ब्याजदर बढ्ने प्रभाव सेयर बजारमा, २३ दिनपछि उच्च कारोबार

काठमाडौं । सेयर बजार भारि अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो भएसँगै बढ्न सक्ने भएकाले यसको प्रभाव सेयर बजारमा परेको हो । यसअघि दुई दिन दोहोरो अंकले बढेको सेयर बजारमा ब्याजदर बढ्ने भएपछि पूँजी बजारमा पुनः राताम्य छाउन थालेको हो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा बन्द भएको छ । हिजोको तुलनामा बिहीबार २.८८ प्रतिशत सेयर बजार घटेको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । ब्याजदर बढ्ने संकेत पाएका लगानीकर्ताले सेयर बिक्री गर्न खोज्दा कारोबार रकम बढेको जानकारहरु बताउँछन् । बिहीबार दिनभरिमा २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर ३५ हजार ५३७ पटक खरिद बिक्री हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ । २१ दिनपछि कारोबार रकम धेरै भएको यसअघि साउन २४ गतेका दिन नेप्सेमा २ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

ब्याजदर बढ्ने भएपछि सेयर बजारमा पहिरो, ३ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) ले बिहीबार ब्याजदर खुला छाड्ने निर्णय गरेको हो । लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेपछि ब्याजदर बढ्न सक्ने भएको छ । बिहीबार दिउँसो १ः५५ बजेसम्ममा सेयर बजारमा भारि गिरावट आएको छ भने सबै समूहमा राताम्य छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४ मा झरेको छ । यस्तै, सोही समय अवधिसम्ममा २२८ कम्पनीको ४१ लाख २८ हजार ६८६ कित्ता सेयर खरिदबिक्र हुँदा १ अर्ब ३४ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा राताम्य छाएको छ भने विभिन्न ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।

सिक्लेस हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै ३३ करोड रुपैयाँ संकलन

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै मागभन्दा ३.१४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा बुधबार साँझ ५ बजेसम्म २ लाख ९० हजार ८२७ जना आवेदकले ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको ३३ लाख २३ हजार २८० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरिएको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।