सोनापुर मिनरल्स आजै आईपीओ निष्काशन बन्द गर्दै

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको थियो । असोज १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीले मागभन्दा बढी आवेदन परेपछि आज असोज १८ गते नै निष्काशन बन्द गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा स्थानीयले खरिद नगरेको सेयरसहित ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कर्मचारीलाई भने प्रतिकित्ता २२५ रुपैयाँमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

१० हजार कित्ता खरिद गर्न मिल्ने माथिल्लो मैलुङको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले आज असोज १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीकलाई बिक्रीपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत् अर्थात् १ लाख ५० हजार कित्ता विदेशमा रोजगार गरी रहेका नेपाली र ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब स्थानीयले आवेदन नदिएको ९ हजार २ सय कित्ता सेयरसहित कूल १२ लाख ८४ हजार २ सय कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गतेसम्म आवेदन दिने सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

बन्दीपुर केबलकार र नेपाल एसबिआई मर्चेण्टबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजमको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग मार्फत हुने जनाइएको छ ।