साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार
काठमाडौं । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ रुपैयाँ बराबरको धितोपत्र खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबारको पहिलो दिन आइतबार कुल दुई सय ७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । आइतबार नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा आएको थियो । त्यस्तै दोस्रो दिन सोमबार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलव १८ मा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर ८७ करोड चार लाख ४४ हजार एक सय ५६ रुपैयाँमा खरिद बिक्री भएका थियो । कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अङ्कले बढेको थियो । यस दिनको अन्तिम कारोबारपछिको अवस्थामा परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको थियो । कूल दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै यस साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उत्साहजनक वृद्धि भएको थियो । यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको थियो । यो दिन दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री भएको थियो । जसमा तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ रुपैयाँ बराबरको कारोबार भएको थियो । रासस
खानी खोला हाइड्रोको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । खानी खोला हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ । खानी खोला हाइड्रोपावर कम्पनी अन्तर्गतको आयोजनाहरु ‘टुगुंन-ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना’ ललितपुर जिल्लामा अवस्थित रहेका छन् । र, क्रमश : ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै सञ्चालनमा आईसकेका छन् ।
स्टार हस्पिटलले सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । स्टार हस्पिटलद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । स्टार हस्पिटलले ४० करोड रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अँकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पूँजी भएको यस हस्पिटल संग २५ प्रतिशत अग्राधिकार शेयर सहित ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अवस्थामा यो निष्कासन संगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा नीजि संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी २ अर्ब रुपैयाँ भन्दा माथि हुने जानकारी गराईएको छ । यस थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरु सहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, क्ष्ख्ँ सेवा र अधिराज्यका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ । यथाशक्य चाँडै नै अन्तराष्ट्रिय बैँक संग समेत सहकार्य गर्ने सिलसिलामा केही प्रख्यात विदेशी अस्पतालसंग सहकार्य गरी सेवा विस्तार गर्ने योजना समेत रहेको बताइएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने यो हस्पिटल सर्वसाधारणहरुलाई शेयर जारी गर्ने पहिलो संस्था हुने जानकारी गराईएको छ ।