इनरुवाबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

इनरुवा । इनरुवा नगरपालिका ४ बसचौकबाट आज प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।      रामधुनी नगरपालिका-८ का २३ वर्षीय नितेश चौधरी, सोही स्थानका २३ वर्षीय अर्पन राई र इटहरी उपमहानगरपालिका-१३ का ३० वर्षीय मिलनकुमार चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।       गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बसचोकमा चेकजाँच गर्ने क्रममा पाँच दशमलव ७७ ग्राम ब्राउनसुगरसहित निजीहरूलाई पक्राउ गरी नियन्त्रणमा लिएको उनले जानकारी दिए ।  नितेशको दाहिने हातमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ७१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो । त्यसैगरी, पैदल हिँडिरहेका मिलनलाई जाँच गर्दा निजले लगाएको भित्री कपडाको गोजीमा लुकाएर ल्याइएको अवस्थामा पाँच दशमलव शून्य छ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।    

सेफ साह दाजुभाइलाई सोमबार अदालत उपस्थित गराइने

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ साह दाजुभाइ सन्तोष साह र नारायण साह सुडीलाई सोमबार अदालतमा उपस्थित गराइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सोमबार अदालत खुलेपछि उनीहरूलाई अदालतमा उपस्थित गराइनेछ । 'सोमबार अदालतमा उपस्थित गराइन्छ, अहिले प्रक्रिया अघि बढाउने अवस्था छैन,' उनले भने । हाल उनीहरू काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका छन् । भट्टराईका अनुसार ४१ वर्षीय सन्तोष साह र ५८ वर्षीय नारायण साह सुडी हिरासतमा रहेका छन् । शकुन्तला अधिकारी (थापा) को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो ।प्रहरीका अनुसार २५ लाख रुपैयाँ र साढे ४ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीहरूविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा २ बमोजिम पक्राउ अनुमति दिएको थियो । अदालतले वैशाख २३ गते पक्राउ अनुमति जारी गरेको हो ।

काभ्रेमा बस दुर्घटना सम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौं । काभ्रेको बुच्चाकोटस्थित बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो । शुक्रबार नमोबुद्ध नगरपालिका-२ मा बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।  दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य- तथ्य छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।