अर्थमन्त्रीलाई पुँजीबजारको स्वागत, कारोबारको अन्तिम समयमा ९.३३ अंकले वृद्धि

काठमाडौं । मंगलबार उच्च अंकले गिरावट आएको नेप्से परिसूचक बुधवार सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो राजनीतिक गतिविधिले नेप्से परिसूचक लगातार तीन दिन उतारचढाव देखिएको छ । नयाँ बनेको सत्ता गठबन्धनसँगै अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने हल्लासँगै सोमबार नेप्से परिसूचक ११७.७० अंक अर्थात ६ प्रतिशतले बढेको थियो । तर सोमबार नेकपा माओवादीमा वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लासँगै ७० अंकले गिरावट आएको थियो । बुधवार अर्थमन्त्री पुन हुने भएसँगै ओरालो लाग्न थालेको बजार अन्तिम समयमा ९.३३ अंकले बढेको छ । बुधवार नेप्से परिसूचक ९.३३ अंक बढेर २०१७.०३ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ । बुधबार कारोबारमा आएका ३०८ कम्पनीको ९१ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । बुधबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.६८ प्रतिशत बढेको छ भने अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ । सामान्य अंकले बढेको नेप्से परिसूचकसँगै डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । तर यता मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य भने ९.७१ प्रतिशत घटेको छ । बुधवारको कारोबारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अर्थमन्त्रीको टुंगो नलागेपछि ७० अंकले घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार ठूलाे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३८ प्रतिशत अर्थात् ७०.३१ अंकले घटेर २००७.६९ अंकमा बन्द भएको हो । सत्ता गठबन्धन परिवर्तन भएपछि सोमबार ६ प्रतिशतले बढेको सेयर बजार मंगलबार भने ठूलो अंकले घटेको हो । साेमबार नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको थियो । एक दिन अगाडि सकारात्मक सर्किट लागेकाे पुँजी बजारमा दोस्रो दिन नै उच्च अंकले घटेको हो । सोमबार गठबन्धन परिवर्तन हुँदा अर्थमन्त्रीमा विष्णु पौडेल र वर्षमान पुनकाे आउने चर्चा थियो । तर, मंगलबार पाैडेलकाे नाम चर्चामा छैन । पुन नै अर्थमन्त्री बन्ने चर्चा छ । यसले लगानीकर्ताकाे मनाेवल घटेकाे बुझ्न सकिन्छ । आज दिनभरमा ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार म्युचुअल फण्ड समूह ०.६६ प्रतिशत बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ । आज बैंकिङ समूह ३.०१ प्रतिशत, विकास बैंक समूह ३.६५ प्रतिशत, फाइनान्स समूह २.७५ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६९ प्रतिशत, जलविद्युत समूह ४.३० प्रतिशत, लगानी समूह ३.४८ प्रतिशत, जीवन बीमा समूह ३.४९ प्रतिशत, उत्पादन समूह ४.२० प्रतिशत, लघुवित्त समूह १.२७ प्रतिशत, निर्जीजन बीमा समूह २.६० प्रतिशत, अन्य समूह ४.३५ प्रतिशत र व्यापार समूह २.१५ प्रतिशतले गिरावट आएको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । यस कम्पनीको सेयर मूल्य २ हजार ३२८.६० रुपैयाँ घटेर २० हजार ९६२ रुपैयाँमा झरेको छ । जोशी हाइड्रोपावर ९.९९ प्रतिशत अर्थात ३८.४० रुपैयाँ घटेर ३४६ रुपैयाँमा सीमित भएको छ । यस्तै, बोटलर्स नेपाल (तराई)को ९.४५ प्रतिशत अर्थात् १ हजार ५४४.४० रुपैयाँ घटेर १४ हजार ८ सय रुपैयाँमा सेयर मूल्य झरेको छ । बजारमा भारि अंकको गिरावट भएपनि गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.७३ प्रतिशत अर्थात् ७९.९० रुपैयाँ बढेर ९९५ रुपैयाँ पुगेको छ । साथै, मंगलबार सोनापुर मिनिरल्सको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको ४१ करोड ९१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको २४ करोड ६५ लाख रुपैयाँ, घोराही सिमेन्टको १४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

निरन्तर सर्किट लागेपछि बन्द भयो सोमबारको सेयर बजार

काठमाडौं । सोमबारको सेयर बजार बन्द भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेर तेश्रो सर्किट लागेसँगै सोमबारको सेयर कारोबार बन्द भएको हो । बजारमा १२ बजेर ४ मिनेटमै तेश्रो सर्किट लागेको छ । यो अवधिमा नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको छ । सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि बन्द भएर खुलेको बजारमा पुनः ६ प्रतिशतले बढेर सर्किट लागेको हो । सत्ता गठबन्धन फेरिने हल्लाले सोमबारको सेयर बजारमा एकाएक सकारात्मक सर्किट लागेको हो । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ । यससँगै सोमबारको बजारमा ३७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कारोबारमा आएकामध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । बजारमा २३० कम्पनीको सेयर मूल्य बढेको छ भने दुई कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार बढ्नेमा पनि ४१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।