बिहीबारको सेयर कारोबारमा देखियो सुधार, नेपाल इन्स्योरेन्सको सर्वाधिक किनबेच
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । ओरालो यात्रामा रहेको परिसूचक बिहीबार १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार रकममा भने झिनो सुधार देखिएको छ । बुधबार एक अर्ब २३ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन २८९ स्क्रिप्सको कारोबार भएको बजारमा ४५ लाख ९५ हजार कित्ता सेयर बिक्री भएका छन् । सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो । जसको अन्तिम कारोबार प्रतिकित्ता ४२३ रुपैयाँमा भएको छ । बजारमा ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको भने सेयर मूल्य स्थिर छ । सेयर मूल्य बढ्नेमध्ये रु रु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.६३ प्रतिशतले बढेर प्रतिकित्ता ७५० रुपैयाँमा पुगेको छ । त्यस्तै, मूल्य घट्नेमध्ये विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल र यूनाइटेड मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य १० १० प्रतिशतले घटेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।
युनाईटेड मोदीले १०० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । मंसिर १३ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नियमनकारी निकाय विद्युत नियमन आयोगले स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा उक्त सेयर जारी गरिने व्यवस्था छ । हाल हाइड्रोको चुक्ता पुँजी एक अर्ब २३ करोड ५ लाख रुपैयाँ छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख४५ हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।