सर्वोत्तम सिमेन्टको आईपीओ खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको बुक बिल्डिङ्गमार्फत् निष्काशन तथा बिक्री खुला गरेको सेयरमा बोलपत्र पेश गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूको लागि बोलकबोलमार्फत् आईपीओ बिक्री खुला गरेको हो । कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक विल्डिङ्ग विधिमार्फत् निष्काशन गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म रहेकोमा सोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत् सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् । योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जमा गई बोलपत्र आवेदन फाराम भर्नु पर्नेछ ।
घलेम्दी हाइड्रोको २ सय प्रतिशत हकप्रद बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । घलेम्दी हाइड्रोले आज मंसिर १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजी ५५ करोड रुपैयाँको १ अर्ब १० करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कारोबार भई कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
नेपाल वेयरहाउजिङ्गको आईपीओ बिक्री खुला, कति भर्ने आवेदन ?
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले आज मंसिर १० गतदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर बिक्री गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारण लगानीकर्ताहरुलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा २ प्रतिशत अर्थात् २७ हजार ५ सय कित्ता सेयरमा कर्मचारी, ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयरमा सामूहिक लगानी कोष र ११ लाख ४१ हजार २५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनसक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा छिटोमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।