मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते सकिने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते समाप्त हुने भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते सकिन लागेको जनाएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । जेठ १८ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ । साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान रहेको छ ।
नेप्सेमा ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ प्रतिशत बोनस वापत ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको गत मंसिर २८ गते सम्पन्न भएको १७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।
४ कम्पनीको १ करोड बढीको संस्थापक सेयर कारोबार
काठमाडौं । पुँजी बजारमा विभिन्न ४ कम्पनीको संस्थापक सेयर खरिद बिक्री भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र विजय लघुवित्त वित्तीय संस्थाको १ करोड १ लाख ६० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको हो । एचआईडीसीएलको आइतबार ३९ हजार ५ सय ८९ कित्ता संस्थापक सेयर ५९ पटक खरिदबिक्री हुँदा ३९ लाख २१ हजार ३९१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम ९९ रुपैयाँदेखि अधिकतम १०१ रुपैयाँमा खरिदबिक्री भएको देखिन्छ । यस्तै, राष्ट्रिय बीमा कम्पनीको ४११ कित्ता संस्थापक सेयर १४ पटक खरिबिक्री हुँदा ४२ लाख २९ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम १० हजार २ सय रुपैयाँदेखि अधिकतम १० हजार ५६७ रुपैयाँमा किनबेच भएको नेप्सेको तथ्याङ्क छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७५ कित्ता संस्थापक सेयर ५ पटक किनबेच हुँदा ४८ हजार ४८ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार बैंकको संस्थापक सेयरको अन्तिम मूल्य प्रतिकित्ता १२९ रुपैयाँ छ । विजय लघुवित्त वित्तीय संस्थाको ६ हजार कित्ता सेयर १९ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबबार भएको छ ।