हरिबोल गजुरेलसहित नेकपाबाट सात जना निष्कासित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।     पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ ।      नेकपाले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निष्काशन गरिएको जनाएको छ ।  

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ । बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार ४८७ जना माग गरिएको थियो । तर हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवदेन दिएको उनको भनाइ छ । गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए । माग अनुसारको आवेदन पूरा हुनका लागि अझै ४३६ जना आवश्यक रहेको उनको भनाइ छ । मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरेको छ । आवेदकहरूलाई सहज होस् भन्ने हिसाबले जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने उनी बताउँछन् ।

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

मन्थली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना  समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो । निर्वाचनका लागि जिल्लामा आवश्यक निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बताए ।  रामेछाप जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक रहे पनि हाल आवेदन दिएका ९०० जना निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको छ ।    यसअघि प्रकाशित सूचनामार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एवं नयाँ आवेदन दिन चाहानेहरूले समेत माघ ११ गतेसम्मका लागि पुनः म्याद थप गरिएको पनि प्रहरी नायब उपरीक्षक भट्टले बताए । रासस