सेयर बजार सामान्य घट्यो, कारोबार ५ अर्बमाथि
काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.५९ अंक घटेको छ । नेप्से घटेसँगै नेप्से २०७३.१९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । आज ३१३ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज ९७ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ३ को स्थिर रह्यो । आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९२ प्रतिशत अर्थात् १५५ अंकले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.५४ प्रतिशत अर्थात् ४७ अंकले घटेको छ । इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावरको ९.२, सयपत्री हाइड्रोपावरको ८.९, जानाकी फाइनान्सको ८.२ प्रतिशत मूल्य बढेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, सिटी होटल, पोखरा फाइनान्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी अगाडि रहेका छन् ।
माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडाैं । माउन्टेन इनर्जी नेपाल लिमिटेड र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार माउन्टेन इनर्जीको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४० कित्ता र नेशनल लघुवित्तको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । यो सेयरका खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ । गोप्य शिलबन्दी आवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् ।