अप्परसोलुको आइपीओ खुला, असार २३ सम्म आवेदन दिन सकिने

काठमाडौं । अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको हो । कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी १८ लाख २० हजार ४७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ । सार्वजनिक आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । हाल आइपीओमा आवेदन दिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले निष्काशन बन्द छिटो नै हुने देखिन्छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलु खोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको मोबाइल एप तथा वेबसाइटमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

शिवम् होल्डिङ्गस बन्यो पब्लिक कम्पनी, छिट्टै सेयर जारी गर्ने

काठमाडौं । शिवम् होल्डिङ्गस पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी शिवम् होल्डिङ्गस पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । नेपालमा स्थापित सिमेन्ट उद्योगहरु मध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी हो शिवम् होल्डिङ्गस । शिवम होल्डिङ्गसको अधिकृत पूँजी ५ अर्ब ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ भने होङशी शिवम् सिमेन्ट उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ । साथै, कम्पनीले छिट्टै धितोपत्र बोर्ड समेतको स्वीकृतिमा सर्वसाधारणका लागि समेत सार्वजनिक निस्कासन गरी पूँजी संकलन गरी थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको जनाएको छ । शिवम् होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्सको करिब ८५ प्रतिशत अर्थात ३ अर्ब ४० करोड १० लाख ४२ हजार रुपैयाँको सेयर लगानी रहेको छ भने अन्य १९ जना विभिन्न क्षेत्रका संस्थापकहरुको करिब १५ प्रतिशत अर्थात ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर रकम लगानी गरेका छन ।

प्रिमियममा आईपीओ जारी गर्ने प्रस्तावसहित सोनापुर मिनरल्सले डाक्यो साधारण सभा

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलले आगामी साउन १५ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन दिउँसो ४ बजे काठमाडौंको बत्तीसपुतलीस्थित कम्पनी रजिष्टार्ड कार्यालयमा आफ्नो १४औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको प्रस्ताव अनुसार सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न समितिलाई अख्तियारी दिँदै छ । सोनापुर मिनरल्स् पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले २०७७ माघमा नै बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको थियो । यो कम्पनीले २ करोड कित्ता सेयर स्थानियबासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनीसगँ उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन् ।