किर्तिपुरमा साथीको हत्या गर्ने तीन जना पक्राउ
काठमाडौं । किर्तिपुरमा एक युवकको हत्या गर्ने तीन जना पक्राउ परेका छन् । बुधबार २४ वर्षीय बिपिन घिमिरेको हत्या गरेको आरोपमा २४ वर्षीय आशिष महर्जन, २१ वर्षीय रोशन बोहोरा र २३ वर्षीय रविन धामी पक्राउ परेका हुन् । गुल्मी धुर्कोट गाउँपालिका हाल किर्तिपुर नगरपालिका ३ ढाल्पा बस्ने घिमिरेको आज दिउँसो धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । साथी-साथी बीचमा विवाद हुँदा उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार सलिजा कन्दङवा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरेको छ । दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । निजको चेक अनादर मुद्दामा जम्मा बिगो रकम ४० लाख रुपैयाँ रहेको र निजलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, फिदिम, पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताए ।
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
इनरुवा । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ । गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो ।