काठमाडौं । कैलालीको गोदावरी-४ स्थित चुरे वनको फेदीमा एउटा पुरानो टेम्पो भीरतर्फ धकेलिँदै खसेको दृश्य सामाजिक सञ्जालमा भारइल बनिरहेको छ । एकातिर आफ्नो जीविकोपार्जनको आधार खोसिएको भन्दै स्थानीय महिला रोइरहेकी छन्, अर्कोतिर वन प्रशासनले त्यसलाई चुरे क्षेत्रको अतिक्रमण हटाउने कानुनी अभियानको हिस्सा भएको दाबी गरिरहेको छ । एउटा टेम्पोको पतनसँगै अहिले चुरे संरक्षण, वन अतिक्रमण र स्थानीयको जीविकाबीचको द्वन्द्व सतहमा आएको छ ।
गोदावरी नगरपालिका–४ बसपानी क्षेत्रकी धनमाया धामीका लागि त्यो टेम्पो केवल एउटा सवारी साधन थिएन । त्यही टेम्पो उनको सानो पसल थियो, दैनिक आम्दानीको स्रोत थियो र परिवारको गुजारा चलाउने आधार थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनी वन कर्मचारीसँग टेम्पो नफालिदिन आग्रह गरिरहेको सुनिन्छ । धामीका अनुसार आफूले नगरपालिकालाई नियमित कर तिरेर त्यही टेम्पोमा सामान बिक्री गर्दै आएकी थिइन् ।
‘गाडीभित्र राखिएको सामान नफालिदेऊ, मैले धेरै दुःख गरेर कमाएको गाडी हो भनेर अनुरोध गरेँ, मानेनन्, उनले भनिन् ‘गाडी नफालिदिनू, म घर लैजान्छु भन्दा पनि मानेनन् ।’
धामीको आरोप छ, ‘आफूले कर तिरेर किनेको टेम्पोलाई वन कर्मचारीले बलपूर्वक भीरबाट फालिदिएका हुन् ।
तर, घटनाको अर्को पक्ष पनि छ ।
डिभिजन वन कार्यालय कैलालीका अनुसार उक्त क्षेत्र चुरे संरक्षण क्षेत्रअन्तर्गत पर्ने अत्यन्त संवेदनशील वन भूभाग हो, जहाँ वर्षौंदेखि वन अतिक्रमणको समस्या रहँदै आएको छ । कार्यालयले सडक किनारका सार्वजनिक वन क्षेत्रमा खोका–छाप्रा निर्माण गरेर सरकारी जमिन कब्जा गर्ने र भित्री रूपमा किनबेच गर्ने प्रवृत्ति बढ्दै गएपछि अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको जनाएको छ ।
वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार गोदावरी रोड क्षेत्रमा व्यापक अतिक्रमण भएको छ । ‘अतिक्रमण हटाउने क्रममा केही घरटहरासमेत भत्किएका छन्,’ ठाकुरले भनेका छन्, ‘टेम्पोमा सञ्चालन गरिएको पसल हटाउन पटक–पटक आग्रह गर्दा नमानेपछि यस्तो अवस्था आएको हो ।’
वन कार्यालयले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेम्पो सञ्चालन अवस्थामा रहेको सवारी साधन नभई चक्का र इन्जिन बिक्री भइसकेको, धकेलेर सार्नसमेत गाह्रो हुने फलामे अवशेष मात्र रहेको दाबी गरिएको छ । कार्यालयका अनुसार उक्त संरचना वन क्षेत्र अतिक्रमण गरेर पसल सञ्चालन गर्न प्रयोग भइरहेको थियो ।
वन प्रशासनको भनाइअनुसार एक महिनाअघि नै सो टेम्पो हटाउन निर्देशन दिइएको थियो । त्यसबेला आसपासका अन्य १० वटा छाप्रा हटाइए पनि टेम्पो भने यथावत् राखिएको थियो । वन कर्मचारीले एकपटक धकेल्दै घरसम्म पु¥याइदिएपछि पनि पुनः त्यही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको कार्यालयको दाबी छ ।
गत जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन हुँदा वन टोलीले टेम्पोलाई पछाडितर्फ धकेलेको र भिरालो भू–भागका कारण अनियन्त्रित भएर भीरबाट खसेको कार्यालयले स्पष्ट पारेको छ ।
चुरे क्षेत्र नेपालको सबैभन्दा संवेदनशील पर्यावरणीय प्रणालीमध्ये एक मानिन्छ । भूक्षय, पहिरो, जलस्रोत संरक्षण र जैविक विविधतासँग प्रत्यक्ष सम्बन्ध राख्ने यो क्षेत्रमा हुने अतिक्रमणले दीर्घकालीन वातावरणीय क्षति निम्त्याउन सक्छ । त्यसैले वन प्रशासन अतिक्रमण नियन्त्रणमा कठोर देखिन्छ ।
अर्कोतर्फ, त्यही क्षेत्रमा वर्षौंदेखि सानो व्यापार गरेर जीवन धानिरहेका स्थानीयका लागि यस्तो कारबाही केवल कानुनी प्रक्रिया मात्र होइन, प्रत्यक्ष आर्थिक आघात पनि हो ।
सामाजिक सञ्जालमा भाइरल बनेको टेम्पोको दृश्यले यही द्वन्द्वलाई उजागर गरेको छ । वन जोगाउने राज्यको दायित्व र जीविका जोगाउन खोजिरहेका स्थानीयको संघर्षबीचको टकराव देखिएको छ ।