सर्वोत्तम सिमेन्टमा ३६ लाख कित्ता सेयर माग, कट अफ मूल्य ४०१ नजिक
काठमाडौं । पहिलो पटक बुक बिल्डिङमार्फत् निष्काशन गरिएको सर्वोत्तम सिमेन्टको आईपीओमा ३६ लाख कित्ता सेयरका लागि आवेदन परेको छ । सोमबार बिहान ८ बजे खोलिएको बोलपत्रमा ४१ वटा योग्य संस्थागत लगानीकर्तारूले ३६ लाख १९ हजार १९० कित्ता सेयरका लागि आवेदन दिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । साथै, नेप्सेका अनुसार बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरूमध्ये सबैभन्दा बढी मूल्य प्रतिकित्ता ४०६ रुपैयाँसम्म परेको छ । कुमारी क्यापिटल र कुमारी क्यापिटलले संचालन गरेका २ वटा म्युचुअल फण्डले सबैभन्दा ४०६ रुपैयाँमा बोलपत्र पेश गरेको नेप्सेले जनाएको छ । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ता सेयरका लागि बोलपत्र पेश गरेका छन् । यस्तै, नागरिक लगानी कोषले प्रतिकित्ता ४०५ रुपैयाँमा ४ लाख कित्ता सेयरका लागि बोलपत्र पेश गरेको छ । नेप्सेका अनुसार अधिकांश योग्य संस्थागत लगानीकर्ताहरूले प्रतिकित्ता ४०१ रुपैयाँमा नै बोलपत्र पेश गरेका छन् । पछिल्लो विवरण अनुसार ४०१ रुपैयाँ कट अफ मूल्य पर्याे भने सर्वसाधारणलाई प्रतिकित्ता ३६१ रुपैयाँमा आईपीओ निष्काशन गरिनेछ । किनभने संस्थागत लगानीकर्तालाई तोकिएको कट अफ मूल्यभन्दा १० प्रतिशत घटाएर सर्वसाधारणलाई बिक्री गरिने छ । कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका लागि जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बोलकबोलमार्फत् बिक्री खुला गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म तोकिएको थियो । बोलपत्रलाई रुजु गर्ने काम भइरहेको छ । सबै जाँच प्रक्रिया सकिएपछि कट अफ मूल्य तोकिने नेप्सेले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रतिकित्ता ४०१ रुपैयाँ कटअफ मूल्य तोकिने सम्भावना रहेको नेप्सेले जनाएको छ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र बाँडफाँट गरिने छ । कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कममा आवेदन दिएका योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिने छैन ।
सूर्योदय वोमी लघुवित्तका दुई संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ६० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता, र सरस्वती जोशीको २९ हजार ३५१ कित्ता गरी कूल ६० हजार ६१७ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ । यदि सो अवधिभित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गर्ने लघुवित्तले बताएको छ ।
नेप्सेमा २ बैंकको बोनस सेयरमूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । यी दुई बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २८०.९५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १९औं वार्षिक साधारणसभा मंसिर २४ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३५२.९४ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १५औं वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको छ ।