राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहितका शीर्ष नेताको भाइटीकाः कसले को बाट लगाए ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएकी छिन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् । उपराष्ट्रपतिबाट टीका ग्रहण उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका छन् । भाइटीकाका अवसरमा उनले रोल्पास्थित आफ्नै घरमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । उपराष्ट्रपति पुनसँगै उनका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाए । प्रधानमन्त्री ओलीको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएका थिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । दलका नेताको भाइटीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारको शुभसाइतमा आफ्ना दिदी बहिनीहरुबाट भाइटीका ग्रहण गरेका छन् । खुमलटारस्थित निवासमा अध्यक्ष दाहालले बहिनीहरु कमला, अप्सरा, सरस्वती, विष्णु र मिठुको हातबाट टीका लगाएका हुन् । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नी दिदी कालिका भण्डारी तथा र बहिनीद्वय इन्दिरा न्यौपाने र वसुधा पोखरेलको हातबाट भाइटीका लगाए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने यसपटक भाइटीका लगाएनन् । जुठो परेका कारण भाइटीका लगाउने कार्यक्रम नरहेको सभापति देउवाको स्वकीय सचिवालयले जनाएको छ । यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने जुठो परेका कारण भाइटीका लगाएनन् । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनमा पुगेर चार दिदीबहिनीको हातबाट टीका लगाएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार,हात पारे ५० लाख

काठमाडौं । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका हुन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पारेेेेका छन् । यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरकाे जीवन बीमा हात पारेका छन्। विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरेेेेका हुन् । यस्तै रामकुमार नेपाली इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए। उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भए । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो । ‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् । नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेेेेका थिए । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।

कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय, नेवार समुदायको माग पूरा

काठमाडौँ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री गोकुल बास्कोटाले नेवारी समुदायले १३ गते मात्रै भाइटीका लगाउने भएपछि बिदा घोषणा गरिएको बताए । पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । सोहीअनुसार क्यालेन्डर तयार गरिएको थियो । तर, नेवार समुदायले पञ्चाङ्ग निर्णायक समितिको निर्णय अस्वीकार गर्दै आएका थिए।