१० वर्षमा दैनिक कारोबार ३० अर्ब पुर्‍याइने, ५ सय कम्पनी सूचीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा विकास गर्ने लक्ष्यसहित ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको १० वर्षे रणनीतिक मार्गचित्रले आगामी दशकभित्र नेपाली पुँजी बजारलाई संरचनात्मक रूपमा सुदृढ, विविधीकृत र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । बोर्डले परम्परागत बैंक केन्द्रित वित्तीय प्रणालीको विकल्पका रूपमा पुँजी बजारको भूमिका विस्तार गर्ने रणनीति अघि सारेको हो ।

मार्गचित्रले सन् २०३६ सम्म पुँजी बजारका प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार गर्ने लक्ष्य राखेको छ । हाल दैनिक औसत करिब ८ अर्ब रुपैयाँ रहेको कारोबार रकमलाई बढाएर ३० अर्ब रुपैयाँ पु¥याउने लक्ष्य तय गरिएको छ ।

त्यस्तै, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र बजार पुँजीकरणको अनुपात हालको ७०–८० प्रतिशतबाट बढाएर १५० प्रतिशतभन्दा माथि पु¥याउने लक्ष्य राखिएको छ । साथै, सूचीकृत कम्पनीको संख्या ५०० भन्दा बढी पु¥याइने, डिम्याट खाताको संख्या १.२ करोड बढी पुर्याइनेछ । 

यस्तै, संस्थागत लगानी कुल कारोबारको ४० प्रतिशत बढी, कर्पाेरेट बण्ड मार्केट कुल पुँजीको २० प्रतिशत, म्युचुअल फण्ड्स १५० भन्दा बढी, एसएमई सूचीकृत २ सयभन्दा बढी, ग्रीन बण्डको सुरुवात गरेर नियमित गर्ने र विदेशी पोर्टफोलियो लगानीको सहभागीता गराइने उल्लेख छ । 

बजार अझै पनि ९५ प्रतिशतभन्दा बढी साधारण सेयरमा निर्भर रहेको उल्लेख गर्दै संस्थागत ऋणपत्र, डेरिभेटिभ्स, कमोडिटी बजार, रियल इस्टेट इन्भेष्टमेन्ट ट्रस्ट लगायतका वैकल्पिक वित्तीय उपकरणको विकासमा जोड दिइएको छ ।

मार्गचित्र अनुसार पहिलो चरण (सन् २०२६–२०२७) मा कानुनी तथा नीतिगत सुधार गरिनेछ । दोस्रो चरण (सन् २०२८–२०३०) मा बजार विस्तार र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइनेछ । अन्तिम चरण (सन् २०३१–२०३६) मा विदेशी पोर्टफोलियो लगानीकर्तालाई बजारमा प्रवेश गराउँदै नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ ।

Share News