फेरि २००० अंक मुनी ओर्लियो नेप्से, कुथेली बुखरीको सर्किट लेभलमै कारोबार जारी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २०.५४ अंक घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको नेप्सेलेले आज पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो । आइतबारको कारोबारपछि नेप्से पुनः २००० विन्दुभन्दा तल अर्थात १९९३.३८ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ । आइतबारको सेयर बजारमा २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से उच्च अंकले घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विहीबार पनि उक्त हाइड्रोपावरको सेयर सकरात्क सर्किट लेभलमा कारोबार भएको थियो । आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आइतबार एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । एशिएन लाइफ इन्स्योरेन्सको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको करिब ५ करोडको शेयर किनबेच भएको छ । १३ उप–समूहमध्ये यस दिन म्युचुअल फण्ड उप–समूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।

राष्ट्र बैंकले कडाइ गर्दा पनि सेयरधितो कर्जामा नबिल र एभरेष्ट आक्रामक, १७ बैंकको लगानी घट्यो

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा सेयरधितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म सेयरधितो  कर्जा १० प्रतिशतले घटाएका हुन् । बैंकहरुले २०७९ असारसम्म ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । तर, एक वर्षको अवधिमा ९.४७ प्रतिशत घटाएर ६४ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ बराबरको मात्रै सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । गत असारसम्म तीन वटा बैंकहरुले मात्रै सेयर कर्जा बढाएका छन् भने अधिकांश बैंकको कर्जा घटेको छ । एक वर्षको अवधिमा नबिल बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयर कर्जा बढाएका छन् । नबिलले २२.२२ प्रतिशत बढाएर ९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४४.५८ प्रतिशत बढाएर १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ०.४३ प्रतिशत बढाएर ४ अर्ब ७ करोड ३३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । गत वर्ष अधिकांश बैंकले सेयर कर्जा घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै धेरै माछापुच्छ्रे बैंकको ४७.४० प्रतिशत सेयर कर्जा घटाएर ५५ करोड १८ लाख रुपैयाँ मात्रै प्रवाह गरेको छ । यस्तै, एनआईसी एशिया बैंकको ४६.४४ प्रतिशत घटेर १ अर्ब २ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३३.४० प्रतिशत घटेर ३ अर्ब ४८ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २६.६५ प्रतिशत घटेर २ करोड ४० लाख रुपैयाँ र सानिमा बैंकको २५.१८ प्रतिशत घटेर १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ सेयर कर्जा बजारमा गएको छ । यस्तै, हिमालयन बैंकले २०.७३ प्रतिशत घटाएर २ अर्ब ८७ करोड ४० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १४.६९ प्रतिशत घटाएर ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ, नेपाल बैंकले १४.३१ प्रतिशत घटाएर ३ अर्ब ९४ करोड ६२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १३.५४ प्रतिशत घटाएर ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ र प्रभु बैंकले ११.७५ प्रतिशत घटाएर ३ अर्ब ९८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै, ग्लोबल आइएमई बैंकले १०.०३ प्रतिशत घटाएर ६ अर्ब २७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ९.३८ प्रतिशत घटाएर ४ अर्ब १८ करोड रुपैयाँ, प्राइम बैंकले ७.२१ प्रतिशत घटाएर ३ अर्ब २१ करोड रुपैयाँ, कुमारी बैंकले ५.६५ प्रतिशत घटाएर ३ अर्ब ९६ करोड रुपैयाँ, कृषि विकास बैंकले ३ प्रतिशत घटाएर १ अर्ब १३ करोड रुपैयाँ र एनएमबि बैंकले १.२० प्रतिशत घटाएर १ अर्ब ४३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद सेयर बिक्री खुला

काठमाडौं । मल्टीपर्पस फाइनान्सले आज भदौ १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर नयाँ ३५ कित्ता सेयर बिक्री खुला गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनााथ क्यापिटल लिमिटेड रहेको छ । मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।