सेयर रोक्का सम्बन्धी निर्देशिका २ हप्ता भित्रमा लागु गरिने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका दुई हप्तामा लागु गर्ने बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गरेपछि नेपाल धितोपत्र बोर्डले सेयर रोक्का निर्देशिका तयार पारिरहको छ । मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का सम्बन्धी विषय आफुले उठाएको उनले बताए । लगानीकर्तालाई अन्याय नहोस् भनेर आफुले सो विषय उठान गरेको उनको दाबी छ । अब मर्जर तथा प्राप्तिमा धितोपत्र बोर्डको नीति लागु हुने उनले बताए । ‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, यसमा हतार गर्नु हुँदैन, सबै मुद्धाहरु हेर्नुपर्छ,’ उनले भने । उनले बढीमा २ हप्ताभित्रमा उक्त निर्देशिका लागु गर्ने बताए । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का गर्ने विद्यमान व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी बोर्डलाई दिएको थियो । उक्त सेयर कारोबार रोक्का सम्बन्धीको टोलीमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।
सम्भावित क्षतिबाट बच्दै सेयर लगानीकर्ता, धितोपत्र बोर्डले कोष सञ्चालन गर्ने
काठमाडौं । नेपाल धितोपत्र पत्र बोर्डले धितोपत्र बजारको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने भएको छ । बिहीबार धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सो बताएका हुन् । ‘धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागु गरिनेछ,’ अध्यक्ष हमालले भने । पूँजी बजार विकासका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न चार खम्बे नीति तयार गरेको उनले बताए । चार खम्बाहरुमा संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजारको सन्तुलन तथा विस्तार गर्ने, बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकास गर्ने र नियमन निकायको वाच डग एजेन्सी भूमिका सशक्तिकरण गर्ने रहेका छन् ।
पूँजी बजारमा हुने चलखेल निरुत्साहित गर्छौं : अध्यक्ष हमाल
काठमाडौं । धितोपत्र बजारलाई विकास तथा विस्तार गर्दै प्रतिस्पर्धि बनाउने नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । त्यस्तै, सुपरिवेक्षणलाई सक्रिय बनाएर पूँजी बजारमा हुने चलखेललाई निरुत्साहित गर्ने अध्यक्ष हमालले दावी गरे । उनले सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउन सातै प्रदेशमा लगानीकर्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । धितोपत्र बजारलाई उच्च प्रविधिमैत्री बनाएर सेवाग्राहीलाई तिव्र सेवा दिने बताएका छन् । त्यसैगरी उनले आरटीजिएस प्रणाली मार्फत सेवा दिने बताए । बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउन अन्तराष्ट्रिय बजारमा भएको व्यवस्थालाई लागु गर्ने उनको भनाइ छ ।