२५६३ विन्दुमा पुग्यो नेप्से, सेयर कारोबार १४ अर्ब ११ करोडमाथि
काठमाडौं । सोमबार सामान्य अंकले बढेको सेयर बजारमा मंगलबार भारी अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.३३ अकंले बढेर २५६३.४३ विन्दुमा अडिएको छ । मंगलबार २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको मात्रै घट्यो भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यस दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै शिवम सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको २४ करोड २६ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले २३ करोड २ लाख रुपैयाँको सेयर कारोबार गर्यो । यस दिन सबैभन्दा धेरै ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए । मंगलबार ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाए ।
निफ्राबाट बाहिरिँदै एनआईसी एशिया बैंक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । एनआईसी एशिया बैंकले निफ्रामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो । एनआईसी एशियाले निफ्रामा रहेको आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक सेयर आज साउन ८ गतेदेखि बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकेको छ । बैंकको उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन रहेको छ । साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सकिन्छन । लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचनामा संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गरेको हो । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले एफपीओमा सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।