हिमालयन ८०-२० म्युचुअल फण्ड बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ फण्ड बाँडफाँट गरिएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंक ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्तालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । सिडिएस एण्ड क्लियरिङ्ग अनुसार अन्तिम दिनसम्म ४६ हजार १४१ जना आवेदकले ९ करोड १४ लाख ६१ हजार ८२० इकाईका लागि ९१ करोड ४६ लाख १८ हजार २ सय रुपैयाँ बराबरको आवेदन दिएका थिए । म्युचुअल फण्ड बाँडफाँट सम्पन्न भइसकेको हुँदा विभिन्न २ तरिकाबाट रिजल्ट हेर्न सकिनेछ । सिडिएसले सञ्चालन गरेको आईपीओ रिजल्ट (https://iporesult.cdsc.com.np/) र क्यापिटलको वेवसाइट (https://himalayancapital.com/)बाट रिजल्ट हेर्न सकिने क्यापिटलले बताएको छ । साथै, सेयर पर्न सफल आवेदकहरुको रकम बिक्री प्रबन्धकको बैंक खातामा रकमान्तरण गर्न र बाँडफाँटमा नपरेका सेयर वापतको रकम सम्बन्धित आवेदकहरुको बैंक खाताबाट फुकुवा गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।

मंगलबार एसबीआई बैंकको सर्वाधिक कारोबार

काठमाडौं । मंगलबारको बजारमा नेपाल एसबीआई बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २७६ वटा स्क्रिप्समध्ये एसबीआई बैंकको सबैभन्दा बढी अर्थात ७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा २ रुपैयाँले घटी हो । सोमबारको बजारमा बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको थियो । समग्र बजारमा ३९ लाख १६ हजार कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । उक्त कारोबार रकम अघिल्लो कारोबारको तुलनामा घटी हो । सोमबारको बजारमा एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार कारोबार मात्रै नभई सेयर मूल्य मापक नेप्से परिसूचक पनि घटेको छ । बजारमा परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले घटेको हो । घटेको बजारमा पनि शुभम् पावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१४.६० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्ने सूचीमा थ्री स्टार हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३४०.२० रुपैयाँमा झरेको छ । मंगलबार म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा भएको छ । भदौ २५ गते सोमबार साँझ ५ बसे बसेको योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समितिले इकाइधनीलाई करसहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सो मात्राको नगद लाभांश दिने निर्णय गरेको हो ।