सिवाईसीको आईपीओ बिहीबार बाँडफाँड हुने
काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यही वैशाख १५ गते बिहीबार बाँडफाँड हुने भएको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे बाँडफाँड गर्न लागेको हो । बिक्री प्रबन्धका अनुसार आइपीओमा दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । संस्थाले वैशाख २ गतेदेखि सर्वसाधारण समूहको तीन लाख ९५ हजार ३३६ कित्ता निष्काशन गरेको थियो ।
साधना लघुवित्तले कमायो ९ करोड बढी नाफा, एनपीएल घटेर १.८६ प्रतिशतमा सीमित
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २१.६३ प्रतिशतले खुद नाफा बढाएको छ । गत आवको चैत मसान्तसम्म ७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको संस्थाले चालु आवको सोहि अवधिसम्ममा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी दुबै बढेकोले खुद नाफा बढ्न पुगेको हो । समिक्षा अवधिमा संस्थाले २१ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ३१ करोड ४ लाख रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन नाफा पनि बढेर १२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी बढेर ५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । रिजर्भ एण्ड सर्पल्सको रकम ९ करोड ४० लाख रुपैयाँबाट १५ करोड २७ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म संस्थाको निक्षेप ६३ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ३ अर्बबाट बढेर ५ अर्ब रुपैयाँ नाघेको छ । त्यस्तै, लघुवित्तको निष्किृय कर्जा (एनपीएल) २.३३ प्रतिशतबाट घटेर १.८६ प्रतिशतमा झरेको छ । त्यस्तै, कष्ट अफ फण्ड बढेर ९.७६ प्रतिशतमा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ३८.२७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४७.५५ रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको मूल्य आम्दानी अनुपात ३२.१४ र प्रतिसेयर कूल सम्पत्ति मूल्य १७६१.८४ रुपैयाँ छ ।
अप्पर सोलु हाइड्रोको आईपीओ बैशाख २२ गतेदेखि भर्न पाइने
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर आगामी बैशाख २२ गतेदेखि भर्न पाइने छ । कम्पनीले सोदिनदेखि आईपीओ जारी गर्ने भएसँगै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आईपीओ भर्न पाउने भएका हुन् । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता अर्थात १३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको हाल सोलु दुधकुण्ड नगरपालिका (साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ, गोराखानी, टाप्टिङ्ग र तिङ्गला गाविस) का सम्पूर्ण वडाका बासिन्दाले आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । क्यापिटलका अनुसार उक्त क्षेत्रका इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा जेठ ५ गते हुनेछ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलामा जेठ २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । उनीहरुले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई आईपीओ जारी गर्न ‘इक्राएनपी आईआर डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।