इमर्जेन्सी सेयर बेच्न अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्छ : निरञ्जन फुयाँल

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का सहायक प्रबन्धक निरञ्जन फुयाँलले दोश्रो बजारमा अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै उनले इमर्जेन्सीअवस्थामा सेयर बेच्नको लागि उक्त व्यवस्था हुनुपर्ने बताएका हुन् । ‘ब्रोकरले तीन दिनपछि मात्रै पैसा दिन्छ, इमर्जेन्सी पैसा आवश्यक परेर राती सेयर बेच्नु परे के गर्ने ? त्यसका लागि अफ मार्केट ट्रान्जिक्सन हुनुपर्छ,’ फुयाँलले भने । उनले आधारभूत रुपमा राम्रो कम्पनी हेरेर सेयर किन्ने लगानीकर्तालाई घाटा नहुने बताउँदै उनले भने- ‘नबिल बैंक र गोरखकाली रबर उद्योग एकैपटक सेयर कारोबार भएका हुन् । तर नबिल बैंकको अर्बौंको पोर्टफोलियो छ । रबर उद्योगको शून्य ।’ त्यस्तै, देशको अर्थमन्त्री परिवर्तन हुँदा पुँजी बजारमा केही समय मात्रै प्रभाव पार्ने स्पष्ट पारे । कम्पनीको सेयर मूल्यलाई सीईओको भूमिकाले नि निर्वाह गर्ने बताउँदै उनले कम्पनीको सीईओ कस्तो हो ? कति अब्बल छ भनेर लगानीकर्ताले विश्लेषण गर्नुपर्ने बताए । ‘मेगा बैंक र जनता बैंकले एकैदिन लाइसेन्स पाए । पुँजी बजारमा एउटै दिन कारोबारमा आए तर सेयर मूल्य १ सय रुपैयाँ तलमाथि भएर कारोबार भयो,’ उदाहरण दिँदै फुयाँलले भने । पुँजी बजारमा लगानी गर्दा देशको आर्थिक अवस्था, कम्पनी र उद्योगको विश्लेषण गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार एउटै किसिमको पीई रेसियो कायम गर्न सके राम्रो मानिने र कम पीई रेसियो भएका कम्पनीको सेयर किन्दा जोखिम कम हुन्छ । तर वाणिज्य बैंकको सबैभन्दा कम पीई रेसियो भएपनि लगानीकर्ताले लगानी गरेको नपाइएको उनले भने । बजारमा ओभर क्यापिटलाईजेशन हुँदा तरलता अभाव भएको देखिन्छ । नेपालमा उत्पादन भएको जलविद्युत् भारतले खरिद गरेन, अन्य कुनै वैकल्पिक (सोलार) बाट बिजुली उत्पादन भएर जलविद्युत आयोजनाको भविष्यमा समस्या आउँछ । लगानीकर्ताले यस विषयलाई पनि विश्लेषण गर्नुपर्ने फुयाँल बताउँछन् । त्यस्तै, नीति नियम, टेक्निकल र सूचना प्रभावकारी हुँदा पुँजी बजारले सकारात्मक दिशा लिने बताउँदै उनले बजारमा प्रवेश गर्दा सकेसम्म न्यूनतम शुल्कमा प्रवेश हुनुपर्ने बताए ।

साधना र सबैको लघुवित्त मर्जरमा जाने, गरे अन्तिम सम्झौता

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । सो प्रयोजनको लागि दुई संस्थाबीच बैशाख १२ गते साँझ अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सन् २०१७ अक्टोबर ३० देखि सञ्चालनमा आएको साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ छ । त्यस्तै, सन् २०१७ जुलाई १४ देखि सञ्चालनमा आएको सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ छ । साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा जिल्लाको हरमटारीमा रहेको छ भने सबैको लघुवित्तको तनहुँको डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको छ ।

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८ सय ५ कित्ता सेयर लिलामीमा राखेको हो । यस सेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा  लेख्नुपर्छ । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै एनआईसी एशिया बैंकका शाखा कार्यालय विराटनगर, मोरङ, आदर्शनगर, वीरगञ्ज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगरमा पेस गर्नुपर्नेछ । संस्थाले उक्त सेयर यसअघि संस्थापकहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको जनाएको छ ।