रोहितको शतक र गुलशनको आक्रामक ब्याटिङमा क्यानडालाई २३६ रनको लक्ष्य

रोहितले १०१ रन बनाए, गुलशन ४८ रनमा आउट हुँदा नेपाल २३५ रनमा समेटियो

काठमाडौं । पूर्वकप्तान रोहित पौडेलको शतक र गुलशन झाको आक्रामक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्ध २३६ रनको लक्ष्य दिएको छ ।

टस जितेर बलिङ रोजेको क्यानडाविरुद्ध नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । अब क्यानडाले जितका लागि २३६ रन बनाउनुपर्नेछ ।

नेपालका लागि रोहितले सर्वाधिक १०१ रन बनाए । उनले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । नेपालको इनिङ्स सम्हाल्ने क्रममा रोहितले धैर्यपूर्वक ब्याटिङ गर्दै शतक पूरा गरेका हुन् ।

गुलशन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए । उनले चार चौका र तीन छक्का प्रहार गरे । गुलशनको स्ट्राइक रेट १४१.१७ रह्यो । उनी अर्धशतक बनाउन दुई रनले चुके ।

त्यस्तै, अर्जुन कुमालले ५४ बलमा २३ रन बनाए । उनले चार चौका प्रहार गरे । बासिर अहमदले ५७ बलमा ३० रनको योगदान दिए । उनको ब्याटबाट तीन चौका निस्किए ।

नेपालका अन्य ब्याटर भने ठूलो स्कोर बनाउन असफल भए । ओपनर आसिफ शेख चार रनमा आउट भए भने इशान पाण्डे खाता नखोली पेभिलियन फर्किए

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए । करण केसीले चार, नन्दन यादवले दुई र ललित राजवंशीले दुई रन बनाए । सन्दीप लामिछाने दुई रनमा अविजित रहे ।

क्यानडाका लागि जाहिद शिरजादले रोहित पौडेल र इशान पाण्डेलाई आउट गरे । सुखजिन्दर सिंहले अर्जुन कुमाल, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीको विकेट लिए । अखिल कुमारले आसिफ शेख, गुलशन झा, करण केसी र ललित राजवंशीलाई आउट गरे ।

 अब नेपालका बलरले क्यानडालाई लक्ष्यमा पुग्नबाट रोक्न सके खेल जित्नेछ ।

Share News