नेपाल वेयरहाउजिङको लकइन अवधि जेठ १९ गते सकिने

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लकइन अवधि जेठ १९ गते सकिने भएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७ सय ५० कित्ता सेयरको लकइन अवधि जेठ १९ गते सकिन लागेको जानकारी दिएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँट गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण सेयर बाँडफाँट भएको ६ महिना पुग्दैछ । साधारण सेयर बाँडफाँट भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान छ ।

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक सेयरधनीका साथै बैंकको संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा रहेर अन्य व्यक्ति तथा संस्थाले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौं आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

आज सेयर बजार बन्द रहने

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ । मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विसं २००७ मा विराटनगरमा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) पनि आज बन्द रहनेछ । दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।