घिमिरे किक बक्सिङको विश्व विजेता, फ्रान्सका मार्काेनीलाई एक मुक्कामै ढाल्न सफल
काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन् । बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए । यो ऐतिहासिक सफलतासँगै घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका हुन्। इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिए । ‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुन् । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउण्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेशनल किक बक्सिङ’को उपाधि चुमेका हुन् । हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चार पटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए । उनले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुई वटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नक आउट गर्न सफल भएका थिए । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् । जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन्। कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ ।
वीरगञ्जको क्रिकेट मैदानको स्तरोन्नति सुरु, अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने दाबी
वीरगञ्ज । पर्साको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदानको स्तरोन्नति सुरु गरिएको छ । वर्षाैंदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो । नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो । एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको जानकारी दिए । ‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो । एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौं,’ उनले भने, ‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ ।’ नेपाल क्रिकेट सङ्घमा आवद्ध बङ्गलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ । ‘मैदानमा १८ इन्चको गहिरो बनाएर पिच निर्माण भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने छ ।’ क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सिंहले पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक रु आठ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । मैदान चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको छ । अध्यक्ष सिंहले क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावका कारण संरक्षण गर्न नसकिएको गुनासो गरे । ‘चार कठ्ठा जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदान संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘मुआब्जाका लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ ।’ मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले मधेश क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको बताए । उनले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौं सडक खुल्यो
बागमती । हेटौँडा–काठमाडौंलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।