ८ थान र कैची १ थान रहेका छन् । ।

ठमेलमा प्रहरीमाथि हातपात गर्ने सात जना विदेशी महिला पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि हात हाल्ने सात जना विदेशी महिला पक्राउ परेका छन् । बिहीबार उनीहरूले डयुटीमा खटिएका प्रहरी कर्मचारीहरू माथि गालीगलौज गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।  विदेशी महिलाले ठमेल एरियामा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेक्ने गरेका थिए । उनीहरुले अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरेर दुःख हैरानी दिने काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । यसअघि पनि ठमेलबाट ९ जना विदेशी महिला पक्राउ परिसकेका छन् ।  प्रहरीले उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । केही महिनाअघि ठमेलबाट युगाण्डा महिलाहरू समेत पक्राउ परिसकेका थिए । उनीहरूलाई अध्यागमन विभागले एक वर्षसम्म नेपाल आउन नपाउने गरेर स्वदेश फिर्ता गरिसकेको छ ।  

एक हजार ९२२ जना सवारी चालक कारबाहीमा, १९ लाख राजस्व संकलन

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट १९ लाख ७० हजार दुई सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।      जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फीमा १०५, अन्यमा ९८६ लाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।       मादकपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारी यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेका बेला आज काठमाडौंको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’ का क्रममा उनीहरू पक्राउ परेका हुन् ।      उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले सवारी चालकहरूमा विशेष परीक्षण गरेको थियो । सो क्रममा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाइरहेको अवस्थामा पाँच जना चालक फेला परेपछि नियन्त्रणमा लिइएको हो ।      नियन्त्रणमा परेकामध्ये दुई जना बस चालक, एक जना मिनीट्रक चालक, एक जना लाइट गाडी चालक तथा एक जना हात्ती भ्यान चालक रहेका छन् ।       काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले संयुक्त टोलीद्वारा गरिएको चेकिङका क्रममा चालकहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँच गर्दा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।