अर्किड होल्डिङ्सले पनि आईपीओ निष्काशन गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । अर्किड होल्डिङ्सले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । होटल तथा पर्यटन समूह अन्तर्गतको कम्पनीले एक करोड १५ लाख कित्ता बराबरको सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । बोर्डसँग अनुमति माग्दै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले कूल एक अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । यससँगै बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न पाउने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुभारम्भ

काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरी मंसिर १५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुवै कम्पनीका माउ संस्था (हिमालयन बैंक र सिभिल बैंक)एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका कम्पनी पनि मर्ज भई एकीकृत कारोबार गरेका हुन् । शुक्रबार एक समारोहबीच हिमालयन क्यापिटलका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साविकको सिभिल क्यापिटलका अध्यक्ष भोला बहादुर बिष्टले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् । सिभिल क्यापिटल मार्केटलाई प्राप्ति गरेपश्चात् हिमालयन क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार संचालन गरेका हुन् । हिमालयन क्यापिटलका अध्यक्ष तथा हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोर्खालीले मर्चेन्ट बैंकिंग व्यवसायमा छोटो समयमा पनि नवीनतम सेवा प्रवाह गर्दै छुट्टै पहिचान स्थापित गरेको बताए । साथै, मर्चेन्ट बैंकिंग व्यवसायका आधुनिकीकरणमा महत्वपुणर भूमिका निर्वाह गरेको सिभिल क्यापिटलको समिश्रणबाट सकरात्मक प्रभाव सिर्जना भई ग्राहकहरुलाई प्रदान गरिने सेवा तथा सुविधाहरु अझ सबल र सुदृढ भई नेपाली पुँजी बजारको विकासमा टेवा पुग्ने उनको भनाइ छ । उनका अनुसार संस्थाल मुलत प्रविधिको माध्यमबाट आफ्नो सेवाहरुको विस्तार गर्ने र नवीनतम प्रकृतिका विशिष्टकृत लगानी कोष, खुल्लामुखी सामुहिक लगानी कोष योजना, व्यवस्थित लगानी योजना जस्ता सेवाहरु निकट भविष्यमा प्रदान गर्ने लक्ष्य राखेको छ ।

नेपाल हाइड्रोको लाभांश घोषणा, पारित गर्न साधारणसभा आह्वान

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३३ करोड ५९ लाख २६ हजार रुपैयाँको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्नका लागि १७औं वार्षिक साधारणसभा पुस १२ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने र सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।