दुई लघुवित्तसँगै एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । दोश्रो बजार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । असार १४ गते मंगलबार समीट लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये समीट लघुवित्तको २५.२८५४ प्रतिशत अर्थात ९ लाख ९७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, जनउत्थान लघुवित्तको २५ प्रतिशत अर्थात २ लाख ९२ हजार ८१२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सको ७ लाख १० हजार १६२ कित्ता अर्थात ६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै यी तीन वटै संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा

टीएमएस चलाउन ब्रोकरलाई तीन विकल्प

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई टीएमएस चलाउन अब तीन वटा विकल्पहरु दिएको छ । धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि २०७९ को तेश्रो पटक संसोधन गर्दै नेप्सेले ब्रोकरलाई विभिन्न विकल्पहरु दिएको हो । नेप्सेले दिएको तीन विकल्पमध्ये पहिलोमा नेप्सेकै टीएमएस प्रणाली प्रयोग गर्ने, दोश्रोमा ब्रोकर आफैले आफ्नै प्रणाली विकास गर्ने र तेश्रो विकल्पमा टीएमएस प्रणाली खरिद गर्ने रहेका छन् । जसमध्ये अब ब्रोकरले कुनै एक विकल्पप्रयोग गरेर कारोबार गर्न गराउन सक्नेछन् । हाल भने ब्रोकरले नेप्सेले तयार गरेको टीएमएस नै प्रयोग गरिरहेका छन् । तर यीमध्ये कुनै विकल्पमा जानको लागि ब्रोकरले नेप्सेको अनुमति लिनु पर्ने छ । जसको लागि ब्रोकरले नेप्सेमा विभिन्न विवरणसहित निवेदन दिनुपर्ने छ । जसमा ब्रोकरले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास वा खरिद प्रयोजनको विस्तृत विवरण उल्लेख गर्नुपर्ने जनाइएको छ । ‘नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेका कारोबार सदस्यले यो कार्यविधि लागू भएको तीस दिनभित्र विनियमावलीमा तोकिए बमोजिमको दस्तुरसहित निवेदन दिनुपर्ने छ,’ संशोधित कार्यविधिमा भनिएको छ । यससँगै, ब्रोकरले आफुले चलाउने सफ्टवेयरको प्राविधिक तथा सुरक्षाको बारेमा नेप्सेलाई प्रस्तुतीकरण दिनुपर्ने छ । साथै, एकभन्दा बढी ब्रोकरले एउटै प्रणाली प्रयोग गर्न चोहेमा पनि नेप्सेलाई प्रस्तुतीकरण दिनुपर्ने जनाइएको छ । त्यसपछि नेप्सेले ब्रोकरले दिएको प्रस्तुतीकरण र विवरण उपयुक्त लागेमा सो अनुसारको प्रणाली एक महिनाभित्र जडान तथ प्रयोगको लागि एपीआई डकुमेन्ट प्रदान गर्न सैद्धान्तिक सहमति दिने छ । त्यस्तै, यदी ब्रोकरले आफ्नै प्रणाली विकास तथा खरीद गर्न चाहेमा उसले प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीच सम्झौता गर्नुपर्छ । र, त्यसको जानकारी नेप्सेलाई दिनुपर्ने छ । सम्झौतामा कारोबार प्रणालीको स्पेसिफिकेसन, वार्षिक मर्मत सम्झौता (एएमसी) बिजनेस कन्टिन्युटी प्लान (बिसिपी), ट्रबल सुटिङ लगायतका प्राविधिक सुरक्षा सम्बन्धी विषय उल्लेख हुनुपर्ने छ । आफ्नै छुट्टै प्रणाली प्रयोग गर्नेले नेप्सेको प्रणालीमा जोड्नुअघि नै सो प्रणाली मान्यता प्राप्त तेश्रो पक्षबाट परीक्षण (अडिट) गराउनुपर्ने छ । उक्त अडिट उपयुक्त लागेमा नेप्सेले ब्रोकरलाई परीक्षणको रुपमा ब्रोकरको प्रणाली जडान गर्न एपीआई प्रदान गर्ने छ । जुन एपीआई अर्को ब्रोकरले प्रयोग गर्न पाउँदैनन् । कम्तीमा एक महिनाको परीक्षणको अवधिमा कुनै समस्या नआएमा ब्रोकरले सो प्रणाली नियमित रुपमा प्रयोग गर्न अनुमति पाउने छ । कर्मचारीले स्नातक पास गरेको हुनुपर्ने ब्रोकरले उक्त प्रणाली चलाउनको लागि सूचना प्रविधिसम्बन्धी दुई जना कर्मचारीको व्यवस्था गर्नुपर्छ । जसमध्ये सिस्टम एण्ड नेटवर्क एडमिनिस्ट्रेटर तथा डाटाबेस एडमिनिस्ट्रेटरमा एक जना र सहायक कर्मचारीमा एक जना हुनै पर्ने व्यवस्था छ । यीमध्ये सिस्टम एण्ड नेटवर्क एडमिनिस्ट्रेटरले मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित (कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर विज्ञान, सूचना प्रविधि व्यवस्थापन वा सो सरहको) विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने छ । र, सम्बन्धित विषयमा तीन वर्ष काम गरेको अनुभव समेत हुनुपर्ने छ । त्यस्तै, सो विषयमा स्नातक तह पास गरेको तर कामको अनुभव नभएकाहरु भने सहायक कर्मचारी बन्न पाउने छन् ।

सर्वसाधारणलाई अप्पर हेवाखोलाको आइपिओ आउँदै

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १५ करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ । कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन ६ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । कम्पनीले सङ्खुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो शेयर’ को मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी–बिबी आइएस्’ ग्रेडिङ प्रदान गरेको छ ।