सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
राजविराज । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा उनी सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए । त्यसबखत उनी जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।
एमाले सचिव महेश बस्नेतले भक्तपुर– २ बाट मनोनयन दर्ता गराए
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सचिव बस्नेतले मंगलबार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । बस्नेत २०७९ मा भएको निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेदवार रहेका थिए । उनी गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग पराजित भएका थिए भने २०७० र २०७४ सालमा भने सो क्षेत्रबाट निर्वाचित भएका थिए । काँग्रेसले भने यस क्षेत्रबाट कविर राणालाई उम्मेदवार बनाएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता भइरहेको छ ।
पूर्व अर्थमन्त्री प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन
काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा काठमाडौं - ५ मा ईश्वर पोखरेलसँग पराजित भएका महत २०७९ सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेका थिए ।