गरिमा विकास बैंक मर्जरमा जाने, केन्द्रीय कार्यालय बालुवाटारमा

काठमाडौं । गरिमा विकास बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । मर्जर तथा एक्विजिसन प्रस्ताव र लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको हो ।  बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ ।  सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । 

सानिमा बैंकको ७.३६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडको आइतबार २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले गरेका थिए । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संस्थापक सेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई २१औं वार्षिक साधारण सभाबाट निर्विरोध सञ्चालकमा पुनः निर्वाचित गरिएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिसम्म बैंकको कुल सम्पत्ति २६३.५५ अर्ब रुपैयाँ, कुल निक्षेप २२५.४८ अर्ब रुपैयाँ, र खुद कर्जा सापटी १८३.४५ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेपमा १३.०९ प्रतिशत, कर्जा सापटीमा ११.२२ प्रतिशत, र कुल सम्पत्तिमा १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ । वित्तीय परिसूचकका आधारमा २०८२ असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशत, पुँजी कोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत, र कर्जा–निक्षेप अनुपात (मासिक औसत) ८१.०३ प्रतिशत रहेको छ ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १६३ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २५०३ बिन्दुमा पुगेको छ ।  आज १६३ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२३ कम्पनीको ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रियन्स्योरेन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २५ करोड, युनियन हाइड्रोपावरको १६ करोड र सीइडीबी होल्डीङसको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार विकास बैंक समूह ०.२१, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।      बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूह १.१६ प्रतिशतले बढेको छ ।