विशेष महाधिवेशनको माग गर्दै कांग्रेस कार्यकर्ताले गरे सानेपा घेराउ
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग चर्कँदै जाँदा त्यसका पक्षधर नेता–कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । नियमित १५ औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसकेपछि उत्पन्न असन्तुष्टिका बीच उनीहरू सानेपामा भेला भएर दबाबमूलक प्रदर्शनमा उत्रिएका हुन् । नियमित महाधिवेशनको प्रक्रिया अवरुद्ध भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएको नेता रामप्रसाद अधिकारीले जानकारी दिए। पार्टी विधानअनुसार समयमै महाधिवेशन हुन नसकेको र नेतृत्वले स्पष्ट मार्गचित्र दिन नसकेको भन्दै विशेष महाधिवेशन नै वर्तमान संकटको निकास हुने अधिकारीको दाबी छ । सानेपामा भेला भएका नेता–कार्यकर्ताले पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न, वैधानिकता कायम राख्न र आन्तरिक लोकतन्त्र सुदृढ गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । उनीहरूले नेतृत्वसँग तत्काल निर्णय लिन आग्रह गर्दै ढिलासुस्ती भए थप दबाबका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको अधिकारीले बताए । महाधिवेशनको प्रकृति र मितिलाई लिएर कांग्रेसभित्र मतभेद तीव्र बन्दै गएको छ । एक पक्ष नियमित महाधिवेशनको पक्षमा उभिँदा अर्को पक्ष विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ दिशामा लैजानुपर्नेमा जोड दिइरहेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेको ७ सिट दाबी
काठमाडौं । नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेलका क्रममा ७ सिटमा दाबी प्रस्तुत गरेको छ । सत्ता गठबन्धन तथा अन्य दलहरूसँगको छलफलमा एमालेले आफ्नो संगठनात्मक बल, विगतको प्रतिनिधित्व र प्रदेशगत सन्तुलनका आधारमा ७ सिट उपयुक्त हुने तर्क अघि सारेको हो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेको सिटहरूमा साझा उम्मेदवार तय गर्ने विषयमा प्रमुख दलहरूबीच निरन्तर संवाद भइरहेको छ । उनले एमालेले हाल राष्ट्रिय सभामा रहेको आफ्नो उपस्थितिलाई निरन्तरता दिन र प्रभावकारी भूमिका निर्वाह गर्न पर्याप्त सिट आवश्यक हुने बताएका छन् । एमाले नेतृत्वले राष्ट्रिय सभा निर्वाचनमा एक्लै नभई सहकार्यको मोडेललाई प्राथमिकता दिइरहे पनि सिट बाँडफाँडमा विकल्प खुला रहने संकेतसमेत दिएको छ । पार्टीभित्र ७ सिटभन्दा कम स्वीकार्य नहुने मत बलियो रूपमा उठिरहेको भट्टले जानकारी दिए ।
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
काठमाडौं । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ । सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरु महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षहरुसँग उपलब्ध गराउन आग्रह गरेको थियो । सोही अनुसार मुद्दाका मिसिलहरु सङ्कलन गर्ने काम भइरहको छ ।