बुद्धभूमि नेपाल हाइड्रोको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

३६ मध्ये १५ म्युचुअल फण्डले लाभांश दिने, ४ फण्डको मात्रै १५ प्रतिशत बढी

काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर, गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ । अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल फण्डको राम्रो आम्दानी भएको थियो । आम्दानी बढेसँगै फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफिल दिएका थिए । गत वर्ष भने सेयर बजार घटेको कारण म्युचुअल फण्डको लाभांश घटेको मर्चेन्ट बैंकर्स बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका ३६ म्युचुअल फण्ड सूचीकृत छन् । जसमध्ये हालसम्म १५ वटा म्युचुअल फण्डले मात्रै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । लाभांश वितरण प्रस्ताव गरेका म्युचुअल फण्डहरुमध्ये ६ वटा फण्डलको मात्रै डबल अंकमा प्रतिफल रहेको छ । अन्य ९ वटा म्युचुअल फण्डले भने एकल अंकमा मात्रै इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका हुन् । गत वर्षको नाफाबाट इकाईधनीहरुलाई सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल वितरण गरेको छ । अघिल्लो वर्षको तुलनामा सो फण्डको प्रतिफल घटेको देखिन्छ । यस फण्डले अघिल्लो वर्ष २२ प्रतिशत र सोभन्दा अघिल्लो वर्ष ३३ प्रतिशतसम्म प्रतिफल वितरण गरेको थियो । ३०/३० प्रतिशतसम्मप्रतिफल वितरण गरेका एनएमबि हाईब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको पनि विगतको प्रतिफल घटेको देखिन्छ । अघिल्लो वर्ष समान २१.०५ प्रतिशत प्रतिफल वितरण गरेका एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले गत वर्षको नाफाबाट भने १५/१५ प्रतिशत मात्रै वितरण गर्ने भएका हुन् । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ले ६.५ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत प्रतिफल बाँड्ने हुन् । एनआईबिएल सहभागित फण्डको प्रतिफल पनि घटेको छ । ५० प्रतिशतसम्म लाभांश बाँडेको यस फण्डले गत वर्षको नाफाबाट भने ४ प्रतिशत मात्रै प्रतिफल वितरण गर्ने भएको हो । अघिल्लो वर्ष भने ७.२० प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, सनराइज फर्ष्ट म्युचुअल फण्ड, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड, कुमारी इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी र एनआईबिएल प्रगति फण्डले भने गत वर्ष इकाईधनीहरुलाई प्रतिफल बढाएर वितरण गर्ने भएका हुन् । सनराइज फर्ष्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश वितरण गरेको हो । यसअघि उक्त फण्डले इकाईधनीहरुलाई अघिल्लो वर्ष १२ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । त्यस्तै, एनआईसी एशिया डाइनामिक डेब्ट फण्डले १० प्रतिशत, कुमारी इक्विटी फण्डले १० प्रतिशत, लक्ष्मी उन्नति कोषले ९.५ प्रतिशत, लक्ष्मी इक्विटीले ८ प्रतिशत र एनआईबिएल प्रगति फण्डले ६.८ प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् । यस्तै, म्युचुअल फण्ड जारी गरेको पहिलो वर्ष नै कुमारी धनवृद्धि योजना र प्रभु सेलेक्ट फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका छन् । कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत र प्रभु सेलेक्ट फण्डले ९.५ प्रतिशत प्रतिशत वितरण गर्ने भएका हुन् ।  

एक कम्पनीले घोषणा गर्याे लाभांश

काठमाडौं । आकाशभैरव सेक्युरिटिज लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले ३.६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.१८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारण सभा असोज २४ गते जावलाखेल ललितपुरमा बिहान ११ बजे हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।