१ सय रुपैयाँमा अपि पावरको १२ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । अपि पावर कम्पनीले आज असोज १७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले झण्डै १२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको ११ लाख ९४ हजार ९३४ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले असोज २४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

१० प्रतिशत ब्याजमा सिटिजन्स बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । सिटिजन्स बैंकले आज असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । सर्वसाधारणलाई बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

सेयर बजार राताम्मे, एक अर्बमा खुम्चियो कारोबार

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै समूहहरु ओरालो लागेसँगै समग्र सेयर बजार राताम्मे देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक पनि १७.५६ अंकले घटेर १९५८.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले घटी हो । त्यस्तै, दिनभरको कारोबार रकम पनि एक अर्बमा खुम्चिएको छ । सोमबार एक अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा सिटिजन लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता ४४७ रुपैयाँमा झरेको छ । सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.९१ प्रतिशतले बढेर प्रतिकित्ता ६९६ रुपैयाँ पुगेको छ । यता टप लुजरको अग्रस्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था छ । जसको सेयर मूल्य ७.५४ प्रतिशतले घटेर प्रतिकित्ता ७७९ रुपैयाँमा झरेको छ ।