नेप्से परिसूचक २६०० बिन्दुमा पुग्यो, २१६ कम्पनीको मूल्य बढ्दा ७ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २६०० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन बैंकको भएको छ । हिमालयन बैंकको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, राधी विद्युतको ३७ करोड, नेपाल रिइन्स्योरेन्सको ३४ करोड, साहस ऊर्जाको २० करोड ६० लाख र बुटवल पावरको २० अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबर भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुरास लघुवित्त र उन्नती सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बिहीबार म्युचल फण्ड बाहेक सबै समूहका सूचक बढेका छन् । बैकिङ सूचक ०.३३, डेभलपमेन्ट बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर २.६७, इनभेन्टमेन्ट १.३५, लाइफ इन्स्योरेन्स १ं.८०, प्रशोधन तथा उत्पादन १.७४, माइक्रोफाइनान्स १.६०, नन लाइफ इन्स्योरेन्स १.७५, अन्य १.०६ र व्यापार समूह ०.८८ प्रतिशतले बढेका छन् ।
सेयर बजार चलाउन नियम र स्वतन्त्रता दुवै आवश्यक छ : नेप्से सीईओ चापागाईं
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् । नेपाल सेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले सेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताएका हुन् । बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको उर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिवद्धता जाहेर गरे । नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उनको भनाइ छ । सीईओ चापागाईंले भने–‘आजको संसारमा पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो । राष्ट्रको विकास श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएका छन् । बजार भाग्यले होइन, बजारले चल्छ । दीर्घकालिन सोच र ज्ञान र संयम सफल लगानीका आधार हुन् । नेपालमा कतिपयले बजारलाई छोटो अवधिको कारोबारका रुपमा हेर्छन् तर वास्तमा पुँजीबजार जनताको वचतलाई उत्पादनशील लगानीमा रुपान्तरण गर्ने माध्यम हो ।’ उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै सेयर बजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल सेयर बजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए । कार्यक्रममा सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा सेयर लगानीकर्ताहरु संगठित हुन जरुरी रहेकाले संघ स्थापना गरीएको बताए । उनका अनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्याउन संघले महत्वपूर्ण भुमिका खेलेको छ । अध्यक्ष श्रेष्ठले भने–‘एउटा ठूलो तप्का ७० लाख सेयरका डिमाण्ट एकाउण्टवाला छन् । यो संख्या उल्लेख्य हो । नेपालको पुँजीबजारलाई चलायमान बनाउने कुरामा उनीको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । तर सेयर बजारका लगानीकर्ताहरु जति छरिएर रहेका छौं । यसले हाम्रो आवाज नीतिगत तहसम्म पुग्न सही तवरले पुर्याउन सकेका छौ की छैनौँ भनेर विश्लेषण गरेपछि यो संस्था खोलिएको हो ।’ कार्यक्रममा साधारण लगानीकर्ता संघका अध्यक्ष रितुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर सेयर बजारको कारोबार हुने गरेको बताउँदै नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिदाँ आफूहरु संघ, संगठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए । उनले सेयर बजारका एजेण्डाहरु बोकेर नियमक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे ।
हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल, को हुन् उनी ?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको ईश्वर कुमार सेडाईले जानकारी दिए । उनका अनुसार यसअघि दहाल निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि दाहाललाई सीईओको जिम्मेवारी दिएको हो । नवनियुक्त सीईओ दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध छन् । ४७ वर्षिय दाहाल चार्टर्ड एकाउण्टेन्ट (सीए) समेत हुन् । दाहालले सन् २००९ मा भारतको चेन्नईस्थित आईसीएआईबाट आफ्नो सीए गरेका हुन् । सर्लाही जिल्ला ढुंगे्रखोला नगरपालिका-४ का बासिन्दा दाहालसँग लेखा, वित्तीय व्यवस्थापन, लेखा परीक्षण र बीमा क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ । उनले बीमा, कर, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, एएमएल, आईएफआरएस र एनएफआरएस सम्बन्धी विभिन्न तालिमहरू लिएका छन् ।