नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने
काठमाडौं । नागरिक लगानी कोषले २९औं वार्षिक साधारण सभा डाकेको छ । कोषको असार ९ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौं भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा डाकेको हो । सभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूका तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ । सभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आज समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो । कम्पनीले गत पुस ११ गते साधारणा बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त बाँडफाँड गरिएको सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गरी प्रतिकित्ता न्यूनतम मूल्य ३०८ रुपैयाँमा उक्त सेयर बिक्रीमा राखिएको जानकारी दिएको छ । यो सेयर संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी, तथा संघसंस्थाहरूले किन्न पाउनेछन् । सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । उक्त सेयर खरिद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु सक्नेछन् । आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म दिन सकिनेछ ।