श्वेत-गंगा हाइड्रोको आईपीओमा १६ लाख बढीको आवेदन
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा अन्तिम दिन माग भन्दा ८.०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्ममा १६ लाख ३ हजार ७७२ जना आवेदकले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सोमबारदेखि मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्दै, कति कित्ता आवेदन दिने ?
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गते, सोमबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा साउन १२ गते र ढिलोमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नोट्सको लगइन र युजर आइडी लिन १० दिनभित्र इमेल आइडी पठाउन नेप्सेको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से अनलाइन ट्रेडिङ प्रणाली (नोट्स) को लगइन र युजर आइडी लिन असम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आधिकारिक इमेल आइडी पठाउन आग्रह गरेको छ । नेप्सेले आइतबार एक सूचना जारी गर्दै पुरानो वेवसाइट मर्मत कार्य गर्नुपर्ने र नयाँ वेवसाइट संचालनमा आइसकेको हुँदा सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु लागि नेप्सेको नोट्स लगइन र युजर आइडी लिन १० दिनभित्र कम्पनीको पब्लिक आइपी एड्रेस र आधिकारिक इमेल आइडी नेप्सेको सूचीकरण शाखामा सम्पर्क गर्न निर्देशन दिएको हो । साथै यसभन्दा अघि नोट्सको लगइन र युजर आइडी लिन नेप्सेमा पत्र पठाएका कम्पनीहरुलाई नोट्सको लगइन र युजर आइडी सूचीकरण शाखाले पठाउने नेप्सेले जनाएको छ ।